Saturday, April 27, 2024

-->

नामिबियासँगको भेट: एक वर्षअघि हाबी, अहिले निरीह

गत वर्षकै लयलाई दोहोर्‍याउने लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले एकनासको खेल प्रदर्शन गर्न सकेन। फलस्वरूप नामिबियाले नेपालविरुद्धको दुवै खेलमा जित हात पार्‍यो।

नामिबियासँगको भेट एक वर्षअघि हाबी अहिले निरीह

काठमाडाैँ– “एक वर्ष अगाडि नेपालमा चारमा चार (नेपाल र स्कटल्यान्डसँग) हार बेहोरेको थियो। अहिले घरेलु टोलीविरुद्ध दुईमा दुई खेल जितेका छौँ। पक्कै पनि यो हाम्रो टोलीले गर्व गर्नुपर्ने कुरा हो।”

कप्तान ग्रेरार्ड एरास्मसले भनेजस्तै एक वर्षअघि अर्थात् २०७९ को फागुनमा आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृंखला खेल्न नेपाली भूमिमा टेक्दा नामिबिया फरक स्थितिमा थियो।

लगभग तेस्रो स्थानमा रहँदै नामिबिया जिम्बाबेमा भएको आईसीसी ओडीआई विश्वकप छनोटमा पुग्ने लक्ष्यमा थियो। यता लय गुमाएको नेपाल सकसको बाटोमा। नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनै चुनौती थियो। त्यस्तो अवस्थामा नेपालको पहिलो विपक्षी बनेर उभिएको थियो बलियो टोली नामिबिया।

उनै एरास्मसको कप्तानीमा रहेको नामिबिया यस्तो टोली थियो, जसलाई नेपालले लिग २ मा पराजित गर्नै सकेको थिएन। शृंखलाअन्तर्गत त्यसअघि खेलिएको चारमध्ये तीन खेलमा ९४०, ६३ र ८६ रनले० नेपाल नराम्ररी पराजित भएको थियो। एक खेलमा भने वर्षाको कारण रद्द हुँदा नेपालले केही राहत पायो। नयाँ प्रशिक्षक, नयाँ रणनीति अनि दबाबमा रहेको नेपालमाथि भ्रमणकारी नामिबिया पुनस् एकपटक हाबी भइसकेको थियो। टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले २८६ रनको लक्ष्य दिएको थियो।

ओडीआईमा नेपालले यत्रो ठूलो लक्ष्य कहिल्यै पूरा गर्न सकेको थिएन। थियो त सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै २५४ रनको लक्ष्य पूरा गरेको इतिहास। त्यसैले होला नेपालले ‘कमब्याक’ गर्ला भनेर सायद कसैले सोचेका थिएनन्। तर, ओपनर कुशल भुर्तेलले ११५ रनको शतकीय र कप्तान रोहितकुमार पौडेलले ७६ रनको अर्धशतकीय इनिङ्स खेले र ४७.४ ओभरमा ८ विकेट गुमाएर नेपाल दुई विकेटले खेल जित्यो।

त्यही अनपेक्षित प्रदर्शनपश्चात् ११ मध्ये १० खेल जितेर आफ्नो ओडीआई मान्यता जोगाएको र शीर्ष तीनमा नामिबियालाई १ अंकले पाखा लगाउँदै विश्वकप छनोटमा सिधै पुगेको नेपाल अहिले त्यस्तै बलियो स्थितिमा छैन। उसलाई त्यही एक वर्षअघिको टोलीसँग ५० ओभर पुरै टिकेर खेल्न असहज भएको छ।

कप्तान रोहित भन्छन्, “उहाँहरूले (नामिबियाका खेलाडी) एकदमै मिहिनेत गर्नुभएको छ। पहिलो गेममा उहाँहरूको प्लानिङहरू जुन हिसाबले लिएर आउनुभएको थियो प्रिपेयर जस्तो देखिनुभएको थियो। उहाँहरूले राम्रो क्रिकेट खेलिरहनुभएको छ। राम्रो टोलीहरूसँग खेलिरहनु भएको छ।”

