काठमाडौँ– ‘माइली आमा’ भनेर चिनिएकी माइली सर्किनी (६५)को अनुभवमा ठूलाबडा र साहुमहाजनले अन्याय गर्दा त्यसविरुद्ध न्यायको बाटो नै भेटिँदैन। उनको परिवारले यस्तै अन्याय भोगेको डेढ दशक बितिसकेको छ, तर न्यायको बाटो भेटेका छैनन्। न्यायका लागि कहाँ जाने, कसले सुनिदिन्छ? उनको परिवार बिलखबन्दमा छ।
भैँसेपाटीस्थित आदिमार्ग नजिकै आफ्नो ७ आना जग्गामा बनेको चारकोठे पक्कीघरबाट उनी २०६६ फागुनमा रुँदै निस्कनु परेको थियो। त्यहाँबाट उनी स–परिवार नखुडोलको पितृकुण्ड नजिकको घरमा सरेकी थिइन्। यो घर ३ आनामा बनेको छ। बिनापिलरको दुईतले घरमा पाँच कोठा छन्।
माइलीको परिवार यहाँ आउँदा अरू घर बनेकै थिएनन्। अहिले बिस्तारै बस्ती बढेपछि उनी त्यहाँको पुरानो बासिन्दा भएकी छन्। त्यहाँ उनी तीन छोरामध्ये दुई जनाको परिवारसँग संयुक्त रूपमा बस्छिन्। बाध्यताले आफ्नो ७ आना जग्गा र घर यत्तिकै छाडेर आएकी उनले अहिलेको घरलाई ‘मेरो’ भन्न पाएकी छैनन्। त्यसैले १५ वर्षदेखि उनको चिन्ता हट्न सकेको छैन। उनलाई चिन्तामा पारिदिने व्यक्ति व्यवसायी उपेन्द्र महतो हुन्।
माइली अहिले बसेको जग्गाको आधा स्वामित्व महतो अध्यक्ष रहेको अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटलसँग छ। भैँसेपाटीस्थित मेडिसिटी अस्पताललाई आधार बनाएर २०६३ फागुन ९ गते उक्त मेडिकल कलेज दर्ता भएको हो। सैँबु–३(ख) को कित्ता नम्बर ४५३ को उक्त जग्गाको पुर्जामा माइली सर्किनी र अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिको नाम छ। हाल ललितपुर महानगरपालिका–२५ मा पर्ने जग्गाको श्रेष्ता २०६६ फागुन ५ मा कायम भएको मालपोत कार्यालय ललितपुरको अभिलेखले देखाउँछ।
‘उपेन्द्र महतो अध्यक्ष रहेको मेडिकल कलेजसँग यो जग्गामा तपाईं कसरी साझेदार हुनुभयो?’ भन्ने उकालोको प्रश्नमा माइली पहिला त भावुक भइन्। त्यसपछि उनले डेढ दशकअघिको घटना सुनाइन्।
जग्गा सट्टापट्टाको नाममा कब्जा
माइली सर्किनीले उपेन्द्र महतोलाई चिनेकै थिइनन्। २०६६ सालमा महतोका मान्छे भैँसेपाटीस्थित घर आएर अचानक घरजग्गा आफूहरूलाई दिनुपर्ने बताउन थाले। बिस्तारै दबाब बढाउन थाले। “घरमा मेरो बूढो बिरामीले थला परेको छ, उनीहरू भने बिहान–बेलुका जतिखेर नी आइपृुग्ने,” माइली भन्छिन्, “ल तपाईंहरूले यो जग्गा छोड्न पर्यो भनेर बारम्बार भन्न थाले। मैले ‘मेरा तीन भाइ छोरालाई कहाँ लगेर राख्ने? यो पनि बेचेँ भने बेच्याबेच्यै हुन्छ’ भनेँ।”
उनको घर भैँसेपाटीको चलनचल्तीको ठाउँमा थियो। तरकारी खाने जग्गा पनि थियो। “मैले दिन नमानेपछि उनीहरू (अश्विन्स मेडिकल कलेज)ले घरको साटो घरै किनिदिने भने, त्यो चाहिँ दिन कर गरिरहे,” माइली भन्छिन्, “उनीहरूले तीन आनाको हिसाबमा यो घर (अहिले बसिरहेको) किनिदिएर बाँकी ४ आनाको पैसा नै दिने कुरा थियो, तर दिएनन्। यो घर मेरो शुद्ध नाममा पनि छैन। त्यतिबेला नै मेरो नाममा मात्र गराइदिएको भए हुने, तर किन गरेनन् थाहा भएन। कस्तो अप्ठ्यारो परेको छ मलाई।”
महतो नेतृत्वको व्यावसायिक समूहले महँगो ठाउँको सात आना जग्गा खाली गराएर घर भत्काइसकेको छ। सट्टामा दिएको ३ आना पनि माइली र कम्पनीको नाममा राखेपछि महतोको व्यावसायिक समूहले जग्गा हडप्ने नीति लिएको देखिन्छ।
