क्यान्सरको औषधि भनेको टाउको दुखेको निको पार्ने चक्की जस्तो होइन। यसको असर र साइड-इफेक्ट देखिन महिनौँ वा बर्सौँ लाग्न सक्छ।
केही अघि, स्पेनको 'नेसनल क्यान्सर रिसर्च सेन्टर' (सीएनआइओ) बाट प्रकाशित प्यान्क्रियाटिक क्यान्सरको उपचार बारेको अनुसन्धानले संसारभर चिकित्सा जगत् उत्साहित भएको छ। डा. मारियानो बार्वासिडले नेतृत्व गरेको इम्युनोलोजिस्टहरूको टोलीले प्रयोगशालाका मुसाहरूमा यो क्यान्सर पूर्ण र स्थायी रूपमा निको पारेको दाबी गरेका छन्।
क्यान्सर एक पटक निको हुनु र फेरि नफर्कनुलाई जुनै पनि क्यान्सर निदानको 'होली ग्रेल' नै मानिन्छ। क्यान्सरमध्ये, उपचार गर्न गाह्रो भनेर चिनिएको प्यान्क्रियाटिक क्यान्सरमा यस्तो सफलता पाउनुलाई अझै बढी महत्त्वसाथ हेरिएको छ।
यो खोज, क्यान्सर-उपचारमा निस्सन्देह महत्त्वपूर्ण नतिजा हो। यसले भविष्यमा क्यान्सरको उपचारलाई नै नयाँ मोड दिन सक्छ। तर, जब यस्ता नतिजाहरू पत्रपत्रिकाका मुख्य शीर्षक बन्छन्, आम मानिसमा स्वाभाविक आशा जाग्न सक्छ–'अब क्यान्सरको उपचार भेटियो।' क्यान्सरको उपचार त्यति सरल हुँदैन र यसलाई बुझ्न हामीले 'चमत्कार'को भ्रमबाट बाहिर निस्केर कठोर वैज्ञानिक यथार्थलाई बुझ्न पर्ने हुन्छ।
स्पेनको रिसर्च: क्यान्सरको घेराबन्दी
मानिसहरूलाई लाग्ने क्यान्सरहरूमध्ये प्यान्क्रियाजको क्यान्सर, प्यान्क्रियाटिक एडिनोकार्सिनोमा (पीडीएसी) सबैभन्दा घातक र उपचार गर्न नसकिने क्यान्सरमध्ये भनिन्छ। यसको कारण यो छिटो फैलिने मात्र होइन, बरु यसको 'छल गर्न सक्ने' बहुरूपी क्षमता भएर हो। यसले परिस्थितिअनुसार आफूलाई बदल्न सक्छ, जगेडा उपायहरू सक्रिय गर्न सक्छ र सानातिना आक्रमणहरूबाट 'चोर बाटो' प्रयोग गर्दै बच्न सक्छ। दशकौँयता अनुसन्धानकर्ताहरूले यो क्यान्सरलाई बढाउने मुख्य बाटाहरू बन्द गर्ने प्रयास नगरेका होइनन्; तर, हरेक पटक एउटा बाटो बन्द गर्दा अर्को बाटोबाट भागेर क्यान्सर झन् बलियो भएर फर्किने हुन्थ्यो।
स्पेनको यो अनुसन्धानको सबैभन्दा रोचक पक्ष वैज्ञानिकहरूले अपनाएको रणनीति हो। डा. बार्वासिडको टोलीले फरक ढंगबाट उपचार गर्ने विचार गरे–ट्युमरले एउटा वा दुई वटा बाटो बन्द हुँदा आफूलाई बचाउन सक्ला, तर एकै पटक धेरै वटा प्रणाली बन्द गरिदिने हो भने यो बाँच्न सक्दैन। उनीहरूले प्यान्क्रियाटिक क्यान्सरको मुख्य 'इन्जिन'लाई रोकेर मात्रै पुग्दैन, यसको 'स्टार्ट गर्ने स्विच' र 'भाग्ने बाटो'लाई पनि एकै पटक बन्द गर्नुपर्छ भनेर बुझे र यो अनुसन्धानमा तीनै खाले बाटो बन्द गर्ने रणनीति प्रयोग गरेका छन्।
