Tuesday, December 03, 2024

-->

सडकको चाप विमानस्थलमा: भिडले टर्मिनल अस्तव्यस्त, उडान ६ घन्टासम्म ‘डिले’

दशैँको मुखैमा बाढीपहिरोले काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रुको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। यो विमानस्थलबाट क्षमताभन्दा बढी उडान र अवतरण भइरहेका छन्।

सडकको चाप विमानस्थलमा भिडले टर्मिनल अस्तव्यस्त उडान ६ घन्टासम्म ‘डिले’

काठमाडौँ– चितवनका मदन कँडेल दशैँ मान्न अस्ट्रेलियाबाट मंगलबार नेपाल आइपुगे। उनले अस्ट्रेलियामा हुँदै बुधबार दिउँसो १२ बजेको उडानमा काठमाडौँदेखि भरतपुरका लागि टिकट लिइसकेका थिए। लगेज लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ निस्किनै लाग्दा हवाई सेवा प्रदायकबाट फोन आयो, “फ्लाइट एक घण्टा ढिलो हुने भयो, तपाईं १२ बजेसम्म आइपुग्दा हुन्छ।”

उनी निर्धारित समयमा नै विमानस्थलको आन्तरिक टर्मिनल पुगे। तर १ बजेको उडान फेरि २ बजेलाई सारियो। हातमा ‘बोर्डिङ पास’ आइसकेको थियो। टर्मिनल भवन खचाखच थियो। आँखा भित्ताको डिजिटल सूचनापाटीतिर र कान माइकबाट दिइने सूचनामा केन्द्रित गरे।

उनको फ्लाइट नम्बरको उडानका लागि २ बजे यात्रुहरूलाई बोलाइयो। त्यसको आधा घन्टामा विमानभित्र पुगे। सिटमा बसेर पेटी पनि कसे। विमान परिचारिकाले एयर ट्राफिकका कारण केही बिलम्ब भएर उडान हुने घोषणा गरिन्। “प्लनेभित्र बसिसकेको छु, उडान करिब ३ बजेतिर हुने छाँटकाँट छ, हेरम्। अब कुर्नुबाहेक विकल्प नै के छ र?” कँडेलले टेलिफोनमा भने, “आन्तरिकतिर यस्तो भिड कहिले पनि देखेको थिइनँ, वृद्ध, अशक्त, केटाकेटी सबै फ्लइट कुरेर बसेका छन्।”

जम्मा तीन घण्टा विलम्ब भएर उडान गर्न पाएका कँडेलले तुलनात्मक रूपमा धेरै पर्खिनु परेन। बुधबार नै काठमाडौँबाट धनगढी जाँदै गरेका हरिशंकर ठाकुरले ६ घन्टा कुरेर मात्र विमानमा बस्न पाए। तर साढे ६ घन्टा बितिसक्दा पनि उड्न पाएका थिएनन्।

बिहान ११ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेका उनी साँझ ५ बजे मात्र विमानमा चढ्न पाएका थिए। “विमानमा बसेको झण्डै एक घण्टा हुन लाग्यो, कतिखेर उडाउने हो ठेगान छैन,” उनले पौने ६ बजे टेलिफोनमा उकालोसँग भने।

दशैँको मुखमा राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने राजमार्ग र सहायक मार्गहरू बाढीपहिरोको चपेटामा परेपछि त्यसको प्रभाव आन्तरिक उडानमा परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फ अहिलेसम्मकै बढी उडान र यात्रुको चाप देखिएको छ।

आन्तरिकतर्फ विमानस्थलको उडान क्षमताभन्दा बढी चाप रहेको विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालले जानकारी गराए। यसले गर्दा एयर ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण भइरहेको उनको भनाइ छ। उडानहरू थप भएकै कारण समय तालिका प्रभावित भइरहेको उनी बताउँछन्।

वर्षाले गर्दा शुक्रबार र शनिबार धेरै विमानस्थलहरू नखुलेका कारण न्यून संख्यामा मात्र उडान हुँदा आइतबारदेखि यात्रुहरूको चाप ह्वातै बढेको पौडेयालले बताए। शुक्रबार र शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान पनि प्रभावित भएका थिए। शुक्रबारदेखि शनिबारसम्म २४ घन्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३९.७ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो।