पहिलाको ७ आना जग्गा हुँदा तीनै जना छोराको बास पुग्ने माइलीको विश्वास थियो। तर भएको जग्गा गुमेर अर्को ठाउँको पनि पूर्णरूपमा आफ्नो नहुँदा उनी सुर्तामा छिन्। “त्यो जग्गा बेच्दिनँ भनेको थिएँ। मेरो जेठो छोरा अमर उनीहरूको कुरामा बहकियो कि दबाबमा पर्यो थाहा भएन,” माइली भन्छिन्, “उनीहरूले यो घर किनिदिने भएपछि ‘ल छाडदिउँ’ भन्यो। हातमा लालपुर्जा परेपछि थाहा पाएँ, घर भने मेरो र अस्पताल दुवैको नाममा गराएको रहेछ।”
माइलीका अनुसार तलसिङ (जग्गाधनी) जीतबहादुर गुभाजुसँग उनका ससुरा जीतबहादुर सार्कीको नामको मोहियानी हक फर्छ्योट हुँदा उनको परिवारले भैँसेपाटीको ७ आना जग्गा पाएको हो। “बागडोलमा हाम्रो पुरानो घर तथा बारी भएको जग्गा र यता नक्खुपारि भैँसेपाटीको जग्गामा तलसिङ तिनै गुभाजु (जितबहादुर) थिए र ससुरा मोही थिए,” उनी भन्छिन्, “करिब २०/२२ वर्ष अगाडिको कुरा हो, बागडोलको वैष्णोदेवी मन्दिरअगाडि उकालोमै रहेको ५ आना जग्गा उतिबेला तलसिङलाई दिएर तीन भाई छोरालाई पछि बस्न सजिलो होस् भनेर हामी यता ७ आनामा सरेका थियौँ।”
त्यो जग्गाको लालपुर्जा बनाउन नसके पनि फिल्डबुकमा आफूहरूकै नाम उल्लेख रहेको माइलीका कान्छो छोरा एन्थोनी बताउँछन्। “हामी दाजुभाइ सचेत भइसकेका थिएनौँ, बुवाले चाहिएको बेला पुर्जा निकालौँला भनेर छाड्नुभएको रहेछ,” उनी भन्छन्, “आमाले पुर्जा निकालौँ त्यसपछि मात्र बेचौँला भनेकी थिइन्, तबसम्म जग्गा छोड्न दबाब आउन थाल्यो। दाइसँग उनीहरूको कुराकानी भएको रहेछ।”
जग्गा गुमाएको दुःख र त्यसबापत पाएको घरको पुर्जामा अरूको पनि नाम हुँदा मन पोलिरहने माइली बताउँछिन्। “उनीहरू गरिब मार्नेहरू हुन्। साहु भएर के भो त? हामीलाई यसै मारे उसै मारे। गरिबलाई मार्नेबाहेक केही गरेनन्,” उनी भन्छिन्।
महतोलाई भेट्ने हुटहुटी
निकै वर्षपछि माइलीका छोरा एन्थोनी गत साता पहिला आफू बसेको जग्गामा पुगे। त्यहाँ अहिले झार उम्रेको देखेर भावुक भए। “यहाँ आधा जतिमा हाम्रो घर थियो, त्यसउता खाली ठाउँ थियो,” उनले भने, “यी झारहरू भएको ठाउँ खोतल्दा हाम्रो घरको जग भेटिन्छ।”
अश्विन्स मेडिकल कलेजले घरजग्गा लिएपछि शुरू भएको पीडाबाट आफूहरू निस्कन नसकेको एन्थोनी बताउँछन्। अहिलेको मूल्यमा उक्त जग्गाबाट ३ करोड रूपैयाँभन्दा धेरै घाटा लागेको उनको भनाइ छ।
“जहाँ हाम्रो जग्गा थियो, त्यहाँ अहिले आनाको ६० देखि ६५ लाखसम्म छ। हामीलाई किनिदिएको पुरानो घरको त भाउ नै आउँदैन,” एन्थोनी भन्छन्, “यहाँको मूल्य बढीमा आनाको ३० लाख जोड्दा ९० लाखको सम्पति मान्न सकिन्छ। चार करोडभन्दा बढी मूल्यको जग्गा लिएर हामीलाई दिएको ९० लाखको जग्गाको लालपुर्जामा पनि आफ्नो नाम लेखाएका छन्। के यो न्यायपूर्ण छ?”
अश्विन्स मेडिकल कलेजका अध्यक्ष उपेन्द्र महतोलाई भेटेपछि समस्या समाधान हुने आशामा माइली सर्किनीले त्यो प्रयास पनि गरेकी थिइन्। तर उनले भेट गर्नै सकिनन्। “यसबारे कुराकानी गर्न म कति पटक साहु (उपेन्द्र महतो)लाई भेट्न गएँ। भेट भएन। अफिसमा जानुपर्छ भनेर (मेडिसीटी अस्पतालको) गेटबाट फर्काए,” माइली भन्छिन्, “तिनलाई भेट्न कहाँ जाने?”
