नयाँ दल दर्ता गर्ने अन्तिम मिति कात्तिक ३० गतेसम्म बालेनले दल दर्ताको चासो राखेनन्, तर पुस ९ गतेदेखि म्याराथन भेटघाट गरेका उनी अकस्मात दलीय राजनीतिमा आउन किन प्रेरित भए?
काठमाडौँ– जेन–जी आन्दोलन भइरहँदा काठमाडौँ महानगरका मेयर बालेन शाहकै सचिवालयका एक सदस्यले उनलाई सोधेका थिए, “मेयरज्यू, जेन–जीहरू तपाईंलाई प्रधानमन्त्री बन्न भनिरहेका छन्। तपाईंसँग कुरा हुन नपाएर हामीलाई छिनछिनमा फोन गरेर हदैसम्मको दबाब दिइसके। के गर्ने हो?”
बालेनको जवाफ थियो, “म कहाँ प्रधानमन्त्री हुन जानू! जनताले पाँच वर्षका लागि मेयर हुन पठाएका हुन्, प्रधानमन्त्री होइन।”
बालेनले त्यही बोली व्यवहारमा पनि देखाए। उनले फेसबुक स्टेटस लेखेरै जेन–जीले प्रधानमन्त्री छानेका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो समर्थन रहेको बताए। “अन्तरिम र चुनावी सरकारको नेतृत्त्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ,” उनले लेखेका थिए, “तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।”
नयाँ दल दर्ता गर्ने अन्तिम मिति कात्तिक ३० गतेसम्म दल दर्ता नगर्दा पनि बालेन दलीय राजनीतिमा नआउने आकलनलाई बल पुगिरहेको थियो। तर उनले पुस ९ गते एकाएक विभिन्न जेन–जी समूह र दलका नेतालगायत व्यक्तिहरूलाई भेटर भने, “म अब राजनीतिमा आएँ, सहयोग गर्नुस्। सकेसम्म सबै सँगै मिलेर जाऔँ।”
त्यसको दुई दिनअगाडि पुस ७ गते उनले रास्वपा सभापति रवि लामिछानेसँग ६ घन्टा लामो संवाद गरेका थिए। संवादपछि रवि चढेकै गाडीमा सँगै निस्किएर बालेनले आफू दलीय राजनीतिमा आएको संकेत गरिसकेका थिए।
पुस ९ गते भने उनले नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बम र उनको टिम, मिलन पाण्डे, सागर ढकाल, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियालगायतलाई भेटेका थिए। उनले आफ्ना कुरा सुनाउने भन्दा पनि अरूलाई सुन्नमा धेरै समय खर्च गरेका थिए।
छलफलमा सहभागी जेन–जी अगुवा प्रदीप ज्ञवाली अरूलाई भन्दा पनि बालेनले जेन–जीहरूलाई विशेष प्राथमिकता दिएको दाबी गर्छन्। उनले जेन–जीकै विभिन्न समूह भेट्नमै बढी समय खर्च गरेका थिए।
“उहाँले शुरूमै बोलेका कुरा हो, तपाईंहरू नै यो आन्दोलनको प्रमुख स्टेक होल्डर हो। तपाईंहरू सबै मिलेर आउनुपर्यो,” बालेनको भनाइ उदृत गर्दै ज्ञवाली सुनाउँछन्, “जसको उमेर पुगेको छ, उनीहरू चुनावमा उठ्ने तयारी गर्नुस्। जसको पुग्दैन पार्टी राजनीतिमा सक्रिय हुनुस्।”
बालेनले पुस ९ गते गरेको भेटघाट गोप्य नै रह्यो। तर १० गते बिहानैदेखिको उनको सक्रियताले नयाँ तरंग ल्यायो। त्यो दिन उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, रास्वपाका सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता सुनील शर्मा, नेपाल जेन–जी काउन्सिलका सुदन गुरूङ, स्वतन्त्र सांसद अमरेश सिंहलगायत सँग भेटघाट गरे।
बालेनसँग ‘वान टु वान’ पनि कुरा गरेकी जेन–जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार, बालेनले मिलेर जानुपर्ने प्रस्ताव राखेकै बेला उनले संघीयता र संविधानप्रतिको बुझाइ सोधेकी थिइन्। जवाफमा बालेनले आफू संघीयतालाई चलाउने पक्षमा नरहेको र संविधान ‘बेस्ट’ भएको बताए।
त्यसपछि आफूले थप संवाद गर्न रुचि देखाएको बम बताउँछिन्। “हामी सँगसँगै हुनलाई टेक्ने आधार के हो त भनेर पनि सोधेँ, उहाँले अहिलेलाई इमानदारी नै हो, पछि थप बटमलाइनहरू बनाउन सकिन्छ भन्नुभयो,” उनी भन्छिन्, “त्यति भए हामी सँगै जान सकिन्छ भन्ने निर्णय उहाँलाई सुनाइसकेको छु। मलाई जेन–जीहरू मिलाउने जिम्मा दिनुभएको छ, त्यसैमा काम गरिरहेकी छु।”
पुस १२ गते मध्यराति बालेन रास्वपासँगै मिलेर जान तयार भए। उनीहरूबीच सात बुँदे सहमति भएको छ। रास्वपा सभापति लामिछाने चुनावपछि बालेनलाई प्रधानमन्त्री र रास्वपामा आफूपछिको वरीयता दिन तयार भएका छन्।
कमसेकम मेयर हुँदासम्म दलीय राजनीतिमा प्रवेश नगर्ने अडानमा रहेका बालेन एक्कासि दलमै प्रवेश गर्न कसरी प्रेरित भए? जेन–जी आन्दोलन लगत्तै थुप्रै नयाँ दलहरू दर्ता भए पनि आफ्नै नेतृत्वमा दल दर्ता नगराएका उनी निर्वाचन आयोगमा समानुपातिक सूची पठाउने अन्तिम घडीमा किन सक्रिय भए?