प्यान्क्रियाटिक क्यान्सरको मुख्य इन्जिन, 'के-रास' (केआरएएस) प्रोटिनमा हुने म्युटेसन हो। प्यान्क्रियाटिक क्यान्सर-उपचारका प्राय: अनुसन्धानहरूले यसैलाई लक्षित गरेका हुन्छन्, र यसैको बहुरूपीपनले गर्दा उपचारका अधिकांश रणनीतिहरू सफल हुँदैनन्। के-रासभन्दा एक तहमाथि हुने 'इजीएफआर' प्रोटिनले क्यान्सरको इन्जिनको 'इग्निसन स्विच'को रूपमा काम गर्छ। त्यस्तै अर्को प्रोटिन हुन्छ, 'स्टाट-३', जसले अरू बाटाहरू बन्द भए क्यान्सर-जन्य सेलहरूलाई 'चोर बाटो' देखाएर जोगाउन सक्छ। प्यान्क्रियाटिक क्यान्सरको उपचारमा अहिलेसम्म प्रयोग भएका प्राय: उपचारहरू यिनीहरूमध्ये कुनै एकलाई लक्षित गरेर बनाइएका हुन्थे।
डा. बार्वासिडको टोलीले यी तीन वटै प्रोटिनहरूलाई एकैसाथ लक्षित गर्ने रणनीति प्रयोग गरेका थिए। प्यान्क्रियाटिक क्यान्सरका तीन वटै आधार स्तम्भहरू एकै पटक ढाल्दा, क्यान्सरलाई अनुकूल हुने वा भाग्ने कुनै उपाय बाँकी रहेन। मुसामा के-रास, ईजीएफआर र स्टाट-३ तीनैलाई एकैसाथ लक्षित गर्दा आश्चर्यजनक नतिजा आएको थियो–मुसाका ट्युमरहरू खुम्चिएका मात्रै होइनन्; ती फेरि फर्किन नसक्ने गरी गायब नै भएका थिए। यसरी, प्रयोगशालाका मुसाहरूमा प्यान्क्रियाटिक क्यान्सरको पूर्ण निदान भएको यो समाचारले विश्वभरिका वैज्ञानिकलाई उत्साहित बनाएको हो।
मुसा: एक फिल्टर, तर, अन्तिम गन्तव्य होइन
यसरी, उनीहरूले प्रयोगशालाका मुसाहरूमा 'जेनेटिक विधि' प्रयोग गरेर क्यान्सरको 'इन्जिन', त्यसको 'स्टार्ट गर्ने स्विच' र 'भाग्ने बाटो'लाई एकै पटक बन्द गरिदिँदा तिनमा क्यान्सर पूर्ण रूपमा निर्मूल भएको हो। यहाँ, हाम्रो बुझाइ र यथार्थ बीचको फरक बुझ्नु जरुरी हुन्छ। हामी जब “क्यान्सर निको भयो” भनेर समाचारमा सुन्छौँ, अस्पतालबाट निको भएर निस्किएका बिरामीको कल्पना गर्न पुगिहाल्छौँ। हामीले स्पेनको शोध बारेका समाचार पढ्दा पहिले यो बुझ्न जरुरी छ-क्यान्सर हराएर गएको मुसामा हो, अहिलेसम्म यो विधिको प्रयोग मानिसमा भएको छैन।
वैज्ञानिकहरूले मुसामा हजारौँ पटक क्यान्सर र अरू रोगहरू निको पारिसकेका छन्। इतिहास हेर्ने हो भने, मुसामा सफल भएका यस्ता उपचारहरूमध्ये करिब ९० प्रतिशत मानिसमा परीक्षण गर्दा असफल हुन्छन्। यसो हुनुको कारण विज्ञानको कमजोरी होइन, बरु हाम्रो शरीरको जटिलता हो। प्रयोगशालाका मुसाहरूको वंशाणुगत बनावट एक नाशको हुन्छ, उनीहरूमा निश्चित तरिकाले क्यान्सर विकास गराइन्छ र रोगको सुरुवाती चरणमै उपचार गरिन्छ। उनीहरूको रोग प्रतिरोधात्मक क्षमता मानिसको जस्तो वर्षौँको धुवाँ धुलो, तनाव वा अन्य रोगले ग्रस्त भएको हुँदैन।
