अघिल्ला दुईवटा निर्वाचनमा लगातार जितेको एमालेले यसपटक उम्मेदवार परिवर्तन गरेको छ। एमालेलाई तेस्रो जितबाट रोक्न अन्य १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। कस्तो ‘मुड’मा छन् ताप्लेजुङका मतदाता?
ताप्लेजुङ— सदरमुकाम फुङलिङको फाल्गुनन्द चोक छेउमा हरेक शनिबार हाट लाग्छ। गत चैत १७ गतेको शनिबारे हाटमा भेला भएका बीच चुनावको उस्तो चर्चा र माहोल थिएन। दलहरू अजेन्डासहित भोट माग्न आइनसकेकाले माहोल नबनेको धेरैको भनाइ थियो।
हाटमा तरुललगायत तरकारी बेचिरहेका फुङ्लिङ–६ का जितबहादुर गुरुङले थुप्रै चुनावमा भोट हालिसेके पनि ठोस परिवर्तन नभएको बताए। उनले कतिपटक दलका उम्मेदवारलाई खुलेरै समर्थन जनाए। तर यसपटक उनले आफ्नो मत परिवर्तन गर्ने योजना बनाएका छन्।
जतिपटक भोट हाल्दा पनि विकासले गति नलिएकोमा उनी सन्तुष्ट छैनन्। “यहाँका मान्छेलाई यहीँ रोजगारी, शिक्षा, स्वास्थ्यको सुविधा पुर्याउने व्यवस्था गर्नुपर्छ, त्यही गराउन सक्ने मान्छेलाई मत दिने हो,” उनी भन्छन्, “वैज्ञानिक ढंगको नेता अझै पनि ताप्लेजुङले पाएको जस्तो लाग्दैन।”
ताप्लेजुङमा पुराना दलले साख जोगाउने संघर्ष गरिरहँदा नयाँ दल प्रचारमा लागिरहेका छन्। पुराना दलमा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी आफूतर्फ माहोल फर्काउन संघर्षरत छन्। रास्वपा, श्रमसंस्कृति, उज्यालो नेपालजस्ता नयाँ पार्टी मतदातालाई आकर्षित गर्ने दौडधूपमा छन्।
हाङ्देवा–९ का लक्ष्मीप्रसाद गुरुङ त खुलेरै रास्वपाको समर्थनमा छन्। उनी रास्वपाको लोगो लगाएरै हाटमा झ्याउ बेचिरहेका थिए। पुराना दलले युवाका कुरा नसुनेकाले रास्वपालाई समर्थन गरेको उनको दाबी छ। “युवाहरू नेतृत्वमा आए भने गाउँमा युवाहरूको कुरा अलि सुन्छन् भन्ने लाग्छ,” उनले भने।
कतिपय मतदाता भने उम्मेदवारले कस्ता विषय र मुद्दा लिएर आउँछन् भन्ने प्रतीक्षामा छन्। फुङ्लिङकै दिलकुमारी गुरुङ भन्छिन्, “चहलपहल शुरू भएकै छैन। भोटै माग्न आएका छैनन्। कस्ता मान्छे आउँछन्, यहाँका समस्यालाई कसरी उठाउँछन्, त्यसैलाई हेरेर भोट दिने हो।”
फुङलिङ—२ मा किराना पसल गर्ने बिजुलीप्रसाद गिरीले भने पहिलेदेखि नै एमालेलाई भोट दिँदै आएका हुन्। यसपालीको चुनाव विशेष अवस्थामा भएकाले उम्मेदवार र उसका अजेन्डा हेरेर भोट दिने पक्षमा छन्। उनी भन्छन्, “म पहिलेदेखि नै एमालेलाई भोट दिँदै आएको हुँ। यसपालि अहिलेसम्म कसैले पनि आफ्ना अजेन्डा लिएर भोट माग्दै आएका छैनन्। यहाँको पर्यटन, चीनसँगको सीमा व्यापार खुलाउने लगायत विषयमा के भन्छन्, त्यो हेरेर भोट दिने हो।”
हिमाली जिल्ला ताप्लेजुङको भूगोल ठूलो छ। तर सानो बजेट आउँदा यहाँको पर्यटन र विकास निर्माणमा समस्या भएको गिरीको बुझाइ छ। त्यसैले यहाँका समस्यालाई केन्द्रसम्म पुर्याउन सक्ने र पहुँच भएको उम्मेदवार हेर्नुपर्ने उनले बताए।
ताप्लेजुङमा कञ्चनजंघा संरक्षण क्षेत्र छ, जहाँ हिउँ चितुवा, हिमाली कालो भालु, हाब्रे, विभिन्न प्रजातिका सल्ला, लालीगुराँस, चरा आदि देख्न सकिन्छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो उच्च हिमाल कञ्चनजंघा क्षेत्रमा पदमार्गीहरू आउँछन्। पाथीभरा देवीको मन्दिर (मुक्कुमलुङ) दर्शन गर्ने तीर्थयात्री पनि उत्तिकै हुन्छन्। ओलाङ्चुङगोलामा १६औँ शताब्दीको दिकी छ्योलिङ गुम्बासमेत छ।
केवलकार खारेजी समूहको दाउ के?
