एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनी स्वतन्त्र उम्मेदवार भएका छन्। कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको कोपभाजनमा परेर टिकट पाउनबाट बञ्चित धेरै नेता असन्तुष्ट छन्।
आगामी आमनिर्वाचनका लागि टिकट नपाएपछि असोज २२ मा नेकपा एमाले परित्यागको घोषणा गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिने उनी एक्ला ‘हाइप्रोफाइल’ नेता हुन्। तर, पार्टीले पाखा लगाएका उनी एक्ला नेता होइनन्।
एमाले अध्यक्ष केपी ओलीका आलोचक भनेर चिनिएका भुसाल मात्र नभइ अर्का हाइप्रोफाइल नेता भिम रावल र विन्दा पाण्डेले पनि उम्मेदवार बन्न पाएनन्। नेपाली कांग्रेसमा पनि सभापति शेरबहादुर देउवाका आलोचक भनेर चिनिने डा. मिनेन्द्र रिजालसमेत संस्थापन इतरका गोविन्द पोखरेल, अमेरेशकुमार सिंह, युवा अर्थशास्त्री स्वर्णिम वाग्लेलगायतले उम्मेदवार बन्न पाएनन्।
उता सत्ताघटक तथा गत निर्वाचनको आधारमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको टिकट वितरण समेत विवादमुक्त हुन सकेन। उपमहासचिव हरिबोल गजुरेल आफ्नो परम्परागत क्षेत्र सिन्धुली–२ मा उम्मेदवार हुन पाएनन्। अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’का आलोचक भनेर चिनेने नेता लेखनाथ न्यौपाने मात्र नभइ निवर्तमान सांसद् राम कार्की र पोलिट ब्युरो सदस्य हेमराज भण्डारीले पनि उम्मेदवार बन्ने मौका पाएनन्।
एमाले छाडेका भुसाललाई गठबन्धनको साथ
एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले उम्मेदवार बन्न नपाउने निश्चित भएपछि असोज २२ मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए। उनले रुपन्देही–१ बाट उम्मेदवार बन्न चाहे पनि क्षेत्र नं. ३ बाट सिफारिसमा परेका थिए। तर, सो क्षेत्र एमालेले राप्रपाका दीपक बोहोरालाई छाडिदिएको छ।
भुसालले भने आफूले रोजेको रुपन्देही–१ मा नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ अघि शनिबार मध्यरातमा फोन गरेर माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले भुसाललाई समर्थन गर्ने वचन दिएका थिए। प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गर्न असोज २३ मा आफ्नै निवास रुपन्देहीमा पत्रकार सम्मेलन गरेका भुसाल निकै हतारमा देखिन्थे। पत्रकार सम्मेलनमा उनले आफू ‘नहारेको’, बरू जितका लागि चुनावी मैदानमा उत्रिन लागेको सन्देश दिने कोशिश गरिरहे। पछिल्लो पटक वाम एकता प्रयास गरेका कारण ओलीले आफूलाई टिकट नदिएको उनको आरोप थियो। “मैले पार्टी विधिअनुसार चलोस् भनेर निरन्तर स्वस्थ आलोचना गर्दै आएको हो। नेतृत्वको कार्यशैली पनि त्यसैअनुसार अघि बढ्नु पर्छ भन्ने माग मेरो हो। तर त्यसको मर्म बुझ्ने प्रयास भएन,” भुसालले भने।