त्यसैले, प्रयोगशालाको नियन्त्रित वातावरणका मुसामा देखिएको सफलतालाई हामीले 'अन्तिम जित' होइन, बरु एउटा 'सफल छनोट' वा 'फिल्टर' मात्र मान्नुपर्छ। स्पेनको यो अनुसन्धानले त्यो कठिन 'फिल्टर' पार गरेको छ, जसले देखाउँछ कि यो विधिमा प्यान्क्रियाजको क्यान्सर निको पार्ने दम छ।
जिनदेखि औषधिसम्म: मुसाबाट मानिसमा औषधीको कठिन रूपान्तरण
अबको सबैभन्दा कठिन चुनौती भनेको मुसामा प्रयोग गरिएको 'जेनेटिक' विधिलाई मानिसले सहन सक्ने 'उपचार' मा बदल्नु हो। मानिसको शरीरबाट यी तीन वटै जिनहरू (केआरएस, स्ट्याट३ र एजीएफआर) अरू प्रक्रियाका लागि महत्त्वपूर्ण हुन्छन्। मुसामा जस्तै जेनेटिक प्रक्रियाबाट यिनीहरूलाई काटेर फाल्न सकिँदैन, त्यसो गर्दा भयानक परिणाम आउन सक्छ। यसको सट्टा डाक्टरहरूले ती प्रोटिनहरूलाई रोक्ने औषधिहरूको 'ककटेल' (मिश्रण) मा भर पर्नुपर्छ- जुन विधि कम सटिक हुन्छ र धेरै विषाक्त (टक्सिक) पनि।
डा. बार्वासिडको टोलीले मानिसमा यो विधि परीक्षणका लागि सम्भावित औषधिहरूको योजना बनाएको छ, जहाँ तीनै वटा प्रोटिनलाई एकै पटक लक्षित गर्ने औषधिहरूको ककटेल (मिश्रण) प्रयोग गरिनेछ। यसको सुरुवात केआरएसको क्यान्सरजन्य म्युटेसनहरू चिनेर तिनलाई लक्षित गर्न बनाइएको औषधि, 'आरएमसी-६२३६' बाट हुनेछ। यो सँगै फोक्सोको क्यान्सरमा प्रयोग भइसकेको इजीएफआरविरुद्ध लड्ने 'अफ्तिनिब', र स्ट्याट३ विरुद्ध प्रयोग गरिने 'एसडी३६' पनि एकै पटक प्रयोग गर्ने योजना बनाएका छन्।
यी तीन वटै औषधिमध्ये केआरएएसलाई रोक्न बनाइएको आरएमसी ६२३६ नयाँ हो भने बाँकी दुईले पहिलेबाट नै अरू क्यान्सरहरूमा प्रयोग गर्ने मान्यता पाइसकेका छन्। पहिले छुट्टाछुट्टै प्रयोगको अनुमति पाइसकेको भए पनि एकैसाथ प्रयोग गर्न अनुमति पाउन पुनः अनुमतिको सबै प्रक्रिया दोहोर्याउनुपर्ने हुन्छ।
