Friday, May 03, 2024

-->

कुशल मल्लको लय बन्न सक्छ विश्वकप पुग्ने कडी

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी२० विश्वकपमा नेपालको खेल देखेर क्रिकेटर बनेका कुशल सेमिफाइनल जितेर विश्वकपमा पुग्न आतुर देखिन्छन्।

कुशल मल्लको लय बन्न सक्छ विश्वकप पुग्ने कडी
तस्वीर : क्यान

काठमाडौँ– कुशल मल्लको अर्धशतकप्रेरित नेपाल आईसीसी टी–२०आई विश्वकप एशिया छनोटमा मंगलबार मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा पुग्यो। पछिल्लो समय लयमा देखिएका कुशल उत्कृष्ट प्रदर्शनमा मलेसियामाथि सहज जित हात पारेसँगै नेपालले दुई खेलमा ४ अंक जोड्यो। 

कुशल नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ओपनिङदेखि फिनिसिङसम्मका भूमिका निर्वाह गर्न सक्ने खेलाडी हुन्। ठूला शट्स र आक्रामक ब्याटिङका लागि परिचित उनी पार्ट टाइम स्पिनरको रूपमा विपक्षीको साझेदारी तोड्नसमेत माहिर छन्। त्यसैले उनलाई नेपाली क्रिकेटमा लामो यात्रा गर्न सक्ने खेलाडीको रूपमा हेरिएको छ। उनै कुशलले उमेर समूह र घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्नै सन् २०१९ मा सिनियर टोलीमा स्थान बनाए।

सिंगापुरमा भएको घरेलु टोली, नेपाल र जिम्बावेविरुद्धको त्रिकोणात्मक टी–२०आई सिरिजमार्फत उनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। जिम्बावेविरुद्ध कृजमा उत्रिएका उनी आशा गरिएझैँ खरो उत्रिन सकेनन्। त्यसपछि ओमानमा भएको पेन्टाङ्गुलर टी–२० आई सिरिज (हङकङ, आयरल्यान्ड, नेपाल, नेदरल्यान्ड्स र ओमान) र दक्षिण एसियाली खेलकुदमा त उनी राष्ट्रिय टोलीबाट ‘ड्रप’ नै भए।

यद्यपि, एसीसी पूर्वीक्षेत्र टी–२० क्रिकेट प्रतियोगितामा पुनरागमन गरेका उनले कहिल्यै पनि पछाडि फर्किन परेन। चीनमा गत असोजमा भएको १९औँ एशियाली खेलकुदमा त मंगोलियाविरुद्ध मात्र ३४ बलमा १०० रनको नयाँ कीर्तिमान नै बनाए। 

मंगलबारको खेलमा एक समय कमजोर देखिएको नेपालको इनिङ्स उकास्दै जितनजिक पुर्‍याएको देख्दा मलेसियाका कप्तान अहमद फैजले समेत कुशलको तारिफ गर्न भ्याए। “आजको खेलमा उनले राम्रो ब्याटिङ गरे। अहिले मात्रै होइन उनले पहिला पनि धेरै पटक यस्तो ब्याटिङ गरिसकेका छन्। तर, अहिले उनको ब्याटिङमा निखार आएको छ। हामीलाई हराउन उनको इनिङ्सले पनि नेपाली टोलीलाई सहयोग गर्‍यो,” उनले खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने।


पहिलो खेलमा १२१ रनमै अलआउट हुँदै मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो। तर, मंगलबार दोस्रो खेलमा नेपालविरुद्ध मलेसियाले १६६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो। यसअघि मलेसियाले जत्रो लक्ष्य दिए पनि नेपालले भेट्टाउन सकेको थिएन। यद्यपि, पहिलो इनिङ्समा ३१४ रनको कीर्तिमानी स्कोर खडा गरिसकेको छ। तर, चेजको मामिलामा भने नेपाल सधैँ कमजोर रहेको इतिहास छ। 

एशियाली खेलकुदमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले १८९ रन मात्रै बनाउन सकेको थियो। ‌ओमानमा गत वर्ष भएको चार देशीय टी–२०आई सिरिज (ओमान, आयरल्यान्ड, नेपाल र यूएई)मा पनि यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले १६७ रनभन्दा माथि बनाउन सकेन।

