मिथ्या सूचनाविरुद्ध काठमाडौँमा दुईदिने सम्मेलन

निर्वाचनलाई लक्षित गरी संगठित रूपमा फैलाइने मिथ्या सूचनाले जनमत प्रभावित पार्न सक्ने भन्दै विज्ञहरूले मिडिया साक्षरता र तथ्य जाँचमा जोड दिएका छन्।

काठमाडौँ– मिथ्या सूचनाको जोखिम र यसको नियन्त्रणका उपायबारे छलफल गर्न काठमाडौँमा दुईदिने सम्मेलन शुरू भएको छ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएमआर–नेपाल)को संयुक्त आयोजनामा शुरू भएको सम्मेलनमा विज्ञहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संगठित रूपमा मिथ्या सूचना फैलाउन थालिएको भन्दै चिन्ता व्यक्त गरे।

सम्मेलनमा प्रस्तुत अध्ययन प्रतिवेदनअनुसार नेपालमा करिब २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेला पार्ने गरेका छन्। यस्ता भ्रमपूर्ण सूचना विशेषगरी फेसबुक लगायतका सामाजिक सञ्जालमा राजनीतिक विषयवस्तुसँग सम्बन्धित हुने गरेको तथ्यांक प्रस्तुत गरियो। सम्मेलनका वक्ता र कार्यपत्र प्रस्तुत गर्ने अध्येताहरूले मिथ्या सूचनाले जनमतलाई प्रभावित पार्न सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि मिडिया साक्षरता बढाउनु जरुरी रहेको बताए।

सम्मेलनमा मणिपाल एकेडेमी अफ हयर एजुकेसनकी प्राडा. पद्मा रानीले आफ्नो विद्वत् प्रवचनमा प्रविधि र पहुँचको विस्तारसँगै सही र मिथ्या सूचनाबीचको अन्तर छुट्याउन जटिल बनेको बताइन्। उनले मूलधारका मिडियाबाट समेत कहिलेकाहीँ मिथ्या सूचना आउने गरेकाले सरकार, नागरिक समाज र विज्ञहरू मिलेर यसको प्रतिकार गर्नुपर्ने धारणा राखिन्।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका कार्यवाहक डिन डा. वामदेव अधिकारीले सामाजिक सञ्जालमार्फत ‘डिजिटल वार’ भइरहेको उल्लेख गर्दै सत्यतथ्य पहिचानका लागि आलोचनात्मक चेत जरुरी रहेको बताए। पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले मिडियाको परिदृश्य बदलिएको भन्दै प्रविधिले जनमत प्रभावित पार्ने भएकाले मिडियाले समाजको बृहत्तर हितलाई केन्द्रमा राख्नुपर्ने बताए।

त्यसैगरी, सीएमआर–नेपालका अध्यक्ष नवीन खतिवडाले सूचनाको वर्तमान परिवेशमा सत्य र मिथ्या छुट्याउन अन्योल भइरहेका बेला यस्ता सम्मेलनले सहयोग गर्ने बताए। विज्ञ डा. धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले सर्वत्र चुनौती थपेको बताए। उनले निर्वाचनका बेला चुनावी अभियान र प्रोपागाण्डासँगै मिथ्या सूचनाको बाढी आउने भएकाले त्यसबाट जोगिन सचेत रहनुपर्नेमा जोड दिए। सञ्चारविज्ञ डा. विनोद भट्टराईले मिडिया प्रयोगको शैलीमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै तथ्यमा आधारित र जनचाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी संकुचित हुने बताए।

१०० जनाभन्दा बढीको सहभागिता सम्मेलनको पहिलो दिन कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, यसबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको असर र मुस्लिम समुदायप्रति सञ्चारमाध्यममा हुने गलत भाष्यसम्बन्धी अनुसन्धानहरू प्रस्तुत गरिएका थिए। त्यसैगरी ‘जेनजी’ आन्दोलनमा डिस्कर्डको प्रभाव, समाचार कक्षमा एआईको प्रयोग, सुरक्षामा सूचना असन्तुलनको असर, समाचार शाखामा तथ्य जाँच, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेस प्रदेशमा सामाजिक सञ्जालको प्रयोग र त्यसको प्रभाव, नेपालमा तथ्य जाँचको अवस्था तथा पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरता लगायतका विषयमा गरिएका अनुसन्धानका नतिजा प्रस्तुत गरिएको थियो।

आइतबार पनि जारी रहने सम्मेलनको दोस्रो दिन मिथ्या सूचनाको प्रतिकार, यसमा मिडिया शिक्षा र सञ्चारमाध्यमको भूमिका, जलवायु परिवर्तनका विषयमा फैलिने मिथ्या सूचना तथा सामाजिक सञ्जाल प्लेटफर्महरूको जिम्मेवारीका विषयमा छलफल हुनेछ। साथै, सामाजिक सञ्जालका सामग्री निर्माताबारे गरिएको अध्ययनको नतिजासमेत प्रस्तुत गरिने आयोजकले जनाएका छन्।