क्यान्सरको इन्जिन, स्टार्टर र बाटो सबै बन्द गर्नु ठीक देखिए पनि जीव विज्ञानका हिसाबले यो जोखिमपूर्ण हुन्छ। यी तीन वटै निसानाहरू–केआरएएस, एजीएफआर र स्ट्याट३–हाम्रा स्वस्थ कोषहरूलाई बाँच्न र रोगसँग लड्नको निमित्त महत्त्वपूर्ण मानिन्छन्। मुसाको जीवनचक्र छोटो हुन्छ र यिनले केही हप्ताको कडा उपचार धान्न सक्छन्; तर मानिसले महिनौँ धान्नुपर्छ। इजीएआर र स्ट्याट ३ लाई एकै पटक रोक्दा छाला, पेट वा प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पर्न सक्छ। अझै, सबैभन्दा पहिलो तगारो 'विषाक्तता' (टक्सिसिटी) हुन्छ। यदि 'साइड इफेक्ट'हरूका कारण डाक्टरले उपचार रोक्नुपर्यो भने मौका गुम्छ र क्यान्सर फेरि बलियो भएर फर्किने सम्भावना झनै बढेर जान्छ।
मुसामा सफल भएका औषधीले मानिसमा सफलता ग्यारेन्टी गर्दैन
इतिहासले हामीलाई सावधान रहन सिकाएको छ। सन् १९९८ मा 'एन्डोस्टाटिन'जस्ता औषधिहरूले मुसाको ट्युमरमा रगतको आपूर्ति रोकेको समाचारले विश्वलाई चकित पारेका थिए। सन् २०१८ मा चिकित्सा शास्त्रमा नोबेल पुरस्कार जितेका जेम्स पी एलिसनले दुई वर्षभित्र क्यान्सर निको हुने भविष्यवाणी समेत गरे। तर मानिसमा ट्युमरहरू बाठा निस्किए, तिनीहरूले सजिलै रगत पाउने अर्को बाटो खोज्न सक्ने भए। औषधिको परीक्षण बीचमै रोकियो र ती औषधिले प्रतिज्ञा गरिएको 'जादु' कहिल्यै पूरा हुन सकेको थिएन।
त्यसको एक दशकपछि, प्यान्क्रियाटिक क्यान्सरकै लागि 'हेजहग' बाटोलाई लक्षित गर्ने अर्को उपचार विधिले अझै कडा पाठ सिकाएको थियो। मुसामा यो बाटो बन्द गर्दा ट्युमर वरिपरिको बाक्लो मासु पग्लिने र केमोथेरापी औषधिहरू सजिलै भित्र पस्न सक्थ्यो। मुसामा सफल यो उपाय, मानिसमा परीक्षण गर्दा नतिजा उल्टो आयो। खासमा त्यो बाक्लो मासुले औषधिलाई रोकेको मात्र होइन रहेछ, त्यसले क्यान्सरलाई बाहिर फैलिनबाट 'थुनेर' पनि राखेको रहेछ। त्यो मासु पगाल्दा, औषधिले उल्टै क्यान्सरलाई छिटो फैलिन मद्दत गर्यो। नयाँ औषधि खाने बिरामीहरू औषधि नखानेभन्दा छिटो मर्न थाले र त्यो परीक्षण बीचमै रोक्नुपरेको थियो।
क्लिनिकल ट्रायल: औषधीहरूको मृत्युको उपत्यका (भ्याली अफ् डेथ)
जनावरमा सफल भएको अध्ययनलाई मानिसको उपचारमा बदल्ने प्रक्रियालाई औषधि उद्योगमा 'मृत्युको उपत्यका' भनिन्छ, कारण–अधिकांश औषधीहरू असफल हुने, लामो र खर्चिलो परीक्षणका चरणहरू पूरा गरेपछि मात्रै औषधिको सफलता-असफलता थाहा हुन्छ। सीएनआइओका वैज्ञानिकहरूले मुसाहरूमा देखेको नतिजाले यो विधि वैज्ञानिक रूपमा बलियो छ र यसमा 'क्लिनिकल ट्रायल' (मानव परीक्षण) गर्ने जोखिम मोल्न सकिन्छ भनेर देखाएको छ।
