सुध्र लम्पट नेपाली वामपन्थीहरू

आउनुहोस्, नैतिकवान्, इमानदार र सदाचारी कम्युनिस्ट बनौँ। लम्पट वामपन्थ विघटन गरौँ। पुरातन कम्युनिस्टलाई बिदाइ गरौँ।

समाजको पछौटेपन, अर्ध–सामन्तवादी शोषण, निरंकुशता, ऐतिहासिक उत्पीडन, असमानता र विभेदको अन्त्य गर्दै नेपाली जनताले क्रमशः गणतन्त्र स्थापनासहित स्वाधीन राष्ट्रिय पुँजीवादी उत्पादन सम्बन्धको विकाससँगै जनवादी–समाजवादको यात्रा तय गर्नेछन्, जसले देशको चरम गरिबीको अन्त्य र आमजनताको जीविका उन्नत बनाउनेछ भनी त्यस यात्राको पहिलो सैद्धान्तिक रूपरेखा कोर्ने कमरेड पुष्पलाल र यसको रणनीतिक कार्यदिशा पहिचान गरी वामपन्थी राजमार्गको स्वरूप अगाडी बढाउने क. मदन भण्डारी यति बेला जीवित भएका हुन्थे भने के भन्थे होला अहिलेका त लम्पट वामपन्थी नेताहरू देखेर?

हुन त त जनवाद–समाजवादको लागि सशस्त्र क्रान्ति गरेका प्रचण्ड–बाबुराम–वैद्य हामीमाझ नै छन्, तर पनि यति बेला नेपालको वामपन्थी आन्दोलन उपर जनविश्वास धरमराएको छ। नेपाली वामपन्थ दिशाहीन अन्योलको चौरस्तामा खडा छ। अगाडी बढ्ने रोडम्याप छैन, पछाडि फर्कन सकिन्न र वाम आन्दोलन विसर्जन गर्दा जनताले घेर्छन्। उसो भए अब के गर्ने?

कम्युनिस्टहरूलाई यस्तो कमजोर हालतमा पुर्‍याएको हो २०८२ सालको जेनजी विद्रोहले। किनकि त्यति बेला कम्युनिस्ट नामधारी केपी शर्मा ओली बडामहाराजा झैं प्रधानमन्त्रीको 'राजसिंहासन'मा थिए। जे भए पनि संसदमा दुई तिहाइ जनमत माओवादी र एमाले भन्ने वामपन्थीहरूकै थियो। नेपाली काँग्रेस मात्रै संसदमा निर्धारक शक्ति थिएन। त्यसैले होला, पालैपालो ओली–प्रचण्ड राजकाज चल्तीमा थियो। गत भदौ २३ र २४ गते व्यापक जन असन्तोष उर्लियो र तत्कालै गद्दी छोडेर भाग्नु पर्‍यो ओली। उनलाई प्रतिगामी, हत्यारा र सर्वसत्तावादी तानासाहको आरोप लाग्यो। जनविश्वास गुमेपछि हुने यस्तै हो।

आखिर यस्तो अवस्था कसरी उत्पन्न भयो? तीस वर्षयता लगातार सत्तामा बसेका हाम्रा वामपन्थीहरू पालैपालो कुशासन, राज्य दोहन र भष्ट्राचारमा संलग्न भए। न्यूनतम पनि जनपक्षीय र जनजीविका (गास, बास, कपास) सुधारको काम गरेनन्। तर भाषणचाहिँ युगौँलाई पुग्ने गरे। वामपन्थीहरू सबभन्दा बढी प्रजातान्त्रिक हुनु पर्नेमा सबभन्दा अधिनायकी, तानासाही र सर्वसत्तावादी भए। पार्टीमा आन्तरिक जनवाद र स्वच्छ बहस बन्देज गरे, निजी स्वार्थका लागि गुट निर्माण गरे, सिर्जनशील छलफल रोके, अल्पमतलाई दमन गरे र गैरलोकतान्त्रिक बने। निर्वाचन पनि नमान्ने भए। 

