Wednesday, May 08, 2024

-->

एक दशकपछि टी२० विश्वकपमा फर्कन आतुर नेपाल

सन् २०१४ मा नेपालले पहिलोपटक टी२० विश्वकप खेल्दा 'स्क्रिन'मा हेरेर त्यही प्रेरणाले क्रिकेट खेल्न थालेका युवा पुस्ताको बाहुल्य रहेको राष्ट्रिय टोली एक दशकपछि सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

एक दशकपछि टी२० विश्वकपमा फर्कन आतुर नेपाल
तस्वीर : क्यान

काठमाडौँ– सन् २०२२ मा अस्ट्रेलियामा टी२० विश्वकप क्रिकेट हुँदै थियो। उक्त विश्वकप क्वालिफायर 'ए' मा नेपाल सेमिफाइनल पुगेको थियो। फाइनल पुग्ने दुई देशले विश्वकप खेल्न पाउने थिए। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपाललाई आठ वर्षपछि त्यही प्रतिस्पर्धामा फर्कने अवसर थियो।

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई थियो। समूह चरणमा फिलिपिन्स, क्यानडा र विश्वकपमा पुग्ने बलियो दाबेदार मानिएको ओमानलाई पराजित गरेको नेपालको आत्मविश्वास मजबुत भएको मानिएको थियो। तर सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो।

विश्वकप छनोटका लागि अन्तिम खेल खेलिरहेको नेपालको बलिङ र ब्याटिङ दुवै निराशाजनक भएको थियो। पहिला ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। ओपनिङमा आएका मोहम्मद वासिमले ४८ बलमा ७० र तेस्रो नम्बरमा आएका वृत्य अरविन्दले २३ बलमा ४६ रन बनाएका थिए।

जवाफी ब्याटिङ गरेको नेपाल १०७ रनमा नै अलआउट भएको थियो। नेपालका लागि तीन जना ब्याटर दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र ज्ञानेन्द्र मल्लले मात्र दोहोरो अंकमा रन बनाएका थिए। ओपनर कुशल मल्ल ७ रनमा बाहिरिँदा अर्का ओपनर आसिफ सेख र तेस्रो नम्बरमा आएका लोकेश बम डकआउट भएका थिए। 

एक वर्षपछि नेपालको घरेलु मैदानमा सोमबारबाट हुने विश्वकपको एशिया छनोटमा फेरि नेपालसहित यूएई र ओमनलाई बलियो दाबेदार मानिएको छ। यद्यपि, एक वर्षको अन्तरालमा नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ। अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकरसँगै अर्का ब्याटर लोकेश बम तथा बलरहरू जितेन्द्र मुखिया, सागर ढकाल र कमलसिंह ऐरी टोलीमा छैनन्। यद्यपि, युवा खेलाडी समेटिएको नेपाली टोली पछिल्लो समय बलियो देखिएको छ। 

विश्वकप छनोटअघि भएको त्रिकोणात्मक टी२० आई सिरिजमा यूएई र हङकङलाई लिग चरणमा २/२ खेलमा पराजित गरेर फाइनल पुगेको थियो। फाइनलमा भने यूएईसँग पराजित भएको थियो।

नेपाल यसपटक पुन: विश्वकपको मञ्चमा फर्किनेमा आशावादी रहेको मुख्य प्रशिक्षक मोन्टी देसाईको भनाइ छ। “अस्ति (त्रिकोणात्मकको फाइनलमा) के भयो त्यसमा ध्यान दिएका छैनौँ। अहिले हाम्रो ध्यान विश्वकप छनोटमा छ। सबै खेलाडी फ्रेस छन्, उनीहरूले खेलबाहेक धेरै अतिरिक्त कुरा पनि सिकेका छन्। त्यसैले आत्मविश्वासी देखिन्छन्,” देसाई भन्छन्, “यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेछौँ र विश्वकपमा छनोट हुनेछौँ।” 


विश्वकप छनोटको खुट्किलो नेपालले सन् २०१३ मा एकपटक मात्र पार गरेको छ। त्यतिबेला यूएईमा भएको टी२० विश्व छनोटमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै बंगलादेशमा आयोजना भएको विश्वकपमा स्थान बनाएको थियो। उक्त प्रतियोगितामा समूह चरणका शुरूआती दुई खेलमा डेनमार्क र केन्यालाई पराजित गर्दै नेपालले शानदार शुरुआत गरेको थियो। दोस्रो खेलमा केन्याविरुद्ध १८३ रनको लक्ष्य नेपालले ४ विकेट क्षतिमा पूरा गरेको थियो।

त्यसपछिका खेलमा भने नेपाल स्कट्ल्यान्ड, नेदरल्यान्ड्स र अफगानिस्तानसँग पराजित भएको थियो। तर बर्मुडा र पपुवा न्यू गिनीविरुद्ध जित हासिल गर्दै नेपाल समूह चरणमा शीर्ष तीनमा रहेर क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तानसँग ९० रनमै समेटिएको थियो। त्यसपछि, तेस्रो स्थानका लागि भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको थियो।

विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गर्दै नेपालले सनसनी मच्चाएको थियो। तर त्यसपछि नेपालको खेल खस्कियो। सन् २०१५ मा आयरल्यान्ड र स्कट्ल्यान्डमा भएको छनोटमा नेपालले अमेरिकाबाहेक अन्य राष्ट्रलाई पराजित गर्नै सकेन। नेपाल आयरल्यान्ड, हङकङ, पपुवा न्यू गिनी र जर्सीसँग पराजित भयो। नामिबियासँग भने वर्षाको कारण खेल हुन सकेन।

नेपालले सन् २०१८/१९ मा एशियाली क्षेत्रीय छनोटमा सिंगापुर, मलेसिया, थाइल्यान्ड, भुटान, म्यानमार र चीनलाई पराजित गर्दै विजेताको रूपमा ग्लोबल छनोटमा स्थान बनाएको थियो। तर सिंगापुर र कतारसँग ८२ र ४ विकेटले पराजित हुँदै नेपाल एशियाली छनोटबाट बाहिरियो।

एक दशकपछि नेपालको सम्भावना
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा नेपाल १० वर्षपछि फर्किने सम्भावना छ। यसपटक घरेलु मैदानमा भइरहेको छनोटमा नेपालका लागि मुख्य प्रतिस्पर्धी सिंगापुर, ओमान र यूएई नै रहेको मुख्य प्रशिक्षक देसाई बताउँछन्। नेपाल रहेको समूह 'ए'मा सिंगापुर र ओमानसहित मलेसिया पनि छ। समूह 'बी'मा यूएई, हङकङ, बहराइन र कुवेत छन्।

मुख्य प्रशिक्षक देसाई सिंगापुर, ओमान र यूएई पछिल्लो समय राम्रो लयमा रहेको बताउँछन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरविरुद्ध खेल्दैछ। ओमानले गत महिना गल्फ क्रिकेट टी२०आई प्रतियोगिताको फाइनलमा यूएईलाई पाँच विकेटले हराएको थियो। समूह चरणमा भने यूएईले ओमानसहित कतार, कुवेत र साउदी अरबमाथि  प्रभावशाली जित हासिल गरेको थियो।

यता, यूएईले नेपालले नै आयोजना गरेको त्रिकोणात्मक टी२०आई श्रृंखलाको फाइनलमा घरेलु टोलीलाई ४ विकेटले पराजित गरेको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक देसाई विश्वकपको एशिया छनोटमा कुनै टिमलाई पनि कमजोर नआँकेको बताउँछन्। आइतबार नेपाली टोलीको अभ्यास सत्रमा सञ्चारकर्मीसँग कुरा गर्दै देसाईले टी२० 'फास्ट फर्म्याट'को खेलमा नतिजा जे पनि हुन सक्ने बताए।

“टी२० फास्ट खेल हो। यो खेलमा जे पनि हुन सक्छ भन्ने हामीलाई थाहा छ। सबै खेलाडीले आफ्नो भूमिकाबारे बुझेका छन्। घरेलु दर्शककासामु टोलीलाई विश्वकपमा छनोट गाउने प्रेसर छ,” उनी भन्छन्।

यसपटक विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्। एशिया छनोटको फाइनलमा पुग्ने दुई टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन्।

नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य
सन् २०१४ मा नेपालले टी२० विश्वकप खेलेपछि नै सन्दीप लामिछाने र रोहितकुमार पौडेलले क्रिकेट खेल्ने सपना बुनेका थिए। नेपालले पहिलोपटक विश्वकप खेल्दा राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका रोहित नौ वर्षपछि टोलीको कप्तानी भूमिकामा छन्। सन्दीप पूर्वकप्तान हुन्। उनीहरूसँगै राष्ट्रिय टोलीमा कुशल भुर्तेल, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सन्दीप जोरा, प्रतीश जिसी, विवेक यादव, ललितनारायण राजवंशीजस्ता युवा खेलाडी छन्। यो पुस्ता विश्वकपका लागि उत्साही रहेको रोहित बताउँछन्।

“धेरैजस्तो प्लेयरहरू २०१४ मा नेपालले विश्वकप खेलेको हेरेपछि खेल्न थालेका हुन्। त्यो उत्साह फिल गर्न सक्छौँ। त्यसैले व्यक्तिले भन्दा पनि टोलीले विश्वकप छनोट पार गर्नुपर्छ भन्ने लक्ष्य लिएका छौँ। त्यो पूरा हुने उच्च सम्भावना देखिन्छ,” उनी भन्छन्।


