Monday, January 13, 2025

-->

उकालो खोज
१९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल

खोला, कुलो र पर्तीसमेत १९ रोपनी सार्वजनिक जग्गा हडपेर बनाइएको अश्विन्स मेडिकल कलेजमा अर्बपति व्यापारी उपेन्द्र महतो अध्यक्ष रहेको मेडिसिटी अस्पताल प्रालि सञ्चालित छ।

१९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल 

काठमाडौँ– ललितपुको भैँसेपाटीमा नेपाल मेडिसिटी अस्पताल सञ्चालन रहेको ठाउँमा साबिकमा कुलो, पर्ती जग्गा र घट्टजस्ता सार्वजनिक सम्पत्तिहरू थिए। अस्पतालले अग्लो पर्खाल र बार लगाएर बनाएको हाताभित्र हाल त्यहाँ ती सार्वजनिक स्थलको नामोनिशान भेटिँदैन। 

व्यवसायी उपेन्द्र महतो अध्यक्ष रहेको अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालि र मेडिसिटी अस्पताल प्रालिले करिब १५ वर्षयता ती सार्वजनिक जग्गा कब्जा गरेको प्रमाण भने भेटिएको छ। सरकारी अभिलेखअनुसार २०२२ जेठ ६ गते नापी विभागको सर्वे टोलीले उक्त ठाउँको नापनक्सा गर्दै बनाएको फिल्डबुक र नक्शामा सार्वजनिक जग्गा कायम रहेको देखिन्छ। अहिले त्यसलाई फिर्ता ल्याउन स्थानीय तहलाई भने मुस्किल भइरहेको छ।

उपत्यकाभित्र भैँसेपाटीको जग्गा महँगोमा गनिन्छ। अश्विन्स मेडिकल कलेज सञ्चालक समूहले त्यहाँ विभिन्न कम्पनी तथा परिवारका सदस्यहरूको नाममा करिब ३०४ रोपनी जग्गा आफ्नो स्वामित्वमा लिएको छ। उकालोलाई प्राप्त प्रमाणअनुसार त्यसभित्र १९ रोपनी सार्वजनिक जग्गा कब्जा गरिएको छ।  

आर्थिक वर्ष २०६३/६४ मा दर्ता भएको अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल कम्पनीको अधीनमा पुर्‍याइएको जग्गामा विशाल भवनसहित नेपाल मेडिसिटी अस्पताल सञ्चालित छ। अश्विन्स समूहले चर्चेको ३०४ रोपनी जग्गामध्ये ठूलो भाग अश्विन्स मेडिकल कलेजले अगोटेको छ। शहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालय काठमाडौँका अनुसार अश्विन्स मेडिकल कलेजको अस्पताल ७३ रोपनी (३ लाख ९९ हजार ८३३.५ वर्ग फिट) जग्गाभित्र निर्माण भएको छ। अहिले मेडिसिटीको नाममा सञ्चालित अस्पतालको भवनमा समेत पर्ने गरी सार्वजनिक जग्गा कब्जा भएको देखिएको छ।

सारिएको नख्खु खोलाको भाग र साबिकमा खोलालले ओगटेको जग्गामा समेत पर्नेगरी बनेको मेडिसिटी अस्पतालको भवन। तस्वीर: रितेश/उकालो

साबिकको सैंँबु गाविसको उक्त ठाउँ पछि कार्यविनायक नगरपालिका बन्दै अहिले ललितपुरको वडा नम्बर १८ मा पर्छ। काठमाडौँको ‘लाइफलाइन’ मानिने चक्रपथ (रिङरोड) को एक किलोमिटरभित्रै पर्ने भएकाले पनि उक्त ठाउँ मूल्यवान् हुन गएको छ। स्थानीय तह जनप्रतिनिधिविहीन रहेको बेला नख्खु खोलाछेउको फाँट उद्यमी महतोको नजरमा पर्‍यो। जग्गाप्राप्तिको क्रममा त्यहाँका दुई वटा राजकुलो, एउटा पर्ती कित्ता, एउटा घट्टको स्थान र खोला सारेर हडपिएको सार्वजनिक जग्गाको क्षेत्र छोटो समयमै उनले निजी कित्ताहरूभित्र बिलीन गराए। 