यही इतिहासलाई सच्याउने योजनामा रहेको नेपाली टोलीका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ सेखले ४९ रनको राम्रो साझेदारी गरेका थिए। यद्यपि, छैटौँ ओभरको दोस्रो बलमा पवनदीप सिंह र सर्विन मुनिएन्डीले उक्त साझेदारी टुटाइदिए। त्यसपछि क्रिजमा आएका कुशलले पवनदीपको दुई बल डट खेल्दै पाँचौँ र छैटौँ बलमा चौका र छक्का प्रहार गरे। 

आक्रामक ब्याटिङ गर्ने संकेत देखाइसकेका उनले १७औँ ओभरको पाँचौँ बलसम्म क्रिजमा रहेर नेपाललाई जितनजिक पुर्‍याएका हुन्। ३४ बलमा २ चौका र ७ छक्कासहित ६५ रन बनाउँदै पेभिलियन फर्किएका उनी खुशी भने देखिएनन्। “चान्स आएको थियो, अगाडि ब्याटिङ गर्ने। फिनिसिङ गर्नुपर्ने फिनिसिङ भएन,” उनले भने। 

सुनसरीको इनरुवामा जन्मिएका कुशल स्कुल लिग र यू–१६ मा ओपनिङ नै गर्न गरेका थिए। यू–१९ र फ्रेन्चाइजी लिगमा तल्लोक्रममा ब्याटिङ गर्ने गरेका कुशललाई सन् २०२० मा थाइल्यान्डको बैंककमा भएको एसीसी पूर्वक्षेत्र टी–२० क्रिकेट प्रतियोगिताका तीन खेलमा ओपनिङमै फर्काइएको थियो।

तर, सोचेजस्तो सफलता प्राप्त गर्न नसकेका उनले पछिल्लो समय तेस्रो नम्बरमा खुलेर खेल्न थालेका छन्। हुन् त, तेस्रो नम्बर नेपाली टोलीमा खुल्ला नै छ। यो पोजिसनमा मुख्य प्रशिक्षक मोन्टी देसाईले कप्तान रोहितकुमार पौडेलदेखि तल्लोक्रमका सोमपाल कामीसम्मको प्रयोग गरिसकेका छन्। तर, कुनै खेलाडी फिट नभएर समस्या झेलिरहेका बेला कुशलले नेपाली टोलीको समस्यालाई हल गर्ने संकेत दिएका छन्।


यसअघि मंगोलियाविरुद्ध अविजित रहँदै १३७ रनको कीर्तिमान बनाउँदा पनि उनले तीन नम्बरमै उत्रिएर ब्याटिङ गरेका थिए। त्यसयता भएका ९ खेलमध्ये ५ खेलमा तीन नम्बरमा उत्रिएका उनले परेको बेला मलेसियाविरुद्ध नेपाली टोलीको उद्धार नै गरे। 

मलेसियाका लेफ्ट आर्म स्पिनर पवनदीप सिंहविरुद्ध खुलेर खेलेका उनले २६ बलमै १ चौका र ६ छक्काको मद्दतमा करिअरको तेस्रो अर्धशतक पूरा गरे। उनीविरुद्ध खेल्न आफूलाई सहज भएको उनी बताउँछन्। “सानो इन्डमा लेफ्ट आर्मले बल फ्याँकिरहेको थियो। त्यसैले मैले टार्गेट गरेँ,” उनी भन्छन्। 

उनले पवनदीपको बलमा ४ छक्का र १ चौका प्रहार गरे। उनी रन लिन लागेको अवस्थामा आफूलाई संसारको जुनसुकै मैदान सानो लाग्ने बताउँछन्। यदि, रन नलागे जुनसुकै मैदान पनि आफ्नो लागि ठूलो लाग्ने उनको तर्क छ। 

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा नेपालको देखेर क्रिकेटमा उनी लागेका हुन्। त्यहीबाट क्रिकेटर बन्ने सपना बुनेका उनलाई एक दशकपछि विश्वकपमा पुग्ने हुटहुटी जागेको छ। उक्त मञ्चमा पुग्न नेपाली टोली यात्रा धेरै टाढा देखिँदैन। अब नेपालले सेमिफाइनलमा एक टोलीलाई पराजित गरे उनको हुटहुटी समाप्त हुने छ। 

त्यसैले सेमिफाइनलतिर नजर रहेको उनी सुनाउँछन्। “मेरो लागि यो प्रतियोगिता एकदमै महत्त्वपूर्ण छ। हामीले ठूलो मौका पाएका छौँ। सेमिफाइनल जिते हामी विश्वकपमा पुग्ने छौँ। यसका लागि म निकै उत्साहित छु,” उनी भन्छन्।


सम्बन्धित सामग्री