के कम्युनिस्टहरूको चरित्र यस्तै हुन्छ त ? जनताप्रति सबैभन्दा बढी इमानदार र वफादार हुनुपर्ने वामपन्थ सबैभन्दा लम्पट (सुविधाभोगी) र गैरजिम्मेवार भयो नेपालमा। जेनजी कुनै राजनीतिक आन्दोलन थिएन। यो त नवयुवाहरूले सुशासन खोजेको एक अल्पकालीन मुद्दाको वृहत् प्रदर्शनसम्म थियो। यस्तो जनप्रदर्शनले पनि कम्युनिस्ट भनाउँदाहरू हुत्तिए। अहिले यिनै कम्युनिस्ट भन्नेहरूले 'पार्टी सुधार, रूपान्तरण, एकता र पुनर्गठन' गरिरहेको देखिँदै छ।

नेपाली वामपन्थ: दक्षिणपन्थी यात्रामा छ 
पहिलो कुरा एमालेबाट गरौँ। केपी ओली अझै नसुध्रिने बाटोमा छन्। उनी त चुनाव पनि चाहन्नन्, संसद् पनि चाहन्नन्, मात्रै अनवरत पार्टी र सत्ता कब्जा चाहन्छन्। सामाजिक राष्ट्रवादका नाममा हिट्लरको शैलीमा 'ब्राह्मणवादी एकाधिकार' चाहन्छन्। उनी खतरनाक प्रतिगामी खेलफड्कोमा छन् । सोही कारण घोर दक्षिणपन्थी फासिवादको महायात्रामा निस्केका छन्। त्यसो हुँदा कतिपयले उनलाई नार्सिसिस्ट-वामपन्थी पनि भन्छन्।

भर्खरै काठमाडौँमा ओलीले ११ औँ महाधिवेशनको नौटंकी देखाए। उनकै आसेपासे-ग्याङले नै एमाले कब्जाको पुनरावृत्ति गरे। अचम्म के भने यो महाधिवेशनमा तीस वर्षअघि मदन भण्डारीले कोरेको जनताको बहुदलीय जनवाद (जबज) उपर न त कार्यकर्तामाझ समसामयिक बहस भयो नत त यसको सिर्जनशील विकासमा थप योगदान।

ऊ बेलाको जस्तो समाज छैन आज, यो बदलिएको छ। यसैले अहिलेको विकसित सामाजिक यथार्थ बुझ्न सक्नुपर्छ। यो बुझ्ने चेतना–विचारले हो। नीति र विचारलाई क्रान्तिकारी चेतनाले हमेसा तिर्खानुपर्छ। नत्र भुत्ते हुन्छ, बेकम्मा बन्छ।

आजको एआइ–मेटा युगमा सोही बमोजिमको चेतनाले तिखारिएको मार्क्सवाद, लेनिनवाद, माओवाद र जबजबाट समसामयिक अर्थ राजनीतिक समस्या (सामाजिक अन्तर्विरोध) हरू हल गर्दै नेपाली समाजको प्रगतिशील रूपान्तरण गर्ने क्षमता बनाउन आवश्यक छ, जो विचारमा आधारित बृहत् जनविमर्श र छलफलबाटै निर्मित हुन्छ।

मार्क्सवादले पनि सदैव नयाँ सामाजिक प्रयोग, परीक्षण र सुधारमार्फत नवीनता चाहन्छ। यसैले आज जबजमा नवीनता जरुरी छ। यो विचारमाथि गहन छलफल महाधिवेशनमा हुनुपर्थ्यो। तर यसमा ओली प्रवेश गरेनन्। ओली राजदण्ड बोकेर सिधै सिंहासनमा प्रवेश गरे। एमाले कार्यकता पनि उस्तै चेतनाविहीन लम्फू भए र ओलीको भजनमण्डली बने। उनको सर्वसत्तावादको समर्थनमा लागे। लाग्छ, एमालेले नेतृत्वसँगै पार्टी, जनसंगठन र कार्यकर्तास्तरबाटै मार्क्सवाद–लेनिनवादको नीति पनि छोड्यो। यसरी, अब घोर दक्षिणपन्थी-हिटलर जन्माउन तम्तयार भयो एमाले।

