फुटबल : एक स्केच

गाउँघरमा सबैभन्दा धेर राजनीतिको कुरा उसैले गरिरहेको हुन्छ, जसले सधैँ सबैलाई 'पोलिटिक्स इज अ डर्टी गेम' भन्दै हिँडिरहेको हुन्छ।

फुटबल म्याच हेरे पनि नहेरे पनि जताततै चर्चा फुटबलकै छ। जस्तै कलकत्ता/दिल्लीमा अरुअरु  कुरा भएपनि दार्जीलिङैभरि पर्चा चाहिँ,'वी वान्ट गोर्खाल्यान्ड'कै टालिएको हुन्छ।

फुटबलको लोकप्रियताको एउटा विशेषता यो पनि हो कि, विश्वकपको बेला खेल हेर्नेले भन्दा नहेर्नेले कुरा गरिरहेका हुन्छन्। गाउँघरमा सबैभन्दा धेर राजनीतिको कुरा उसैले गरिरहेको हुन्छ, जसले सधैँ सबैलाई 'पोलिटिक्स इज अ डर्टी गेम' भन्दै हिँडिरहेको हुन्छ।

झन्डा भनेपछि हुरुरुफुरुरु हुने दार्जीलिङ पहाडमा यतिबेला फरक दृश्य छ। न गोरामुमो न गोजमुमो। न भाजपा न भागोप्रमो। सागरपारीका देशहरू पोर्तुगल,अर्जेन्टिना, ब्राजिल, फ्रान्स लगायतका झन्डाहरू फिरफिर–फिलफिल छ। अहिलेघरी नेताहरूको झन्डादोकानमा झराप लागेको छ। गाउँघरमा कोही मेस्सी भन्दै हिँडिरहेका छन् त कोही एम्बाप्पे। कोही क्रिस्टियानो रोनाल्डो त कोही हालान्ड। मनपराउन र माया गर्न कुनै सूर्यचन्द्रले न त कुनै समुद्रले या त कुनै झन्डा र राजनीतिले छेक्दैन। फुटबल खेलको यही मखमलपन मलाई बब्बाल मनपर्छ।

नर्वे,केप भर्डे र क्रोएसियाकाहरू फिफा विश्वकप खेलिरहेको हेरिरहँदा, हाम्रो देश भारत पनि कहिले खेल्छ होला भन्ने कुरा मेरो मनमा एम्बाप्पे र हालान्डभन्दा पनि बेतोडसित कुदिरहेको हुन्छ, पेलिरहेको हुन्छ। आँखाले मेस्सी हेरिरहे पनि मनमा हाम्रै सुनिल छेत्री खेलिरहेको हुन्छ। हालसालै कलकत्तामा मेस्सी आएको बेला पनि मुखले मेस्सी मेस्सी भनेपनि मनले सुनिल सुनिल पुकारिरहेको थियो।

यसपालि फिफा विश्वकपमा खेलहरू धेरै खेलिए। त्यो भन्दा धेरै विवादहरू भए। अर्जेन्टिना र इजिप्टको म्याचदेखि विवाद झनै चरममा पुग्यो। फुटबलको नियम बुझ्न कुनै न्वाराने बलजुक्ती लगाइराख्न पर्दैन। रेफ्रीले अन्याय गरे या न्याय गरे? थाहा छैन! टीम हार्छ,अर्कोचोटि फेरि खेल्न पाउँछ। देश हार्छ,अर्कोचोटि भाग लिन पाउँछ। खेलाडी हार्छन् फेरि खेल्न पाउँछन् तर खेल नै हार्यो भने? त्यसैले खेल हार्न नपाओस्। खेलखेलाहरू कुनै स्वघोषित विश्वशक्तिको खेताला बन्न नपाओस्। फुटबल कला हो तर यसलाई कोकाकोला र अनेक ब्रान्डहरूले नजितोस्।

खेलमा जस्तै राजनीतिमा पनि नेताहरू आउँछन्,जान्छन्। कोही पार्टीले जित्छ,कोही पार्टी हार्छ। तर राजनीति आफै भने हारेको हुँदैन।

