Saturday, April 27, 2024

-->

हजुरआमा र आमाहरू छोराछोरीसँगै एसईई दिँदै

श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्बाह नगरी विद्यालय आएको सुनाउँदै ५२ वर्षीया शोभा राईले पहिला कुरा काट्नेहरूले अहिले प्रशंसा गर्न थालेको बताइन्।

हजुरआमा र आमाहरू छोराछोरीसँगै एसईई दिँदै
प्रतीकात्मक तस्वीर

भक्तपुर– सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगिन्। रामेछाप जन्मेर काभ्रेपलान्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नातिनातिना उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुँदै छिन्। 

श्रीमान् पण्डित्याइँ गर्ने, छोराबुहारी र नातिनातिना लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएकी थिइन्। शुरूमा अंग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसईई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेकी हुन्।

“सानैदेखि पढ्ने इच्छा थियो। रामेछापमै भाइलाई विद्यालय पुर्‍याउन जाँदा कक्षा ३ सम्म त पढेँ,”  उनी भन्छिन्, “त्यसपछि छोरी मान्छेले पढ्नुहुँदैन भनेर छुटाइदिनुभयो। अठार वर्षमै विवाह भयो। त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो।” उनका छोराबुहारी र नातिनातिना अहिले अस्ट्रेलियामा छन्।

उनी एउटा उदाहरणीय पात्र मात्रै हुन्। विगतका वर्षजस्तै यस वर्ष पनि आस्था महिला विद्यालयबाट उनीजस्ता १२ जना हजुरआमा एसईई दिँदै छन्। बिहान र साँझ घरको काम सकाएर उनीहरू बाँकी समय पढाइमा बिताउँछन्। त्यसैमध्येकी एक हुन्,  ३८ वर्षीया अम्बिका अधिकारी। उनी घरको सबै काम सकेर दिनभर पढाइमा व्यस्त हुन्छिन्।

करिष्माबाट प्रेरणा
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसईई दिएको समाचारले उत्साहित बनायो। सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आएकी उनको विवाहपछिको पढाइ छुटे पनि पढ्ने रहर भने छुटेको थिएन।

“पढ्ने रहर मरेकै थिएन, कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्ने गर्थें, एक दिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसईई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ” तामाङ भन्छिन्, “यो विद्यालय देखेँ।  भोलिपल्टै विद्यालय आएँ र पढ्न शुरू गरेँ।”

उनी बिहान घरको सबै काम सकाएर छोरीलाई ‘प्ले ग्रुप’मा राखेर १० बजेको विद्यालय भेटाउन पुग्छिन्। साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्छिन्। शुरूमा गाईबाख्रा पालेर बस्न सुझाव दिनेहरू अहिले उनको आँट देखेर प्रशंसा गर्ने गरेको उनी सुनाउँछिन्। “देवर र देउरानीले पनि पढ्नका लागि ऊर्जा थप्नुभएको छ। परिवारको साथ र सहयोगले पढ्ने रहर पूरा हुँदैछ,” उनले भनिन्।

छोरीसँगै एसईईको तयारीमा
जिरी दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–४ हर्षचोक बस्दै आएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसईई परीक्षा दिने तयारीमा छिन्। कक्षा ५ सम्म माइतीमै पढेकी उनले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसइईमा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ।

एसईई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उनले शुरूमा घरबाट पढ्न नजाउ भन्दा भागीभागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाइन्। आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उनले भनिन्, “परीक्षानजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउँछिन्, एसईई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ, छोरीको नर्स पढ्ने लक्ष्य छ।”

खोटाङ घर भई हाल सूर्यविनायक–३ बालकोट बस्दै आएकी ५२ वर्षीया शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाएकी छन्।  श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्बाह नगरी विद्यालय आएको सुनाउँदै उनले पहिला कुरा काट्नेहरू अहिले प्रशंसा गर्न थालेको बताइन्।

जेठानीले यसै विद्यालयबाट एसईई दिएपछि श्रीमान् आफैँले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घर भई बालकोट आइपुगेकी ४० वर्षीया जुनकिरी थापामगरले सुनाइन्।