बालेन सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं बालेनले केही दिनयता मात्रै राजनीतिमा आउने सोच बनाएको दाबी गर्छन्। “मेयरज्यूलाई यत्रो आन्दोलन भएर पनि फेरि उही म्युजिकल चेयरको खेल शुरू हुने हो कि भन्ने लाग्यो,” बजगाईं सुनाउँछन्, “निर्वाचनपछि उनीहरू नै दोहोरिए भाइबहिनीहरूको रगत खेर जाने कुराले नै उहाँलाई सक्रिय राजनीतिमा ल्याएको छ।”
रविलाई भेट्नुअघि नै दिमागमा बजेको ‘घण्टी’
काठमाडौँ महानगरको मेयरका रूपमा बालेन अति नै अन्तरमुखी छन्। करिब चार वर्ष मेयरको रूपमा काम गरिसकेका उनी महानगरका कार्यक्रमभन्दा बाहिर सभा समारोहमा उपस्थित त भएनन् नै, कुनै मिडियामा अन्तर्वार्तासमेत दिएनन्।
यो अवधिमा उनले हत्तपत्त कोहीसँग भेट गरेनन्। जेन–जी आन्दोलनपछि उनीसँग भेट्न चाहनेहरू बढे पनि टाढै रहे। तर मंसिर १५ गते उनको बुबाको निधनपछि भेट्न पुगेकासँग कुराकानी गर्न बाध्य भए।
बालेन सचिवालयका एक सदस्यका अनुसार, त्यस बेला उनको घरमै पुगेका जेन–जी अगुवा, विभिन्न पार्टीका नेता, भूतपूर्व सांसद, मन्त्री र प्रधानमन्त्रीलाई भेटे। धेरैले उनलाई मुलुकको हितका निम्ति राजनीतिमा आउन आग्रह गरेको र नआए कुनै न कुनै रूपमा यसको मूल्य चुकाउनुपर्ने बताएको सचिवालयका ती सदस्य बताउँछन्।
“मेयरज्यूलाई भेट्न दिनहुँ ५०० देखि ७०० मान्छेहरू आइरहेका थिए। भेटमा उहाँ कमै बोल्नुहुन्थ्यो। सबैले आआफ्नो तरिकाले राजनीतिमा आउन हौस्याइरहेका थिए,” उनी भन्छन्, “उहाँँ मान्छेहरूका कुरा एकदमै ध्यानपूर्वक सुन्नुहुन्थ्यो। हामीले बुझे अनुसार, उहाँलाई त्यही माहोलले तान्यो। त्यही भावना बुझेर राजनीतिमा आउने निर्णय लिनुभएको हो।”
बालेनका अर्का सचिवालय सदस्य पनि भेटघाट नगर्ने उनको शैलीले नै उनीभित्र सक्रिय राजनीति गर्ने हुटहुटी भए पनि नदेखिएको बताउँछन्। जेन–जी आन्दोलनताका समग्र देशले नै प्रधानमन्त्री बनाउन चाहे पनि आफै नगएको विषयले केही दिनदेखि उनलाई सताइरहेको ती सदस्यको दाबी छ।
“निर्वाचनपछि पुरानै दल र नेताहरू दोहोरिए त्यसको दोष सबैभन्दा धेरै आफैमाथि आउने कुरा मेयरज्यूले राम्ररी बुझ्नुभएको छ। अझै बुबाको किरियाका बेला अनगिन्ती मान्छेले घरैमा आएर भनेपछि त्यो कुराले निकै छोयो,” उनी भन्छन्, “देश हाँक्ने इच्छा भएरै नै उहाँले मेयरमा आँट गर्नुभएको हो। तर मेयरको रूपमा निर्वाचित भएर तत्कालै राजनीतिमा आइहाल्ने वातावरण थिएन। अस्ति रविसँगैको तस्वीरको प्रतिक्रियाले पनि जनताले आफूलाई राजनीतिमा हेर्न चाहेको उहाँले बुझ्नुभयो।”
मेयर बालेनसँग नजिकको सम्बन्ध भएका लेखक गनेश पौडेल राजनीतिमा आउने बालेनको व्यक्तिगत निर्णय नभई साथीभाइ र शुभेच्छुकहरूकै दबाब भएको बताउँछन्। “जेन–जी आन्दोलनपछि पनि बालेनलाई राजनीतिमा आउन कुनै सौख थिएन। एक कार्यकालपछि आफ्नो पुरानै जिन्दगीमा फर्किने सोचमा थिए,” पौडेल भन्छन्, “तर सबैको दबाबबीच राजनीतिबाट पर भाग्न सकेनन्। फेरि रास्वपा एक्लैले मात्रै जेन–जीहरूको माग सम्बोधन गराउन नसक्ने भएर पनि राजनीतिमा होमिने निर्णय लिएका हुन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
