शिलालेख राखिएको भवनमा ‘ताला’, पानी–बिजुली नभएको अर्को भवन उद्घाटनमा जाँदै प्रधानमन्त्री

बीपी प्रतिष्ठानअन्तर्गत रहेको मातृशिशु स्याहार केन्द्र भवन निर्माण थालिएको ११ वर्षमा पनि सम्पन्न भइसकेको छैन। पानी, बिजुलीसमेत जडान भइनसकेको त्यो भवन उद्घाटनका लागि प्रधानमन्त्री धरान जाने भएका छन्।

काठमाडौँ– निर्माण सम्पन्न नहुँदै जतिसक्दो उद्घाटन गर्न र शिलालेख राख्न हतारिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पानी, बिजुलीसमेत जडान भइनसकेको ४०० शय्याको अस्पताल भवन उद्घाटन गर्न बुधबार धरान जाने भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत निर्माण सम्पन्न भइनसकेको मातृशिशु स्वास्थ्य भवन (एमसीएच)को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकसाथ गर्ने भएका हुन्।

राज्यकोषबाट करिब तीन अर्ब रुपैयाँ खर्चेर ११ वर्षदेखि निर्माणाधीन ४०० शय्याको यो भवन (अस्पताल) तत्काल उद्घाटन नगर्दा बाँकी–बक्यौता उठाउन र दोस्रो चरणको निर्माण (पूर्वाधार, कक्ष, लिफ्ट आदि) थाल्न टेन्डर स्वीकृत गराउनै मुस्किल भएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतको ‘लबिइङ’ जारी थियो। अबको तीन सातामा उपकुलपति गिरीको ५ वर्षे कार्यकाल पूरा हुँदै छ। 

यो पनि – ३ अर्ब खर्च भएको अस्पतालमा पानी–बिजुली छैन, उद्घाटनमा प्रम ओली उभ्याउने ‘दौडधुप’

एक महिनाअघि मात्रै स्वास्थ्यमन्त्री पौडेलले प्रतिष्ठानभित्र एउटै भवनका तीन तलामा फार्मेसी, जलन वार्ड र अंकोलोजी वार्ड स्थापना गर्दै तीन वटा शिलालेख स्थापना गरेर आएका थिए। तर, उक्त भवनमा फार्मेसीबाहेक जलन र अंकोलोजी वार्ड सञ्चालनमा आउन सकेको छैन। जलन कक्षअन्तर्गत डिपार्टमेन्ट अफ सर्जरीका प्रमुख डा. सुरेश शाहले भर्खरै उद्घाटन गरिएको भवनमा खोलिएको सर्जरी एनेक्स सञ्चालनमा आइनसकेको जानकारी दिए। “किन सञ्चालनमा आएन, कहिले आउँछ भन्नेचाहिँ मेरो तहमा थाहा भएन,” डा.शाहले भने।

लिफ्ट, र्‍याम्पसमेत नरहेको भवनमा जलन उपचार कक्ष खोलिएको र भवन निर्माण प्रक्रियामै त्रुटि रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। यसबारे स्वास्थ्यमन्त्री पौडेलले आफू जानकार नरहेको बताएका थिए। यसअघि एमसीएच भवन उद्घाटनमा पनि नजाने ‘प्रतिबद्धता’ जनाएका पौडेलले अहिले प्रधानमन्त्री ओलीलाई अघि सारेर धरान जान लागेका हुन्।

पूर्वाधार नै तय नभएको र संवैधानिक निकायसमेतले निर्माण प्रक्रियामा प्रश्न उठाउँदै अनुसन्धान गरिरहेको भवन उद्घाटन गरिनु उपयुक्त नहुने भन्दै प्रतिष्ठानका रजिस्ट्रार प्राडा. सूर्यप्रसाद संग्रौलाले स्वास्थ्यमन्त्री पौडेललाई अवगत गराइसकेका बताएका छन्। “मैले स्वास्थ्य मन्त्रीजीलाई प्रतिष्ठानको सबै वस्तुस्थिति र निर्माण सम्पन्न (हस्तान्तरण) नभएको एमसीएच भवनबारे मन्त्रालयमै गएर अवगत गराएको छु”, रजिस्ट्रार संग्रौलाले भने, “शायद थप अध्ययन गरेरै उद्घाटन गर्न लागिएको हुनसक्छ।”

एमसीएच भवन उद्घाटनका अवसरमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी, कार्यकारिणी समिति सदस्य, डिन, कलेज चिफसहित सबैलाई अनिवार्य उपस्थित हुन उपकुलपति डा. गिरीले आइतबारै परिपत्र जारी गरिसकेका छन्।पानी, बिजुलीसमेत नरहेको भवनमा हतार गरेर उद्घाटनको कार्यक्रम राखिएको बारेमा प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित किनरले उकालोसँग भने, “धरानमा पानी कहाँ छ र? कतै छैन नि। बिजुली भने अस्थायी रूपमा जोडिएको छ।”

यो पनि : अख्तियारको अनुसन्धान चलिरहेको भवन उद्घाटनमा स्वास्थ्यमन्त्री र सचिवको ‘हतारो’

पूर्वाधारबिनै ४०० शय्याको अस्पताल सञ्चालन प्रक्रियाका बारेमा राखिएको जिज्ञासामा सहप्रवक्ताले भने, “अहिले आंशिक रूपमा चल्ने हो । केही नहुनुभन्दा यत्तिको भएको राम्रो हो।”