त्यस्तै कथा ४२ वर्षे भवानी भुजेलको पनि छ। उमेरले चार दशक कटे पनि उनीमा पढ्ने जाँगर भने मरेको छैन। साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आएकी उनलाई बैंकबाट अवकाशप्राप्त श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसईईसम्म आइपुगेको बताउँछिन्।

विसं २०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सरेकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्त्व बुझेर यही स्कुलबाट पढाइ शुरू गरेको बताउँछिन्। नेपाली सेनामा कार्यरत श्रीमान्को सहयोग, १२ कक्षा पढ्दै गरेको छोराछोरीले सिकाउँदा पनि दिमागले टपक्क टिप्न नसक्ने गरेको बताउँदै एसइई उत्तीर्ण गर्ने आँट भने रहेको बताउँछिन्।

दोलखा हुँदै बालकोट बस्ने २७ वर्षीया कल्पना विक अरूसँग हेपिएर बस्नु हुँदैन, अपूरो शिक्षा पूरा गर्नुपर्छ, पढ्ने रहरलाई मार्नु हुँदैन भन्ने लागेर यहाँ आउनेबाटै विद्यालय आएर भर्ना भएको बताउँछिन्। कक्षा ९ देखि स्नातकसम्म पढ्दै गरेको छोराछोरीले पढ्न सघाउने गरेको बताउदै उनले एसईईको नतिजा आएपछि भावी लक्ष्य निर्धारण गर्ने बताउँछिन्।

इच्छालाई उमेरले छेक्दैन भन्ने ४४ वर्षीया विष्णु बर्मेलाई छोराले स्कुल भर्ना गरिदिएपछि एसईईको संघारमा आइपुगेको बताउँछिन्। ओखलढुंगाबाट मध्यपुरथिमि चारदोबाटो बस्दै आएकी उनी श्रीमान् र छोराछोरीको सहयोगले परीक्षामा उत्साह थपेको बताउँछिन्।

सिंगो परिवार तरकारीखेतीमा लाग्दै आएकी मध्यपुरथिमिकी स्थानीय ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसईईपछि पूरा हुने बताउँछिन्। छोराछोरी स्नातक तहसम्म पढाएकी उनले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरे पनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ।

यही विद्यालयबाट एसईई परीक्षाको तयारीमा रहेका राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरूले नै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटे पनि एसईई परीक्षा उत्तीर्ण हुने अठोट राखेका छन्। विसं २०६९ देखि एसईई परीक्षामा सहभागी हुँदै आएका यस विद्यालयका हजुरआमाले अहिलेसम्म १२औँ समूहसम्म आइपुग्दा १६२ जनाले एसएलसी तथा एसईई परीक्षा दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताइन्।

अहिलेसम्म यहाँ पढ्नेमध्ये ५० प्रतिशत आमाहरूले कक्षा १० माथिको उपल्लो कक्षामा पढ्ने अवसर जुराएको बताउँछिन्। यस वर्षबाट ग्रेडिङ सिस्टम हटाउँदा भने परीक्षार्थी आमा र हजुरआमाहरूको मन अलि खस्किए पनि परीक्षा पास गर्ने आँट भने उत्तिकै रहेको बताइन्। बिहानी र दिउँसो गरेर सञ्चालन हुँदै आएको विद्यालयमा पढ्न नपाएका र पढ्ने रहर भएका आमा र हजुरआमालाई पढाउने १४ जना शिक्षिकाहरूको मेहनत निकै ठूलो छ। विद्यालयमा धेरै महिला आउने गरे पनि भाडाको भवनमा बस्नु पर्दा समस्या आएको र आफ्नै भवन नहुँदा धेरै समस्या भोग्नु परेको विद्यालयकी संस्थापक रविना कार्कीले बताउँछिन्।

स्थापनाकालदेखि विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत कविता श्रेष्ठले विद्यालयमा आउने महिला एकदमै पढ्न इच्छा बोकेर आउने र धेरै मिहिनेत गर्ने गरेको बताउँछिन्। बच्चालाई पढाउनभन्दा धेरै मिहिनेत आमाहरूलाई पढाउँदा लागेको उनको अनुभव छ।


सम्बन्धित सामग्री