दोस्रो कुरा गरौँ, सोह्र वटा वामदल मिलेर बनेको नेकपा र अन्य बचेखुचेका वामहरूको पनि। प्रचण्ड–माधवले सुधारसहित नयाँ कम्युनिस्ट पार्टी बनाउने रे! अब यिनीहरूले समाजवाद ल्याउने रे! यिनको कुरा पनि हास्यास्पद छ। विप्लव, बाबुराम, घनश्याम, जनार्दन र अरुअरु पनि यस्तै गर्नेमा छन्। आश्चर्य यस मानेमा पनि देखियो कि औद्योगिक मजदुर वर्ग भन्दा सबाल्टर्न, श्रमजीवी र साना किसान वर्ग बढी भएको देशमा प्रचण्डबाटै माओविचार त्यागिएको छ।

यस्ता देशमा त माओवाद वा माओविचार नयाँ जनवादी क्रान्तिको आधारभूत वैचारिक हतियार हो। यसले अर्धसामन्तवादी उत्पादन सम्बन्धलाई उत्पादन शक्तिको द्रुततर विकासमार्फत बदल्दै प्रगतिशील पुँजीवादमा संक्रमण गराउँछ र राष्ट्रिय पुँजी निर्माण गर्छ। तब स्वाधीन र व्यावसायिक कृषि अर्थतन्त्र रूपान्तरण हुँदै औद्योगीकरण प्रक्रिया तेज गतिमा लैजान्छ। जसले पहिलो सर्तका रूपमा सामाजिक न्यायसहितको नयाँ जनवाद (लोकतान्त्रिक जनवाद) स्थापना गर्छ। 

चिनियाँ राष्ट्रिय पुँजीको विकास र भियतनामी पुँजीको द्रुततर विकास माओ विचारधाराकै नेतृत्वमा सम्भव भएको हो। एमालेको जबज कार्यक्रमले मार्क्सवाद–लेनिनवाद छोडेझैँ लाग्थ्यो। अहिले आएर प्रचण्ड–माधव–विप्लवले पनि मालेमावाद छोडेछन्। त्यसो भएपछि यिनले कसरी समाजवादी क्रान्ति सम्पन्न गर्लान्? जनस्तरबाट यो प्रश्न सोधिनै पर्छ, मार्क्सवाद-लेनिनवाद र माओ विचार त्यागेर नव–उदारवादको घोडसवारमा हौसिएका ओली–प्रचण्ड–माधव–बाबुराम–विप्लवले कस्तो वैचारिक औजारका आधारमा समाजवादी अर्थव्यवस्था ल्याउँछन् त? यसको उत्तर छैन।

यसैले नेपाली वामपन्थ आज दिशाहीन र नीतिहीन बनेको छ। वामपन्थीहरूको खास उद्देश्य शोषणको अन्त्यसहित गरिब वर्गको जनजीविका उन्नत पार्ने हो, जसका लागि जनवादी–समाजवादी क्रान्ति चाहिने हो। तर यिनीहरूकै सत्ता चल्दा पनि धनाढ्य मात्रै लाभकारी देखिए भने आम जनता झनै गरिब भए। समाजवादको न्यूनतम जग भए पनि यहीँनिर वामपन्थी मुकुन्डो उघ्रिएको हो।

यस्तो कमजोर चेतना र वैचारिक पतन देख्दादेख्दै पनि यिनैका नक्कली कुरा जनताले पत्याइदिनु पर्ने? यो त आम जनताप्रति भयानक धोखाधडी हो। किनकि यो एक लम्पट वामपन्थी लफ्फाजी र घृणित लाल कुतर्क हो। यो नेपाली क्रान्तिकारी इतिहासको अपमान, श्रमजीवी एवं किसान वर्गका यावत जनसंर्घष, जनयुद्धको रगत र हजारौँ शहीदका बलिदानप्रति भद्दा मजाक हो। समाजवादका नाममा देखाइएको विचारहीन-दरिद्र-वामपन्थी नौटंकी हो भने शायद अन्तिम कम्युनिस्ट मेलोड्रामा पनि हो।

