एमालेसँग पार्टी एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल (अन्तर्वार्ता)

'हामीले सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने हुन्छ।'

नेकपा (माओवादी केन्द्र)ले वाम एकताको लागि भन्दै कार्यदल गठन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदल सदस्यहरूमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन्। न्युज एजेन्सी नेपालले माओवादी केन्द्रले चाहेको वाम एकता कस्तो हो? किन आवश्यक छ? को-कोसँग एकता हुन्छ र कहिलेसम्म एकता भइसक्छ लगायतका विषयमा कार्यदलका सदस्यसमेत रहेका गिरिराजमणि पोखरेलसँग कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:

कोसँग वार्ता गरी एकता गर्नका लागि कार्यदल गठन भएको हो?
पहिलो कुरा हाम्रो पार्टी र विभिन्न वामपन्थी समूहहरूको बीचमा पहिले पनि वार्ता टोली थियो। एकपटक देव गुरुङजीको नेतृत्वमा थियो। पछि फेरि महराजीको नेतृत्वमा थियो। चुनावअगाडि पनि थुप्रै समूहहरूसँग वार्ता गर्‍यौँ हामीले। अहिले पछिल्लो चुनावको परिणाम आइसकेपछि बदलिएको राजनीतिक परिस्थितिमा समाजवादलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने वामपन्थी पार्टीका बीच नयाँ ढंगले जानुपर्छ भन्ने जनताको सन्देशलाई ध्यान दिएर एउटा अर्को टोली बनेको छ। हाम्रो टोलीको बैठक बसिसकेको छैन। पार्टीले त्यो जिम्मेवारी त दियो। पहिले हामी आफैँ एकचोटी बस्छौँ। कार्ययोजना बनाउँदछौँ। त्यसो गर्दाखेरिचाहिँ कतिपय पार्टीहरूसँग हाम्रो विगतदेखि नै छलफलहरू चलिराखेको छ, उहाँहरूले पहिलो प्राथमिकता पाउनुहुन्छ। त्यसपछि क्रमशः संसद्‌भित्र भएका, बाहिर रहेका समाजवादलाई केन्द्रबिन्दुमा राखेर जान चाहने शक्तिहरूसँग हामी छलफल ग‍र्छौं।

अहिले तुरुन्तका तुरुन्तै वाम पार्टीहरूको एकता गर्नुपर्ने आवश्यकता किन महशुस भयो? विगतमा तपाईंहरूले गरेको एकता (एमालेसँग) त असफल भएको थियो नि?
असफल नभनौँ। एउटा अभ्यास गरिएको थियो। दृष्टिकोणगत कुराहरू पनि भए। विधिगत कुरा पनि भए। जनताले एकता गर भने। नेतृत्व त्यो ठाउँमा पुगेको रहेनछ। त्यसकारण ती अभ्यास विफल भए। तर फेरि नेपालको समकालीन राजनीतिको दृष्टिकोणले जति त्यसलाई अस्वीकार गरेपनि मिलेर जानुको अर्को विकल्प छैन। त्यसकारण एक प्रकारले हामी जनताको अधिकारको लागि विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै पनि अगाडि बढेका छौँ। जनयुद्ध र जनआन्दोलनलाई जोड्दै पनि अगाडि बढेका छौँ। मिल्नुपर्ने शक्तिसँग मिलिरहेका छौँ। एकातिर त्यो पक्षलाई बिर्सिनु हुँदैन। अर्कोतर्फ वामपन्थीहरूको बीचमा पनि सहकार्य, कार्यगत एकता, एकीकरणका थुप्रै शृंखलाहरू पनि चलेका छन्। पछिल्लो चुनावको परिणामपछि जुन ढंगको सन्देश हामीलाई प्राप्त भएको छ। त्यो सन्देशलाई दृष्टिगत गरेर यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढौँ भनेर सोचिएको हो। 

