Saturday, October 05, 2024

-->

जग्गा व्यवसायीले छोपेको फन्टे खोला : स्थानीयको उठिबास, के गर्दैछ स्थानीय सरकार?

जग्गा प्लटिङका लागि गोदावरीमा फन्टे खोला पुरेर सडक बनाउँदा वर्षामा डुबानको समस्या हुन थालेको दुई वर्ष भयो। खोलामा हालिएको ह्युमपाइपको ढक्कन वर्षा लागेपछि खोलिँदा सडक र नजिकैको खेतमा तलाउ भएको छ।

जग्गा व्यवसायीले छोपेको फन्टे खोला  स्थानीयको उठिबास के गर्दैछ स्थानीय सरकार

ललितपुर– “तीन घण्टाको पानीले यस्तो हालत बनाएको छ, भर्खर त असार शुरू हुँदैछ। अझ के के हुने हो?” गत वर्ष दाइ राजेश श्रेष्ठ बसिरहेको गोदावरी–१० स्थित घर डुबानमा परेपछि भाइ राजनले आक्रोश व्यक्त गरेका थिए। त्यही वर्ष मनसुनमा घर डुबानमा परेपछि राजेशको उठिबास लाग्यो। यसपटक त घरसम्म पुग्ने सडक पनि डुबानमा परेको छ भने घरअगाडिको खेत तलाउ भएको छ।

पानीको प्राकृतिक निकास रोकेर जग्गा प्लटिङ गर्ने स्थानसम्म सडक लैजाँदा श्रेष्ठ बसेको घर र त्यहाँसम्मको पहुँच सडक नै डुबानमा परेको हो। ‘माना रोपेर मुरी फलाउने’ समयमा खेतमा लेदो र बालुवा भरिएको छ। जग्गा प्लटिङ गर्ने क्रममा फन्टे खोलामा गत वर्ष ह्युम पाइप हालेर सडक बनाएपछि डुबान शुरू भएको थियो। 

राजेश बसिरहेको घर र खेतको बीचबाट सडक लैजान हालिएको ह्युमपाइपको ढक्कन यो वर्ष मनसुन शुरू भएछि खोलिएको छ। त्यहाँबाट निस्किएको पानीको निकास नहुँदा खेतमा तलाउ भएको हो। 

२०७९ सालको डुबान।

राजेश बसेको घर उनका ज्वाइँ दिनेशराज वैद्यको हो। ज्वाइँको जग्गामा उनी आफैँले अस्थायी प्रकृतिको घर बनाएका हुन्। यो घर र आसपास डुबान शुरू भएको दुई वर्ष भयो। गोदावारी नगरपालिका–१० स्थित झरूवाराशि–न्यौपाने गाउँ सडक विस्तार योजनाअनुरूप तीन वर्षदेखि यहाँ काम भइरहेको थियो। त्यही क्रममा फन्टे खोलामा ह्युम पाइप हालेर सडक बनाइयो।

खोलालाई नै पुरेर सडक बनाउन थालेपछि केही स्थानीयले विरोध पनि गरेका थिए। तर विरोध गर्नेको संख्या थोरै हुँदा उनीहरूको आवाज कमजोर भयो। खोला पुरेर सडक बनाउन कन्टिनेन्ट डेभलपर्स (किया), शुभकामना ल्याउन्ड एन्ड हाउजिङ र गोदावरी नगरपालिकाबीच सम्झौता भयो। यसबारे उकालोले विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो।

माथिल्लो भागमा पर्ने शुभकामना हाउजिङको पानीको भलको निकास श्रेष्ठ बसिरहेको घरअगाडिको खेतमा पुग्ने गरी कुला बनाइएको छ। ह्युमपाइपको ढक्कन खोल्दा निस्किएको र कुलाबाट आएको भल खेतमै गएर जमेको छ।

आफू बसेको घर डुबानमा परेपछि राजेश श्रेष्ठ गत वर्षदेखि नै डेरामा छन्। सडक बनाउन फन्टे खोला पुरेर घर डुबानमा पार्न भूमिका खेल्ने राजन तिमल्सिनाकै घरमा उनले डेरा लिएका छन्। तिमल्सिना शुभकामना ल्यान्ड एन्ड हाउजिङका प्रतिनिधि हुन्। घर डुबानमा परेपछि त्यसको पूर्ण लागत बेहोर्ने भन्दै तिम्सिनाले आफ्नै घरमा राखिरहेको राजेशका नजिकका नातेदार बताउँछन्।

यो पनि- गोदावरीको फन्टेखोला प्लटिङ प्रकरण : छानबिनबाट पन्छिँदै नगरपालिका, गुनासो गर्ने स्थानीयलाई हप्कीदप्की

राजेश श्रेष्ठलाई सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन्। जग्गाधनी दिनेशराज वैद्य भने आफू शुरूदेखि नै खोला पुर्न नहुने पक्षमा रहेको बताउँछन्। “खोला पुरिएको कारण डुबानको समस्या हुन थालेको हो। उनीहरू (हाउजिङ)सँग मेरो प्रत्यक्ष कुराकानी भएको छैन,” वैद्य भन्छन्, “तर आफन्तमार्फत मैले मेरो जग्गामा डुबान गर्न नमिल्ने र यसको समाधान गर्न भनिरहेको छु।”

डुबान भएको क्षेत्रमा  वैधको ८ आना जग्गा छ। सँधियारसँग आफ्नो खास चिनजान नभएको र आफ्नो जग्गाको मायाभन्दा पनि खोला पुर्ने कामको विपक्षमा आफू भएको वैद्य बताउँछन्। 