सरकारी अभिलेखले के भन्छ? 
नापी कार्यालय ललितपुरको अभिलेखअनुसार २०२२ जेठ ६ गते सरकारी सर्वेक्षण टोलीले उक्त ठाउँको नापनक्सा गर्दै बनाएको फिल्डबुकमा त्यहाँ दुई वटा कुलो देखिन्छन्। दक्षिणबाट उत्तर–पश्चिम हुँदै नख्खु खोलामा गएको कुलो एकापसमा (कित्ता नं. १६४ र २६२ बीच) जोडिएको पनि देखिन्छ। कुलोको क्षेत्रफल ७ रोपनी ४ आना रहेको ललितपुर नापी कार्यालयको अभिलेख उकालोलाई प्राप्त भएको छ। 

कुलो आसपासका सबै कित्ताहरू अहिले अश्विन्स मेडिकल कलेज समूहले लिइसकेको छ। त्यसैभित्र राजकुलोको जग्गा पनि मिसाइएपछि त्यसको नामोनिशान हराएको हो। अर्को ४ आना २ पैसा क्षेत्रफल रहेको कुलोको अभिलेख पनि नापी कार्यालयमा भेटिन्छ। यसको जग्गा पनि त्यसैगरी पूरै कब्जा गरिएको छ। २०२२ को नापीकै आधारमा पछि २०४५ चैतमा तत्कालीन श्री ५ को सरकारको नाममा कुलोको कित्ता दर्ता कायम भएको प्रमाण छ। २०६६ सालको एउटा सरकारी पत्रअनुसार भने राजकुलोको जग्गा अश्विन्स मेडिकल कलेजले त्यतिबेलै कब्जा गरिसकेको तथ्य फेला परेको छ। 

नापी कार्यालय ललितपुरले २०६६ वैशाख २७ मा तत्कालीन सैँबु गाविसलाई लेखेको पत्रमा अश्विन्स मेडिकल कलेजको परिसरभित्र कुलोको ३ रोपनी र एउटा सिंगै कित्ता पर्ती जग्गा परेको व्यहोरा खुलाई पठाएको थियो। त्यसको तीन वर्षपछि नापी कार्यालयले काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई २०६९ जेठ २३ मा लेखेको चलानी नम्बर १५१६ को पत्रमा पनि सो कुरा उल्लेख छ। मेडिसिटी भवनको संरचनाभित्र कित्ता नम्बर २५७ को ७ रोपनी ४ आना र राजकुलोबाट ३ रोपनी जग्गा अस्पतालले आफ्नो भवन संरचनाभित्र पारेको तथ्य उजागर हुन्छ। राजकुलोको बाँकी जग्गा पनि अस्पतालले ओगटेको जग्गाभित्रै पर्छ। 

त्यस्तै, कित्ता नम्बर ३९० को ४ आना पूरै पर्ती जग्गा कब्जा गरी अस्पतालको भवनभित्र पारिएको छ। उक्त पर्ती जग्गामा कुलोको पानी आएर जम्मा हुने गरेको थियो। त्यो पनि २०२२ सालको नापीको फिल्डबुक अनुसार २०४५ सालमा सरकारको नाममा कित्ता कायम गरिसकिएको नापी कार्यालयको अभिलेखमा भेटिएको छ। अर्को छोटो कुलो फिल्डबुकमा कित्ता नम्बर ४६९ देखाइएको छ। ४ आना २ पैसा क्षेत्रफल रहेको सो कुलोको कित्ता पनि मेडिसिटीकै हातामा बिलीन गराइएको छ। 

२०२२ सालको नक्साअनुसार त्यहाँको मुख्य कुलो नख्खु खोलामा मिसिनुभन्दा केही मिटर दक्षिणमा एउटा सार्वजनिक घट्ट रहेको देखिन्छ। त्यो जग्गा पनि हडपिएको छ। अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल (नेपाल मेडिसिटी) ले सबभन्दा बढी सार्वजनिक जग्गा खोला सारेर कब्जामा लिएको नक्शामा देखिन्छ। 