मलाई लाग्छ,कोहीकोही खेलाडीहरू खेललाई हार र जीतको बाउन्ड्रीमा राखेर खेल्दैनन्। उनीहरूलाई हार्नु र जित्नुसित होइन,केवल खेल्नुसँग मात्र मतलब हुन्छ। त्यही मतलबमा लभ (प्रेम) हुन्छ। मानिसको जीवन पनि तब सुन्दर हुन्छ जब मानिस न त हार्ने डर बोकेर हिँडिरहन्छ न त जित्ने रहर पालेर भिडिरहन्छ। हार र जीत पूर्वनिर्धारित सत्यहरू हुन्,जुन तय छ। तर खास जीवन त पुग्नुको निर्धार्यतामा होइन हिँडिरहनुको अनिर्धयतामा छ।

यो पार्टी र त्यो पार्टीका समर्थक भइ हिँडेका माइला,साँइला पनि यतिबेला कोही ब्राजिलको त कोही पोर्तुगलको समर्थक छन्। कोही फ्रान्स हार्दा दुखी हुन्छन् त कोही अर्जेन्टिनाले जित्दा खुसी हुन्छन्। एकअर्काबीच समर्थकहरू आँखा तर्साउँदै र कुम बजार्दै गरेका भेटिन्छन्। हास्य रसका भागबन्डा गर्ने आचार्य भरतको हास्यभेदहरू प्रकट गर्दैगरेका समर्थकहरू देखिन्छन्।

हार्ने टीमका समर्थकहरूलाई जित्ने टीमका समर्थहरूले नाक उचाल्दै उपहसित हाँसो देखाउँछन्। यता रोनाल्डोका फ्यानहरू मेस्सीले पेनाल्टी मिस गर्दा पेट मिचिमिचि अतिहसित हास्य प्रकट गर्छन्। कोही भने रोनाल्डोले विश्वकप नउचालेकोमा अहिलेसम्मकै दु:खी मनुवा बन्छन्। फुटबल खेलले सिकाउँछ कि सबै सधैँ आफ्नो हारमा मात्र दु:खी हुँदैनन्। सबै सधैँ आफ्नो जीतमा मात्र रमाउँदैनन्। कोही कसैको हारमा पनि दु:खी हुन्छन्। कोही अरूको जितमा पनि खुसी हुन्छन्। खेलमा झैँ जीवनमा पनि यस्तो तालमेल बनिरहन्छ।

एकदिन ड्युटीमा मेरा साथीले मलाई दग्धी दिए। मलाई उनले रोनाल्डोको प्रशंसकको कोटीमा राखे। कारण मैले फेसबुकमा रोनाल्डोको जर्सी लाएर फोटो पोस्टाएको थिएँ। मेस्सीका डाइहार्ट फ्यान मेरा साथीले रातविरातसम्म तनाव गरे। सुत्नै दिएनन्। उनी मेरा साथी थोरै,मेस्सीका फ्यान धेरै देखिए। मैले यसै दिन बुझेँ, फ्रेन्ड र फ्यानबीचको फरकपन। जोकसैको फ्यान जोकोही हुनसक्छ तर जोकोही जोकसैको फ्रेन्ड हुन सक्दैन। उनले मलाई अम्ला ठ्ड्याउँदै भने -"मेस्सीले गोल हान्छ। रोनाल्डोले पेनाल्टी हान्छ। र,पेनाल्टी गोल होइन। मैले सुनेँ, सुनिरहेँ। उनले भनेँ हो,रोनाल्डो खत्रा हो। तर मेस्सी भगवान हो। उनले अझै भने मेस्सी आउट अफ दि वर्लड हो।"

यसको जवाफमा मैले केही भनिनँ,मात्र अचार्य भरतले भेद गरेको हास्यमध्ये मन्द मुस्कानको प्रथम हास्यरस स्मित हास्य हाँसेँ। तर छेउका साथीले मेस्सीको फ्यानको जवाफ दिए। “मेस्सी आउट अफ दि वर्ल्ड हो भने,यो वर्ल्डमा कसरी फुटबल खेलेरु” मेस्सीका फ्यानले यसको जवाफ दिएनन् तर मलाई नै हियाउँदै अघिकै भनाइलाई दोहोर्‍याए_"मेस्सीले गोल हान्छ। रोनाल्डोले पेनाल्टी हान्छ। र,पेनाल्टी गोल होइन।" विश्वकपको बेला हाम्रोतिर फुटबल र मुखबलको माहोल बडो अजबगजबको हुन्छ।

