Saturday, April 27, 2024

-->

संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेबे ढापपोखरी’

सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन।

संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेबे ढापपोखरी’

इलाम– इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेबे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ। सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवर्द्धन हुन नसकेको हो।

चन्द्रपाल थेबे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराईले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको ढापपोखरीमा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धनको काम गर्न समस्या भएको बताए। स्थानीयले ८ वर्षअघि बाँध बाँधेर पानी जम्मा गरी विकास र विस्तार गरेको ढापपोखरीको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नजाँदा ढापपोखरी संकटमा परेको उनको भनाइ छ। सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन।

प्रचुर सम्भावना भएर पनि संकटमा परेको संरक्षण समितिका अध्यक्ष भट्टराईले बताए। “ढापपोखरी पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने, पोखरी वरिपरि पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सेल्फी पार्क बनाउनुपर्ने, पानीको फोहोरा फाल्ने संरचना निर्माण गर्नुपर्ने, डुंगा सञ्चालनका लागि व्यवस्थित बोटघर निमार्ण गर्नुपर्ने, वरीपरी ड्रेन बनाउनुपर्ने लगायतको संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने‍‍ आवश्यक छ,” अध्यक्ष भट्टराइले भने, “यसका लागि स्थानीय सरकारको हैसियतले सन्दकपुर गाउँपालिकाले स्वामित्व ग्रहण गरी आवश्यक पहल गर्नुपर्छ।” 

ढापपोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण आकर्षक गन्तव्यका रूपमा विकास भए पनि आवश्यक संरक्षणको अभावमा संकटमा परेको समितिका उपाध्यक्ष निरबहादुर फागोको फागोले बताए। “पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसको संरक्षण र प्रवर्द्धनसँगै र प्रचारप्रसार गर्न आवश्यक छ,” उनले भने, “पोखरीको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकेमा धेरै पर्यटकको उपस्थिति हुने सम्भावना छ, त्यसका लागि तिनै तहको सरकारको ध्यान जान जरुरी छ।”

ढापपोखरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि स्थानीय, प्रदेश र संघ सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आएको अध्यक्ष भट्टराईले बताए। शुरूका वर्ष पोखरीको संरक्षण र विकासका लागि केही बजेट आए पनि पछिल्लो चार वर्षदेखि आउनै छाडेको उनको गुनासो छ।

ढापपोखरीसँगै रहेको गजाधर–धनमाया रंगशाला र मन्दिरलाई समेत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको भए पनि स्रोतसाधनको अभावमा समस्या रहेको उनले बताए।

ढापपोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। २१५ मिटर लम्बाइ र १०० मिटर चौडाइ रहेको पोखरीको क्षेत्र विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिने भट्टराई बताउँछन्।

विसं २०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर ढापपोखरी निर्माण अभियान शुरू गरेका थिए। दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरीको निर्माण भएको हो।

इलाम सदरमुकामदेखि करिब २१ किलोमिटर उत्तरमा पर्ने ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले घरबास सञ्चालन गरेका छन्। ढापपोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ। तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन्। 


सम्बन्धित सामग्री