Thursday, May 09, 2024

-->

पालैपालो धराशायी बन्दै अमेरिकी बैंक, नेपालमा कस्तो असर पार्ला?

अमेरिकामा बैंकहरू पालैपालो धराशायी बन्न थालेपछि अर्थविद्हरूले यसलाई आर्थिक मन्दीको संकेत मान्न थालेका छन्।

पालैपालो धराशायी बन्दै अमेरिकी बैंक नेपालमा कस्तो असर पार्ला

सन् २००८ को आर्थिक मन्दीपछि वित्तीय संकटले थलिएको विश्वमा १४ वर्षपछि पुनः अर्को आर्थिक संकट देखा पर्न थालेको छ। 

बैंकहरू धराशायी भएका छन् भने यसले कारोबारमा प्रत्यक्ष असर पार्न थालेको छ। केही अर्थविद्ले विश्व आर्थिक संकटको नजिक रहेको प्रक्षेपण गरिरहँदा हालै शृंखलाबद्ध रूपमा अमेरिकी बैंक धराशायी भएका खबरले उक्त अनुमानलाई थप बल दिएको छ। 

बैंकिङ क्षेत्रको कमजोर नियमनलाई पश्चिमा मिडियाले अहिलेको आर्थिक संकटको कारकका रूपमा विश्लेषण गरेका छन्। कतिपय अर्थविद्हरूले भने अन्तर्राष्ट्रिय बैंकिङ संकट र आर्थिक मन्दी शुरू भइसकेको चेतावनी दिएका छन्।

मार्च ९ ‍मा अमेरिकाको १६ औँ ठूलो सिलिकन भ्याली बैंक (एसभीबी) एकाएक आर्थिक संकटमा परेको खबर बाहिरियो। बैंकबाट एकैदिन बचतको ४२ बिलियन डलर गायब भएको थियो। त्यसपछि २२९ अर्ब डलरको नोक्सानीसहित एकै सातामा अमेरिकी बैंकहरूको बजार मूल्यमा १७ प्रतिशतको गिरावट देखिएको इकोनोमिस्टले लेखेको छ।

सेवाग्राहीहरूले आफ्नो रकम सुरक्षित भए/नभएकोबारे प्रश्न उठाइरहेका छन्। अमेरिकी सरकारले बचतकर्ताको रकमको ग्यारेन्टी दिने प्रतिबद्धता जनाइसकेको छ। अमेरिकी केन्द्रीय बैंकले आगामी समरमा ब्याजदर घटाउने योजनासमेत बनाएको छ। 

स्थापनाको ४० वर्षसम्म सेवाग्राहीमाझ विश्वसनीय बैंकका रूपमा चिनिएको एसभीबी विशेष गरी प्राविधिक कम्पनीहरूलाई कर्जा दिने बैंकका रूपमा परिचित छ।

बैंकमा बचतकर्ताको लगानीसहित स्विडेन सरकारले पेन्सनबापत जम्मा गरेको १ अर्ब डलरसमेत डुबेको बताइएको छ। 

यस्तै, अमेरिकी अर्बपति पिटर थियलले फाइनान्सियल टाइम्ससँग गरेको कुराकानीमा एसभीबीमा आफ्नो ५० मिलियन निजी सम्पत्ति फसेको दाबी गरेका छन्। बैंक डुब्दैन भन्ने लागेर सो रकम बैंकमा राखेको उनको भनाइ थियो। साथै, थियलको फाउन्डर्स फन्ड नामक परामर्शदाता कम्पनीले एसभीबीबाट ठूलो रकम निकालेका कारण पनि बैंक डुबेको हुनसक्ने अनुमान गरिएको छ। यसअघि उनले आफ्नो हिस्साको ४ अर्ब डलर सो बैंकमा राखेको बताएको द गार्डियनले उल्लेख गरेको छ। 

अमेरिकी डेमोक्रेट सांसद मार्क वार्नरले आइतबार एबीसी न्युजसँगको कुराकानीका भनेका थिए, “बिहीबार एकैदिन बैंकबाट ४२ अर्ब डलर बाहिरिएको छ। यसका पछाडि कुनै खेलाडी हुनुपर्छ। एकदमै छोटो समयमा यस्तो भएको छ।”

