‘इतिहास अध्ययनमा शिलालेख मुख्यस्रोत हुन्। बरु किंवदन्तीलाई पछिल्लो (सेकेन्डरी) स्रोत मान्न सकिन्छ। पछिल्ला स्रोतका आधारमा इतिहासको निर्णय गर्न सकिँदैन। बरु, मुख्य (भरपर्दा) स्रोतका आधारमा कथा, किंवदन्तीलाई जोड्न मिल्छ।’
शिलालेख भनेको के हो?
शिलालेख भनेको तत्कालीन समयमा सम्बन्धित ठाउँमा स्थापना भएका मठमन्दिर, हिटी, जलद्रोणी, पूजाका लागि थापना गरिएका गुठी, मूर्ति वा अन्य कुनै सुविधाको विषयमा शिला(ढुंगा)मा गरिने सनत(लेखनी) हो। कागज वा लेखनीको अन्य माध्यम विकसित नभएको समयमा स्थानीयले जानकारी पाउनु भनी ढुंगामा लेखिन्थ्यो।
जुनै पनि शिलालेखमा कसले, कुन बेला, कहाँ, कसरी, के कारणले राख्यो जस्ता पाँच वटा प्रश्नको उत्तर हुन्छ। यसबाहेक शिलालेखअनुसार, विवरण घटी वा बढी हुने गर्छ। यस्ता शिलालेख राजा, महाराजादेखि आममानिसले समेत राख्न पाउँथे। यद्यपि, आममानिसले शिलालेख स्थापना गर्दा तत्कालीन समयका राजाको नामसहित उनको पर्यायश (राज्यकाल) उल्लेख गर्ने चलन थियो।यसकारण पनि शिलालेखलाई इतिहास अध्ययनका लागि भरपर्दो माध्यम अथवा प्रमाण भन्न सकिन्छ।
शिलालेखलाई अकाट्य प्रमाण पनि भन्ने गरिन्छ नि!
शिलालेख तत्कालीन समयमा सनत गरिएको भए पनि अकाट्य प्रमाण भनी हाल्न मिल्दैन। कारण, शिलालेखमा भएका जानकारीको हेरफेर हुनसक्छ।
त्यसो भए, शिलालेख इतिहास अध्ययनका लागि कतिको महत्त्वपूर्ण छन्?
शिलालेखको महत्त्वबारे एउटा उदाहरण दिन्छु: पोहोर साल फुटुङ्ग भन्ने ठाउँमा एउटा शिलालेख भेटियो। जसमा दुई राजाको वर्णनसहितको दुई वटा मिति थियो। त्यसले इतिहासको एउटा अधुरो, अपुरो पाटोको खुलासा गर्यो। लिच्छविकालीन राजा मानदेवपछि उनको छोरा महिदेव राजा भए/नभएको त्यस अघिसम्म पुष्टि हुन सकेको थिएन।
सो अभिलेखमा फुटुङ्गमा भेटिएको ४३३ को अभिलेखमा राजा महिदेवको घोषणा छ। यो एकदम नयाँ कुरा आयो। कारण, सो अभिलेख भेटिनुअघिसम्म मानदेवपछि ४२८ को अभिलेख वसन्तदेवको उल्लेख थियो। महिदेव केही समयका लागि राजा भएको र मरेको भन्ने अनुमान थियो। महिदेव राजा छन् वा छैनन् अनुमान र तर्ककै भरमा भइरहेको थियो। तर त्यो शिलालेखले उनी राजा भएको जनायो। बरु हुनसक्छ, शारीरिक अस्वस्थ भएर उनले आफ्नो छोरा वसन्तदेवलाई चाँडै राज्य सुम्पे।
इतिहासको त्यसो महत्त्वपूर्ण जानकारी दिने शिलालेख अर्को दिन टुक्रा, टुक्रा गरी फुटाएको पाइयो। संयोगवश एक जना व्यक्तिले शिलालेखको मुभी (भिडियो) खिचेका रहेछन्। त्यही मुभीलाई स्टिल (भिडियो रोक्दै) गर्दै मैले पढेर पठाएँ।
बेलाबखतमा भेटिरहने शिलालेख पढिदिन मानिसहरूले अनुरोध गर्छन्। पढेर पठाउँदा गुठी, जग्गाका जानकारी आउँछ। मान्छेको मनमा लोभ पाप पलाउँछ कि क्या हो रातारात शिलालेख फुटिसकेको हुन्छ।
कतिपय बस्ती बहाः तिरका शिलालेख गुच्चाले ठोकेरै बिगारिसक्यो, खेततिर भएको शिलालेख हँसिया उज्याउँदै सकाइसके। ढुंगेधारातिर मैलो माडेरै शिलालेखका अक्षर अस्पष्ट बनेको छन्। अझ सडकका छेउछाउमा रहेको शिलालेख सवारीसाधनले हानेर टुक्राटुक्रा भएका उदाहरण छन्।
यस्ता महत्त्वपूर्ण शिलालेखलाई पहिचान गर्ने आधारभूत चिन्ह के कस्तो हुन्छन्?