भुसाल तिनै हुन्, जो नेकपा हुँदा अध्यक्ष ओलीविरूद्धको मोर्चामा थिए। एमाले ब्यूँतिएपछि ओली र उनको सम्बन्धको चिसोपना हट्न सकेन। ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै रहेका उनलाई पार्टी विभाजन हुँदा माधवकुमार नेपाललाई धोका दिएको आरोप लागेको थियो। तर, १० बुँदे पक्षधरमध्ये भुसाल र भिम रावललाई एमालेले टिकट दिएन। आफूले पार्टी सुधारका लागि निरन्तर अभियान चलाएकाले नेतृत्वले ‘कत्लेआम’ गरेको उनको भनाइ छ।
भुसालले २०७४ को आम निर्वाचन रूपन्देही–३ बाट जितेका थिए। त्यतिबेला उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी नेपाली कांग्रेसका नेता खाणसँगै पराजित भएका थिए। २०६४ सालको संविधानसभाको निर्वाचनमा उनी समानुपातिकतर्फ सभासद बनेका थिए।
भुसालसँगै ओलीका अर्का आलोचकका रूपमा चिनिएका नेता भीम रावल पनि आगामी निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भए। ‘राष्ट्रियता’का सवालमा निरन्तर आवाज उठाउँदै आएका रावल अछाम–१ बाट एकल सिफारिस भएका थिए। उनी निर्वाचनको तयारीका लागि गृहजिल्ला अछाम पनि पुगिसकेका थिए। तर, अध्यक्ष ओलीकै चाहनामा त्यहाँ झपट बोहोरालाई टिकट दिइयो। उनी नेकपा विभाजन हुँदा एमालेमै बसेका पूर्वमाओवादी नेता हुन्। बोहोरा मनोनयन दर्ता गर्न गएका बेला केही एमाले कार्यकर्ताले ओलीविरूद्ध नारा लगाएको थियो र पुत्लासमेत जलाएको थियो। त्यसअघि, केही स्थानीय नेताहरूले सामूहिक राजीनामा दिएका थिए।
टिकट नपाएका रावलले भने एमालेमै रहेर संघर्ष गर्ने बताएका छन्। “नेतृत्वले मलाई सिध्याउने रणनीति लिएको मैले बुझेको छु। तर म अझै विकल्पबारे सोचिरहेको छु। यति चाँडो हरेस खानेवाला परिनँ,” रावलले उकालोसँग भने। २०६४ मा समानुपातिक तर्फबाट सभासद बनेका रावल २०७० र २०७४ को आम निर्वाचनमा अछाम–१ बाटै निर्वाचित भएका थिए।
एमालेमा फरक मत राख्ने नेताका रूपमा विन्दा पाण्डे पनि चिनिन्छिन्। उनी पनि यो चुनावमा उम्मेदवार बन्नबाट बञ्चित भएकी छन्। काठमाडौं–२ बाट आफूलाई टिकट दिन उनले पटकपटक नेतृत्वसमक्ष आग्रह गरेकी थिइन्। “नेतृत्वले चितवन महाधिवेशनमा जस्तै गर्यो। तर, म आफूले उठाउँदै आएका मुद्दाहरूबाट बिचलित हुने छैन। पार्टीले काम दिए भित्रै बसेर गरिन्छ, नत्र अन्य ठाउँहरू खुल्लै छन्,” पाण्डेले भनिन्।चितवनमा २०७८ मंसिर १० गते सम्पन्न एमालेको १०औं महाधिवेशनमा पाण्डेले पदाधिकारीमा लड्ने आकांक्षा व्यक्त गरे पनि नेतृत्वले उनलाई बञ्चित गरेको थियो।
एमालेमा पार्टी हितका लागि बोल्ने या नेतृत्वको भन्दा फरक मत राख्ने यस्ता कयौं नेताहरू टिकटबाट बञ्चित हुँदा निराश बन्न पुगेको एक केन्द्रीय सदस्यले बताए। पाण्डे २०६४ सालको संविधानसभामा समानुपातिकतर्फ र २०७४ मा प्रतिनिधिसभातर्फ पनि समानुपातिक सांसद भएकी थिइन्।
कांग्रेसमा देउवामाथि प्रश्नैप्रश्न!
