Wednesday, May 08, 2024

-->

सरकारी वकिलको दाबी– कार्यविधि पालना नगरेकै आधारमा लामिछाने गैरनागरिक हुँदैनन्

सरकारी वकिलले गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।

सरकारी वकिलको दाबी– कार्यविधि पालना नगरेकै आधारमा लामिछाने गैरनागरिक हुँदैनन्

काठमाडौँ– सरकारी वकिलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहसका क्रमममा महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पेस गरेको बहस–नोटमा उनले कार्यविधि पालना नभएको स्वीकार गरेका हुन्। तर, कुनै पनि व्यक्ति सामान्य कार्यविधि पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था नहुने जिकिर उनको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको तर्फबाट बहस–नोट प्रस्तुत गर्दै रेग्मीले नेपालको नागरिकता प्राप्त गरेको र विदेशी नागरिकता त्याग गरेको सूचना आधिकारिक निकायलाई नदिई पुरानो नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी प्रतिनिधिसभाको उम्मेदवार भएकोले अयोग्य रहेको जिकिर निवेदकहरूले निवेदनमा गरेको विषय सार वहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको बताएका छन्।

“कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेको आधारमा गैरनागरिक हुने अवस्था हुँदैन। नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहीनताको परिकल्पना गरेको छैन”, उनले बहस–नोटमा भनेका छन्, “निवेदकहरूले माननीय रवि छामिछाने नेपालको नागरिक होइनन् भन्नु भएको अवस्था छैन। २०७५ असार १४ मा अमेरिकी नागरिकता त्याग गरेको सूचना दिएको भन्ने निवेदककै निवेदन ब्यहोरासमेतबाट देखिएको छ। तसर्थ उहाँ नेपाली नागरिक नरहेको वा नेपालको नागरिकता कायम नरहेको भन्ने आधारमा २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन अयोग्य भएको भन्ने निवेदन बेहोरा कानूनसम्मत छैन।”


सम्बन्धित सामग्री