Saturday, April 27, 2024

-->

विश्व क्षयरोग दिवस: संक्रमण र मृत्युदर दुवै बढ्यो

विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व क्षयरोग दिवस संक्रमण र मृत्युदर दुवै बढ्यो

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा माघ साउनदेखि मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय नवलपुरका अनुसार १९७ पुरुष र ८७ महिलामा  क्षयरोग पहिचान भएको हो। नयाँ क्षयरोगीमध्ये २.८ प्रतिशत बालबालिका छन्।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टराईले बताए। मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला छन्। “अन्यले औषधि सेवन गरिरहनुभएको छ,” उनले भने, “१० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ।”

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना छन्। यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको कार्यालयको तथ्यांक छ। 

जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४.४ प्रतिशत रोगीको सफल उपचार गरिएको कार्यालयका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए। “२०७९/८० मा ५४६ मा क्षयरोगी भेटिँदा २१ जनाको मृत्यु भएको थियो भने २०७८/७९ मा ५२९ क्षयरोगी भेटिदा १९ तथा २०७७/७८ मा ४१६ जनामा देखिएकामा १८ जनाको मृत्यु भएको थियो,” उनले भने, “संक्रमण र मृत्यु बर्सेनि बढिरहेको छ।” 

क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र छन्। मध्यविन्दु जिल्ला अस्पतालमा डीआर (ड्रक रेसिस्टेन्ट) होस्टल छ।  चितवनका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डीआर क्षयरोगीको आवासीय रूपमा उपचार भइरहेको छ। “चालु आवको माघसम्म चितवनका ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार, तनहुँ र पाल्पाका एक–एक जना डीआर क्षयरोगी भेटिएका छन्,” उनले भने। 

गण्डकी प्रदेशमा डीआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन्। क्षयरोगको उपचारका लागि गण्डकीका ९४५ डट्स केन्द्र छ। “प्रत्येक वर्ष क्षयरोगीको संख्या बढ्दै गइरहेको छ,” फोकल पर्सन तिवारीले भने, “समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ।”

उनका अनुसार क्षयरोग एक सरुवा रोग हो। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ। एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताए। बहुऔषधि प्रतिरोध बिरामीको संख्या बढ्नुले क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उनले बताए। 

विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


सम्बन्धित सामग्री