मेडिसिटी अस्पताल र नख्खु कारागारको बीच भएर अहिले बगिरहेको नख्खु खोलाको बहाव २०६७ सालसम्म त्यहाँभन्दा करिब ५० मिटर दक्षिणमा थियो। २०२२ सालको नक्शाअनुसार पनि जहाँनिर उक्त खोला थियो त्यहाँ अहिले मेडिसिटी अस्पतालको मुख्य भवन ठडिएको छ। साबिक खोला छेकेर पक्की बाँध लगाइएपछि साबिकमा खोलाले ओगटेको जमिन खाली हुन पुग्यो।

खोलाको बहाव बदल्नको लागि बाँध लगाइँदाको गुगल नक्शा।

अहिलेसम्म फेला परेको तथ्यले खोला सारेर कब्जा गरिएको ११ रोपनी, दुई राजकुलोको ७ रोपनी ८ आना, सरकारी पर्तीको ४ आना र घट्टको करिब ४ आना गरी  १९ रोपनीभन्दा बढी सार्वजनिक जग्गा अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटलले हडपेको देखाएको छ जहाँ नेपालकै महँगोमध्येको निजी अस्पताल मेडिसिटी सञ्चालित छ। 

निजी गुठीको करिब ६ रोपनी विवादास्पद जग्गा बाहेकको मात्र १९ रोपनी देखिएको हो। त्यहाँ विभिन्न कित्तामा रहेको करिब ६ रोपनी निजी गुठीको जग्गा कसरी अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटलको नाममा पुग्यो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको भनाइ छ। 

यस बारेमा जिज्ञासा राख्दा ललितपुर महानगरपालिका–१८ का वडाध्यक्ष दामोदर खड्काले मेडिसिटी अस्पताल प्रांगणमा सार्वजनिक जग्गा परेको कागजात प्रमाणहरूबाट पुष्टि भएको बताए। त्यसलाई फिर्ता गराउन प्रक्रिया अघि बढाइएको जवाफ उनले दिए।  

“सार्वजनिक जग्गा त्यहाँभित्र परेको कारण अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिको मालपोत कर हामीले बुझेका छैनौँ, उसलाई चाहिने सिफारिसहरू पनि रोकिएको छ,” वडाध्यक्ष खड्काले भने, “कर बुझिलिएपछि उसको जग्गा मिचाइले मान्यता पाउने एउटा वैधानिक आधार बन्छ। स्थानीय सरकारको नाताले सार्वजनिक जग्गाहरूको संरक्षणको दायित्व हामीसँग छ।”

मेडिसिटीका आधिकारिक प्रतिनिधि रहेका कानूनी सल्लाहकार अधिवक्ता राममणि मैनालीले कुनै प्रकारको सार्वजनिक जग्गा कब्जा नगरिएको दाबी गरे। “त्यहाँ भित्र केहीको सार्वजनिक जग्गा परेको छैन। नदीसदी, कुलोसुलो छोडेर हालसाबिक भइसकेको छ हाम्रो। नख्खु खोला हेर्दा पनि हुन्छ। त्यहाँ १२ मिटरको पिच बाटो नै बनिसकेको छ,” उनले उकालोलाई भने, “कुलो देखियो भन्ने विषय केही पनि होइन, कुलो सट्टापट्टा भएर हालसाबिक भइसकेको छ। यता नख्खु खोलामा १२ मिटरको पिचबाटो भएर छुटिइसक्दा पनि मान्छेहरूको दिमागमा त्यही चलिरहेको छ।”

खोला सारेर जग्गा कब्जा
२०७१ सालमा निर्माण शुरू भएको मेडिसिटी अस्पताल निर्माणस्थल भएर पहिला बग्ने नख्खु खोलाको जग्गा त्यसभन्दा तीन वर्षअघि नै योजनाबद्धरूपमा कब्जा भइसकेको थियो। यसका प्रमाण र साक्षी दुवै छन्। खोलाको जग्गा कब्जा गर्नको लागि अश्विन्स समूह खोलाको दुवैतिर सँधियार बनेको देखिएको छ।