पुष्पलालको सपना: शोषणको अन्त्य र समानतामूलक समाज
कमरेड पुष्पलाल लगायतले कम्युनिस्ट पार्टी निर्माण गर्दा नेपाली समाजको आर्थिक, सामाजिक र सांस्कृतिक चरित्र अर्ध–सामन्तवादी ढाँचामा नै थियो। राष्ट्रिय उत्पादनको २/३ भाग कृषि उत्पादनमा निर्भर थियो। देशको राजनीतिक नियन्त्रक र शासन सत्ताको हर्ताकर्ता राणाकालीन भारदारपन्थ र राजतन्त्र थियो। विद्युत्, बाटोघाटो, रेल, सडक संरचनाहरू र उद्योगधन्दा विकास भइसकेको थिएन।

कतैकतै भारतीय धनीमानी वर्गले मझौला उद्योगहरू स्थापना गर्दै थिए। त्यसो हुँदा, आशिंक सामन्तवादी (अर्धसामन्ती–अर्ध औपनिवेशिक) संरचना थिए ती। समाजको फेदमा, बहुसङ्ख्यक उत्पादक वर्गका रूपमा साना किसान, मोही किसान, ज्यालादारी भूमिहीन, हरुवा चरुवा र कमैया थिए भने माथिपट्टि शोषक वर्गका रूपमा धनी किसान, भूमिपति, जमीनदार, राजशाही परिबार, सरकारी कर्मचारी र अभिजात वर्ग थिए। निकै कष्टकर जीवनस्तर थियो आम नेपाली जनताको अनि भोकमरी, गरिबी र दरिद्रता सर्वत्र थियो। 

आम जनताको यही नाजुक अवस्था फेर्न र शोषणरहित समाज स्थापनार्थ कमरेड पुष्पलालले नयाँ जनवादी कार्यक्रममार्फत समाजवादमा जानेगरी वाम क्रान्तिको रोडम्याप तयार पारेका थिए। नयाँ जनवाद न्यूनतम कार्यक्रम थियो, जसमा राष्ट्रिय उत्पादन शक्तिको विकास र उत्पादन सम्बन्धलाई प्रगतिशील ढाँचामा विस्तार गर्दै उपल्लो स्तरमा जाने भन्ने थियो। उत्पादनका सबै साधन स्रोत र आम्दानीको समानतामूलक पहुँच, वितरण र बाँडफाँड गर्ने उद्देश्य थियो। 

नेपालको अर्थ राजनीतिक रूपान्तरणको ऐतिहासिक आवश्यकता पनि थियो सो। त्यसका लागि नेपाली काँग्रेस पनि सँगै हिँड्छु भनेको थियो। किनकि नेपाली काँग्रेसले पनि बीपीको समाजवाद प्राप्तिको लक्ष्य बोकेको थियो। यसैले वि.सं. २०४६ र २०६३ का संयुक्त क्रान्तिहरूमार्फत राजनीतिक धार परिवर्तन गरी गणतन्त्र र लोकतन्त्र स्थापना भएपछि संविधानमा नै राज्यले समाजवादउन्मुख अर्थ राजनीतिक उद्देश्य प्राप्ति गर्ने भनी लेखिएको थियो।

कम्युनिस्टहरूले पटक पटक सरकार त बनाए, तर समाजवादी कार्यक्रम नबनाई व्यवहारमा ठीक उल्टो सम्भ्रान्त वर्ग फलदायी हुने र नवउदारवादी बजार पोस्ने अर्थनीतिहरू बनाएको देखियो, जसले आम जनतालाई केही पनि दिएन। सामाजिक–आर्थिक शोषण झनै गहिरियो। कुशासन बढ्यो। यस पालीको युवा विद्रोहले नेपाली कम्युनिस्टहरूको राजनीतिको यो उल्टो यात्रा थियो भनेर नै देखाइदियो।

कमरेड आहुतीले भनेझैँ नेपालका कम्युनिस्टहरूले उच्चतम संसदीय अभ्यासबाट पनि देशका यी चार खास समस्या हल गर्न संवैधानिक हस्तक्षेपकारी भूमिका खेल्न सक्थे, जसमा:  

