साप्ताहिक ब्रिफिङः ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो, निर्वाचनप्रति एमाले किन सशंकित?

यो साता उकालोमा, ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली, मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?, रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानीलगायतका समाचारले हेडलाइन बनाए।

न्युजलेटर शुरू गरौँ देवी भट्टचनले ‘नेपाल शिपिङ एन्ड मल्टिमोडल ट्रान्सपोर्ट प्रालि’ कम्पनीको नाममा प्रभु बैंकको ४२ करोड रकम हिनामिना गरेको समाचार बाट। प्रभु बैंकको रकम अपचलन प्रकरणमा नयाँ तथ्य उजागर हुनेक्रम जारी छ। त्यहीक्रममा अगाडि आएको छ– पानीजहाज सञ्चालन गर्ने भन्दै खोलिएको एउटा कम्पनीमार्फत गरिएको ठूलो रकम अपचलन।

यसमा देवी भट्टचन र अशोक शेरचनकै प्रमुख संलग्नता देखिएको छ। प्रभु बैंकका संस्थापक अध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष भट्टचन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि अहिले हाजिरी जमानीमा रिहा भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शेरचन अहिले प्रहरी हिरासतमै छन्। र पछिल्लो अपचलनमा देखिएको छ– ‘नेपाल शिपिङ एन्ड मल्टिमोडल ट्रान्सपोर्ट प्रालि’ नामको कम्पनी।

यो कम्पनी भट्टचनले खोलेका हुन्। भट्टचनले शेरचनसँगको मिलेमतोमा प्रभु बैंकबाट अर्कै प्रयोजनका लागि लगिएको ४१ करोड ९७ लाख ३३ हजार रुपैयाँ कर्जा विभिन्न ठाउँमा घुमाएर अन्ततः यही कम्पनीको नामबाट ‘सेटल’ गरेको तथ्य उकालोले फेला पारेको छ। नेपाल राष्ट्र बैंकको कारबाहीबाट जोगिन भट्टचनले नातेदारसमेत पर्ने प्रभु बैंकका सीईओ शेरचन र व्यावसायिक साझेदार राजेन्द्र शाक्यसँगको मिलेमतोमा कर्जा दुरूपयोग गरेको देखिन्छ। जसअनुसार प्रभु बैंकलाई तिर्नुपर्ने कर्जा प्रभु बैंकबाटै निकालेर विभिन्न ठाउँ घुमाउँदै ‘सेटल’ गरिएको देखिएको छ। यो प्रकरणबारे सीआईबीले अनुसन्धान गरिरहेको छ।

नेपालको आफ्नै पानीजहाज चलाउने तत्कालीन प्रधानमन्त्री ओलीको ‘सपना’ले अरूलाई त केही गर्‍यो या गरेन, देवी भट्टचनलाई चाहिँ प्रभु बैंकको ४२ करोड रकम हिनामिना गर्ने अवसर जुराइदियो। त्यो कसरी ? बुझ्न पढ्नुहोस् दिपा दाहालकेशु लामिछानेको यो रिपोर्ट : ओलीको ‘पानीजहाज सपना’ हेरेर खोलिएको शिपिङ कम्पनी, त्यसबाटै भट्टचनले गरे ४२ करोड हिनामिना

अब कुरा गरौँ खुला नभएको खुलामञ्चको समाचारको।  

गत कात्तिक २७ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्चबारे साढे ३ मिनेटको भिडियो फेसबुकमा पोस्ट गर्दै लेखे-“खुलामञ्च अब सधैँका लागि खुल्ला हुँदैछ....।”  मेयर निर्वाचित हुनुअघि सम्पदाप्रेमीका रूपमा आफूलाई चिनाएका, तर मेयर बनेसँगै खुलामञ्चमा अन्डरगाउन्ड रिचार्ज तथा फुटसलको योजना अघि सारेर खुलामञ्चलाई संकुचित पार्न खोजेको विवादमा तानिएका बालेनले यो भिडियोसहित पोस्ट गरेका तस्वीरमा गोधुली साँझ, हरियो घाँसे मैदान, सिरानमा कृत्रिम लाइटबाट निस्किएका पहेँला प्रकाश झलमल्ल देखिन्थे। जसले खुलामञ्चलाई चहकिलो र आकर्षक देखाउँथ्यो। 