नक्खु खोलाभन्दा उत्तर बागडोलतिर साबिक ललितपुर–४ (च) अन्तर्गत पर्ने कित्ता नम्बर ३८, ४७, ९४ र १५० अश्विन्स मेडिकल कलेजले किन्यो। बागडोलतिर त्यसबाहेक ऐलानी जग्गा तथा कारागार र केही मात्र निजी जग्गा थिए। पारि भँैसेपाटी (साबिक सैँबु–६) मा आश्विन समूह आफैले किनिसकेका निजी कित्ताहरू थिए। यसरी खोलाभन्दा दक्षिण र उत्तर दुवैतिर आफै मुख्य सँधियार भएपछि खोलाको बहाव परिवर्तन गर्न सजिलो भएको स्थानीय जानकारहरू बताउँछन्। 

तत्कालीन समयमा स्थानीय तह चलाएका कर्मचारी र अगुवा व्यक्तिहरूलाई प्रभावमा पारेर सबै खेल भएको एक पूर्वजनप्रतिनिधिले बताए। नख्खु कारागारभन्दा दक्षिण र हालको मेडिसिटी अस्पतालभन्दा उत्तर भएर बग्ने नख्खु खोलामा रातारात पर्खाल लगाइएको उनी सम्झिन्छन्। साबिकमा पूर्वबाट आई दक्षिण बगेको खोला अर्धचन्द्राकार (आधा गोलाइको आकार) बनाउँदै फेरि उत्तर फर्केर पश्चिम लाग्थ्यो। पर्खाल लगाइएपछि सिधै पश्चिम गयो। 

अंग्रेजीको ‘सी’ अक्षरको आकारमा खाली भएको करिब ११ रोपनी जग्गा मेडिसिटीले आफ्नो प्रांगणभित्र पार्‍यो। त्यहाँ खोलालाई करिब ५० मिटर उतरतर्फ सारेर खाली भएको जग्गामा मेडिसिटी अस्पतालको मुख्य भवनको एक भाग, दोस्रो ठूलो पक्की संरचना, फोहोर व्यवस्थापन केन्द्र र अस्पतालकै खुला प्रांगण बनाइएको छ। 

नख्खु खोला सारिसकेकै अवस्थामा त्यहाँ वारिपारि १२ मिटरको कालोपत्रे बाटो बनेको छ। बाटो नदीको साबिक ठाउँमा नभएको नक्खु खोलादेखि उत्तरको बस्ती बागडोल निवासी शेरबहादुर गुरुङको भनाइ छ। तर स्थानीयलाई भने २०२२ सालको नापीअनुसार खोला राखेर दुईतिर सडक बनाइएको बताइएको छ। “अब त दुईतिर रोड बनेर खोलाको ठाउँ कायमै भइसकेको देखिन्छ,” उनले भने, “२१/२२ सालतिरको नापीअनुसार खोला पारेर रोड बनाइएको सुनेको छु।” 

२०६७ सालमा खोलाको बहाव रोक्न पक्की बाँध नै लगाइयो। मेडिसिटीको लागि अश्विन्स समूहले खोलालाई उत्तर सार्न लागेपछि स्थानीय अगुवाहरूले विरोध पनि जनाएका थिए। पछि २०७५ सालमा ललितपुर महानगरपालिका–४ का तत्कालीन वडाध्यक्ष नारायण केसी र १८ का वडाध्यक्ष पुरुषोत्तम खड्कासहितले बनाइदिएको मुचुल्काको आधारमा खोलाको वर्तमान साँध–सीमाना तय गरिएको देखिन्छ। पछि कुनै उजुरबाजुर नगर्ने भन्दै खोला वारि र पारिका वडा अध्यक्षसहितले गरिदिएको मुचुल्का उपत्यका विकास प्राधिकरणबाट खटाइएका कर्मचारी अशेश्वरप्रसाद अधिकारीले उठाएका थिए। खोला सारेर खाली भइसकेको जग्गा मेडिसिटीले आफ्नो हाताभित्र पारेको थियो। 

