आफ्नो समूहका पदका आकांक्षीकाे व्यवस्थापन गर्न विधान महाधिवेशनको निर्णय ३ महिनामै उल्ट्याए पनि ओलीले तिनैलाई एकताबद्ध राख्न नसक्दा असन्तुष्ट नेताले विद्रोह गर्दै ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन्।
काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा यतिबेला नेकपा (एमाले) को ११औँ महाधिवेशनको रौनक छाएको छ। देशभरबाट आएका प्रतिनिधि र कार्यकर्ताको बाक्लो उपस्थितिले महाधिवेशनस्थल तातिएको छ। तर, बाहिर जति उत्साह देखिए पनि नेतृत्व चयनको भित्री रस्साकस्सीले भने आकांक्षीहरूको मन चिसिएको छ। आइतबार नै निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्व चयनको प्रक्रियाले गति लिएको थियो। तर, नेता व्यवस्थापनका नाममा अन्तिम समयमा विधान नै संशोधन गरेर पदाधिकारी संख्या बढाए पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले आफ्नै समूहलाई ‘एकढिक्का’ राख्न सकेनन्।
गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको ११औँ महाधिवेशनबाट पदाधिकारीको संख्या १५ पुर्याउने निर्णय पारित गरेको थियो। महाधिवेशनको मिति घोषणा भइसकेपछि नेताहरू त्यसमै अडिग थिए। तर, एकाएक महाधिवेशनको बन्दसत्र शुरू हुनुपूर्व निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले अन्तिम केन्द्रीय कमिटीको बैठक बोलाएर विधान संशोधन गर्ने निर्णय पारित गराए।
ओलीले पार्टीको महाधिवेशनमा ईश्वर पोखरेलले प्यानल नै बनाएर आफूसँग चुनावी प्रतिस्पर्धा गर्न तयार देखिएपछि बहुमत रहेको केन्द्रीय कमिटीबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्याउने निर्णय गराएका हुन्। आफ्नो समूहभित्रै पदाधिकारीमा धेरै नेताहरू आकांक्षी देखिएकाले पनि उनीहरूलाई व्यवस्थापन गर्न उनले विधान नै संशोधन गराए हुन्। यद्यपि, संस्थापन इतर समूहले विरोध गरे पनि बहुमतका कारण ओलीले अघि सारेको निर्णय पारित भएरै छोड्यो।
नेताहरूलाई व्यवस्थापन गर्ने भन्दै विधान उल्टाउन सफल भए पनि ओलीले आफ्नो समूहलाई भने एकताबद्ध राख्न सकेनन्। साथै, यो महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवार टुंगो लगाउन उनलाई निकै सकस पर्यो। त्यसको प्रत्यक्ष असर उम्मेदवारी मनोनयनमा समेत देखिएको छ।
ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल र पृथ्वीसुब्बा गुरुङको उम्मेदवारी परेको छ। महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टलाई समेटिएको छ। त्यसैगरी, सचिव पदका लागि भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतको उम्मेदवारी परेको छ।

ओलीले तयार पारेको प्यानलमा शुरूमा नेता प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा राखिएको थियो भने लेखराज भट्टलाई सचिवमा। तर, भट्टले आफू सचिवमा उम्मेदवारी नदिने अडान राखेपछि पुनः संशोधन गरेर भानुभक्त ढकाललाई सचिवमा उम्मेदवारी दिन लगाइयो र भट्टलाई उपमहासचिवको उम्मेदवारी दिन लगाइयो। तर यतिले मात्र ओली समूहभित्रको विवाद समाधान हुन सकेन।
महासचिवका लागि पूर्ण तयारीमा रहेका नेता ज्ञवाली उपाध्यक्षमा उम्मेदवारी नै नदिने अडान राखेर महाधिवेशनस्थलबाट बाहिरिए। उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन्। ज्ञवालीले महासचिवबाहेकको पदमा उम्मेदवारी नदिने अडान राखेपछि नेतृत्वले मनाउन प्रयास गर्दा पार्टी निर्वाचन आयोगले दुई पटक त उम्मेदवारी मनोनयन दर्ताको समय नै संशोधन गर्नुपरेको थियो।
“उहाँले शुरूदेखि नै महासचिवबाहेक अन्य पदमा चुनाव नलड्ने भन्दै आउनुभएको थियो। अर्को कुरा, महासचिवमा कुनै पनि व्यक्ति दोहोरिनुहुन्न भन्ने उहाँको मान्यता थियो,” ज्ञवालीनिकट एक नेता भन्छन्, “तर नेतृत्वले चाहँदै चाहेन।”
नेता प्रदीप ज्ञवाली मात्र होइनन्, अन्य ओलीनिकट नेताहरूले महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्तामा असन्तुष्टि जनाउँदै ओली समूहबाट विद्रोह गरेका छन्। ओलीलाई सधैँ साथ दिने नेता कृष्णगोपाल श्रेष्ठ यो महाधिवेशनमा सचिवमा चुनाव लड्न चाहन्थे तर ओलीले उनलाई उम्मेदवार नै नबनाएपछि असन्तुष्ट बनेर उनी संस्थापनइतर समूह (ईश्वर पोखरेल समूह) बाट सचिवमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, ओलीसँग लामो सहकार्य गरेका रघुजी पन्त पनि उपाध्यक्षको टिकट नपाएपछि असन्तुष्ट बने। प्रधानमन्त्री भएका बेला ओलीले उनलाई शिक्षामन्त्री बनाएका थिए। तर पन्तले पनि ओलीको साथ छाड्दै पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