बालेन आउनुअघि नै खुलामञ्च अस्थायी बसपार्क र टहरा निर्माणले कुरूप थियो। उनी आएपछि पनि कहिले फुटसल ग्राउन्ड बनाउने त कहिले यसको उपयोगसम्बन्धी विभिन्न योजनाका नाममा खुलामञ्चलाई प्रयोगशाला बनाउन खोजियो। तर उनको यस्तो योजनामा सम्पदा अभियन्ता र स्थानीय बासिन्दा चुप लागेनन्। उनीहरूको निरन्तरको खबरदारीकै परिणाम हो– बालेनले खुलामञ्च अब खुल्लै हुन्छ भन्ने प्रस्टीकरणसहित भिडियो पोस्ट गर्नु।

उनको यस्तो पोस्टबाट तरंगित बनेर कतिपयले खुलामञ्च अब जनतामै फिर्ता आएको भनेर सेयर गरे। सामाजिक सञ्जालमा पनि त्यस्तै चर्चा भयो। तर बालेनले यसो भने पनि खुलामञ्चबारेका प्रश्न टुंगिएका छैनन्। कैयौँ प्रश्न अझै बाँकी छन्। यसबारे थप बुझ्न प्रबिता श्रेष्ठको यो रिपोर्ट पढ्नुहोस् :पञ्चायतदेखि बालेनसम्मले प्रयोगशाला बनाएको खुलामञ्च: खुला रहनेमै संशय

साताका प्रमुख हेडलाइनहरू​​​

देश-समाज

‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली
विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।

रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानी
प्रभु बैंकले रेमिट्यान्स कारोबारका लागि प्रभु मनी ट्रान्सफरलाई ठूलो रकम बिनाब्याज चलाउन दिँदा २०६७ सालदेखि २०७७ सालसम्म बैंकलाई ब्याजमार्फत आउने १ अर्ब १३ करोडभन्दा बढी नोक्सानी पुगेको देखिएको छ।

फागुन २१ को निर्वाचनप्रति किन सशंकित छ एमाले?
निर्वाचन आयोगले अघि बढाएको चुनावी प्रक्रियामा सामेल भएपनि एमाले पंक्तिले फागुन २१ को निर्वाचनबारे बाक्लो आशंका व्यक्त गरिरहेको छ। त्यसमा एमालेको रणनीतिक ‘मूभ’ र चुनावी वातावरण बनाउन नसकिरहेको सरकार दुवैको भूमिका छ।

नेपालमा विदेशी विश्वविद्यालयका विद्यार्थीः जंगलमा हुन्छ संरक्षणको कक्षा
अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न १२ विश्वविद्यालयका विद्यार्थी नेपालका नदी, वन, वन्यजन्तु र संरक्षणको विषयमा पढ्न आउने गरेका छन्। कतिपयले त पूरै एक सेमेस्टर यतै बसेर पढ्छन्।

मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?
मधेशमा पटकपटक घरैमा महिला मृत भेटिने र अनुसन्धान प्रक्रिया गोलमटोल चल्ने गरेको छ। अढाई वर्षअघि मृत भेटिएकी आरती साहको त अस्पतालले नै गलत पोष्टमार्टम रिपोर्ट दिएको प्रमाणित भएको थियो।

आफू निकट असन्तुष्टलाई फकाउँदै ओली, उम्मेदवार नभएको घोषणा गर्न दबाब
नेता ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएको बेला आफ्नै समूहमा बढेको असन्तुष्टि मत्थर गरेर नजाँदा चुनावी परिणाममा असर पर्ने देखेर ओली समूहले रणनीतिक रूपमा दबाब अभियान चलाएको छ।