वडा समितिमाथि मेडिसिटीको दबाब
अश्विन्स मेडिकल कलेज चलाउने तयारी गरिएको मेडिसिटी अस्पतालले २०८० वैशाख ५ गते चारकिल्ला प्रमाणित गर्नका लागि दिएको निवेदन दर्ता गर्न वडा समितिको कार्यालयले इन्कार गरेको थियो। त्यसयता लिखित निवेदनका रूपमा र विभिन्न माध्यमले वडामाथि दबाब आइरहेको त्यहाँका सदस्यहरू बताउँछन्।

मेडिकल कलेज सञ्चालनको लागि चाहिने भौतिक संरचनाको लागि २०७९ चैत ४ मा ‘प्लानिङ पर्मिट’ लिइएकोमा अहिले त्यसलाई संशोधन गरेर नक्शा स्वीकृत गराउन कलेजले २०८० मंसिर २२ मा वडामा अर्को निवेदन हालेको छ। सार्वजनिक जग्गा नम्बरी कित्ताबाट सट्टापट्टामा लिएको दाबी मेडिकल कलेजले गरेको छ। 

सार्वजनिक जग्गा मिचिएको देखिएकाले मेडिसिटीको चारकिल्ला प्रमाणित र उसको प्लानिङ पर्मिट संशोधनको लागि सहमति दिन नसकिएको वडाध्यक्ष खड्का बताउँछन्। आफ्नो निवेदनउपर कारबाही नगरेपछि २०८० असार ५ मा मेडिसिटी अस्पतालले हुलाकमार्फत निवेदन पठाएको थियो। 

त्यसपछि २०८० असार २१ मा वडा समितिको कार्यालयले मेडिसिटीलाई लेखेको पत्रमा स्थानीय सरकारको अंग भएको नाताले वडाभित्र रहेका सार्वजनिक र कुलोको जग्गाको संरक्षणको जिम्मेवारी पनि रहेको व्यहोरा उल्लेख गरेको छ। मेडिसिटीले सट्टापट्टाको दाबी गरेकाले सोको बारे अनभिज्ञ रहेको बताउँदै वडा समिति कार्यालयले ‘सार्वजनिक जग्गा कति क्षेत्रफल कति कुनतर्फ मिलान गरिएको’ भन्नेबारे जवाफ मागेको छ। 

वडाले मागेको जवाफ दिनुको साटो मेडिसिटीले दबाब दिने पत्र वडालाई लेखेको देखिन्छ। ‘मालपोत कर बुझिलिई चार किल्ला प्रमाणित गरिपाऊँ भनी पुनः ताकेता’ सम्बन्धी उक्त पत्रमा वडाले गैरकानूनी तवरमा पूर्वाग्रही व्यवहार गरेको आरोप लगाइएको छ। 

“निवेदनमा माग गरिएको विषयको कुनै जवाफ नै नदिई आफनो दायित्वबाट विमुख भई यस कम्पनीलाई उल्टै विभिन्न प्रश्नहरू गरी विषयान्तर गर्ने उद्देश्यले यस कम्पनीलाई पठाएको पत्र प्राप्त भई व्यहोरा समेत अवगत भयो,” मेडिसिटीको तर्फबाट अधिवक्ता मैनालीले लेखेको पत्रमा भनिएको छ, “त्यस कार्यालयबाट यस कम्पनीप्रति पूर्वाग्रह राखी निरन्तर गरिएको अनुचित कार्यलाई घुमाउरो तरिकाले स्वीकार गरिएको रहेछ।” 

कम्पनीले ‘कानूनबमोजिम प्राप्त गर्नुपर्ने सेवा प्रदान गर्न कुन कानूनी आधारमा इन्कार गरिएको हो त्यसको जवाफ’ पनि मेडिसिटीले वडासँग मागेको छ। “गैरकानूनी तवरले गरिरहेका पूर्वाग्रही व्यवहार सच्याई अविलम्ब मालपोत कर दाखिल गरी चारकिल्ला प्रमाणित गरिपाऊँ,” मेडिसिटीले २०८० साउन २ मा लेखेको पत्रमा भनिएको छ, “अहिलेसम्म व्यहोर्नुपरेको नोक्सानीको क्षतिपूर्ति भर्नुपर्ने अवस्था आउनुभन्दा अगावै नेपालको संविधान र प्रचलित कानूनले दिएको जिम्मेवारी एक असल जनप्रतिनिधिको हैसियतले समयमा नै पालना गर्नको लागि पनि सचेत गराएको छु।” 