अश्विन्स मेडिकल कलेजका कानूनी सल्लाहकार राममणि मैनाली भने आफूलाई यो विषय थाहा नै नभएको बताउँछन्। “कुनै सहमति भएरै उताको जग्गाको संयुक्त पुर्जा भएको होला। यो विषय मैले हेर्नैपर्ने हुन्छ, मलाई थाहा छैन,” उनले उकालोसँग भने।
जग्गा हत्याउन तीन पटकसम्म मुद्दा
अश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल र मेडिसिटी अस्पताललाई आफ्नो घर जग्गा दिन बाध्य हुने माइलीको परिवार मात्र छैन। उपेन्द्र महतो अध्यक्ष रहेको यो व्यावसायिक संस्थाले सिन्धुलीको नेत्रकाली–६ घर भई ललितपुरको बागडोलमा तरकारी बेच्ने साइलीमाया घोलेको जग्गा पनि बाध्यतामा पारेर लिएको छ।
साइलीमायाको जग्गामा तीनतर्फबाट मेडिसिटी अस्पतालका सञ्चालक सँधियार थिए। “त्यो जग्गा बेच्ने इच्छा थिएन। त्यहाँ बस्ने मनसाय भएरै ०७० सालमा घर बनाउन थालेका थियौँ। जगको काम पूरा नहुँदै एकातिरको चार वटा पिल्लर आफ्नो जग्गामा परेको भनेर दाबी गर्न आए। नक्सामा त्यस्तो देखिन्छ भनेपछि हामीले विवाद गरेनौँ र ढलान भइसकेका पिल्लर भत्काएर अर्कोतिर लगायौँ,” उनले उकालोसँग भनिन्।
त्यहाँ साइलीमायाको परिवारको नाममा ४ आना २ दाम जग्गा थियो। उक्त जग्गा नापेरै घर बनाउन थालेका थिए। “पिल्लर अर्कातिर सारेपछि घर ढलान पनि भइसकेको थियो। तर त्यताको जग्गा पनि आफ्नोमा पर्ने भन्दै अदालतमा जग्गा किचोलोको मुद्दा दिए,” साइँलीमाया भन्छिन्।
यो पनि- १९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल
उक्त मुद्दा साइलीमायाको परिवारले जित्यो। तर फेरि दोस्रो पटक पनि सँधियारहरू मुद्दामा गए। दोस्रो पटकको फैसलापछि फेरि तेस्रो पटक मुद्दामा गए। तीनतिर उनीहरूकै जग्गा भएको हुँदा साइलीमायाको परिवार मुद्दा लडिरहनसक्ने अवस्थामा थिएन। बाध्य भएर उनीहरूले जग्गा सँधियारलाई नै बेचिदिए। साइलीमायाका श्रीमान् जीतबहादुर घोले भन्छन्, “तीन पटकसम्म मुद्दा भयो, व्यवसाय–धन्दा छोडेर अदातल जाने र मुद्दामा लाग्नुपर्ने भयो। उसले त त्यसैका लागि वकिल पालेको रहेछ।”
आफूहरूले आजित भएर ६९ लाखमा ४ आना २ दाम जग्गा बेचेको उनी बताउँछन्। “अन्तमा तिमीहरू जित्दैनौ भन्दै उसले पठाएका दलाल आएकोआई गरे, तिनीहरूले नै बीचमा बसेर कुरा मिलाए, अनि बेचियो,” उनी भन्छन्।
अश्विन्स मेडिकल कलेज सञ्चालक समूहले भैँसेपाटीमा विभिन्न कम्पनी तथा परिवारका सदस्यहरूको नाममा रहेको करिब ३०४ रोपनी जग्गा आफ्नो स्वामित्वमा लिएको छ। एकताका आसपासका जग्गा छाड्न मेडिसिटीका सञ्चालहरूको दबाब र संघर्षमा जाने स्थानीयको बाध्यताको लहर नै चलेको नक्खु घर भएका प्रेमबहादुर महर्जन बताउँछन्।
“त्यति बेला कसको जग्गा कुन हो भनेर मान्छे चिन्नका लागि त्यहाँका सबै कित्ताहरू उल्लेख गरेर मुद्दा हालेका रहेछन्। हामीलाई पनि दुःख दिए, मुद्दामा धेरै पैसा खर्च भयो। प्रतिउत्तर दिनुपर्यो, अदालत धाउनुपर्यो, त्यही त हो नि,” उनी भन्छन्।
कतिपयले दबाबका कारण जग्गा दिए पनि आफूले अडान लिएर नदिएको महर्जन बताउँछन्। “मानिसहरूले बाध्य भएर आफ्नो जग्गा बेचे, मैले त हुन्न भनिदिएँ, कुनै दबाब काम लागेन,” उनी भन्छन्, “मेरो ४६४ किता नम्बर (साबिक सैँबु–६) को जग्गा किन्न पटकपटक बिचौलिया पठाए, मूल्यको प्रस्ताव पठाए। म मानिनँ।”