पार्टी एकता गर्न नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) अथवा नेपाल समाजवादी पार्टी कोसँग चाहिँ तपाईंहरूको पहिलो प्राथमिकता हो त?
मोटो अर्थमा हामी सबै वामपन्थीहरूसँग व्यवस्थित ढंगले भेटघाट गर्छौं। छलफल, संवाद ग‍र्छौं। त्यो क्रममा डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी त हामी मिलेरै चुनाव लडेका हौँ। अहिले एउटै संसदीय दल अन्तर्गत हामीले काम गर्नुपर्ने आवश्यकता छ। पछिल्लो बेला पनि डा. साबले भेटघाटहरू तीव्र ढंगले अगाडि बढाउनुभएको छ। हाम्रो यो शीर्ष नेताहरूको तहमा पनि छलफल भइसकेको विषयवस्तु हो। अर्को कुरा चुनाव अगाडि नै हामी एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने भनेर छलफल चलेको थियो। उहाँहरूले पनि पार्टी एकता लगायतका विषयहरूमा छलफल गर्न भनेर हालसालै टोली बनाउनुभएको छ। स्वाभाविक ढंगले प्राथमिकतामा उहाँहरू परिहाल्नुहुन्छ।

अनि एमाले?  
अब हामीले छलफल ग‍र्छौं। एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ। उहाँहरूको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो। हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन। पहिले पनि नेकपा बनायौँ। अस्वाभाविक ढंगले त्यो टुट्यो। संसद्‌बाहिर भएका थुप्रै पार्टीहरू हुनुहुन्छ, व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूसँग पनि हामीले छलफल गर्नुपर्छ। त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउनदिनुस् प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ।

अब पार्टी बनाउँदा कम्युनिस्ट पार्टी भनेरै बनाउने हो कि बाहिर कहिलेकाहीँ चर्चा सुनिने जस्तो समाजवादी केन्द्र भनेर बनाउने हो?
वार्ता टोलीमा भएको कारणले अहिले मैले यो कुरा बोलिहाल्न मिल्दैन। किनभने हाम्रो पनि छलफल बाँकी छ। हामीले कम्युनिस्ट, वामपन्थी, देशभक्त, अहिले हाम्रो उपलब्धिहरूको रक्षा गर्ने, यो सबै कोणबाट हेर्नुपर्छ र एउटा कुरा त हाम्रो संविधानले नै समाजवाद उन्मुख भनेको कोणबाट वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दुमा राख्ने कुरालाई चाहिँ हामी प्राथमिकतामा राख्छौँ।

‍सरकारले पूर्णता पाइसकेको छैन, तपाईंहरू वाम पार्टीहरूका बीचमा एकता गर्नुपर्छ भनेर लाग्नुभयो, संसदीय अंकगणितमा दुई, चार सिटको लोभमा, सरकारलाई स्थायित्व दिन सकिन्छ कि, प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्छ कि भन्ने लोभले हतारो गर्नुभएको हो ?
यो शब्द उपयुक्त भएन। लोभ त भइहाल्छ नि अब हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा सरकार बनाएपछि त्यो सरकारलाई सफल बनाउनु, त्यसलाई पूर्ण अवधि अगाडि बढाउनु, जनताले कुनै एउटा पार्टीलाई बहुमत नदिएपछि मिलेर जानुपर्ने आवश्यकता हो। त्यसमाथि पनि कुनै न कुनै ढंगले अहिलेको अंकगणितीय हिसाबमा पनि हामी एउटा निर्णायक ठाउँमा छौँ भनेपछि हाम्रो हिजो मात्रै नेतृत्वसहित बसेको छलफलले अहिले हामीलाई १६९ त त्यसैपनि हस्ताक्षर गर्नु नै भएको छ। अरूलाई पनि आह्वान गर्ने, अपिल गर्ने, मिलेर जान आह्वान गर्ने यो पक्ष छँदैछ। अर्को यो तात्कालि कुरा मात्रै होइन। चुनावको जनादेशलाई ठिक ढंगले मूल्यांकन गर्दै अहिले चलिरहेका राजनीतिक दलहरूप्रति विकर्षण पनि पैदा छ। अरू शक्तिहरू पनि देखापरेका छन्। हामीले सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने हुन्छ। त्यसकारणले अहिलेको संकटलाई पनि समाधान गर्ने हो। दीर्घकालीन ढंगले नेपाली समाजलाई एउटा सही दिशा दिने उद्देश्यद्वारा पनि यो उत्प्रेरित छ। र, चुनाव अगाडि गरौँ भनेका कुराहरू चुनाव पछाडि स्वाभाविक ढंगले अब प्राथमिकतामा आइपर्‍यो।