यो सन् २००८ पछि वित्तीय संकटमा फसेको पहिलो तथा अमेरिकी इतिहासकै ठूलो बैंक पनि हो। एसभीबी धराशायी हुँदा अमेरिका र अन्तर्राष्ट्रियस्तरमा भर्खरै व्यवसाय शुरू गरेका कम्पनीहरूलाई अत्यधिक प्रभाव परेको छ। एसभीबीपछि धराशायी भएका अर्का दुई सिग्नेचर र सिल्भरगेट बैंकमा पनि यसको असर देखिएको हो। अमेरिकी बैंक डुब्दा एशिया र युरोपका केही बैंकहरूको सेयरमा पनि उतारचढाव देखिएको थियो।

त्यसलगत्तै, स्विट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट स्वीसको सेयर मूल्यमा पनि गिरावट आयो। क्रेडिट स्वीसको सेयर पछिल्लो छ महिनायता निरन्तर रूपमा घटिरहेको छ भने सेवाग्राहीले पनि व्यवसायबाट हात झिक्दै रकम फिर्ता लिने गरिरहेका थिए। केही समयअघि मात्रै स्वीस बैंकमा ९.८८ प्रतिशत सेयर रहेको साउदी नेशनल बैंकले पनि नियामक पक्षलाई ध्यानमा राख्दै स्वीस बैंकका थप सेयर नकिन्ने बताएको थियो। जुन विश्वको बैंकिङ प्रणालीका लागि नराम्रो खबर बन्न पुग्यो।

यस्तै, यसै साता अर्को अमेरिकी क्षेत्रीय बैंक फर्ट रिपब्लिकको सेयरमा पनि ७० प्रतिशतसम्मको गिरावट देखियो। तर बैंकलाई धराशायी हुनबाट जोगाउन अमेरिकी ठूला बैंकहरूले ३० बिलियन डलर लगानी गरेका छन्। यसरी ठूला बैंकहरूको सहयोगलाई अमेरिकी नियामक निकायहरूले स्वागत गर्दै यसले बैंकहरूको मनोबल बढाएको प्रतिक्रिया दिएका छन्।

यसअघि अमेरिकी सरकारले आर्थिक संकटमा फसेको एसभीबी बैंकका बचतकर्ताको रकमको सुनिश्चितता हुने ग्यारेन्टी गरेको थियो। तर अन्य लगानीकर्ता र ऋणीहरूको नोक्सानीबारे भने अमेरिकी सरकारले कुनै कदम उठाएको छैन। यसले बचतकर्तालाई केही राहत महसुस गराए पनि ऋणदातामा भने त्रास थपेको छ।

धराशायी भएसँगै एसभीबी बैंक सरकारी नियन्त्रण गइसकेको छ भने सरकारले बैंक बेच्ने तयारी गरेको छ। अन्य बैंकहरूको वित्तीय संकट के हुने भन्ने विषय बिस्तारै सतहमा आइरहेको छ।

अमेरिकी बैंकहरू शृंखलाबद्ध रूपमा धराशायी हुँदा त्यहाँको बैंकिङ प्रणालीप्रति चिन्ता बढेको छ।

अमेरिकी बैंकहरूको खराब स्थितिले जोखिम बढेको भन्दै मार्च १५ का दिन स्वीजरल्यान्डको दोस्रो ठूलो ऋणदाता बैंक क्रेडिट स्वीस बैंकको सेयरमा २४ प्रतिशतको गिरावट देखा पर्‍यो। 

अमेरिकी बैंकहरू डुब्दा त्यसको असर एशियाली र युरोपेली बैंकहरूमा समेत देखिएको छ। विशेष गरी बैंकिङ क्षेत्रका सेयर बढी प्रभावित भएका छन्।

भारतमा पनि सेयर सूचकांक बिहीबार ३४४ अंकले घटेको दैनिक भास्करले लेखेको छ। यता, स्वीस बैंकलाई ५३ बिलियन डलर सहयोग प्राप्त भएपछि भने बिहीबार युरोपेली सेयर बजार केही उकासिएको थियो।

