काठमाडाैँ महानगरपालिका–५ ले फाटेका बोरा र पुराना जिन्सबाट जुत्ताचप्पल बनाउने सीप सिकाएपछि तालिममा सहभागी महिलाहरू स्वरोजगार बनेका छन्। उत्पादित सामग्रीले पनि राम्रै बजार पाएको छ।
काठमाडौँ– केही दिनयता काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँकी संगीता श्रेष्ठको दैनिकी फेरिएको छ। घरको भान्सा र छोराछोरीहरूको रेखदेखमा समय बिताउने उनी अहिले भने अधिकांश समय चामलको बोरा र पुराना जिन्सको कपडाबाट जुत्ता चप्पल बनाउनमा व्यस्त हुन्छिन्।
फुर्सदिलो समयलाई कसरी सदुपयोग गर्ने भन्ने लागिरहन्थ्यो संगीतालाई। त्यही बेला वडा कार्यालयले वडाबासीलाई लक्षित गरी चामलको बोरा र फाटेका जिन्सको कपडाबाट जुत्ता चप्पल बनाउने तालिम दियो। उक्त तालिममा उनी पनि सहभागी भइन्। वडाले सञ्चालन गरेको त्यस तालिम कार्यक्रममा उनीसहित अन्य २० जना महिला सहभागी भएका थिए। १५ दिनको उक्त तालिम लिएपछि संगीताले जुत्ता र चप्पल बनाउन थालेकी हुन्।
यसअघि पनि वडाले सञ्चालन गर्ने केही तालिममा सहभागी भई काम गरेकी उनी जुत्ताचप्पल बनाउने काम बढी रुचाउँछिन्। “घरमै बसेर, थोरै समाग्रीबाटै राम्रै जुत्ताचप्पल बनाउन सकिन्छ। यसको मार्केट पनि रहेको बुझेको छु। त्यसैले पनि सहभागी भएँ र निरन्तरता दिँदै छु,” उनले भनिन्।
यसले सीप विकास र अर्थोपार्जनका साथसाथै सामाजिक रूपमा घुलमिल हुन पनि सहज भएको उनको अनुभव छ। वडाले नै उत्पादित सामग्रीको प्रवर्द्धनमा सघाइरहेको छ। उत्पादन भएका जुत्ताचप्पल बिक्रीका लागि हाँडीगाँउ डबलीमा स्टल राख्ने व्यवस्था गरिदिएको छ। प्रत्येक शनिबार सञ्चालन हुने उक्त बजारमा उनीहरूले सामूहिक स्टल राख्ने गरेका छन्। यसरी वडा कार्यालयले नै बजार व्यवस्थापन गरिदिदाँ आफूहरूलाई हौसला मिलेको श्रेष्ठ बताउँछिन्।

तालिम त लिइयो अब कसरी काम गर्ने, बजारमा कसरी पुर्याउने र कसरी स्थापित हुने भन्ने चिन्ता लिनु परेन,” उनी भन्छिन्, “यो कामलाई हामीले पैसा कमाउने भन्दा पनि साथीसँगीसँगको जमघट, रमाइलो साथै सीप र क्षमताको विकास गर्ने कामको रूपमा लिएका छौँ।”
श्रेष्ठ जस्तै तालिम लिएकी अर्की हरिमाया केसी पनि घरमा भएका पुराना जिन्स संकलन गरेर जुत्ताचप्पल बनाउन व्यस्त छिन्। पहिले घरायसी काम र कौसी खेतीमै दिन बित्ने गरेकोमा अहिले भने उनको दैनिकीमा फरकपना आएको छ। घरको समयबाट फुर्सद मिल्ने बित्तिकै उनी एक्लै भए पनि जुत्ताचप्पल बनाउन बसिहाल्छिन्।
“पहिले म घरको काम, कौसी खेतीमा व्यस्त हुन्थेँ, समय समयमा वडाको योजना अन्तर्गत फिनेल, हार्पिक पनि बनाउने गर्थें। अहिले यो काम थालेपछि जिम्मेवारी बढेको जस्तो लाग्छ। निकै व्यस्त छु,” उनले भनिन्।
तालिममा सिकेको कुरा अवलम्बन गर्न र व्यावसायिक रूपमा स्थापित हुनुपर्छ भन्ने उनको अठोट छ। त्यसका लागि लिइएको तालिम पर्याप्त नभएको उनको ठम्याइ छ। “बजारको मागअनुसार उत्पादन गर्ने र प्रतिस्पर्धा गर्ने हो भने यति आधारभूत तालिमले पुग्दैन, माथिल्लो तहको तालिम दिन आवश्यक रहेको मलाई लाग्छ।”

वडा कार्यालयले स्थानीयलाई व्यावसायिकरूपमा स्थापित गर्ने उद्देश्यअनुरूप विभिन्न उद्यमशील तालिम दिने गरेको छ। यसअघि पनि कौसी खेती, साबुन, फिनेल, हार्पिक लगायतका समाग्री बनाउने, प्लास्टिकबाट विभिन्न समाग्री बनाउने जस्ता तालिम प्रदान गरेको थियो। अहिले भने जुत्ताचप्पल बनाउने तालिमको माग बढेपछि त्यसको व्यवस्था गरिएको वडा सदस्य मिना सिंह प्रजापती बताउँछिन्।
काठमाडौँ महानगरपालिका वडा नं ५ र लक्ष्य नेपाल संस्थाको सहकार्यमा गत जेठ १६ देखि ३० गतेसम्म तालिम सञ्चालन भएको थियो। केही समयपछि थप तालिम प्रदान गर्ने र व्यावसायिक रूपमै अघि बढाउने वडाको योजना छ। “शुरूआत भएकाले अहिले आफ्नो घरमै सामाग्री जुटाएर काम गर्दैछन्। अब बजेट आएपछि एडभान्स तालिम दिएर आवश्यक सहकार्य र व्यावसायिक बनाउछौँ,” वडा सदस्य प्रजापतीले बताइन्।
माग बढ्दै
यसरी उत्पादित जुत्ताचप्पलले गएको दुई शनिबार राम्रै बजार पाएको संगीता श्रेष्ठ बताउँछिन्। अहिलेसम्म ४० जोर बिक्री भइसकेका छन्। जुन उत्पादनको ठूलो हिस्सा भएको उनको भनाइ छ। अहिले यसरी बनाइएका जुत्ताचप्पलको माग बढ्न थालेको छ। पुरुषमा लागि पनि बढी माग आएको उनले बताइन्।
जिन्सको कपडाबाट बनेको जुत्ताको मूल्य २५० र चप्पलको १५० रुपैँया तोकिएको छ। बोराबाट बनेको जुत्ताको मूल्य भने २०० रुपैयाँ छ। यसका साथै नेवारी ढाँकाको पनि जुत्ता बनाइएको छ जसको मुल्य २५० देखि ३०० रुपैँया तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
