ललितपुर– भैँसेपाटीमा औपचारिक उद्घाटन समारोहबीच २०७४ असोज २५ गते नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा ल्याइयो। गैरआवासीय नेपाली दिवस पारेर अस्पताल उद्घाटन भएको थियो। व्यवसायी डा.उपेन्द्र महतो अध्यक्ष रहेको अस्पताल अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको रहेको खबरले सञ्चारमाध्यममा प्राथमिकता पायो।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष महतो, पूर्वअध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरू कुमार पन्त र भवन भट्टले संयुक्त रूपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका थिए। अस्पतालले आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गरेको छ। वास्तविकतामा भने उक्त अस्पतालसँग ३०० शय्याको मात्र स्वीकृति छ।
अस्पताल भवनको प्लानिङ परमिट, शहरी विकास तथा भवन निर्माण विभागको स्वीकृति र स्वास्थ्य मन्त्रालयको इजाजत सबै ३०० शय्याको मात्र छ। मुख्य भवनको चारतले संरचनाभन्दा माथिको अर्को चार वटा तला, हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत ठड्याइएको भेटिएको छ।
अस्पतालका अध्यक्ष महतोले उद्घाटनका बेला अब आइन्दा उपचारका लागि नेपालीले विदेश जानु नपर्ने दाबी गर्दै नेपाल सरकार र अन्तर्राष्ट्रिय स्तरका मापदण्ड पूरा गरेर ७५० बेडको अस्पताल सञ्चालनमा ल्याएको बताएका थिए। त्यतिबेला ३०० शय्या क्षमता बराबरको संरचनाको स्वीकृति थियो। अस्पताल उद्घाटनको ४१ दिनपछि प्राप्त अस्पताल सञ्चालनको सरकारी अनुमति पनि ३०० शय्याको छ। अहिले पनि त्यति क्षमताको संरचना र अस्पतालको मात्र मेडिसिटीसँग आधिकारिकता छ।
२०६९ चैत ४ गते काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय ललितपुरबाट अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिले प्लानिङ परमिट लिएको अभिलेख छ। उक्त कार्यालयका जिल्ला आयुक्त सफल श्रेष्ठले त्यसपछिको समयमा थप कुनै परमिट यहाँबाट अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिले नलगेको जानकारी दिए। स्वास्थ्य मन्त्रालयको अभिलेख अनुसार उक्त मेडिकल कलेजकै संरचना हो ‘नेपाल मेडिसिटी अस्पताल’।
“उहाँहरूले थप परमिटको लागि निवेदनसम्म दिएको मलाई थाहा छ, प्राधिकरणको केन्द्रीय कार्यालयले त्यसको फाइल मगाएको छ,” श्रेष्ठले भने, “हामीसँग भएको कागजात केन्द्रीय कार्यालय पठाएका छौँ, थप संरचनाको कुनै परमिट जारी भएको छैन।” प्राधिकरणको अनामनगरस्थित केन्द्रीय कार्यालयले अश्विन्स मेडिकल कलेज (मेडिसिटी) ले ‘बेसमेन्ट’ (जमिनमुनिको तला) समेत गरेर शुरूमा चारतले भवनको मात्र परमिट लिएको जनाएको छ।
“अहिले मेडिसिटीले ३०० बाट ७०० शय्याको अस्पताल सञ्चालनको इजाजत प्राप्तिका लागि एक तला बेसमेन्ट र सात तला जमिनमाथिको गरी आठतले भवनको संरचनाको प्लानिङ परमिट लिन निवेदन दिएको छ,” प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले भने, “प्राधिकरणको ललितपुर जिल्ला आयुक्त कार्यालयबाट शुरूमा चार तलाको लागि दिइएको परमिट अनुसार अहिलेको संरचना पहिले बनाउनुस्, त्यसपछि थप परमिटको प्रक्रिया अघि बढ्छ भनेर मेडिसिटीलाई भनिएको छ।”
राजकुलो वा अरू सार्वजनिक जग्गा पर्ने गरी शुरूको प्लानिङ परमिट नरहे पनि संरचना बनाउँदा सार्वजनिक जग्गा मिचिएकाले त्यसलाई सच्याउन भनिएको उनले जानकारी दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि लिखित रूपमै मेडिसिटीको संरचनाबारे जानकारी मागेकाले अहिले आफूहरूले यसबारे लिखित प्रतिवेदन नै तयार पार्न लागेको इन्जिनियर समेत रहेका ढकालले बताए।