क्रिप्टो व्यवसायमा बढ्दो त्रास
हालै धराशायी भएका अमेरिकी बैंकमध्ये दुइटा बैंक क्रिप्टो कारोबारी बैंक हुन्। यिनीहरूको आर्थिक संकट र अस्थिरताले सिंगो क्रिप्टो उद्योग नै सशंकित देखिएको छ। बैंक टाट पल्टिएसँगै क्रिप्टोलाई परम्परागत वित्तबाट अलग गर्न सकिने विषयप्रति चासो बढेको छ। यसअघि अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली फेडरल रिजर्भसहितका नियामकले अमेरिकामा केही महिना अघिदेखि नै डिजिटल सम्पत्तिको कारोबारको जोखिमप्रति सचेत हुन आग्रह गरिरहेका थिए। यसअघि क्रिप्टो एक्सचेन्ज, एफटीएक्स टाट पल्टिएपछि अहिलेको बैंकिङ क्षेत्रको उथलपुथले क्रिप्टो उद्योगमा नयाँ झट्का पैदा गरेको छ। एफटीएक्सका संस्थापक स्याम बाङकम्यान फ्राइडमाथि भ्रष्टाचार र लगानीकर्ताको रकम हिनामिना गरेको आरोपसमेत लागेको थियो।

त्यसयता सिग्नेचर र सिल्भर गेट बैंकले लगानीकर्ताको परम्परागत बैंकिङ प्रणाली र तुरुन्तै भुक्तानी हुने नेटवर्क दुवै माध्यममार्फत छिटो भुक्तानी गरी डिजिटल सम्पत्तिको पारिस्थितिक प्रणाली सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका थिए। तर, यी बैंकहरू अहिले धराशायी भएका छन्। साथै, नियामकले अब ती बैंकलाई व्यवसायबाटै हटाउनसक्ने आशंकाबीच अहिले त्यहाँका कार्यकारी नयाँ बैंकिङ साझेदारको खोजीमा छन्।

क्रिप्टो रिसर्च फर्म मिसारीका प्रमुख कार्यकारी रायन सेल्किस भन्छन्, “अहिले क्रिप्टो उद्योग नै बन्द गर्न सकिने सम्भावित प्रयासको अवस्था हेर्न निकै कठिन छ।”

यता, फेडरल रिजर्भ बैंकका पूर्व निरीक्षक तथा बोस्टन विश्वविद्यालयका अध्यापक मार्क विलियम भन्छन्, “ऋणदाताको क्रिप्टोसँगको सम्बन्धका कारण बैंक धराशायी भएका होइनन्। यसको कारण भनेकै कमजोर जोखिम व्यवस्थापन र बृहत् आर्थिक विषय हुन्। बचतकर्तामा आत्मविश्वास कायम गर्न सकिएन भने बलिया भनिएका बैंकहरू पनि खडा हुन सक्दैनन्।”

२००८ र २०२३ को वित्तीय संकटबीच तुलना
विश्व अर्थतन्त्रमा हालसम्म सन् १९२९ देखि १९३९ को समयलाई आर्थिक मन्दीको समय मानिन्छ। त्यसयता विश्वले सन् २००८ र २००९ मा पहिलोपटक सबैभन्दा गहिरो आर्थिक संकट बेहोर्नुपर्‍यो।

त्यतिबेला अमेरिकामा निर्माण व्यवसाय डुबेलगत्तै आर्थिक संकट शुरू भएको र त्यसको असर विश्व बजारमा पर्दा विश्व नै आर्थिक मन्दीतर्फ धकेलिएको थियो। तर त्यसपछिको छोटो समयमै यस्तै आर्थिक संकटका सूचकहरू देखिन थालेकोप्रति चिन्ता बढेको छ।

सन् २००८ डिसेम्बर २९ मा अमेरिकी बजारमा अर्थतन्त्र गिरावटको रेकर्ड नै तोडियो। करिब १२ लाख करोड अमेरिकी डलर एकैदिनमा स्वाहा भएपछि त्यतिबेलाका प्रतिष्ठित कम्पनी एप्पल १८, सिटीग्रूप १२ र जेपी मोर्गनमा १५ प्रतिशतको गिरावट देखिएको थियो। त्यतिबेलाको आर्थिक मन्दीको सबैभन्दा ठूलो कारक अमेरिकाको चौथो ठूलो लगानी बैंक लेमन ब्रदर्स मानिन्छ। पहिलेको जस्तो आर्थिक मन्दी आउने चेतावनी पछिल्लो समय केही अर्थशास्त्रीहरूले समेत दिँदै आएका थिए।

अर्थ शिक्षाका लागि चर्चित पुस्तक ‘रिच ड्याड पुअर ड्याड’का लेखक एवं सेयर बजारका विज्ञ रोबर्ट कियोसाकीले विश्वको अर्थतन्त्र धराशायी हुने चेतावनी दिएका थिए। मार्च १ मा उनले विश्वको अर्थतन्त्र अत्यन्तै खराब अवस्थामा रहेको प्रक्षेपणसहितको ट्विट गरेका थिए त्यसको एक साता नबित्दै अमेरिकी बैंकहरू धमाधम डुब्न थालेका हुन्।