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आलोचकहरूलाई टिकट नदिएको आरोप लागेको छ। कांग्रेस नेता तथा १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीका प्रत्यासी डा. मिनेन्द्र रिजालले आफूसँग देउवाले इगो राखेरै बदला लिएको दाबी गरेका छन्।
उनी गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर–२ बाट विजयी भएका थिए। यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहन्थे। तर, सुजाता कोइरालालाई टिकट दिइएपछि उनी असन्तुष्ट बनेका छन्। “पार्टीमा इमान्दार भएर काम गर्दाको परिणाम यस्तै आउँछ। तर म टिकट नपाएकै कारण बागी उठ्ने या पार्टी त्याग गर्ने निर्णयमा पुग्दिनँ। पार्टीमा क्रियाशील सदस्यका रूपमा काम गरिरहन्छु,” उनले भने, “तर सभापतिले बोलाएको केन्द्रीय समितिमा पनि जाने अवस्था रहेन।”
सुजाता कोइराला अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रकी आकांक्षी थिइन्। त्यति बेला रिजालले टिकट पाएका थिए। यसपटक आफूले आफूले टिकट पाउने संकेत यसअघि नै पाएको कोइरालाले दाबी गरेकी छिन्। १४औँ महाधिवेशनमा दोस्रो चरणको मतदानमा उनले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेकी थिइन्। “मैले पार्टी निर्माणमा पुर्याएको योगदान पनि कम छैन। सांसदका रूपमा मेरो निरन्तरता आवश्यक छ। मलाई नेतृत्वले विश्वास गरेको छ। पार्टीबाट टिकट पाउने संकेत मैले यसअघि नै पाएको हो। जित्ने पनि विश्वास छ,” कोइरालाले भनिन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई पनि कांग्रेसले टिकट दिएन। सत्ता गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई प्युठान छाड्नुपर्ने भएपछि पोखरेललाई पाखा लगाइएको हो। अघिल्लो निर्वाचनमा वामगठबन्धनबाट उम्मेदवार बनेकी पौडेलसँग नै पोखरेल पराजित भएका थिए।
अघिल्लो आमचुनावमा आफूलाई मत दिने जनतालाई ‘अर्को पार्टीको नेतालाई मत दिनुहोस्’ भन्ने आँट आफूले गर्न नसक्ने उनको भनाइ छ। “पार्टी भित्र राम्रालाई होइन, हाम्रालाई टिकट दिने प्रवृति हावी भयो। इमान, नैतिकता हेरिने रहेनछ। जनतालाई झुक्काउने काम भइरहेको छ,” पोखरेलले भने।
कांग्रेसभित्र शेखर कोइराला समूहमा रहेका पोखरेल दाङ–१ बाट स्वतन्त्र उम्मेदवार बन्ने र एमालेले सघाउने विषय सार्वजनिक भएको थियो। तर यस्तो खबर बाहिरिएपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू उम्मेदवार बन्ने विषयमा नसोचेको र कुनै छलफल पनि नभएको बताएका थिए।
काँग्रेसबाट टिकट पाउने चर्चामा रहेका अर्थशास्त्री स्वर्णीम वाग्ले पनि अन्तिममा चुनावी मैदानमा जानबाट रोकिए। अर्थविज्ञका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका उनले टिकट पाए आफ्नो योग्यता, क्षमता र अनुभवको सदुपयोग गर्ने बताउँदै आएका थिए। टिकट नपाएकोबारे अहिले नै कुनै प्रतिक्रिया दिन नचाहेका वाग्लेको नाम चितवन–१ बाट सिफारिस भएको थियो। अन्तिम समयमा उनलाई पार्टी नेतृत्वले धोका दिएको काँग्रेसका एक केन्द्रीय सदस्यले उकालोलाई बताए।
आर्थिक विकासको बहुआयामिक दृष्टिकोण, अनुभव भएकाले उनलाई उम्मेदवार बनाउनु पर्नेमा महामन्त्री गगन थापाले विशेष जोडबल गरे पनि त्यो सम्भव भएन। ती केन्द्रीय सदस्यका अनुसार वाग्लेले आफूलाई चितवन–१ नभए गोरखा–१ वा काठमाडौं–४ बाट उम्मेदवा बनाउन देउवालाई आग्रह गरेका थिए। चितवन–१ बाट काँग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ। त्यहाँ पौडेललाई उम्मेदवार बनाएकोमा भन्दा पनि वाग्ले आफूले दिएको विकल्पमा नेतृत्वले काम नगरेकोमा असन्तुष्ट छन्।