यदि शिलालेखमा वशाह, त्रिशूल चिन्ह देखिन्छ भने त्यो शिव वा शिवको मन्दिरसँग सम्बन्धित भनेर बुझ्न सकिन्छ। शंखचक्र देखिएका विष्णुको क्षेत्र भनेर बुझिन्छ। कुनै–कुनैमा माछा चिन्ह पनि हुन्छ। लिच्छविकालका अभिलेखमा भने यस्ता चिन्ह धेरै पाइँदैन। बौद्ध धर्मावलम्बीहरूको चैत्य मृत, कमलको चिन्ह हुन्छ। देवीदेवताका शिलालेखमा खड्ग हुन्छन्।
प्रायः पुरानो शिला अभिलेख भने स्तम्भ लेखिएका हुन्छन्। हाडीगाँउको सत्यनारायणको मन्दिरअघि स्तम्भमा अभिलेख छ। जसको माथि गरुड छ। यसले विष्णुको मन्दिरबारे बताउँछ। त्यहाँका गुठी, पूजा चलाउने लगायतका यावत् विवरण हुन्छन्। राजाहरूको प्रशंसादेखि आफ्नो वंशवृक्षबारे समेत उल्लेख भएको हुन्छ। यद्यपि, शिलालेखमा यस्ता चिन्ह हुनुपर्छ भन्ने अनिवार्य भने छैन।

तथ्य र प्रमाणको आधारमा अध्ययन गरिरहने तपाईं प्रचलित कथा, किंवदन्ती, जनश्रुतिप्रति कस्तो धारणा राख्नुहुन्छ?
म भरसक किंवदन्तीमा विश्वास गर्दिनँ। यी कालान्तरमा सिर्जना भएका कथा हुन्। किंवदन्ती कुनै पनि पर्व वा विषयमा यस्तो पनि भएको थियो वा भन्ने गरिन्थ्यो भन्ने चलनका रूपमा सुन्न, सुनाउन काम लाग्ला तर, यही नै इतिहास हो भनेर ग्यारेन्टी गर्न मिल्दैन। यसले इतिहास बिगार्छ।
त्यसो त शंखधर शाख्वाले नेपाल संवत् शुरू भनिन्छ। तर, उनले शुरू गरेको भनेर कुनै अभिलेखका प्रमाण छैन। मध्यकालको अन्तिमतिरका कतिपय अभिलेखमा शाख्वाको नाम देखा परेको छ। यसकारण किंवदन्तीकै आधारमा भाषा वंशावलीमा लेखिएको आधारमा नेपाल संवत् शंखधरले शुरू गरे भन्न मिल्दैन।
शिलालेख मुख्यस्रोत हुन्। बरु किंवदन्तीलाई पछिल्लो (सेकेन्डरी) स्रोत मान्न सकिन्छ। इतिहास अध्ययनमा पछिल्ला स्रोतका आधारमा इतिहासको निर्णय गर्न सकिँदैन। बरु, मुख्य (भरपर्दा) स्रोतका आधारमा कथा, किंवदन्तीलाई जोड्न मिल्छ।
केही वर्षयता चाडपर्व खप्टिने वा एक दिन बिराएर हुने गरेका छन्। यसको मुख्य कारण के होला?
नेवारको चलनमा हरेक बिहानदेखि चाड पर्व शुरू हुन्छ। बिहान सूर्योदय हुँदा खेरी सूर्यले जे तिथि लियो अर्को सूर्योदय नभएसम्म त्यही तिथि हुन्छ। यसलाई सावनमान भनिन्छ।
सावनमान एक सूर्योदयदेखि अर्को सूर्योदयसम्मको अवधिलाई एक दिन मान्ने सिद्धान्त हो। नेवार समुदायका सबै चाडपर्व सावनमानअनुसार नै हुन्छ।
यता दिनमानको सिद्धान्तले भने एक रातको १२ बजेको उप्रान्तदेखि अर्को रातको १२ बजेसम्मलाई एक दिन मान्छ। अब चन्द्रमासको तिथि दिउँसो तिथि पर्न आयो भनेर हुँदैन। तर, दशैँ, तिहारजस्ता पर्वको निर्धारण नै आजकल दिनमानमा हुन थालेको छ। यो बुझ पचाउने काम मात्र भइरहेको छ।
बिहान कुकुरपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्ने अनि भोलिपल्ट गाईपूजा गर्ने हाम्रो संस्कृति होइन। हाम्रो संस्कृतिमा बिहानदेखि चाडपर्व शुरू हुन्छ अर्को सूर्योदय नभएसम्म त्यही तिथि हो। नेवारले आफ्नो मुख्य सिद्धान्त छोडेपछि यो विग्रह आउन थालेको हो।
यहाँ बिहान र दिउँसो नै तिथि फरक हुने मान्न थालिएको छ। त्यसो भए एकैदिनमा बिहान सबेरै कागपूजा, त्यसपछि कुकरपूजा गयो, बिहान एक छिनपछि गाईपूजा, दिउँसो लक्ष्मीपूजा, बेलुकी म्हः पूजा गरेर राति फेरि भाइटीका गरी एकै दिनमा सिद्ध्याए भइहाल्यो नि!