क) वर्गीय समस्या हल गर्ने र अर्धसामन्तवादी उत्पादन ढाँचालाई प्रगतिशील पुँजीवादमा भए पनि रूपान्तरण गर्ने: धनी र गरिब वर्ग बीचको वर्गीय असमानता कम गर्न (भरसक उन्मूलन गर्न) उत्पादनका साधन र आय वितरण न्यायोचित गर्न सक्थे। त्यसका लागि क्रान्तिकारी भूमिसुधार कानुन ल्याउन सक्थे र उत्पादन बढाउन राष्ट्रिय पुँजी निर्माणसहित उच्च औद्योगीकरण गर्न सक्थे। यसबाट बेरोजगारी हल हुने थियो र युवाहरू बाहिर देश जानू पर्दैनथ्यो। तर गरेनन्।

ख) सबै खाले सांस्कृतिक उत्पीडन अन्त्य गर्ने:  यसमा महिला, आदिवासी, जनजाति र दलितहरू माथिको सामाजिक–सांस्कृतिक एवं मनुवादी ढाँचा (ब्राह्मणवाद) मा रहेको ऐतिहासिक उत्पीडन अन्त्य गर्न प्रगतिशील कानुन ल्याउन सक्थे। सामाजिक रूपान्तरणका लागि त्यसो गर्नु असाध्यै जरुरी थियो।

ग) बाह्य शक्तिको हस्तक्षेप अन्त्य:  देशको स्वाधीनता, अखण्डता र सार्वभौमिकताका लागि सबै असमान सन्धि सम्झौता खारेज गर्न र असंलग्न–पन्चशीलको वैदेशिक नीति ल्याउन सक्थे। नेपाल कुनै भूराजनीतिमा लाग्नै हुन्थेन। यिनीहरू त उल्टै एमसीसी र जीएसआईमा लागे। बाह्य शक्ति निमन्त्रण पो गरे, जो डरलाग्दो ब्लक राजनीति थियो। छिमेकीहरू आणविक शक्तिले सुसज्जित थिए। त्यसो हुँदा भू–राजनीतिक खेलमा नेपाली वामपन्थ लाग्नै हुन्थेन। 

घ) मार्क्सवादको सिर्जनात्मक  विकासमा योगदान: अहिलेको एआइ–मेटायुग अनुरूप समसामयिक मार्क्सवाद र समाजवादको दर्शन विश्लेषण निकै आवश्यक देखिएको छ। विकसित पुँजीवादी समाज (उच्च औद्योगिकृत देश), मध्यम विकसित समाज र न्यून पुँजीवादी           (अर्धसामन्ती संरचना रहेको) समाजमा कसरी समाजवाद स्थापना गर्न सकिन्छ ? भन्ने प्रारूपमा तीव्र बहस ज्यादै जरुरी देखिन्छ। नेपालले मार्क्सवादी दर्शन बिचारको विकासका क्षेत्रमा उल्लेख्य बौद्धिक योगदान दिन सक्थ्यो। 

नेपालले नयाँ नयाँ कार्ल मार्क्स, लेनिन र माओहरू जन्माउन सक्थ्यो। तर हाम्रा वामपन्थी नेतृत्व जनताको सिर्जनात्मक चेतना विकासमा लागेनन्। नत निःशुल्क वैज्ञानिक शिक्षाको विकास गरे। यी कुनै पनि काम हाम्रा वामपन्थीहरूले गरेनन्। वास्तवमा उन्नत चेतनाको विकाससँगै राष्ट्रिय जनवादी कार्यक्रममार्फत समाजवादको आधारशिला राख्न सक्थे यिनले, तर त्यसो गरेनन्।

लम्पट नेतृत्वको एउटै लक्ष्य -पार्टी कब्जा 
नेपालमा एक दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी देखिन्छन्। तीन करोड जनसंख्या उपर यतिका कम्युनिस्ट पार्टी! सुन्दा पनि टीठलाग्दो। भुरेभारे वामपन्थी रजौटा र महासामन्तजस्ता नेता भए यी। डेढ अरब जनता भएको चीनमा चार वटा दल छन् अनि भारतमा छ वटा कम्युनिस्ट दलहरू देखिन्छन्। उन्नत मार्क्सवादी चेतनाको एउटा मात्रै वामपन्थी दल भए पुग्छ नेपालमा।