पार्टी जीवनमा चार दशक खर्चिएका काँग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले त विज्ञप्ति निकालेर सभापति देउवाको विवेकमाथि प्रश्न उठाउँदै पार्टी नै त्यागेको घोषणा गरेका छन्। “मैले नेतृत्वको भरोसा गरेको थिएँ। त्यसैअनुसार पार्टीमा सक्रिय पनि थिएँ। तर, उहाँले उम्मेदवारी वितरणमा विवेक पुर्याउनु भएन। नेतृत्वले ममाथि अन्याय गरेको छ,” पौडेलले उकालोसँग भनेँ। उनी २०६७ सालमा भएको १२औं महाधिवेशनदेखि नै देउवा खेमामा नै थिए।
संस्थापन इतरका अर्का नेता अमरेशकुमार सिंहले पनि पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी सर्लाही–४ बाट निर्वाचित निवर्तमान सांसद हुन्। यसपटक पनि सोही क्षेत्रबाट प्रतिश्पर्धा गराउने शेखर कोइरला समूहको चाहना थियो। तर, उनी जिल्लाबाटै सिफारिसमा परेका थिएनन्। सो क्षेत्रबाट गगन थापालाई सिफारिस गरिएको थियो। थापा भने अमरेशलाई नै टिकट दिनुपर्ने लबिइङमा रहे पनि सफल नभएको एक केन्द्रीय सदस्यले बताए।
प्रचण्डले चाहे मात्र टिकट
नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष हरिबोल गजुरेलले उम्मेदवार बन्न चाहे पनि पाएनन्। पार्टी निर्माणमा लामो समय खर्चिए पनि आफूले टिकट नपाएको उनले गुनासो गरेका छन्। माओवादीले सिन्धुली–२ मा उनलाई पन्छाएर राजन दाहाललाई अघि सारेको छ।
यो क्षेत्रबाट गजुरेलले निरन्तर चुनाव जित्दै आएका थिए। उनले २०६४, २०७०, २०७४ सालको निर्वाचनमा जित हात पारेका थिए। “मलाई जनताले पत्याएका थिए। अब पनि पत्याउँछन् भन्ने विश्वास थियो तर पार्टीले विश्वास गरेन या पार्टीलाई अफ्ठयारो परेर पनि यस्तो निर्णय गरेको हुन सक्छ,” गजुरेलले भने।
माओवादी केन्द्रका बौद्धिक नेताका रूपमा चिनिएका राम कार्कीले पनि यसपटक टिकट पाउने सकेनन्। अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा उनी झापा क्षेत्र नं. १ बाट विजयी भएका थिए। उनले कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए। यसपटक कांग्रेसका महामन्त्रीका रूपमा उदाएका शर्मालाई सत्ता गठबन्धनले सो क्षेत्र छाड्नुपर्ने भएपछि राम कार्की उम्मेदवार बन्नबाट बञ्चित भएका हुन्। कार्कीले अन्य कुनै पहाडी जिल्लामा उम्मेदवार बन्ने चाहना राखे पनि प्रचण्डले व्यवस्थापन नगरिदिएको एक नेताले बताए। कार्की पनि प्रचण्डका आलोचकका रूपमा चिनिन्छन्।
पार्टीमा फरक मत राख्दै आएका र प्रचण्डमाथि नै प्रश्न उठाउँदै आएका नेता लेकनाथ न्यौपानेले पनि टिकट पाएनन्। गत वर्ष पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा न्यौपानेले प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि १० बुँदे फरक मत राखेका थिए।
न्यौपाने २०४५ बाट विद्यार्थी राजनीति र २०४९ बाट पूर्णकालीन राजनीतिमा संलग्न भएका थिए। २०६० देखि सात वर्ष अखिल (क्रान्तिकारी) को अध्यक्ष हुने अवसर पाएका न्यौपाने पार्टीमा केन्द्रीय सदस्यमा सिमित छन्। “पार्टीमा अरू पनि समस्या छन्। तर खास समस्या नेतृत्वमा छ। नेतृत्वको मनोमानीले इमान्दारितापूर्वक राजनीति गर्छु भन्ने नेताहरू विस्तारै पाखा लाग्दैछन्। सायद मलाई पनि त्यसै गरिएको होला,” न्यौपानले भने।
प्रचण्डका आलोचक भनेर चिनिने माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य हेमराज भण्डारीले त स्वतन्त्र उम्मेदवार बन्न पार्टी नै परित्याग गरेका छन्। धनकुटाबाट सत्ता गठबन्धन दल कांग्रेस नेता सुनिलकुमार थापा उम्मेदवार बन्ने भएपछि भण्डारी माओवादी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका छन्। पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनेमध्ये घनश्याम भुसालपछि उनी नै हाइप्रोफाइल हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
