Sunday, May 12, 2024

-->

सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

त्रिवि, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थीले इन्जिनियरिङ पढ्न सक्ने क्षमता रहेको छ।

सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै मेकानिकलमा न्यून

काठमाडौँ– स्नातक तहको इन्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल इन्जिनियरिङअन्तर्गत पुलचोक क्याम्पसमा १०८ स्थान (कोटा) रहेकामा एक स्थान मात्र भर्ना हुन बाँकी छ।

सो विषयमा थापाथली क्याम्पसमा ३६ स्थानमध्ये नौमा भर्ना हुन बाँकी छ। ती दुई क्याम्पसमा कम्प्युटर इन्जिनियरिङमा क्रमशः ३६ र १२ स्थान रहेकामा सबैमा भर्ना भइसकेका छन्। इलोक्ट्रोनिक्स, कम्युनिकेसन र इन्फर्मेसन इन्जिनियरिङमा ती क्याम्पसमा क्रमशः २४/२४ स्थान रहेकामा सबै सिटमा भर्ना भइसकेका छन्। अन्य क्याम्पसमा पनि ती विषयमा विद्यार्थी भरिन थालेका छन्।

मेकानिकल इन्जिनियरिङमा पुलचोक क्याम्पसमा २४ स्थान रहेकामा दुई स्थान खाली छ। थापाथली क्याम्पसमा सो विषयमा ३६ स्थान रहेकामा हालसम्म १८ विद्यार्थी मात्रै भर्ना भएका छन्। जिओम्याट्रिक्स इन्जिनियरिङमा पश्चिमाञ्चल क्याम्पसमा ३६ स्थान रहेकामा अझै १३ स्थान भर्ना हुन बाँकी छ।

त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार ३४४ विद्यार्थीले स्नातक तहमा इन्जिनियरिङ पढ्न सक्ने क्षमता रहेको इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन एवं प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्यले जानकारी दिए। उनका अनुसार पाँच सरकारी (आंगिक) क्याम्पसमा ६०० विद्यार्थीले पढ्न पाउँछन्। निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशीताका आधारमा ३१  प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन्। शुल्क तिरेर पढ्ने एक हजार ४०० विद्यार्थी हुन्छन्।

त्रिविका अतिरिक्त काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्न सक्ने क्षमता रहेको छ। सबै विषय गरी पुलचोक क्याम्पसमा ६२४ स्थान रहेकामा ३०, थापाथली क्याम्पसमा ४३२ मा १०८, पश्चिमाञ्चल क्याम्पसमा ४३२ मा ११९ र पूर्वाञ्चल क्याम्पसमा ५२८ स्थान रहेकामा १०१ स्थान भर्ना हुन बाँकी रहेका सम्बन्धित क्याम्पसले जनाएका छन्। 

त्यस्तै इन्जिनियरिङ कलेजमा भर्ना हुन बाँकी कोटामध्ये काठमाडौँमा ३८४ मध्ये १५४, कान्तिपुरमा २८८ मध्ये २०९, सगरमाथामा १४४ मध्ये ६२, एडभान्स्ड इन्जिनियरिङ कलेजमा ३३६ मध्ये १६०, हिमालयमा २४० मध्ये १३६, नेसनल कलेज अफ इन्जिनियरिङमा २४० मध्ये २९, ललितपुरमा ९६ मध्ये ५५, काथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा १९२ मध्ये १०३, जनकपुर इन्जिनियरिङ कलेजमा १९२ स्थानमध्ये १७२, ख्वपः इन्जिनियरिङ कलेजमा १९२ मध्ये २७ र चितवनमा २४ मध्ये दुई स्थान बाँकी छन्।

सहायक डीन प्रा.डा. बज्राचार्यले भर्ना प्रक्रिया जारी रहेको अवस्थामा अहिले तेस्रो सूचीसम्म मात्र पुगेकाले समग्रमा विद्यार्थी कम भएको भन्न नमिल्ने बताए। विषयगत रूपमा हालसम्मको भर्ना भएको तथ्यांक हेर्दा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्सका तुलनामा मेकानिकल र जिओम्याट्रिक्स इन्जिनियरिङमा विद्यार्थी कम मात्रामा भर्ना भएको उनको भनाइ छ। 