यसपटक टोलीमा सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामी र विनोद भण्डारी हुन्। सोमपालले सन् २०१४ मा १८ वर्षको उमेरमै विश्वकपको अनुभव हासिल गरेका थिए। समूह चरणका सबै खेल खेलेका उनले १ मेडनसहित ६६ रन दिँदै ४ विकेट लिएका थिए। त्यसयता टी२० अन्तर्राष्ट्रियमा ५० इनिङ्स खेलिसकेका उनले ४८ विकेट लिएका छन्। उनीसँगै सन् २०१४ को विश्वकपमा ‘ड्रेसिङ रूम’ सेअर गरेका विनोद भने चल्न सकेनन्। उनले उक्त प्रतियोगितामा केवल ५ रन बनाए। त्यसयता २८ इनिङ्स खेलेका उनले ३३२ रन बनाएका छन्। 

यद्यपि, सबै खेलाडी सबै खेलमा नचल्ने रोहित बताउँछन्। अहिले टोलीमा टी२० स्वरूपमा अनुभव बटुलिसकेका सन्दीप, दीपेन्द्र र कुशल मल्लजस्ता खेलाडी भएका कारण राम्रो खेल प्रदर्शन गर्ने उनको भनाइ छ।

नम्बर तीन अनिश्चित
पारस खड्काको सन्न्यासपछि नेपाली टोलीमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने क्षमताका खेलाडीको अभाव छ। उनको सन्न्याससँगै भीम सार्की, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, देव खनाल र कप्तान रोहितलाई ओडीआई स्वरूपमा तेस्रो नम्बरमा प्रयोग गरिसकिएको छ। तर यी खेलाडी उक्त स्थानमा प्रभावकारी हुन सकेका छैनन्। 

ओडीआईमा देखिएको समस्या टी२० मा पनि देखिन थालेको छ। अहिले पनि टोलीमा प्रयोग जारी नै छ। रोहित क्रिकेटमा ओपनरबाहेक अन्य भूमिका निश्चित नहुने बताउँछन्।

“क्रिकेटमा ओपनर फिक्स हुन्छ। त्यसपछि कन्डिसन हेर्नुपर्छ। लेफ्ट आम बलिङ छ कि के छ भन्नेमा भर पर्छ। अहिले म, कुशल र दीप्पी (दीपेन्द्र) सबैजना फ्लेक्जिबल छौँ। सबै फ्लेक्जिबल हुनुपर्छ,” उनी भन्छन्।

बलरमाथि भर!
विश्वकप छनोटमा नेपाल पूरै बलरमा केन्द्रित भएको छ। बलिङ डिपार्टको मुख्य भूमिकामा करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा र ललितनारायण राजवंशी छन्।

अलराउन्डर गुलशनकुमार झा र प्रतीश जीसी मध्यम गतिका बलर हुन्। कुशल मल्ल, दीपेन्द्र, कुशल भुर्तेल र कप्तान रोहित स्पिनर हुन्। भुर्तेल र रोहित नियमित बलर होइनन्। 

विश्वकप छनोटमा बलरको मुख्य भूमिका हुने निश्चितजस्तै छ। अनुभवी तथा तीव्र गतिका सोमपाल र करणलाई स्पिनर सन्दीप र ललितका साथै अविनाशले बलिङमा साथ दिनेछन्। धेरै फ्रेन्चाइजी लिगको अनुभव बटुलिसकेका सन्दीपले टी२० आईका ४७ इनिङ्समा ८९ विकेट लिइसकेका छन्। उनलाई पछ्याइरहेका करणले ७४ र अविनाशले ५५ विकेट लिएका छन्। यता, सोमपालले ४८ र ललितले २८ विकेट लिएका छन्।

नेपाल यसपटक अलराउन्डरबाहेक पाँच मुख्य बलर लिएर उत्रिँदै छ। यसले गर्दा प्रत्येक खेलमा एक अनुभवी बलर या अलराउन्डर बेन्चमा बस्नुपर्ने हुन्छ। रोहित भने यसमा पनि समाधान खेजिएको बताउँछन्। अवस्था हेरेर कसलाई खेलाउने भन्ने निर्णय लिने उनको भनाइ छ।

“त्यो दिनको कन्डिसन कस्तो छ, त्यो हेरेर निर्णय लिन्छौँ। सन्दीप दाइ आएपछि टोलीमा ब्यालेन्स राम्रो हुन्छ। उहाँ टी२० को लागि उपयोगी बलर मानिनुहुन्छ। त्यसैले अब त्यो दिन कस्तो हुन्छ हेरेर निर्णय गर्छौँ,” उनी भन्छन्।

रोहित नम्बर १० सम्मै ब्याटर रहेको बताउँछन्। यद्यपि, यूएईविरुद्धको फाइनल खेलमा भने करण र सोमपालले राम्रो फिनिसिङ गर्न सकेनन्। यद्यपि, रोहित फाइनलबाहेक लिग चरणका सबै खेलमा राम्रो फिनिसिङ भएको दाबी गर्छन्। “फाइनलमा करण दाइले पनि राम्रो गरिरहनु भएको थियो। तर विपक्षीलाई देखेर प्रेसर फिल गर्नुभएको होला। यसपटक पनि हामी राम्रै गर्छौं,” उनी भन्छन्।


सम्बन्धित सामग्री