वडाका कारण अहिलेसम्म के कस्तो क्षति भएको छ? उकालोले अधिवक्ता मैनालीलाई सोधेको थियो। “हानि नोक्सानी कति भएको छ भनेर हेर्नैपर्छ,” उनले भने। आफूहरूले सार्वजनिक जग्गाको संरक्षण गर्न चाहेको र कुनै व्यावसायिक कम्पनीलाई समस्यामा पार्ने मनसाय नरहेको वडाध्यक्ष खड्काले बताए। “हाम्रो जानकारीमा आइसकेको सार्वजनिक कुलो र पर्ती जग्गा मिचिएको विषयमा आँखा चिम्लिन मिल्दैन,” खड्काले भने, “उहाँहरूले दबाब दिन खोज्नुभयो कि भएन त्यो फरक विषय हो। हामी कुनै दबाब वा प्रभावमा परेर कानूनले नमिल्ने काम गर्दैनौँ। तर कानूनतः गर्नुपर्ने काम रोक्दैनौँ पनि।” 

अदालतको आदेशलाई ‘सट्टापट्टा’ बताउँदै मेडिसिटी
अश्विन्स मेडिकल कलेजले सार्वजनिक बाटो मिचेकोबारे परेको मुद्दामा ललितपुर जिल्ला अदालतबाट सुनुवाइ भई मिलापत्रमार्फत कायम भएको बाटोमा परेको जग्गालाई मेडिसिटीले कुलोको जग्गासँग सट्टापट्टा भनेर दाबी गरेको छ।

मेडिसिटीले २०८० मंसिर २२ मा वडा कार्यालयमा दर्ता गराएको निवेदनमा पनि सट्टापट्टाको दाबी देखिन्छ। २०६९ चैत ४ को प्लानिङ पर्मिट संशोधन गरी प्लानिङ नक्शा स्वीकृतिको लागि सिफारिस मागिएको निवेदनमा पनि उक्त दाबी उल्लेख छ। ‘यस अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिको नामको जग्गा हालसाबिक गर्दा योजना क्षेत्रभित्रको कुलोको जग्गाको सट्टामा कम्पनीको पश्चिमतर्फको बाटोमा समावेश गर्ने गरी हालसाबिक तथा श्रेस्ता अध्यावधिक समेत भएको’ त्यसमा भनिएको छ।

निवेदनमा सट्टापट्टा भएको जग्गा प्रस्तावित नक्शाबमोजिम अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिको नाममा र अश्विन्सको नाममा दर्ता रहेको जग्गा बाटोका लागि नेपाल सरकारको नाममा कायम हुने गरी प्लानिङ पर्मिट संशोधन गरी स्वीकृतिको लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय ललितपुरसमक्ष सिफारिस गरिदिन माग गरिएको छ। 

स्थानीयका अनुसार यथार्थमा भने कुलोको जग्गासँग सट्टापट्टा भएको दाबी गरिएको बाटो कुनै सट्टापट्टा सहमतिबाट नभई अदालतबाट कायम भएको हो। “त्यतिबेला हाम्रो मुद्दा चलेर मिलापत्र भई अहिलको २० फुटको बाटो कायम भएको हो, यो लुकेको कुरा पनि होइन, अदालतमै भएको मिलापत्रको कागजै छ,” अश्विन्स मेडिकल कलेजविरुद्ध अदालतमा फिराद दिने उतिबेलाका वादीमध्येका रामचन्द्र श्रेष्ठले भने, “त्यहाँभित्र कुलोको जग्गा पक्कै छ। यो पनि लुकेको विषय होइन।”