समग्रमा इन्जिनियरिङ विषयमा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि प्रवेश परीक्षामा अनुपस्थित हुने विद्यार्थी बढेकाले भर्ना हुनेको संख्या केही घट्ने आकलन गरिएको छ। उनले बाहिर प्रचार गरिए जस्तो विद्यार्थीको कमी भएको भन्नेमा सत्यता नभएको जिकिर गरे। 

“पुस २२ गतेसम्म भर्नाको समय तोकिएको छ। माघ २ गतेदेखि नियमित कक्षा सञ्चालन हुन्छ। पढाइ शुरू हुनु अघिसम्म भर्ना लिइन्छ। अहिल्यै विद्यार्थी कम भए भनेर विश्लेषण गर्न मिल्दैन,” बज्राचार्यले भने, “कतिपय विषय र क्याम्पसका सवालमा विगतको जस्तो आकर्षण नहुन सक्छ। हामी अहिले नै विश्लेषण गरेर चिन्तित हुनुपर्ने अवस्था छैन।” 

हालसम्म भर्नाको तेस्रो सूचीसम्म प्रकाशन भएको जनाउँदै १२औँ सूचीसम्म प्रकाशन हुने जानकारी दिए। उनका अनुसार गतवर्ष तेस्रो सूची आउँदा ६६ प्रतिशत भर्ना भएकामा यस वर्ष यो संख्या दुई प्रतिशतले कम भएर ६४ प्रतिशत भर्ना भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) का प्रशासन प्रमुख राजीव तिमिल्सिनाका अनुसार सो कलेजमा सिभिल इन्जिनियरिङमा १४४ स्थान रहेकामा हालसम्म ४० र कम्प्युटर इन्जिनियरिङमा ४८ स्थान रहेकामा २५ विद्यार्थीले भर्ना गरिसकेका छन्। कोभिड–१९ को महामारीपछि पछिल्ला दुई वर्षयता लगातार विद्यार्थी घट्नुमा प्रदेश स्तरमा कलेज सञ्चालन हुनु, विद्यार्थी प्रवेश परीक्षाको झन्झटमा लाग्न नचाहनुलगायत कारण हुनसक्ने उनले बताए। 

त्रिविको अध्ययन संस्थानभित्र विद्यार्थी संगठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामाका कारण प्रवेश परीक्षाको मिति पछि सर्दा शैक्षिक वर्ष २०८०/८१ को प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी घटेको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. बज्राचार्यले बताए। 

बोर्डले शुरूमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाए पनि आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो। यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार मात्रै सहभागी भएको उनले जानकारी दिए। गत वर्ष नौ हजार ४०० ले आवेदन दिएकामा १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित थिए।

संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि २० गतेसम्म लिइएको प्रवेश परीक्षामा यस वर्ष सूचना प्रविधिका आधारमा पहिलो पटक कम्प्युटर विधिमार्फत प्रादेशिक रूपमा परीक्षा सञ्चालन गरिएको छ। आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो। 

तत्पश्चात् विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिन्छन्। बोर्डले तोके अनुसार न्यूनतम अंकभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रम अनुसार भर्ना लिइनेछ।

इन्जिनियरिङका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान
यसैबीच, नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन्। सो कलेजका विद्यार्थी विप्लव पनेरु र हालै स्नातक गरेका अनुप पौडेलका साथै पुलचोक क्याम्पसका केमिकल इन्जिनियरिङअन्तर्गत स्नातक चौथो वर्षका विश्व पनेरुले उक्त अनुदान प्राप्त गरेका हुन्।

उनीहरूले ‘टेक्नो–इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सीओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि अनुदान पाएका हुन्। विप्लव, अनुप र विश्व तिनै जनाले युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका जनाइएको छ। यो परियोजना एशियाबाट एक मात्र छनोट भएको परियोजना हो।


सम्बन्धित सामग्री