नेपाली टोलीले गत वर्ष लिग २ अन्त्यतिर नामिबियाविरुद्ध घरेलु मैदानमा दुई खेल खेल्ने अवसर प्राप्त गरे पनि यस वर्ष शुरूमै त्यही मौका पाएको थियो। गत वर्षकै लयलाई दोहोर्‍याउने लक्ष्यसाथ मैदान उत्रिएको नेपालले एकनासको खेल प्रदर्शन गर्न सकेन।

पहिलो खेलमा नामिबियाविरुद्ध मैदानमा उत्रिएको नेपालले पहिला ब्याटिङ गर्दै ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्रै बनाएको थियो। यो घरेलु मैदानमा नेपालको सबैभन्दा कम स्कोर थियो। यसअघि सन् २०२० र २०२२ मा यूएईविरुद्ध नेपालले १६९ रन बनाएको थियो। १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो र ४ विकेटले खेल जित्यो।

दोस्रो खेलमा बुधबार नामिबियाविरुद्ध पुन: प्रतिस्पर्धा गर्दा १६९ रनको लक्ष्य दिए पनि नेपाल २ विकेटले पराजित भयो। दुवै खेलमा नेपालले बलिङ राम्रो गर्दै नामिबियालाई दबाबमा राखे पनि ब्याटिङमा नचल्दा महत्त्वपूर्ण चार अंक गुमाउन पुग्यो। कप्तान रोहित बलरहरूले आफ्नो क्षमताअनुसार सबै कुरा दिइरहेको बताउँछन्। तर, आफ्नो टोली मध्यक्रमको ब्याटिङमा चुकेको उनी स्वीकार गर्छन्। “बलिङमा १०० प्रतिशत इफोर्ट छ। तर ब्याटिङ युनिटले मिस गरिरहेका छौँजस्तो लाग्छ। यो सबै मैले जिम्मेवारी लिन पर्नेजस्तो लाग्छ,” उनी भन्छन्।

बलिङको भरमा खेल
बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी देखिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य स्पिनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। ओडीआईमा ४२ खेलमा १०० विकेट लिएर सबैभन्दा कम खेलमा कीर्तिमान बनाएका उनी नहुँदा स्पिनर बलको अभाव खड्किने महसुस गरिएको थियो। तर, 'पार्ट टाइम' बलर रोहित र कुशल भुर्तेलले त्यो अभाव खड्किन दिएनन्।

पहिलो खेलमा कुशलले बलिङ गरेनन्। रोहितले एक विकेट लिए। नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको जित हासिल गर्दा कुशलले बलिङमा मौका पाए। उनले ७ ओभरमा २० रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। यो उनको करिअरको उत्कृष्ट प्रदर्शन थियो। बुधबार नामिबियाविरुद्ध पनि उनै हाबी भए र ५ ओभर बलिङ गर्दै २८ रन दिएर ३ विकेट लिए।

रोहितले पनि यी तीन खेलमा बलिङबाट आफ्नो योगदान दिइरहेका छन्। उनले पनि तीन विकेट लिइसकेका छन्। नियमित बलर सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र गुल्शनकुमार झाले पनि बलिङबाट राम्रो प्रदर्शन गरिरहेका छन्। तर ललितबाहेक १० जना ब्याटर लिएर उत्रिएको टोलीले बलिङमा जस्तो अब्बल प्रदर्शन गर्न सकेका छैन।