रामेश्वरलाल श्रेष्ठ समेतका वादीले उक्त मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए। २०६८ जेठ १३ को मिलापत्रबाट स्थापित भएको तथ्यले अहिले मेडिसिटीको पश्चिम/दक्षिणतर्फ पर्ने साबिक गोरेटो बाटोलाई २०५४ सालदेखि १२ फिटको कच्ची मोटरबाटो बनाएर उपयोगमा ल्याइएको देखाउँछ। 

२०६५ मंसिर २७ मा अश्विन्स समूहले उक्त बाटोमा डोजर लगाई मिचेको भन्दै वादीहरू फिराद लिएर जिल्ला अदालत पुगेका थिए। उनीहरूले दिएको विवरण झुटो हो भनी कम्पनी पक्षले प्रतिउत्तर दिएको थियो। पछि मुद्दा हार्ने स्थिति देखेपछि उक्त पक्ष मिलापत्र गर्न तयार भएको स्थानीय बताउँछन्। 

दुवै पक्ष मिलेर त्यहाँ २० फिटको सार्वजनिक बाटो कायम गर्न सहमत भएको मिलापत्रमा देखिन्छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा उपेन्द्र महतो, सुरेन्द्र महतो र वीरेन्द्र महतोले अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटलको तर्फबाट मिलापत्र गर्न अख्तियारी दिएर पठाएको व्यक्ति इश्वरीप्रसाद घिमिरेले प्रतिवादीको तर्फबाट मिलापत्रमा सही गरेका छन्। 

२०८० मंसिर २२ मा अश्विन्स मेडिकल कलेजले वडालाई लेखेको पत्रमा भने सट्टापट्टा भएको भन्ने दाबी छाडेको छैन। सट्टापट्टाका लागि छलफल भए पनि पछि त्यो प्रक्रिया रोकिएको देखिन्छ। ललितपुर–१८ की तत्कालीन कार्यवाहक वडाध्यक्ष रुकुमणी महर्जनले नापी कार्यालय ललितपुरका प्रमुखलाई सम्बोधन गरेर लेखेको पत्रले त्यसको पुष्टि गर्छ।  

“निर्माणाधीन अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालि परिसरमा पर्ने राजकुलो तथा सार्वजनिक जग्गाको सट्टाभर्ना सम्बन्धमा साबिक सैँबु गाविस, सरोकारवाला तथा मेडिकल कलेजबीच समय–समयमा भएको बैठक तथा छलफलबाट सम्बन्धित मेडिकल कलेजबाट कुनै पनि सम्झौता गर्न योग्य प्रस्तावहरू नआएको,” पत्रमा छ, “जग्गा सट्टाभर्ना प्रकृया अगाडि बढेको जानकारीमा आएकाले स्थानीय स्तरमा सहमति नभएसम्मको लागि उक्त कार्य रोकिदिनू।” 

पत्रको बोधार्थ ललितपुरको जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, महानगरपालिका, वन कार्यालय र उक्त मेडिकल कलेजलाई पनि पठाइएको अभिलेखबाट देखिन्छ। पछि जग्गा सट्टापट्टा भएको देखिने आधार–प्रमाण फेला नपरेको वर्तमान वडाध्यक्ष खड्का बताउँछन्। 

मेडिसिटी अस्पताल सञ्चालन गरिरहेको कम्पनी अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल निर्माण अवधिमा कम्पनीको प्रतिनिधि भएर काम गरेका अधिवक्ता ओदराज कार्कीलाई उकालोले सोधेको थियो, “१९ रोपनी बढी जग्गा त्यहाँ कब्जा गरिएको देखिन्छ नि?” कार्कीले सार्वजनिक जग्गा कब्जा गरिएको भन्ने कुरा आफ्नो जानकारीमा नरहेको प्रतिक्रिया दिए। “त्यतिबेला हामीले कानूनको दायरामै रहेर काम गरेजस्तो लाग्छ,” उनले भने, “मैले संस्था छोडेको पनि धेरै भयो। त्यसकारणले जवाफ दिने आधिकारिक व्यक्ति पनि होइन म, मलाई थाहा पनि हुँदैन।”


सम्बन्धित सामग्री