Tuesday, May 21, 2024

-->

सुदूरपश्चिमकै ठूलो चिस्यानकेन्द्र ऋणको बोझले बन्द हुने अवस्थामा

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै ठूलो चिस्यानकेन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा पुगेको छ।

सुदूरपश्चिमकै ठूलो चिस्यानकेन्द्र ऋणको बोझले बन्द हुने अवस्थामा

कैलाली– सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यानकेन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा पुगेको हो।

किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका–१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै ठूलो चिस्यानकेन्द्र स्थापना गरिएको थियो।

रिज्म परियोजनाको एक करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण कार्य शुरू गरी सञ्चालनमा ल्याइएको चिस्यानकेन्द्र २० करोड रुपैयाँभन्दा बढी लगानीमा तयार गरिएको हो। अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा सो चिस्यानकेन्द्र बन्द हुने अवस्थामा पुगेको छ। 

चिस्यानकेन्द्रको २० करोड रुपैयाँभन्दा बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए। “बैंकमा मात्रै १६ करोड ४४ लाख रुपैयाँ ऋण छ। अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड रुपैयाँ बढी पुग्छ,” उनले भने, “सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यानकेन्द्र चलिरहेको छ।”

रावतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा दुई पटकसम्म रातो किताबमा चिस्यानकेन्द्रका लागि भन्दै नौ करोड ९० लाख रुपैयाँ राखेको थियो। चिस्यानकेन्द्र शुरू भएकै वर्ष यहाँ तीन हजार ४५३ किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले ६ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन्। 

कैलाली, कञ्चनपुरसहित डडेलधुराको गन्यापधुरा गाउँपालिका, परशुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यानकेन्द्रबाट लाभान्वित छन्। लाभान्वित किसानको संख्या बढ्दो अवस्थामा रहे पनि आर्थिक संकटका कारण बन्द गर्नुपर्नेसम्मको स्थिति आउँदा उनीहरू चिन्तित छन्।

“चिस्यानकेन्द्र भएर निकै सहज भएको छ,” कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बीउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भने, “यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छु, तर बन्द हुने अवस्थामा स्टोर छ, हामी किसानले कसरी जीविकोपार्जन गर्ने?”

चिस्यानकेन्द्र भएपछि नै व्यावसायिक हिसाबले खेती शुरू गरेको बताउँदै भण्डारण गर्न आएका अर्का किसान प्यारेलालाल चौधरी भन्छन्, “सिजन सकिएपछि आफैँले घरमा खानलाई र पछि राम्रै बजार मूल्य पाएका बेला बेच्नलाई हामीजस्ता किसानलाई फाइदा पुगेको थियो तर आर्थिक अभावका कारण चिस्यानकेन्द्र बन्द हुने अवस्थामा छ यसलाई जोगाउनुपर्छ।”

चिस्यानकेन्द्रमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोभी राख्न मिल्ने बनाइएको छ। विद्युत् प्राधिकरणको बिलसमेत तिर्न नसकेपछि पटक–पटक यहाँ विद्युत् काट्ने गरेको शेयर सदस्य राजेन्द्र देवकोटाले बताए। यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरासमेत हुने गरेको उनी बताउँछन्।


सम्बन्धित सामग्री