नोबेल विजेता माचाडोले ज्यानको जोखिमबीच अमेरिकी सहयोगमा छाडिन् देश

नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो गत वर्षदेखि स्वदेशमै भूमिगत रहँदै आएकी थिइन्। उनले देश कसरी छोड्न सफल भइन् भन्नेबारे अमेरिकी मिडियामा नाटकीय विवरण सार्वजनिक भएका छन्।

नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो देश छोड्न सफल भएकी छन्। पुरस्कार ग्रहण गर्न नर्वेतर्फको गोप्य यात्राका क्रममा ज्यानको खतरा रहे पनि ‘भगवान् भरोसामा’ यात्रा तय गरेको उनले शुक्रबार बताएकी छन्।

“यात्राका क्षणहरूमा मेरो जीवनमा वास्तविक जोखिम थियो। तर मैले केवल महसुस गरेँ कि म परमेश्वरको हातमा छु र जे भए पनि भगवान् मेरो सहारा हुनुहुनेछ,” उनले ओस्लोमा आयोजित पत्रकार सम्मेलनमा भनिन्।

उनी गत वर्षदेखि स्वदेशमै भूमिगत रहँदै आएकी थिइन्। उनले भेनेजुएलालाई कसरी छोड्न सफल भइन् भन्नेबारे नाटकीय विवरण अमेरिकी मिडियामा सार्वजनिक भएका छन्। विदेश यात्राका लागि वासिङ्टनले सहयोग गरेको हो कि भनेर एएफपीद्वारा सोधिएको प्रश्नमा माचाडोले जवाफ दिइन्, “हामीलाई यहाँसम्म पुग्न अमेरिकी सरकारको सहयोग प्राप्त भएको छ।”

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, माचाडोले उच्च जोखिमको यात्रा गर्नुपूर्व नक्कली कपाल र छद्मवेशको पहिरन प्रयोग गरेकी थिइन्। सोमबार यात्रा शुरू गर्नुअघि उनी काराकासको उपनगरमा गोप्य रूपमा रहेकी थिइन्। उनले क्यारेबियन सागर पार गरेर कुराकाओ पुगेको पनि जर्नलले जनाएको छ।

उक्त पत्रिकाले भनेको छ, “शान्ति पुरस्कार विजेता माचाडो चढेको डुंगालाई हवाई आक्रमणबाट जोगाउन अमेरिकी सेनालाई सतर्क रहन भनिएको थियो। वासिङ्टनले भेनेजुएलामा ठूलो नौसैनिक उपस्थिति बढाएको र कथित लागुऔषध तस्करी गर्ने डुंगाहरूमा आक्रमण गर्ने प्रयास गरेको थियो।”

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, माचाडो र स्किफको सानो चालक दल उनीहरूको सुरक्षाका लागि राखिएको मार्ग प्रदर्शन (रेडियो) प्रणाली समुद्रमा खसेपछि र ब्याकअप असफल भएपछि केही समय समुद्रमा लक्ष्यविहीन बगेका थिए। जीपीएस हराएका कारण उनी तोकिएको स्थानमा अवतरण गर्न सफल भइनन् र उनलाई भेनेजुएलाको खाडीमा खोज्नुपरेको थियो।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा एक गैरनाफामुखी उद्धार संगठनका प्रमुख ब्रायन स्टर्नले भेनेजुएला छोडेपछि समुद्रमा माचाडोलाई भेटेको बताएका छन्। सीबीएसका अनुसार, उनी आफ्नो डुंगामा चढेर चार दिनअघि मात्र योजना गरिएको अभियानको एक भागका रूपमा एक अज्ञात स्थानमा पानीजहाज चढ्न पुगेकी थिइन्।

स्टर्नले मध्यरातमा ‘डरलाग्दो’ र धेरै भिजेको डुंगामा जोखिमपूर्ण यात्राको वर्णन गरे, “समुद्रको अवस्था हाम्रो लागि अनुकूल थियो, तर उत्तिकै जोखिमयुक्त पनि। मौसम खराब भएका कारण भेनेजुएली सैनिकलाई पिछा गर्न अनुकूल थिएन। यो अवस्था उनीहरूका लागि प्रतिकूल र हाम्रा लागि आदर्श (अनुकूल) थियो। समुद्रमा छालहरू जति उच्च हुन्छन्, राडारलाई देख्न त्यति नै गाह्रो हुन्छ।”

सीबीएसले माचाडोका एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, “स्टर्नको कम्पनी 'ग्रे बुल रेस्क्यु फाउन्डेसन'ले मंगलबारबाट शुरू भएको यात्रालाई पछ्याइरहेको थियो।”