ताप्लेजुङको आगामी निर्वाचनको एउटा मुख्य चुनावी अजेन्डा केवलकार निर्माणको विषय पनि छ। त्यहाँ केवलकार बनाउने र खारेजीको पक्षका अभियन्ताबीच द्वन्द्व चलिरहेको छ। केवलकार खारेजी समूह चुनावकै बेला पनि आन्दोलनरत छ।
आफूहरूको धार्मिक र सांस्कृतिक आस्था भएको ठाउँमा केवलकार बनाएर सरकारले अतिक्रमण गर्न खोजेको उनीहरूको आरोप छ। उक्त ठाउँमा अहिले व्यवसायी चन्द्र ढकालको समूहले केवलकार निर्माण गरिरहेको छ।
केवलकार निर्माण भएपछि स्थानीयको व्यापार व्यवसायमा असर पुग्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र लिम्बू बताउँछन्। उनी भन्छन्, “हाम्रो आस्थाको ठाउँमा केवलकार बनाएपछि यो ठाउँ मासिन्छ। धार्मिक आस्थामा प्रहार हुन्छ। यहाँका रुखबिरुवा, चराचुरुंगी सबै मासिन्छन्। त्यसैले यसलाई जोगाउन पनि केवलकार निर्माण रोकिनुपर्छ,” उनी भन्छन्।
फक्ताङलुङ—५ का शुभदर्शन लिम्बू यसपटक चुनावमा ताप्लेजुङबाट केवलकार बनाउनुपर्ने पक्षका दल र नेतालाई हराउनुपर्ने विचार राख्छन्। “पहिले जिताएकै हो, उनीहरूले जनतालाई महसुस हुनेगरी काम गर्न सकेनन्। भ्रष्टाचार पनि उत्तिकै छ। जेन–जी आन्दोलनदेखि मुकुम्लुङको विरोधमा दमन भयो,” उनले भने, “यो सबै काम गराउने र हाम्रो अस्तित्व नामेट गर्न लागि पर्नेलाई यसपालि भोट नदिने।”
फक्ताङलुङकै मिलन लिम्बू पनि ‘मुम्कुम्लुङ बचाउने’ आन्दोलनमा छन्। उनलाई केवलकार ल्याएर ताप्लेजुङको विकास हुन्छ भन्ने फिटिक्कै लाग्दैन। “यहाँका स्थानीयलाई पेलेर जबरजस्ती एउटा व्यापारीको स्वार्थका लागि केवलकार बनाउनु विकास हो? हामीलाई गोली हानेर गरेको विकासको के अर्थ? यहाँको जाति, भाषा, आस्थामाथि प्रहार भएको छ। त्यसैले यसपालि नयाँ उम्मेदवारलाई भोट दिने हो,” उनले भने।
जनताको अजेन्डाः हाइड्रोपावरमा लगाम
ताप्लेजुङ भएर बग्ने तमोर नदीमा १६ वटा हाइड्रोपावर बन्दैछन्। यहीकारण फक्ताङलुङ गाउँपालिकालगायत छेउका बस्तीमा खेतबारी बाँझो हुन थालेको स्थानीयको गुनासो छ। बाढी पहिरोको जोखिम पनि बढेको छ।
यहाँका स्थानीयले यसरी अनियन्त्रित भइरहेको हाइड्रो निर्माणको विरोध गरेका छन्। त्यसैले यो विषय पनि चुनावी अजेन्डा बनेको छ। यस्ता विषयमा दलहरूको अजेन्डा हेरेर मत हाल्नुपर्ने कतिपयको भनाइ छ।
जिल्लामा उम्मेदवार जो उठे पनि भावी प्रधानमन्त्रीको उम्मेदवार हेरेर मत हाल्नुपर्ने मिलन लिम्बू बताउँछन्। अक्षम भएका व्यक्तिलाई मत दिनुको अर्थ नहुने उनको भनाइ छ। नयाँ बन्ने सरकारले नै हाइड्रोपावर निर्माणका नाममा स्थानीय र किसानले भोगेका समस्या बुझेर नयाँ नीति बनाउन सक्ने धेरैको मत छ।
१३ जना छन् उम्मेदवार
आगामी प्रतिनिधिसभा निर्माचनका लागि ताप्लेजुङमा १३ जनाले उम्मेदवारी दिएका छन्। एमालेका क्षितिज थेब, कांग्रेसका गजेन्द्र तुम्यहाङ, नपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका सन्तोष राई, उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपति पौडेल उम्मेदवार छन्। मंगोल नेसनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राप्रपाका इन्द्र थापा, जसपाका अरुण लेछर्बो, जनमुक्ति पार्टीका इन्द्र थलङ पनि उम्मेदवार छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमालेका योगेश भट्टराई विजयी भएका थिए। भट्टराईले २१ हजार ९४३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी तत्कालीन माओवादीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका थिए। २०८ मतान्तरले पराजित बुढाक्षेत्रीलाई कांग्रेसको पनि समर्थन थियो।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेका योगेश भट्टराई नै निर्वाचित भएका थिए। उनले २९ हजार ४७९ मत ल्याएका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत ल्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