अबको तत्कालको कदम सिधै 'प्रेस्किप्सन' होइन, 'विषाक्तता परीक्षण' हो। पहिले त, अनुसन्धानकर्ताहरूले शरीरका अरू कामका लागि चाहिने क्रास, इजीएफआर र स्ट्याट ३लाई रोक्दा बिरामीका क्यान्सरबाहेक अरू स्वस्थ कोषहरूलाई नगण्य असर पर्छ भनेर निश्चित गर्नुपर्छ। विषाक्तता व्यवस्थापन गर्न सकिने देखियो भने मात्रै औषधि मानव परीक्षण वा क्लिनिकल ट्रायलको विभिन्न चरणहरूमा जान्छ। क्लिनिकल ट्रायलका तीन चरणहरू क्रमिक रूपमा पास गरेपछि मात्रै औषधीले प्रयोगको अनुमति पाउँछ।
सबैभन्दा पहिलो चरण, जसलाई 'फेज वान' भनिन्छ, यसको उद्देश्य रोग निको पार्नु होइन। सुन्दा अनौठो लाग्न सक्छ, तर यो चरणको उद्देश्य 'के यो औषधि मानिसका लागि सुरक्षित छ?' भनेर पत्ता लगाउने मात्रै हो। वैज्ञानिकहरूले बन्द गरेका ती तीन वटा बाटोहरू (केआरएस, इजीएफआर र स्ट्याट ३) क्यान्सरका लागि मात्र होइन, हाम्रो शरीरका स्वस्थ कोषहरूका लागि पनि आवश्यक हुन्छन्।
मुसाको शरीरले पचाएको रसायनले मानिसको म्रिगौला फेल गराउन सक्छ वा मुटु या दिमागमा प्रतिकूल असर पार्न सक्छन्। त्यसैले, यो चरणमा एकदमै थोरै संख्यामा स्वयंसेवकहरूमाथि परीक्षण गरिन्छ। यहाँ डाक्टरहरूले औषधिको मात्रा (डोज) मिलाउँछन् र यसले शरीरमा कस्तो नकारात्मक असर (साइड इफेक्ट) गर्छ भनेर सूक्ष्म निगरानी गर्छन्। जतिसुकै लाभदायक औषधि भए पनि, यो चरणमा सुरक्षित नदेखिए तिनको परीक्षण र प्रयोगलाई त्यहाँबाटै रद्द गरिन्छ।
क्यान्सरको औषधिले सुरक्षाको यो पहिलो तगारो पार गरेपछि 'फेज टु' (फेज २) वा दोस्रो चरणको परीक्षण सुरु हुन्छ। यहाँ वैज्ञानिकहरूले "के यो औषधीले काम गर्छ?" भन्ने प्रश्न सोध्छन्। यो चरणमा केही सय बिरामीहरूलाई, औषधि दिइन्छ र ट्युमर खुम्चियो कि खुम्चिएन, वा क्यान्सर बढ्न रोकियो कि रोकिएन भनेर वैज्ञानिकहरूले निगरानी गर्छन्। यो चरणले औषधि प्रभावकारी छ भन्ने संकेत दियो भने मात्र औषधिको प्रयोग अगाडि बढ्न सक्छ। तर, धेरैजसो औषधिहरू यही चरणमा आएर असफल हुन्छन्, मुसामा काम गरेको विधिले जटिल मानव शरीरमा काम नगर्न पनि सक्छ।
क्लिनिकल ट्रायलको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण चरण हो- 'फेज थ्री' (फेज ३)। यो चरण औषधिको 'फाइनल म्याच' जस्तै हो। यहाँ हजारौँ बिरामीहरू सहभागी हुन्छन्।