राजेशले बनाएको घरबाट पश्चिमतर्फ चापागाउँका रैथाने सञ्जय देशारको पुर्ख्यौली दुई रोपनी जग्गा छ। नजिकै भएको जग्गा प्लटिङका कारण उनी पनि पीडित छन्। खोला पुरिएपछि वर्षामा समेत धान रोप्न पानी नभएको उनी बताउँछन्। पानीको प्राकृतिक निकास रोकिँदा खेत सुक्खा हुन थालेको उनको भनाइ छ। 

“४–५ वर्षअघि हामीलाई यहाँबाट बाटो लैजान जग्गा छोड्न भनियो। हामीले पनि आफ्नो ठाउँको विकासकै लागि हो भनेर दुई आना जग्गा छाडिदियौँ,” देशार भन्छन्, “बाटोको दायाँबायाँ बाँस र ढुंगाले साँधसीमा लगाइदिने मौखिक सहमति थियो, अहिलेसम्म भएको छैन।”

अहिले खेत भास्सिन थालेको र प्लटिङकै कारण यस्तो भएको उनी बताउँछन्। “पहिले कुलोको छेउबाट पानी जाने गर्थ्यो। कुलो माथिबाट थुनेपछि प्लटिङकै कारण समस्या आएको छ,” उनी भन्छन्, “ठूलो खोला थिएन तर सिजनको समयमा बग्ने खोला हो।”

१५ सय घर हुने अनुमान, समाधान छैन
सिन्धुलीका भैरव थापा हाल गोदावरी नगरपालिका वज्रवाराहीमा बस्छन्। उनैले २०७२ सालको भूकम्पअघि नै प्लटिङको योजना ल्याएका थिए। प्लटिङपछि उक्त क्षेत्रमा करिब १५ सय बस्ती हुने अनुमान थियो। तर साथीभाइबीच आर्थिक कारोबार नमिलेपछि उक्त काम छाडिदिएको थापाले उकालोलाई बताए। त्यसपछि उक्त स्थानमा प्लटिङ गर्न शुभकामना ल्यान्ड एन्ड हाउजिङ आएको थियो। 

उक्त स्थानमा आफू बस्न आएको दुई दशकभन्दा बढी भएको र त्यही बेलादेखि खोला बगेको देखेको थापा बताउँछन्। “शक्ति हुनेले ठाउँठाउँमा खोला पुर्ने काम गरे,” उनी भन्छन्, “खोलामा बाढी आउँदा पुरिएको बीचको भागमा आफ्नो प्राकृतिक बहावको लागि ठाउँ खोजिहाल्छ। अनि भएभरको बाढी ढलबाटै एकै ठाउँमा हालिदिएपछि डुबान हुन्छ।” 

२०७९ सालको डुबान।

जग्गा प्लटिङपछि बस्ती ठूलो हुँदैजाँदा अहिले ह्युम पाइपबाट बगाइएको फन्टे खोलाका कारण ठूलो समस्या निम्तिने उनी बताउँछन्। फन्टे खोला कालान्तरमा ‘अर्को टुकुचा’ बन्न सक्ने उनले बताए। यद्यपि आफूले पनि शुभकामना हाउजिङमा घडेरी लिएको र घर बनाउने योजना भएको उनी बताउँछन्।

खोला पुरिएको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत माघ २९ गते गोदावरी नगरपालिकालाई पत्र काटेको थियो। जसको प्रतिउत्तरमा नगरपालिकाले ‘स्थानीयको सहजताका लागि’ भन्दै खोला पुरेर सडक बनाएको स्वीकार गरेको थियो। स्थानीयले खोलालाई पूर्ववत् गर्न माग गरे ह्युमपाइप निकालेर पुनः प्राकृतिक बहावमा राख्ने नगरपालिकाले जवाफ दिएको थियो। तर घर छाड्न बाध्य राजेश श्रेष्ठलगायतका स्थानीयले नगरपालिकामा कुनै गुनासो गरेका छैनन्। 

स्थानीय भैरव थापा भन्छन्, “यसमा डेभलपर्सवाला मात्र नभई स्थानीय पनि आफ्नो फाइदा हेर्न खोजिरहेका छन्। खोलाभन्दा बाटो हुँदा घरजग्गाको मूल्य बढ्ने, उनीहरूको पनि स्वार्थ देखिन्छ।”

के गर्दैछ नगरपालिका?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छली मुद्दा हालेपछि गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी निलम्बित छन्। त्यसकारण नगरपालिकाको अधिकांश काम प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृतलाई मानबहादुर खड्का बताउँछन्। 

प्रमुख र उपप्रमुख नै निलम्बित हुँदा फन्टे खोलाको विषयमा परेको उजुरीमा पनि कारबाही अघि बढाउन नसकेको खड्काको भनाइ छ। “प्रमुख, उपप्रमुखको मुद्दा यही साउनमा टुंगिने देखिएको छ, आएका उजुरीमा त्यसपछि नगरसभामा छलफल गरिनेछ। कार्यपालिकाको बैठकमा म यो विषय पनि पेश गर्नेछु,” प्रमुख प्रशासकीय अधिकृत खड्का भन्छन्।

डुबानका कारण स्थानीयलाई भएको क्षतिको राहत पालिकाअन्तर्गत विपत् व्यवस्थापन समितिले दिनसक्ने उनी बताउँछन्। यद्यपि, समितिको अध्यक्षता नगरप्रमुखले गर्ने कारण राहतको लागि पनि कुर्नपर्ने उनको भनाइ छ। यसबीचमा सम्बन्धित वडाध्यक्षसँग जानकारी लिने उनी बताउँछन्। 
वडा नं. १० का वडाध्यक्ष शेखर तिमिल्सेनाले औपचारिक रूपमा आफूलाई कुनै जानकारी नआएको बताए।


सम्बन्धित सामग्री