“बाटो बन्द भएपछाडि भिडभाडको त कुरै नगरौँ। त्यसै त दशैँ, त्यसमाथि बाटोहरू सहज नभएपछि अनुमानभन्दा बाहिर छ भिडभाड,” सूचना अधिकारी पौड्याल भन्छन्, “अरू वर्ष काठमाडौँबाट बाहिर जानेको भिडभाड घटस्थापनापछाडि हुन्थ्यो, यसचोटी चाहिँ बाटो बन्द भएको कारणले घटस्थापना आउनु अगावै अत्यधिक भिडभाड भयो।”

यसैबीच, बुधबार दिउँसो बसेको नागरिक उड्डयन प्राधिकरणको बैठकले उडानको समय तालिका हेरफेर गर्दै विमानस्थलको आन्तरिक उडान संचालनको समय फराकिलो बनाएको छ। “देशभर सिर्जित हवाई चापलाई सम्बोधन गर्न असोज १७–३० (घटस्थापनादेखि पूर्णिमा)सम्म त्रिभुवन अन्तर्राष्ट्रिय, गौतमबुद्ध भैरहवा, पोखरालगायत रात्रीकालीन उडान हुने सम्पूर्ण  विमानस्थलहरू  बिहान ४ः३० बजेदेखि राति १२ः०० बजेसम्म नै आवश्यकताअनुसार संचालनमा आउने व्यवस्था मिलाइएको छ,” प्राधिकरणले समाजिक सञ्जाल एक्समा जारी गरिएको सूचनामा भनिएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडानको संख्या बढाउन मिल्ने अवस्थामा यात्रुहरूको लागि हवाई आवागमन सहज बनाउन यस्तो निर्णय गरिएको जानकारी दिए। त्रिभुवन विमानस्थलको क्षमता सामान्य रूपमा प्रतिदिन ४५० उडान र अवतरण हो। तर गएको आइतबार आन्तरिकतर्फ १९७ उडान र १९६ अवतरण गरेर ३९३ उडान तथा अवतरण भयो। अन्तराष्ट्रिय उडान र अवतरणसमेत गरेर ५०२ पटक विमान बस्ने र उड्ने गरे। 

सोमवार आन्तरिक र अन्तर्राष्ट्रिय गरी कुल उडान एवं अवतरण संख्या ५६५ पुगेको छ। प्राधिकरणको यो तथ्यांकले विमानस्थल संचालन क्षमताभन्दा २५ प्रतिशत बढीले भइरहेको देखाएको छ। सोमबार आन्तरिक उडान २३० र अवतरण २२३ पटक भएको थियो। यसका अतिरिक्त अन्तर्राष्ट्रियतर्फ ११२ वटा विमानले उडान र अवतरण गरे। 

यो चापलाई व्यवस्थापन गर्न विमानस्थलको आन्तरिक सेवा संचालनको समय बिहीबारदेखि लागू हुने गरी बढाउने निर्णय भएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्। घटस्थापनाबाट गोजाग्रत पूर्णिमासम्म काठमाडौँबाहिरका आठ वटासमेत गरी नौ वटा विमानस्थल बिहान ६ बजेको ठाउँमा साढे ४ बजेदेखि नै संचालन हुने भएको छ।

“यसो गर्न सकियो भने अतिरिक्त उडानहरू व्यवस्थापन गर्न सकिन्छ,” भुल भन्छन्, “एकातिर चाडपर्वको सिजन भयो, यतिखेर यत्तिकै यात्रुको चाप १० देखि १५ प्रतिशत बढी हुन्छ, अहिले चाहिँ बाढीपहिरोले सडकहरू सबै अवरुद्ध भएकोले रात्री उडान हुने काठमाडौँसहित नौ वटा एयरपोर्टमा उडानको समय बढाइएको छ।”

उनका अनुसार काठमाडौँसगै चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरवा, पोखरा, नेपालगन्ज र धनगढीमा रात्रीकालीन अवतरणको सुविधा छ। अब यहाँ राति १२ बजेसम्म उडान हुनेछ। “बढ्दो हवाई यातायातको मागलाई सम्बोधन गर्न प्राधिकरणले यो निर्णय गरेको हो,” भुलले भने, “यदि, सडक यातायात बाधित छ भने त्यसको परिपूर्ति हवाई यातायातले गर्नुपर्छ। यस्तो विषम अवस्थामा हवाई यातायात काम लाग्छ भन्ने एउटा सन्देश पनि हो।”


सम्बन्धित सामग्री