यता सरकारी स्वीकृतिबिना बनाइएको भवनको छतमा बनाइएको ‘रुफ टप हेलिप्याड’ नागरिक उड्ड्यन प्राधिकरणले निलम्बित राखेको छ। २०७५ जेठ ११ मा मेडिसिटीलाई हेलिप्याडको सञ्चालन अनुमति दिइएकोमा त्यसको वैधानिकता २०७९ जेठ १० मा सकिएको र अहिले निलम्बित अवस्थामा रेहको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। निजी क्षेत्रका ६ वटा गैरहवाई सेवाका संस्थालाई हेलिप्याड सञ्चालनको अनुमति प्रदान गरिएको प्राधिकरणको अभिलेख छ।
स्वीकृति प्राप्त प्लानिङ परमिटमा फरक र निकै ठूलो संरचना बनाएपछि त्यसलाई वैधानिकता दिने प्रयास अहिले अश्विन्स मेडिकल कलेज (मेडिसिटी) ले गरिरहेको छ। गत मंसिर २२ मा अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिले प्लानिङ परमिट संशोधन गरी प्लानिङ नक्सा स्वीकृतिको लागि सिफारिस माग्दै ललितपुर महानगरपालिका–१८ मा निवेदन दिएको थियो।
अस्पतालको संरचनाभित्र सार्वजनिक जग्गा परेको भन्दै वडा समितिको कार्यालयले उक्त सिफारिस दिएको छैन। “सार्वजनिक जग्गा परेको कारण हामीले मालपोत शुल्क बुझेका छैनौँ र सिफारिस पनि गरेका छैनौँ,” वडाध्यक्ष दामोदर खड्काले भने।
प्लानिङ परमिट नभईकन अहिले मेडिसिटीले त्यहाँ आठतले भवन बनाएको छ। त्यहाँ छतमाथि भएको हेलिप्याडको संरचना इजाजतबेगर बनाइएको छ। मेडिसिटीले त्यहाँ धेरै संरचना बनाएको छ। जबकि उसँग भएको प्लानिङ परमिटमा ‘एउटा अस्पताल भवन निर्माण गर्ने’ भनिएको छ।
प्लानिङ परमिटपछि २०७० माघ २३ मा शहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालय काठमाडौँबाट अस्पताल भवनको डिजाइन सहमति अश्विन्स मेडिकल कलेजले लिएको देखिन्छ। उक्त कागजातमा पनि ३०० शय्याको मात्र भवनको डिजाइन सहमति प्रदान गरिएको छ। उक्त कार्यालले निर्माण सम्पन्न भएपछि २०७४ असोज १ मा अस्पताल भवनको स्वीकृतिसहित भवन संहिताका प्रावधान अनुरूप निर्माण सम्पन्नको कागज दिएको थियो। त्यसमा पनि प्रस्तावित ७०० मध्ये ३०० शय्या क्षमताको निर्माण सम्पन्न प्रमाणित छ।
२०७४ मंसिर ६ मा स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाले अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालि (नेपाल मेडिसिटी) लाई ३०० शय्या क्षमताको अस्पताल सञ्चालनको अनुमति दिएको देखिन्छ। संघीय सरकारको तर्फबाट अहिले अस्पतालहरूको नियमनको कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर, मापदण्ड तथा नियमन शाखाले गर्ने गरेको छ। मन्त्रालयका अनुसार त्यहाँ मेडिसिटीको ३०० शय्या क्षमताको अस्पतालको नवीकरण हुँदै आएको छ।
सरकारी स्वीकृतिलाई शुरूदेखि नै मेडिसिटीले महत्व नदिएको देखिन्छ। ३०० शय्या क्षमताको अस्पतालको सञ्चालन अनुमति लिनुभन्दा एक महिना ११ दिन अगाडि नै उद्घाटन समारोहमा उक्त अस्पताल ७५० शय्या क्षमता भएको घोषणा गरिसकिएको थियो। नेपाल मेडिसिटीले आफ्नो वेबसाइटमा पनि ७५० शय्या क्षमताको सुविधासम्पन्न अस्पताल सञ्चालन भएको घोषणा गरेको छ। स्वीकृतभन्दा अधिक संरचना र अस्पतालको शय्याबारे मेडिसिटीका कानूनी सल्लाहकार समूहकी अधिवक्ता रीता अधिकारीसँग उकालोले जिज्ञासा राखेको थियो। उनले मिडियालाई आधिकारिक अभिव्यक्त आफूले नदिने बताइन्।
सम्बन्धित समाचार:
१९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल
उपेन्द्र महतोको मेडिकल कलेजले खोसेको माइली सर्किनीको घरजग्गा