यसको मुख्य उद्देश्य नयाँ औषधिले काम गर्छ कि गर्दैन भनेर हेर्नु मात्र होइन, बरु 'के यो अहिले बजारमा उपलब्ध औषधिभन्दा राम्रो छ?' भनेर तुलना गर्नु हो। यदि नयाँ औषधिले क्यान्सर त मार्छ तर बिरामीलाई अहिलेको 'केमोथेरापी' भन्दा धेरै दुःख दिन्छ भने, त्यो औषधिको प्रयोग या उत्पादन लाभदायक हुँदैन। यो चरणमा बिरामीहरूलाई दुई समूहमा बाँडिन्छ–एक समूहलाई नयाँ औषधि दिइन्छ र अर्कोलाई अहिले चलिरहेको मानक उपचार। वर्षौँसम्म यी दुई समूहको तुलना गरेपछि मात्र तथ्यांकका आधारमा निष्कर्ष निकालिन्छ।
यही कारणले गर्दा यो प्रक्रियामा हतार गर्न मिल्दैन। क्यान्सरको औषधि भनेको टाउको दुखेको निको पार्ने चक्की जस्तो होइन। यसको असर र साइड-इफेक्ट देखिन महिनौँ वा बर्सौँ लाग्न सक्छ। विगतमा हतारमा ल्याइएका 'एन्डोस्टाटिन'जस्ता केही औषधिहरूले सुरुमा चमत्कारको हल्ला फिँजाए पनि पछि मानव परीक्षणमा असफल भएका उदाहरणहरू छन्। हतारमा अनुमति दिँदा त्यसले हजारौँ मानिसको ज्यान जोखिममा पार्न सक्छ। त्यसैले लामो समय, कागजी प्रक्रिया र कडा निगरानी बिरामीलाई सताउन होइन, बरु बचाउनका लागि बनाइएको सुरक्षा कवच हो।
निष्कर्ष: सफलता वास्तवमा कस्तो देखिन्छ?
विज्ञान असमान गतिमा अघि बढ्छ। यो सुस्त, महँगो, जोखिमपूर्ण हुन्छ र यसमा धेरै बन्द गल्लीहरू हुन्छन्। स्पेनको अनुसन्धानले देखाएको बाटो मानिसमा सफल भयो, सबै कुरा राम्रो भयो र कतै अवरोध आएन भने पनि सिधा समय रेखाले औषधी बन्न आठदेखि दस वर्ष लाग्ने देखाउँछ। क्यान्सर औषधि विकासको अस्तव्यस्त, ढिलो र महँगो यथार्थ यही हो।
यो सन्दर्भलाई नबुझी कुरा गर्दा वैज्ञानिक अपव्याख्या मात्र हुँदैन–यसले बिस्तारै जनविश्वास पनि गुम्दै जान्छ। जब बारम्बार 'क्यान्सर निको भयो' भन्ने समाचार आउँछन्, तर व्यवहारमा निराशा मात्र हात लाग्छ। मानिसहरूलाई पनि लाग्न थाल्छ–कतै उपचार लुकाइँदै त छैन वा वैज्ञानिकहरू असक्षम त छैनन्?
यथार्थ कम नाटकीय छ तर धेरै इमानदार छ। स्पेनको अध्ययन कुनै चमत्कार होइन। यो त्योभन्दा राम्रो कुरा हो। यसले उपचारको एउटा स्पष्ट 'नक्सा' देखाएको छ। अबका केही वर्षसम्म गरिने परीक्षणहरूको जोखिमलाई जायज त ठहराउँछ, यद्यपि, यो सफलताको ग्यारेन्टी होइन।
क्यान्सर विज्ञानको कठोर यथार्थमा वास्तविक प्रगति यस्तै देखिन्छ। यसले हामीलाई प्यान्क्रियाजजस्तो घातक क्यान्सरलाई थुन्न तीन वटा ढोकाहरू एकै पटक बन्द गरे सकिने रहेछ भनेर आशा जगाएको छ। यो आशाको खबर हो, तर यो धैर्यताको पनि परीक्षा हो।
(कोलम्बिया युनिभर्सिटीमा पोस्टडक्टरल इम्युनोलोजीमा रिसर्च गरिरहेका खतिवडा मानव इतिहास र संस्कृतिमा समेत चाख राख्छन्। उकालोमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