वर्तमान पार्टी कमिटीमा प्रचार विभाग प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका राजेन्द्र गौतम पनि ओलीका प्रिय पात्र मानिन्थे। तर, पदाधिकारी चयनमा आफूलाई नसमेटिएपछि उनले पनि स्वतन्त्र हैसियतमा उपमहासचिवमा उम्मेदवारी दिए। उनले उकालोसँगको कुराकानीमा भने, “मैले कुनै प्यानलबाट उम्मेदवारी नदिएर स्वतन्त्र हिसाबले दिएको हुँ। नेतृत्वको वरिपरि बस्नेहरूले नै सही उम्मेदवार बन्ने वातावरण बनाएनन्। मेरो उम्मेदवारी पार्टी एकढिक्का बनाउनकै लागि हो।”
ओली प्यानलबाट विद्रोह गरेर नेता लालबाबु पण्डितले सचिव, नेता भीम आचार्यले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। विगतमा ओलीसँग रहेका नेता कर्ण थापा त पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयमा असहमति जनाउँदै ओलीको विरोधमा उत्रिएका थिए। महाधिवेशनकै बेला ओलीका प्रिय पात्रका रूपमा चिनिने नेता गोकुल बास्कोटाले पनि ओलीको साथ छोडेर ईश्वर पोखरेलको प्यानलबाट सचिवको उम्मेदवारी दिएका छन्।

यस्तै, ओलीको उम्मेदवारी चयनमा असन्तुष्टि जनाउँदै नेता अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। निवर्तमान कमिटीमा संगठन विभाग प्रमुखको भूमिकामा रहेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको चाहना उपाध्यक्ष बन्ने थियो। तर, ओलीले उपाध्यक्षमा राजी नभई अनुशासन आयोगको अध्यक्ष बन्न प्रस्ताव गरे। अधिकारीले उक्त प्रस्ताव अस्वीकार गरेपछि ओलीले केन्द्रीय सदस्य बन्न आग्रह गरेका थिए। पछि स्थायी कमिटी सदस्य बनाउने आश्वासन दिए पनि अधिकारीले भने कुनै प्रस्ताव स्वीकार नगरी केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नै दिएनन्।
पदाधिकारीमा मात्र होइन, केन्द्रीय कमिटीमा पनि अधिकांश नेताहरूले नेतृत्वले तयार पारेको उम्मेदवारको सूची लत्त्याउँदै स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका एक नेताले असन्तुष्टि व्यक्त गर्दै भने, “हामीले लामो समयदेखि नेतृत्वको प्रतिरक्षामा लाग्दै आयौँ। तर, अहिले महाधिवेशनका बेला कसैलाई पटक–पटक अवसर दिने त कसैलाई अवसरबाटै वञ्चित गर्ने काम भयो।”
यस महाधिवेशनमा ओलीसँग नजिक मानिएका अन्य नेताहरू समेत ईश्वर पोखरेल समूहमा खुलेर लागेका छन्। यसअघि ओलीसँगै रहेका नेता आनन्द पोखरेल शुरूमा ईश्वर पोखरेल समूहमा खुलेका थिएनन्। तर, हाल आएर उनी खुलेरै ईश्वर पोखरेल समूहमा सहभागी भएर उपमहासचिवमा उम्मेदवारी दिएका छन्।
ओली समूहमा पदाधिकारी चयनले असन्तुष्टि र विवाद निम्त्याए पनि पोखरेल समूहको प्यानल भने सहजै पूरा भएको छ। पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्तलाई उम्मेदवार बनाइएको छ। महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी परेको छ। यस्तै, सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी दर्ता भएको छ।
नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएर विधान नै संशोधन गरे पनि ओलीले आफ्नो समूहलाई एकताबद्ध राख्न सकेनन्, जसको असर नतिजामा देखिन सक्ने नेताहरू नै बताउँछन्। पदाधिकारीमा उम्मेदवारी दिएका एक नेता भन्छन्, “नेता प्रदीप ज्ञवालीदेखि अन्य नेताहरूको असन्तुष्टिले महाधिवेशनको नतिजालाई असर नपार्ला भन्न सक्ने अवस्था छैन। नेतृत्वले अझै पनि असन्तुष्ट साथीहरूसँग छलफल गर्नुपर्छ। सबैलाई मिलाएर लैजान सकिने त होइन, तर व्यवस्थापन गर्नुपर्थ्यो।”
यद्यपि, ओली प्यानलबाट सचिवमा उम्मेदवारी दिएकी नेता पद्मा अर्याल भने ठूलो पार्टीमा नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण नै हुने बताउँछिन्। “मेरो पनि चाहना अरू नै केही थियो होला। तर, नेतृत्वले व्यवस्थापन गर्दा म पनि सचिवमा नै बस्न तयार भएँ,” उनले भनिन्, “यतिखेर पार्टीलाई एकढिक्का बनाउनुपर्ने बेला हो।”
सोमबार बिहान साढे १० बजेदेखि शुरू भएको उम्मेदवारी दर्ताको समय आन्तरिक विवादका कारण लम्बिएको थियो। एमाले निर्वाचन आयोगले सोमबार राति १० बजेतिर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ भने मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