खासगरी नेपालमा उद्योगधन्दा कम भएको र अर्थतन्त्रको मूल ढाँचा कृषिप्रधान नै भएका कारण साना किसान र श्रमिक किसान बढी नै छन् भने मार्क्सले भनेजस्तो औद्योगिक सर्वहारा वर्गको संख्या कम नै छ। यसैले यहाँका कम्युनिस्ट पार्टीमा नेतृत्व निम्न पुँजीपति वर्गबाटै आएको छ, जो अलिअलि भए पनि पुर्ख्यौली सम्पत्तिको मालिक छ, अवसरवादी छ, ढुलमुले छ र सुखसयल–धन सम्पत्तिको लालची (लम्पट) स्वभावको छ। मार्क्सले भनेझैँ लूम्पेन सर्वहारा र बीपी कोइरालाले भनेझैँ भुइँफुट्टा वर्गजस्तो छ नेपालको वामपन्थी नेतृत्व।

यसै कारणले उसमा क्रान्तिकारी चेतना कमजोर छ र उ वर्गसंर्घष चाहन्न। बरु दलाली र अवसरवाद प्रदर्शन गर्छ। ऊ सम्झौता परस्त र सर्वसत्तावादी छ। त्यसैले ऊ नेतृत्व कब्जा गर्छ। अझ विडम्बना, बुर्जुवा वर्गको दासत्व स्विकार्छ र यसैले नवउदारवादको संसदीय भासमा चुर्लुम्म फसेको छ यो वामपन्थी नेतृत्व। यही संसदवादभित्र फसेको वामपन्थले लेनिनले भनेझैँ खसीको टाउको देखाउँदै नेपाली जनतालाई कुकरको मासु पो बेच्दैछ।

कल्याणकारी केरला मोडलबाट नसिक्ने वामपन्थ
यति बेला भारतको संसदीय कम्युनिस्ट पार्टीले केरला राज्यमा जनकल्याणकारी काम गरेको भन्दै त्यसको चर्चा धेरै आएको छ। त्यहाँ चरम गरिबी उन्मूलन भएको भनिएको छ। गरिब परिवारको खोजी गरीगरी रोजगारी र आय आर्जन दिलाइएको छ। यो जनपक्षीय केरला मोडलको विकास हो, जहाँ समाजका फेदका मानिस प्राथमिकतामा छन्। शिक्षा, स्वास्थ्य, रोजगार, कृषि जनपक्षीय छ। सामाजिक न्यायका दृष्टिले राम्रो मानिँदै छ। यसरी नै नर्डिक युरोपका सोसल डेमोक्रेसी (त्यसलाई दयालु पुँजीवाद भन्दा पनि हुन्छ) अपनाएका देशमा पनि निम्न तहका जनताका लागि शिक्षा, स्वास्थ्य, आवास नि:शुल्क गरिएको छ र त्यहाँ भ्रष्ट्राचार झन्डै शून्य छ। 

राज्य उल्लेखित सबै चीजको व्यवस्थापन गर्छ, जहाँ निजी क्षेत्र पनि सफल छँदै छ। कल्याणकारी पुँजीवादीको सफल प्रारूप हो सो। जसमा सरकारले सामाजिक क्षेत्रमा अलि बढी लगानी गर्छ। निजी क्षेत्रले विरोध गर्दैनन्, बरु सहयोग गर्छन्।

उल्लेखित काम हाम्रा वामपन्थी सरकारले चाहिँ किन गर्न नचाहेका होलान्? किनकि, यिनीहरू कल्याणकारी पुँजीपति वर्ग जत्ति पनि प्रगतिशील भएनन्। जनताप्रति फिटिक्कै जिम्मेवार भएनन्, केबल राज्यदोहन गर्नेमा लागे र भ्रष्ट्राचार मौलाउन दिए। यिनले न त तीव्र आर्थिक वृद्धि गरे, न त देशको औद्योगीकरण गरे। यसैले नेपाल सदा गरिब, पछौटे र अति कम विकसित देश भइरह्यो, जसको औसत आर्थिक वृद्धि ३.२% भन्दा कम छ, प्रतिव्यक्ति आय १३ सय डलर छ, जबकि हामीसँगै स्वतन्त्र भएको चीनमा प्रतिव्यक्ति आय १३ हजार डलरमाथि गइसक्यो भने दक्षिण कोरियाको ३१ हजारमाथि छ र विकसित छ। दशकौँयता नेपालको जीडीपी उस्तै कमजोर छ, जो ४० बिलियन छ भने विदेशी ऋणको भार ११ बिलियन डलर छ। यो डरलाग्दो तथ्यांक हो। यसैकै कारणले अर्थतन्त्र तल गयो र लाखौँ उत्पादनशील युवा जनशक्ति बेरोजगार भए र विदेश जाँदैछन्। उफ्, कति गरिब बनाए देश यी वामपन्थीले।