चाडपर्व छाडेर पितृकार्य मात्र चान्द्रमासको हिसाबले कार्य गर्दा हुन्छ।
विक्रम संवत्को धरातल नभएको अनि नेपाल संवत् प्रमाणिक(अथेन्टिक) भएका कारण लागू गर्नुपर्नेमा तपाईंको जोड छ, किन?
मैले विक्रम संवत्को विरोध विदेश (भारत)बाट आयत गरेको कारण गरेको होइन। त्यस्तो हो भने त इस्वी संवत् पनि विदेशी नै हो।
तर, विक्रम संवत्को कुनै धरातल नै छैन। २०८२ साल लेख्दैमा २०८१ सालअघिदेखि नेपालमा चलेको संवत् होइन। त्यसरी बुझ्न मिल्दैन।
नेपाल संवत् ५११ को अभिलेख जयस्थिति मल्लको पालाबाट विक्रम संवत् भित्रिएको हो। त्यस बखत नेपाल संवत् र विक्रम संवत्को बीचमा ९३६ को फरक हुनुपर्ने थियो। तर, ९३३ मात्रै फरक छ। त्यो जानेर भन्दा पनि नजानेर भित्र्याएको बुझ्नुपर्छ।
त्यस्तै, भक्तपुरमा जितामित्र मल्लको पालाको नागपोखरीको ढुंगेधारामा राखेको शिलालेख नेपाल संवत् ८०८ को अभिलेख छ। ढुंगेधाराभन्दा माथि रहेको पाटी(फल्चा)मा ठूलो शिलापत्रमा पनि नेपाल संवत् ८०८ नै उल्लेख छ। तर सोही ढुंगेधारामा विक्रम संवत् १७४५ लेखिएको छ भने पाटीमा विक्रम संवत् १७८९ छ। निरन्तर चलेको नेपाल संवत्को तिथिमिति एउटै छ तर विक्रम संवत्को तिथिमिति फरक–फरक छ।
त्यस्तै, भूपतेन्द्र मल्लको पालाको दरबार भित्रको मातलीचोकमा रहेको शिलालेखमा नेपाल संवत् ८१८ छ। त्यसो शिलालेखमा कलिगत, विक्रम, शक र नेपाल संवत् गरी चारैवटा उल्लेख छ। त्यसको मतलब पछिल्लो मानिसहरूले यी मिति सालको तुलना गर्न सकून् भन्ने हो।
तर, त्यहाँको विक्रम संवत् र नेपाल संवत्मा ९३६ को फरक हुनुपर्नेमा ९३३ मात्रै छ। यस हिसाबले विक्रम संवत् गलत ढंगले हायर (भित्र्याएको) गरेको भयो। नेपाल संवत् नियमित रूपमा कुनै अंक गणितको हेरफेरमा चलिरहेको छ। नेपालको इतिहास पनि नेपाल संवत्बाट बताउन सहज छ। यसलाई आधिकारिक प्रयोगमा ल्याउने, नेपालको प्रतिनिधित्व गाह्रो छैन।
तपाईंको 'संशोधन मण्डल'सँग टक्कर, वैचारिक भिन्नता र बहसहरू भइरहेका हुन्छन्। तपाईंका मुद्दा के हुन् र तपाईं आफूलाई कहाँ पाउनुहुन्छ?