तपाईंहरू वामपन्थी पार्टीहरू बीचमा एकता हुनेभयो भने प्रचण्डको नेतृत्वमा गर्नुहुन्छ अथवा अरू नै नेताको नेतृत्व स्विकार्नुहुन्छ?
अहिले हाम्रो पर्याप्त छलफल भइसकेको छैन। समाजवादलाई केन्द्रबिन्दुमा राखौँ पहिलो कुरा। दोस्रो तत्कालीन राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि गरौँ। दीर्घकालीन ढंगले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने भएपछि कार्यक्रमिक ढंगले, कार्यदिशागत ढंगले छलफल पनि हुन्छ। नेतृत्वको कोणबाट पनि छलफल हुन्छ। अहिलेको आन्दोलनलाई अगाडि बढाउने एउटा मुख्य नेता भएको कारणले गर्दाखेरि नेतृत्वको ठिक ढंगको स्थापनाको प्रश्न हाम्रो अगाडि आइपुग्दछ। हामीले एक ढंगले उपाय खोजी गर्‍यौँ विगतमा। दुईदुई वटा अध्यक्ष बनाएर एउटा प्रयोग गर्‍यौँ। अरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नभएका अभ्यास पनि गर्‍यौँ। हामी टुट्यौँ पनि तर अहिले फेरि परिस्थितिले हामीलाई एक ठाउँ लिएर आयो। हामीले अहिले यो सर्त मानेर मात्र एकता हुन्छ भनेर भन्दैनौँ। तर स्वाभाविक ढंगले सही कार्यदिशा निर्माण गर्ने, नेतृत्वको विन्यास गर्ने, संगठन प्रणालीलाई ठिक ढंगले लैजाने, अहिलेको बदलिएको विश्व परिस्थितिलाई हेर्ने, विज्ञान, प्रविधिलाई आत्मसात् गर्ने, नयाँ युवापुस्तालाई विकास गर्ने जस्ता थुप्रै कार्यभार हाम्रा अगाडि छ। एउटा लिडरसिपको प्रश्न मात्र हाम्रो अगाडि छ भन्ने लाग्दैन।

अन्त्यमा, वर्तमान सत्तारुढ गठबन्धन कति समय जान्छ? सरकारको स्थायित्वको सम्बन्धमा मान्छेहरूले आशंका पनि गरिरहेका छन्, के भन्नुहुन्छ?
पहिलो कुरा २६ गते विश्वासको मत लिने प्रक्रिया सफल हुन्छ। दोस्रो, अहिले जुन ढंगले छलफलहरू शुरू भएका छन्, देशलाई स्थायित्व चाहिएको छ। विकास चाहिएको छ। जनअधिकारको रक्षाको कुरा छ। उपलब्धिहरूलाई रक्षा गर्दै थप उपलब्धि प्राप्तितिर जानुपर्ने छ। त्यसकारणले विश्वासको मतसँगै नयाँ छलफल पनि शुरू हुन्छ। संसद् पनि कार्यकारी भएर जान्छ। मलाई के लाग्छ भने, आजकै बिन्दुमा भएको ध्रुवीकरणमा नै नेपाली समाज बसिरहँदैन। स्वाभाविक ढंगले सरकारको नेतृत्व गरेको पार्टी भएको कोणबाट जनयुद्ध, जनआन्दोलनहरूलाई नेतृत्व गरेको पार्टी भएको कोणबाट, संविधान निर्माण गरेको पार्टीको कोणबाट जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई ध्यान दिएर परिस्थितिले माग गरे अनुरूपको भूमिका खेल्न हाम्रो पार्टी लागि पर्छ।