तीन वटै इनिङ्स खेलेका ओपनर आशिफ शेखले सर्वाधिक ११६ रन बनाएका छन्। उनीबाहेक भीम सार्कीले दुई इनिङ्समा ७० रन बनाएका छन्। अनिलकुमार साहले ६५ रन बनाउँदा कुशल मल्लले ५१ रन बनाएका छन्। अन्य भने उनीहरूको छेउछाउ पुग्न सकेका छैनन्। यस्तो हुनुमा नामिबियाविरुद्धका दुई खेलमा नेपालले पहिला टस हार्नुलाई मुख्य कारणका रूपमा लिइन्छ। तर, कप्तान रोहित भने यो कुरालाई स्वीकार गर्न चाहँदैनन्।

“टसले भन्दा पनि आफ्नै गल्तीहरूले हारिरहेको जस्तो लाग्छ। सबै कुराहरू राम्रो चलिरहेको थियो। (बुधबार नामिबियाविरुद्धको दोस्रो खेलमा) कुशल दाइ र आशिफको एकदमै राम्रो पार्टनरसिप थियो। तर १० ओभरमा तीन विकेट गुमाउन पुग्यौँ। त्यो एरियाबाट हामी ब्याट्सम्यान स्टेपअप गर्न जरुरी छ जस्तो लाग्छ,” उनी भन्छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईं पहिला ब्याटिङ गर्नका लागि योजना बनाएको बताउँछन्। सोही योजनाअनुसार आफ्ना ओपनरले शुरूका पाँच ओभरमा राम्रो प्रदर्शन गरेको उनको भनाइ छ। तर, कुशल आउट भएपछि अनिल पनि आउट हुँदा आफ्नो टोली अप्ठेरो परेको उनी तर्क गर्छन्।

“हामी मानसिक रूपमा ९:३० मा ब्याटिङ गर्न तयार थियौँ। पावरप्लेमा विकेट झरिरहेका छ भन्ने हामीलाई थाहा थियो। तर आज हामीले पहिलो पाँच ओभरमा राम्रो शुरूआत गरेका थियौँ,” उनी भन्छन्, “कुशल आफ्नो भूमिकालाई लिएर स्पष्ट थियो, मिहिनेत पनि गरेको थियो। तर आउट भयो, अनिल पनि एक/दुई बल खेलेर आउट हुनु दुर्भाग्यपूर्ण भयो।”

कुशल र आशिफले ६ ओभरसम्म ३८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो शुरूआत दिलाएका थिए। तर सातौँ ओभरको दोस्रो बलमा कुशल १८ रनमा बर्नार्ड स्कोल्जबाट एलबीडब्ल्यू आउट भए। त्यसपछि थप पाँच रन बनाउन नेपालले दुई विकेट खर्चियो। लगत्तै कृजमा आएका अनिल खाता नै नखोली स्क्वायर लेगमा एरास्मसबाट क्याच आउट भए। 

आठौँ ओभरको अन्तिम बलमा देव खनाल आउट साइड एज लागेर विकेटकिपर जेन ग्रिनबाट डक आउट भए। पहिलो पावरप्लेमा तीन विकेट गुमाए पनि मल्ल र आशिफबीच पाचौँ विकेटका लागि कुशल मल्ल र आशिफबीच ५७ रनको साझेदारी हुन मोन्टी राम्रो मान्छन्। 

“१६९ रनको डिफेन्स गर्दै ८ विकेट लिनुले खेलाडीमा केही राम्रो मनोवृत्ति देखिएको छ। तर ब्याट्सम्यानहरूले २१० या २२० रन सम्म बनाउन सक्नुपर्थ्यो,” उनी भन्छन्।

नेपालले आइतबार अन्तिम खेल नेदरल्यान्ड्सँग खेल्दै यो शृंखलाको अन्त्य गर्ने छ। त्यसपछि नेपाली टोली पूर्णत: अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी२० विश्वकपमा केन्द्रित हुनेछ। त्यसैको तयारीका लागि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी२० आई शृंखला खेल्ने छ र भारतीय रणजी टोली बरोडा र गुजरातसँग खेल्ने छ।


सम्बन्धित सामग्री