जनवादको नयाँ प्रारूपमा जाऔँ
चिनियाँ कम्युनिस्ट पार्टी या भियतनामी कम्युनिस्ट पार्टी दूबैले भष्ट्राचारीलाई कठोर दण्ड गर्छन्, किनकि कम्युनिस्टहरूको आचरण, चरित्र र जीवनशैली उत्पादनमूलक, इमानदार र साधारण हुन्छ। यतिखेर यो विषय व्यापक चर्चामा आएको छ। उनीहरू देश र जनताको उन्नतिलाई प्राथमिकता दिन्छन्। यसैले ती दूई देश आर्थिक–सामाजिक विकासमा तिव्र रफ्तारमा अगाडी गएको गयै छन्। जनताप्रति समर्पित भइदिएकाले जनविश्वास पनि उत्तिकै पाएका छन् । तर नेपाली वामपन्थीहरू निर्लज्ज, बेइमान र लम्पट भए। संसारभर नेपाली वामपन्थको बेइज्जत गरे। इतिहासले यस्तो चरित्रहीन वामपन्थमाथि धिक्कार्ने छ। बेलैमा सुध्रने चेष्टा नगरे समयले नामेट पनि पार्छ लम्पट वामपन्थलाई। जेनजी आन्दोलनले त्यस्तो संकेत देखाइसकेको छ। 

यसैले आउनुहोस्, नैतिकवान्, इमानदार र सदाचारी कम्युनिस्ट बनौँ। लम्पट वामपन्थ विघटन गरौँ। पुरातन कम्युनिस्टलाई बिदाइ गरौँ। मार्क्सवादी चेतना अनुसार भौतिकवाद, मानवतावाद र समाजवादको पक्ष लिऔँ। परम्परागत जनवादको परिमार्जनसँगै समयसापेक्ष नेपालका लागि चाहिने नयाँ जनवाद, जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौँ शताब्दीको जनवाद (एशज) को सैद्धान्तिक उद्विकास (इभोल्यूसन) को जगमा टेकेर यीभन्दा उन्नत जनताको लोकतान्त्रिक जनवाद (जलोज) विचार प्रणालीमा जाऔँ। नयाँ समावेशी लोकतन्त्रको व्यवहारिक मोडालिटी पनि हो यो। यो नयाँ सहभागितामूलक जनवाद पनि हो। यसको सबलीकरणमा दर्शनशास्त्रीय तवरले बहस पनि गरौँ।

यही वैज्ञानिक, समाजवादी र साँचो जनवादी वामपन्थको विचारलाई समाजमा प्रयोग गरौँ। नेतृत्वलाई नैतिक रूपमा बलियो पारौँ। नेपालमा यही मौलिक समाजवादउन्मुख विचार ढाँचाभित्र एउटा मात्रै वामपन्थी दल बनाऔँ। कृपया अन्तिम पटक सुध्रने मौका छ। अझै सुध्र। अन्यथा, यस्तो विभाजित, कलंकित र दक्षिणपन्थी-वामपन्थलाई इतिहासले थेग्न सक्दैन। वाम शुभेच्छुकहरूले भन्ने यति नै हो, बाँकी नेताहरू नै जानुन्।

(प्रायः पर्यावरणीय चेतना–मीमांसामा भाग लिइरहने लेखक मार्क्सवादी बुद्धिजीवीको सञ्जालमा पनि आबद्ध छन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)