जर्मन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज बुस्टर खोप नेपाल आइपुगेको छ। बुस्टर डोजको प्राथमिकतामा ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधी क्षमता कम रहेका नागरिक छन्।
काठमाडौँ- सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ।
गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो।
‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरू भएको पनि बताए।
उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने तथा बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए।
सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै विभिन्न केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरू भइसकेको बताए।
उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सक्ने बताए। खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरूलाई खोप लगाइदिन समेत उनले आग्रह गरे। आजबाट काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरू गरिएको छ।
उनले भने, “कोभिड १९ विरुद्धको खोप अहिले प्राप्त भएको छ। १५ लाख खोप आइसकेको छ। अरू थप खोप आउँदै छ। त्यो आज भोलिसम्ममा प्राप्त हुन्छ। त्यो खोप प्राप्त भएपछि हाम्रो भण्डारणमा नभएको अवस्थामा खोप अभियान रोकिएको सन्दर्भमा अब नियमित सञ्चालित हुन्छ। त्यसमा हामीले खोप लगाउनलाई ५५ वर्ष माथिको उमेरसमूहका प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूलाई खोप लगाउनेछौँ।”
सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताए।
उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भएपनि बुस्टरमात्राका रूपमा लगाउन मिल्ने जानकारी गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
