अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन।
रुकुमपश्चिम– “बसाइँ सर्ने क्रम यति चर्काे छ कि, गाउँ नै रित्तेला जस्तो भइसक्यो।”
बाफिकोटको लागिम गाउँकी राधिका गिरी चिन्ता व्यक्त गर्छिन्। गाउँबाट हरेक हप्ता तीनदेखि पाँच परिवार बसाइँ सरिरहेको उनको भनाइ छ। केही वर्षदेखि त यो क्रम झनै बढेको छ।
यसरी बसाइँ हिँड्नुको प्रमुख कारण हो प्रायः घरका कोही न कोही तल्लो बाटो अमेरिका पुग्नु। “कोही न कोही अमेरिका पुगेकाको परिवार गाउँ छाडेर हिँडिरा’छन्,” राधिका भन्छिन्।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ। तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन। त्यस्ता परिवार रुकुमबाट छिमेकी जिल्ला दाङका साथै बुटवल र काठमाडौँसम्म बसाइँ सरिरहेका छन्।

रुकुमपश्चिमस्थित बाफीकोट गाउँपालिका–४ स्यार्पुकी दीपा खत्री बालबच्चासहित तीन वर्षअघि दाङको घोराहीमा बसाइँ आएकी हुन्। पाँच वर्षअघि श्रीमान् हेमन्त अमेरिका हिँडेपछि बालबच्चासहित उनी दाङ झरेकी हुन्।
दीपाको परिवारले अहिले घोराहीको रतनपुरमा घर बनाइसकेको छ। गाउँमा भने उनका सासूससुरा मात्र छन्। “गाउँमा बालबाच्चालाई पढाउन राम्रो विद्यालय छैन,” उनी भन्छिन्, “रातविरात दुःखविराम अस्पताल पुर्याउन पनि समस्या छ। यता सबै सजिलो छ।”
दीपाका अनुसार श्रीमान् अमेरिका पुगेपछि आर्थिक रूपमा पनि शहर बस्न सहज भयो। श्रीमानले पनि शहरमै बस्न सुझाए। त्यसपछि उनी पनि रतनपुर झरिन्।
रुकुमपूर्वमा पनि अवस्था उस्तै छ। सिस्ने गाउँपालिका नाथिगाडका शिक्षक लालबहादुर खत्रीको परिवार अहिले दाङको घोराही बसाइँ सर्ने तयारीमा छ। “छोरा अमेरिका पुगेपछि घरजग्गा उतै (घोराहीमा) किन्यो,” उनी भन्छन्, “गाउँमा सुविधा छैन, उता गए सजिलो पनि होला।”
तीन दशक शिक्षण पेसामा बिताएका लालबहादुरलाई गाउँ छोड्न भने रहर छैन। गाउँबाट उनीजस्तै धेरै बसाइँ हिँडिसकेका छन्। अमेरिका पुगेका हरेकजसोका परिवार शहरी क्षेत्रतिर सर्न थालेपछि उनको पनि मन थामिएन।
रुकुमपूर्व सिस्ने गाउँपालिका–३ की वडा सदस्य मिना केसी पछिल्लो महिना १० परिवार आफ्नो वडाबाट बसाइँ सरेको थाहा पाएको बताउँछिन्। “अमेरिका पुगेका मात्र होइन, जाँदै गरेकाको परिवारले पनि गाउँ छोड्न थाले,” उनी भन्छिन्, “अमेरिका छिर्ने जस्तो लहर छ, उस्तै लहर बसाइँ सर्नेको पनि छ।”
बसाइँसराइको प्रभाव विद्यालयमा समेत परिरहेको छ। सिस्ने गाउँपालिका–३ पोखास्थित पोखरा माविका प्रधानाध्यापक कलु खड्का विद्यार्थी संख्या घटिरहेको सुनाउँछन्। उनका अनुसार हरेक वर्ष नै विद्यालयमा भर्ना हुनेको संख्या घट्दो छ। यसको प्रभाव कक्षा ११ को भर्ना संख्यामा परेको छ।
प्रधानाध्यापक खड्काका अनुसार तीन वर्ष अघिसम्म कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या १०० हाराहारी हुन्थ्यो। अहिले त्यो संख्या घटेर ५०–६० जनामा सीमित भएको उनको भनाइ छ। “केही विद्यार्थी एसईईपछि अमेरिका हिँडे, धेरैका चाहीँ परिवारसँग बसाइँ सरेर शहर झरे,” उनी भन्छन्।
युवाहरू अमेरिका गएपछि उनीहरूका सन्तान र तिनको रेखदेख गर्ने नजिकका सदस्य शहरतिर बसाइँ हिँडेका छन्। अहिले रुकुमका गाउँमा घर कुरिरहेका पाका मानिस मात्र भेटिन्छन्। “अमेरिका पुगेका परिवारहरू राम्रो शिक्षादिक्षा दिन भनेर पनि शहरतिर गइरहेका छन्। गाउँमा पढ्ने विद्यार्थी ह्वातै घटे,” उनी भन्छन्।
नाथिगाढकी माइमा पुनको घरमा अहिले दम्पती मात्रै छन्। उनका दुई छोरा अमेरिका हिँडेपछि बुहारी र नातिनातिना शहरतिर लागे। उनको माइलो छोराको परिवार दाङ र काइँलो छोराको परिवार काठमाडौँ सरेको छ। उनी भन्छिन्, “अमेरिका पुगेपछि गाउँमा बस्न मान्दैनन्। गाउँमा दुःख मात्रै छ, शहरमा सेवासुविधा पाइन्छ।”

सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष वीरेन्द्र बस्नेत गाउँमा जेष्ठ नागरिक मात्र हुँदै गएपछि उराठलाग्दो बन्न थालेको बताउँछन्। ‘एक घर, एक अमेरिका’ जस्तो भएका कारण गाउँहरू सुनसान बन्दै गएको उनले बताए। “युवाहरू अमेरिका हिँडेपछि गाउँ बिरानो बन्दै गएको थियो,” उनी भन्छन्, “परिवार पनि हिँडेपछि अहिले गाउँमा पाका मानिसबाहेक छैनन्।”
गाउँमा अहिले विकास निर्माणका काममा पनि जनसहभागिता गराउन मुस्किल भएको उनको अनुभव छ। चाडपर्वमा पनि गाउँमा रमझम हुँदैन।
रुकुमपश्चिमको बाफीकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगर गाउँहरू सुनसान बनेपछि विकास निर्माणका काममा बाधा भएको बताउँछन्। “कोही नबस्ने भएपछि गाउँको विकासमा हामी पनि उत्साहित छैनौँ। जसका लागि विकास गर्न चुनिएका हौँ, उनीहरू नै नभएपछि कसका लागि विकास गर्ने ?” उनी भन्छन्।
विसं २०७० को दशकमा अमेरिका जाने लहर शुरू भएपछि नै बसाइँसराइ पनि शुरू भएको मगर बताउँछन्। अमेरिका पुगेका परिवारहरूको आर्थिक हैसियत बलियो हुँदै गएपछि अवसरको खोजीमा शहर जाने क्रम बढेको हो।
धेरैजसोले घरजग्गा किनेरै शहर पसेको अध्यक्ष मगर बताउँछन्। उनी भन्छन्, “जसरी गाउँमा अमेरिका नपुगेको घर भेट्टाउन मुश्किल छ, उसैगरी बसाइँ नहिँडेको परिवार पनि भेट्टाउन मुश्किल छ। अमेरिका जान नसकेका परिवार मात्रै गाउँमा भेटिन्छन्।”
सशस्त्र द्वन्द्वका बेला पनि रुकुमदेखि दाङतिर बसाइँ सर्नेको संख्या ठूलो थियो। युद्धका चपेटामा परेका र विस्थापित भएकाहरू बसाइँ सरेका थिए।
रुकुमदेखि बसाइँ आउनेहरूको दाङको घोराहीमा ठूलो बस्ती नै छ। अहिले विशेषगरी घोराहीको रतनपुर, गिठेपानी, मसिनालगायत ठाउँमा रुकुमेलीका बस्ती छन्।

रुकुमदेखि बसाइँ सरेर काठमाडौँ आउने पनि धेरै छन्। कीर्तिपुरमा मात्र करिब २० परिवार बसोबास गरिरहेका छन्।
श्रीमान् अमेरिका पुगेपछि सीता गौतम रुकुमपश्चिम मुसीकोटदेखि कीर्तिपुर बसाइँ आएकी छन्। डेढ वर्षदेखि उनी घर नै किनेर कीर्तिपुरमा बसिरहेकी हुन्।
उनका श्रीमान् २०७८ पुसमा अमेरिका पुगेका थिए। अमेरिका पुगेपछि उनले राम्रै कमाए। पहिलो दुई वर्ष ऋण तिर्नमै बित्यो। त्यसपछि श्रीमानसँगको सल्लाहमा काठमाडौँ बस्ने निधो गरिन्।
काठमाडौँमा बस्नु सामाजिक प्रष्तिठाको विषय भएको उनको बुझाइ छ। अमेरिका पुगेकाको परिवार शहरमा घर बनाएर बस्ने प्रतिस्पर्धा जस्तै भएको उनी बताउँछिन्।
“अमेरिका पुगेपछि कोही दाङ, कोही काठमाडौँ बस्न थाले,” उनी भन्छिन्, “अरूको देखेर हामीलाई पनि रहर जाग्यो। गाउँमा भन्दा शहरमा सजिलो होला भनेर यता आयौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