संशोधन मण्डलसँग मेरो कुनै व्यक्तिगत रिसइबी छैन। मेरा बुबा संशोधन मण्डलकै प्रोडक्ट हुनुहुन्थ्यो। मलाई शिलालेख अध्ययन गर्न सिकाउने उहाँ नै हुनुहुन्छ। मेरो उहाँसँग समेत विमति रहँदै आएको छ।
गोकर्णस्थित बालुवा गाउँको अभिलेखलाई 'डिसाइफर' (लिपि वाचन) गर्दा बुबासँग मेरो विमति भयो। लिच्छविकालमा संशोधन मण्डलले दुई थरी संवत् भएको बताएको थियो, जसलाई मैले स्वीकार गरिनँ। उनीहरूले ५२९ भन्नुपर्ने ठाउँमा छोटकरी गरेर अंशुवर्माले 'शक संवत् पूर्ण २' लाई २२ भनेको दाबी गरेका थिए। तर, मैले त्यो २२ नभई '२' मात्र हो भनेर प्रमाणित गरिदिएँ। बुबालाई ज्योतिषशास्त्रअनुसार गणना गर्न आउँथ्यो, त्यो हिसाबले उहाँले गणना गर्दा मिल्न।गयो उहाँ दंग हुनुभएको थियो मेरो दाबीबाट।
अर्को विषय मानदेव संवत्को हो। संशोधन मण्डलले संवत् ३०१ लाई विक्रम संवत् ९३५ सँग तुलना गरेको छ। यदि संवत् ३०१ हुँदा विसं. ९३५ हुन्छ भने, त्यसको लगत्तै ९३६ मा त 'नेपाल संवत्' शुरू भइसकेको थियो। त्यसो भए बीचको ३०४ वर्षको हिसाब कहाँ गयो त? मेरो प्रश्न यही हो। आज विसं. २०८२ चल्दै गर्दा अर्को साल सिधै २०८५ भन्न मिल्दैन, बीचका ३ वर्ष कहाँ गयो?
हाम्रो मुख्य वैचारिक भिन्नता रही छ। यसमा वादप्रतिवादको प्रत्यक्ष रूपमा आएका छैनौँ। मण्डलसँगै यस्तैयस्तै मुद्दामा वैचारिक मतभेद छ मेरो। यसका लागि बहस र शास्त्रतार्थ गर्न सकिने छ।

कैलाशकुट भवनको उत्खनन हाँडीगाउँमा नभई गोकर्णमा हुनुपर्नेमा तपाईंको दाबी छ। त्यसका आधार के–के हुन्?
गोकर्णमा भेटिएको नेपाल संवत् ५३६ को अभिलेखमा त्यहाँ अंशुवर्माले राजविहार राखेको उल्लेख छ। राजविहार भनेको लायकु(दरबार)को विहार हो। राजदरबार भएकै स्थानमा राजविहार हुन्छ। अनि अंशुवर्माले कैलाशकुट भवनबाटै राज्य सञ्चालन गरेका हुन्। हनुमानढोकाको राजबिहार हनुमान ढोकामै छ। त्यसैले कैलाशकुट भवनको उत्खनन त्यहाँ हुनुपर्छ।
लिच्छविकालीन कैलाशकुट भवन र मानगृह हाँडीगाउँमा बनेको भनिन्छ। तर पटक–पटकको उत्खननबाट पनि कैलाशकुट भवनको बिउ पनि हाँडीगाउँमा भेटाउन सकेन।
बरु, उत्खननको क्रममा हाडीगाउँको सत्यनारायण मन्दिरनजिक नेपाल संवत् १७४ एउटा जलद्रोणीमा भेटिएको थियो। त्यसमा हाँडीगाउँलाई अन्डीग्राम भनिलेखिएको छ। किराँती भाषामा ग्रामको अर्थ गाउँ हो। मानभवन र कैलाशकुट दुइटा दरबार भएको ठाउँ त शहर हुनुपर्ने होइन र?
त्यस्तै, नक्साल नारायण चौरमा भेटिएको एउटा अभिलेखमा कैलाशकुट भवन जाने बाटो उत्तरपूर्व भनिएको छ। जुन गोकर्ण हुन आउँछ।
तपाईंको पुस्तकमा अंकज्योतिष (न्यूमरोलोजी) देखि संवत् गणनाका प्राविधिक पक्षहरू पनि छन्, जुन विज्ञबाहेकका सामान्य पाठकका लागि केही जटिल हुन सक्छन्। यो पुस्तक कस्ता पाठकलाई लक्षित गरिएको हो वा यसलाई कसरी पढ्नुपर्छ?
मैले यो पुस्तकलाई कुनै खास वर्गका पाठकका लागि मात्र भनेर आकलन गरेको छैन। इतिहासका ज्ञाताहरूले यसलाई एकै पटकमा बुझ्न सक्लान् भने विद्यार्थी तथा जिज्ञासु पाठकहरूका लागि पनि यसमा धेरै नयाँ र सिक्नुपर्ने कुराहरू समेटिएका छन्।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
