Sunday, April 28, 2024

-->

दुबईमा दुर्घटनामा परेका ओलीको ज्यान जोगियो, अस्पतालको उपचारखर्च तिर्न नसक्दा नेपाल फर्किन पाएनन्

दुर्घटनापछिको उपचार खर्चमध्ये बाँकी डेढ करोड रुपैयाँ तिर्न नसकेर स्वदेश फर्कने अनुमति नपाउँदा रोल्पाका बालकुमार ओली संयुक्त अरब इमिरेट्स (यूएई) मा 'बन्धक' बनेका छन्।

दुबईमा दुर्घटनामा परेका ओलीको ज्यान जोगियो अस्पतालको उपचारखर्च तिर्न नसक्दा नेपाल फर्किन पाएनन् 

दुबई (यूएई)– गंगादेव गाउँपालिका–२, रोल्पाका २१ वर्षीय बालकुमार ओली काठमाडौँको एक म्यानपावर एजेन्सीमार्फत झन्डै दुई वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई शहर पुगे। सरसफाइको काम गर्न गएका उनले श्रम सम्झौतामा उल्लेख भएबमोजिम मासिक पाउनुपर्ने एक हजार २०० दिराम पारिश्रमिक पाएकै थिए। जीवन ठीकठाक चलिरहेको थियो।

बल छँदैमा दुःख गरेर पैसा कमाई ऋण तिर्ने र परिवारलाई सुख दिने सपनाले उनलाई उच्च शिक्षाको पढाइ बीचमै छाडेर वैदेशिक रोजगारीमा हानिन बाध्य बनाएको थियो। तर २०८० असार १२ गतेको दिनले एक्कासि उनको लक्ष्यमा ग्रहण लगाइदियो। दुबईको इजादह एसेट म्यानेजमेन्ट ग्रुपमा कार्यरत उनी ड्युटीमा गइरहेका बेला बसबाट ओर्लने क्रममा दुर्घटनामा परे। 

दुर्घटनापछि चार महिना अस्पतालमा बिताएका ओली न काम गर्न सक्छन् न त नेपाल फर्कन नै पाउँछन्। उपचारपछि दुबईमा बन्धकझैँ भएर जिउन बाध्य भएको उनी बताउँछन्। “अहिले मेरो खान बस्नको पनि टुंगो छैन, साथीभाइ र सहयोगीले खान र बस्न दिनुभएको छ,” उनी भन्छन्, “चिनजानकोमा एक–दुई दिन गर्दै बसेको छु। कहिलेसम्म यसरी बसूँ? काम गर्न सक्दिनँ, नेपाल जान अनुमति छैन।”

अस्पतालमा बुझाउनुपर्ने उपचारबापतको खर्च भुक्तानी नगरेसम्म यूएई छाड्न नपाउने गरी ‘बन्धक’ हुन बाध्य ओली यो अवस्थामा आइपुग्नुको पछाडि महँगो उपचार खर्चको कथा छ। दुर्घटनापछि दुबईको साउदी–जर्मन अस्पताल अलबर्षामा तीन महिनाको उपचारपछि उनी हिँड्डुल गर्न र बोल्न सक्ने भए। त्यसपछिको एक महिना उपचार खर्च भुक्तानीकै लागि अस्पतालले रोकेर राख्यो। 

रोल्पाली सेवा समाज यूएईका अध्यक्ष दिल पुनका अनुसार उनको उपचारमा ९ लाख दिराम अर्थात तीन करोड ३२ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो। 

अस्पतालमा लागेको सोही रकम भुक्तान हुन नसक्दा रोकिनुपरेको थप एक महिनासम्म दैनिक ७ हजार दिरामका दरले खर्चको बिल चढ्दै गयो। त्यसपछि रोल्पाली समाज यूएईले उनलाई अस्पतालबाट निकाल्ने पहल थाल्यो। समाजको पहलपछि उपचारमा लागेको आधा रकम भुक्तानी गर्न बीमा कम्पनीमा आएको पैसाले पुग्यो। त्यसपछि भने कम्पनी नै जमानत बसेर उनलाई अस्पतालबाट निकालिएको थियो। 

शरीरले काम गनै नसक्ने भएकाले त्यहाँ बसिरहनुको अर्थ नदेखेर उनले घर फर्कने विचार गरे। बाहिर निस्किएको केही दिनपछि नेपाल फर्कने तयारी गरेर विमानस्थल पनि पुगे। तर विमानस्थल पुगिसकेपछि मात्र थाहा भयो कि उपचारखर्चको आधा रकम अर्थात् एक करोड ६० लाख रुपैयाँभन्दा बढी अझै भुक्तानी नभएको भन्दै अस्पतालले ओली र उनले काम गरेको कम्पनीविरुद्ध मुद्दा हालेको रहेछ। त्यही कारण विमानस्थलबाट उनलाई फर्काइयो। उपचार खर्च भुक्तानी गर्न बाँकी रहेको मुद्दाका कारण उनलाई यूएईबाट बाहिर जाने अनुमति छैन। 

“बीमाले गरेको भुक्तानीपछि पनि अस्पताललाई अझै साढे चार लाख दिराम तिर्न बाँकी छ। त्यो तिरेपछि मात्र यात्राको अनुमति खुल्ने रहेछ। त्यति धेरै पैसा उनले कसरी तिर्नु? कम्पनीमा काम गर्न जाँदा दुर्घटना भएको हो। उपचारमा लागेको पैसा कम्पनीले तिर्नुपर्नेमा कामदारमाथि दबाब छ,” दिल पुन भन्छन्, “मुद्दामा जान पनि वकिलकै लागि मात्र १५ देखि २० हजार दिराम (पाँच लाख ४० हजारभन्दा बढी) खर्च लाग्छ। त्यो पैसा पनि जुटाउन सक्ने अवस्था छैन।” 

पुनका अनुसार ओलीलाई स्वदेश फर्कने वातावरण मिलाउन यूएईस्थित नेपाली दूतावासलाई अनुरोध गरिएको छ। “उनलाई हामीले आलोपालो गरेर बस्ने र खाने व्यवस्था मिलाएका छौँ,” पुन भन्छन्, “घर फर्कने वातावरण नहुँदासम्म यहाँ खानबस्नका लागि एनआरएनए (गैरआवासीय नेपाली संघ) सँग पनि अनुरोध गरेका छौँ।” 


सम्बन्धित सामग्री