प्रभु बैंक घोटाला: सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका पाण्डे पनि अनुसन्धानमा तानिए
प्रभु बैंकको १३ करोड कर्जा दुरुपयोगमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ।

विचार-टिप्पणी

ओलीले जितेपछिको एमाले
आफ्नो निहित स्वार्थमा बाधक बन्दा पार्टीका विधिविधान नै बदलेर अघि बढेका ओली तेस्रोपटक पनि एमाले अध्यक्ष बन्ने लगभग निश्चित देखिन्छ। तर एमाले सत्तामा ओलीको ह्याट्रिक पार्टीपंक्तिका लागि भने पीडादायी बन्न सक्छ।

कमरेड दक्षप्रजापति!
भृकुटीमण्डपले ओलीलाई एमालेको अध्यक्षमा फेरि ल्याएन भने त्यो अनर्थ हुनेछ, ल्यायो नै भने पनि ओली अब ‘घिस्रने बाघ’मा सीमित हुनेछन्। आउँदो निर्वाचनमा अझ यिनको ‘दक्षरूप’ सतहमा प्रकट हुनेछ।

‘शिक्षकले राजनीति गर्न हुन्न’ भन्नु पनि राजनीति नै हो
एक अध्ययनअनुसार, विद्यालयको समयपछि पनि पाठ तयारी, गृहकार्य मूल्यांकन र प्रशासनिक काममा हप्तामा करिब ६–१० घण्टा व्यक्तिगत समय खर्च गर्छन् शिक्षकले।

‘नीति निर्माण गर्दा नै प्रवासी मताधिकारलाई प्राथमिकता दिइएन’
‘नेपालभन्दा बाहिर रहेका नेपाली पनि हाम्रै नागरिक हुन्, उनीहरूको पनि अधिकार छ, उहाँहरूलाई पनि जोड्नुपर्छ, छोड्नुहुन्न भन्ने इच्छाशक्ति र भावना राख्ने हो भने प्रवासी मताधिकार सम्भव छ।’

सियो पनि नबन्ने देश?
हाम्रो सामूहिक कल्पनामा नै उत्पादन बढाउने, बिस्तार गर्ने, रोजगारी सिर्जना गर्नेभन्दा पनि सियोमा आत्मनिर्भरताजस्ता लघु सपनाहरूले बास गरेका थिए।

खेल

आइकोनिक प्लेयरः मौका पाउनै मुस्किल
नयाँ खेलाडीलाई एनपीएल खेल्ने सपना साकार पार्ने एउटा ढोका ‘ट्यालेन्ट हन्ट’ हो। यसरी छनोट हुन चर्को प्रतिस्पर्धा त हुन्छ नै, छानिएर आइकोनिक खेलाडी भएपछि अन्तिम–११ मा पनि कमैले मौका पाउँछन्।

एनपीएलमा लय समातेका खेलाडीले विश्वकप टोलीमा पाउलान् मौका?
एनपीएलको दोस्रो संस्करण सम्पन्न भएसँगै यसमा उच्चस्तरको प्रदर्शन गरेका खेलाडीहरूले आउँदो टी२० विश्वकप प्रतियोगिताका लागि राष्ट्रिय टोलीको ढोका ढकढक्याएका छन्।

नेपाल अफगानिस्तानसँग पराजित
यू–१९ एशिया कप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

विश्व

अन्तर्राष्ट्रिय यातायात मार्ग अघि बढाउने रुस र इरानको तयारी
सन् २०२३ जुलाइमा इरान र रुसले आईएनएसटीसीको रूपमा इरानभित्र रेलवे निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

ढाकामा बढ्यो तनाव, सञ्चारगृहमा तोडफोड र आगजनी
हादीको मृत्युसँगै देशभर अशान्ति फैलिएपछि इन्किलाब मञ्चले नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ।