चिराइतोको कारोबार ठप्प, विस्थापित हुँदै किसान

व्यापारीले ६ वर्ष अगाडि संखुवासभा, भोजपुर, तेह्रथुम, इलामको चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म दुवानी गरेका थिए।

फुङलिङ– चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्। गत वर्ष प्रतिमन ६५ हजार रुपैयाँसम्म मूल्य पुगेको चिराइतोको यस वर्ष कारोबार नै ठप्प छ।

मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष ४० हजार रुपैयाँ प्रतिमनमा २० मन चिराइतो बिक्री गरेका थिए। व्यापारी घरमै लगेका थिए। तर यस वर्ष भने व्यापारी सम्पर्कमा नआएको शेर्पाले बताए। “चिराइतो संकलन गरेर राखिएको छ। खै कति छ दाम थाहा छैन। बिक्री हुने कि नहुने अन्योल भयो,” उनले भने। 

फक्ताङलुङ  गाउँपालिका–६ आहाले गाउँका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतोखेती गर्दै आएका छन्। उनी वैदेशिक रोजगारीबाट फर्किएर गाउँमा चिराइतोखेती थालेका हुन्। खेतीसँगै चिराइतो खरिद बिक्रीसमेत गर्न थाले। ताम्मादेनले गत वर्षमात्र १२५ मन चिराइतो खरिद गरेर चीनको तिब्बत निर्यात गरेका थिए। तिब्बतमा ४० देखि ६५ हजार रुपैयाँमा चिराइतो बिक्री गरेको उनले बताए। 

यस वर्ष भने चिराइतोको कारोबार शून्यजस्तै रहेको ताम्मादेनले बताए। “गत वर्षको तुलनामा यस वर्ष चिराइतो उत्पादनसमेत कम छ। गत वर्ष एउटा गाउँबाट २०० केजी संकलन भएकामा अहिले १०० केजी पनि भएको छैन,” उनी भन्छन्, “गाउँघरमा प्रतिमन १७ देखि १८ हजारमा फाट्टफुट्ट खरिदबिक्री हुँदै छ।”

गत सातामात्र चीनको तिब्बतका र भारत निर्यात गर्ने व्यापारीसँग सम्पर्क गरेको उनको भनाइ छ। भारतीय व्यापारीले भन्दा चीनका व्यापारीले राम्रो मूल्य दिने भएकाले धेरै चिराइतो तिब्बत हुँदै चीन निर्यात हुँदै आएको छ।

विगतमा गाउँकै धेरै चिराइतो उत्पादन गर्ने फक्ताङलुङ गाउँपालिका–६ किसोङवा गाउँका केरसिं लिम्बूले खेती गर्न छाडेका छन्। लिम्बूले विगतमा ७५ मनसम्म चिराइतो उत्पान गर्थे। बजार मूल्य निश्चित नहुने प्रत्येक वर्ष उतारचढाव भइरने भएकाले किसानले चिराइतोखेती गर्न छाड्दै गएका उनको भनाइ छ। विगतमा राम्रो चिराइतो संकलन हुने किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले न्यून मात्रामा मात्र चिराइतो उत्पादन हुन थलेको छ। 

नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिराइतो ताप्लेजुङको तिप्ताला नाका हुँदै चीनको तिब्बत निर्यात हुँदै आएको छ। व्यापारीले ६ वर्ष अगाडि संखुवासभा, भोजपुर, तेह्रथुम, इलामको चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म दुवानी गरेका थिए। 

कोभिड–१९ का कारणले टिप्तालानाका बन्द हुँदा प्रत्यक्ष असर चिराइतो किसानलाई परेको थियो। नाका बन्द हुँदा तिब्बत हुँदै चीन निर्यात हुन सकेन। चिराइतोले बजार नपाएसँगै धेरै किसानले अन्य पेसा अँगाल्न पुगे। तर गत वर्षदेखि भने तिप्तालानाका खुलेसँगै चिराइतो चीन निर्यात हुन थालेको व्यापारीको भनाइ छ।

तीन वर्ष अगाडि फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले प्रतिकेजी १ हजार १२५ रुपैयाँका दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरेका थिए। फक्ताङलुङ गाउँपालिका–७ का चिराइतो खरिद बिक्री गर्दै आएका व्यापारी टासी शेर्पाले प्रतिमन ४५ हजारमा ५० मन चिराइतो संकलन गरेर झापाको बिर्तामोडमा लगेर बिक्री गरेका थिए। 

चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ। गत आवमा ताप्लेजुङबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको वन कार्यालयले जनाएको छ। जिल्लामा आव २०७९/८० मा पाँच हजार ८०० केजी चिराइतो उत्पादन भएको थियो। ८७ हजार राजस्व संकलन भएको थियो। 

आव २०७७/७८ मा १६ हजार ३०० केजी चिराइतो संकलन भएकामा यसबाट दुई लाख ४४ हजार ५०० रुपैयाँ राजस्व जम्मा भएको थियो। चिराइतो उत्पादन क्रमिक घट्दै गएको देखिन्छ। चिराइतो संकलन गरेर जिल्ला बाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको व्यापारी बताउँछन्। झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ। तर एकपटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन।

पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ। पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन्। दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानको भनाइ छ।

नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ। यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ। बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्यान्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीटजरल्यान्ड, श्रीलंका, बांग्लादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ। यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ। परम्परागत चिकित्सा पद्धतिजस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिका रूपमा चिराइतोको प्रयोग हुने गर्छ।

मुख्यगरी यसको प्रयोग बलवर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ। तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ। महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छालारोग, दाद निको पार्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ।

वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गरेको छ।