सानामा हामीले अट्टेर गर्दा वा काम बिगार्दा आमाले अहिले तँलाई म गोली खेल्छु भन्थे। म पनि आमालाई गोली खेल्ने भनेर दग्याउँथे। पछि बुझेँ, आमाले र मैले गोली खेल्नुबीचको भिन्नता। गाउँमा गोली खेल्ने ग्राउन्ड थिएन। अहिले पनि छैन। ठूलाबडाहरू जाँगर भए मनमै मैदान भन्थे। हामी बाटोलाई मैदान मानेर खेल्थ्यौँ। २०१०को फिफा विश्वकपदेखि वर्ल्डकप गाउँगाउँमा पस्यो। वाक्का वाक्का भन्ने गीत दार्जीलिङ पहाडको डाँडा-पाखासम्म घन्क्यो। फिफा वर्ल्डकप अहिले गाउँघरमा उत्सव जस्तै भएको छ। उसै पनि इन्टरनेटको दुनियाँमा ‘वर्ल्ड’ पनि ‘कप’ जस्तै सानोसाँघुरो जो भएको छ।

कहिलेकाहीँ म मेस्सी र रोनाल्डोको समर्थकहरू देखेर छक्क पर्छु। फुटबल गेमबारे समर्थकहरूबीचको उग्रता देखेर गम खान्छु। तर मेस्सी र रोनाल्डोबीचको विनम्रता देखेर नतमस्तक पनि हुन्छु। एउटा जवाफमा मेस्सीले रोनाल्डोबारे भनेका थिए कि रोनाल्डोलाई टिकट काटेर हेर्ने प्लेयर्सको पहिलो रोजाइमा राख्छु। रोनाल्डोले पनि मेस्सीबारे भन्छन् -"मेस्सी महान् छन्।"

मलाई मेस्सी खेलीरहेको हेरिरहँदा लाग्छ,फुटबल भन्दा जेठा यीनै हुन्। रोनाल्डो खेलिरहेको हेरिरहँदा लाग्छ,फुटबलका प्रणेता यीनै हुन्। गोल लाउनुमात्र होइन ग्राउन्डमा आफूलाई खेलाउनुको सुन्दरता पनि सान्दार हुन्छ। वास्तवमा सुन्दर तरिकाले ती खेलाडीले खेल्नसक्छन् जसमा मनमा होइन मैदानमा प्रतिद्वन्द्वीता हुन्छ। मेस्सी र रोनाल्डो दुवैलाई ग्राउन्डभित्र देख्दा लाग्छ,यिनीहरू फुटबल खेल्दैनन्,फुटबल जिउँछन्। ओशोले भनेकै छन्- “जीवन एक खेल हो। यसलाई खेलभन्दा ज्यादा नठान्नु।”

यसपालि ४८ वटा टिमले विश्वकप खेलीरहँदा आफू आफैसित प्रश्न जाग्यो- "फूटबल खेल्नु कसरी?" भन्न मन लाग्यो-"केप भर्डेले जसरी।" केप भर्डेको टीमले फुटबल तनले भन्दा मनले धेरै खेल्यो। र नै त हारेर पनि सबैको मनमा बस्नसक्यो। संसारमा जितेर मात्रै होइन,हारेर पनि कसैले जित्न सक्छ। केप भर्डेले साबित गरिदियो। म्याचभरि रहने टीम जोकोही हुनसक्छ। तर मनभरि खेलिरहने टीम केप भर्डे नै हो। अर्जेन्टिना र स्पेन फाइनल पुगेको छ।

घरबाट बाहिर निस्क्यो कि कोही न कोहीले सोधिहाल्छन् -"तिम्रो फेब्रेट टीम कुन हो?"

प्रश्न सोध्ने साथीहरूलाई मैले पनि प्रश्न र उत्तर दुवै भएको डबलवाला जवाफ दिन्छु- "फुटबल खेल नै फेब्रेट लाग्ने मान्छेलाई कुनै एउटा टीम फेब्रेट भन्नुको अर्थ के रह्यो ?"