कियोसाकीले बैंकिङ क्षेत्र र मानिसको बचत रकम धराशायी हुने चेतावनी दिँदै लगानीकर्तालाई आर्थिक गिरावटका लागि तयार रहन र चाँदीमा लगानी गर्न आग्रह गरेका थिए।

कियोसाकीले केही समययता वित्तीय संकटको तयारी स्वरूप सुन र बिटक्वाइनमा लगानी गर्न सुझाव दिने गरेका थिए। डरलाग्दो आर्थिक संकटका बाबजुद बिटक्वाइन, सुन र चाँदीमा गरिएको लगानीले बजार कमजोर हुनबाट बचाउने उनको तर्क थियो। अमेरिकाको सेक्युरिटिज एक्सचेन्ज कमिसन (एसईसीले) अन्य क्रिप्टोकरेन्सीलाई हटाएर बिटक्वाइनलाई धितोका रूपमा सुरक्षित गर्नसक्ने उनको दाबी छ। नियमनकारी सुरक्षाका कारण बिटक्वाइन अन्य क्रिप्टोकरेन्सीको तुलनामा धेरै सुरक्षित हुने उनको दाबी थियो।

नेपालमा यसको असर 
अमेरिकी बैंकिङ क्षेत्रमा परेको नकारात्मक प्रभावले नेपालका बैंकहरूको पनि यस्तै स्थिति होला भन्नेतिर धेरैको चासो र चिन्ता छ। अमेरिकी बैंकहरूमा आएको संकटले नेपालमा प्रत्यक्ष असर नपारे पनि यसको मनोवैज्ञानिक त्रास हाबी भई यहाँका लगानीकर्ता र बैंकलाई प्रभाव पार्ने नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक नरबहादुर थापाको बुझाइ छ। 

अमेरिकी प्रभावभन्दा पनि नेपालको आफ्नै आर्थिक अवस्था असहज रहेको बताउँदै उनी भन्छन्, “नेपालको स्थिति पनि सहज छैन। पैसा कमाउने माध्यम केही छैन। पहिले सरकारले समेट्न नसकेका गरिब वर्गमा पनि एनजीओहरूका माध्यमले पैसाको पहुँच पुगेको थियो। त्यसैका माध्यमबाट गरिबको हातमा पैसा हुन्थ्यो, तर अहिले त्यस्तो छैन। ऋण लिने तर नतिर्ने प्रवृत्ति छ। कर्जा, नोक्सानी र व्यवस्थापनमा समस्या छ।” 

त्यस्तै, उनले कतिपय बैंकको नेटवर्थ कम हुनसक्ने र महँगी बढ्नसक्ने बताउँदै नेपालका नेपालका १० ठूला बैंकहरूको अडिट, निरीक्षण गर्ने तयारी अघि बढेको बताए। उनले भने, “कतिपय बैंकहरूको नेटवर्थ न्यून हुनसक्छ, महँगी बढ्नसक्छ, खराब कर्जाले स्थिति थप बिगार्न सक्छ। वास्तविक अवस्थालाई लुकाइएको हुनसक्छ, त्यसैले बैंकहरूको स्थिति बुझ्न नेपालका १० ठूला बैंकहरूको अडिट, निरीक्षण गर्ने तयारी अघि बढेको छ। रिभ्यू हुँदैछ।”

यता, नेपाल राष्ट्र बैंकले डुब्न लागेका बैंकलाई सुरक्षित गर्न भन्दै सदाजस्तै अहिले पनि बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली २०७९ जारी गरेको छ। यो सुविधा लिँदा बैंकहरूको वास्तविक स्थिति सार्वजनिक गरी राष्ट्र बैंकले कडा शर्तमा निश्चित समयसीमाका लागि सहयोग गर्ने प्रावधान छ। तर अहिले कतिपय खराब कर्जा भएका बैंकहरूले समेत त्यसो नगरेको पूर्वनिर्देशक थापा बताउँछन्। यस्तो आर्थिक संकटको विषय सतहमा नआए पनि त्रास कायमै रहेको उनी बताउँछन्। राष्ट्र बैंकले भने अमेरिकामा जस्तो नेपालमा बैंकहरू डुब्ने अवस्था नरहेको जनाएको छ।


सम्बन्धित सामग्री