काठमाडौँ– पछिल्लो दुई महिनायता धरान, मलंगवा हुँदै नेपालगञ्जसम्म देखापरेका धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने उग्र गतिविधिले धेरैलाई संवेदनशील बनाए। कतिपयले समाजलाई जबरजस्ती धार्मिक र जातीय द्वन्द्वमा धकेल्न खोजिएको, त्यसमा बाह्य शक्तिहरू नै सक्रिय रहेकाले स्थिति सोचेभन्दा धेरै गम्भीर रहेको बताइरहेका छन्।
समाजका अगुवाहरू नै स्वःस्फूर्त रूपले सद्भाव जोगाउन जुर्मुराउँदा, राजनीतिक दलका स्थानीय कार्यकर्ता, प्रहरी–प्रशासनलगायतका राज्य–संयन्त्र समयमै चनाखो बन्दा धरानदेखि नेपालगञ्जसम्म पुग्दा सद्भाव बिथोल्ने प्रयत्न विफल भयो। तर धार्मिक र जातीय द्वन्द्व शुरू गराउन खोजेका या चाहेका शक्ति र समूह योजनाबद्ध प्रयत्नमा लागिरहेकाले अगाडिका दिन सहज नभएको चर्चा अहिले पनि चलिरहेकै छ।
सुरक्षा संयन्त्रहरूले जम्मा गरेका सूचना र तिनको विश्लेषणले यस्तो द्वन्द्व शुरू गराउन मुलुकको सरहद बाहिरबाट समेत प्रयत्न भइरहेको देखाउँछ। देशको संवेदनशील यो अवस्थाले लामो समयदेखि धार्मिक तथा जातीय द्वन्द्वको चपेटामा परेका देशहरूको तस्वीर नियाल्न बाध्य पार्छ। यहाँ तिनैमध्येका केही मुलुक कसरी धार्मिक तथा जातीय द्वन्द्वको चपेटामा परे र त्यहाँबाट निस्कन कति कठिन छ भन्नेबारे चर्चा गर्न खोजिएको छ।
इजरायल–प्यालेस्टाइनको बर्बादी
धार्मिक द्वन्द्वमा फस्दै जाँदा देश कसरी भयानक युद्धको भुमरीमा जाकिन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ अहिले जारी इजरायल–प्यालेस्टाइन युद्ध। यी दुई देश अस्तित्वमा आएदेखि नै कहिल्यै शान्त रहेनन्। तर अहिले भइरहेको युद्ध विगत ५० वर्षयताकै सबभन्दा शक्तिशाली युद्ध हो।
यो युद्ध हुनुमा भूराजनीतिक कारणसँगै धार्मिक कारणलाई पनि प्रमुख मानिन्छ। अघिल्लो वर्ष (सन् २०२२ को) मे महिनामा इजरायलका ज्येष्ठ सांसद, संसद्को विदेश मामिला तथा रक्षा समितिका अध्यक्ष राम बेन बाराकले धार्मिक युद्ध निम्तिने जोखिम रहेको भन्दै त्यसो हुन नदिन संसद्मै उभिएर आग्रह गरेका थिए।
त्यतिबेला उनले यहुदीहरूले जेरुसेलममा रहेको अल अक्स मस्जिदअगाडि झन्डा–मार्च गरेको भन्दै सम्भावित द्वन्द्वबारे सबै सचेत हुनुपर्ने बताएका थिए। स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेका थिए, “यस्तो संवेदनशील समयमा सुरक्षामा ध्यान दिइनुपर्छ, हामीले आफ्नै हातले धार्मिक द्वन्द्व निम्त्याउने तथा मध्यपूर्वलाई प्रज्वलित पार्ने खालका गतिविधि गराउनु हुँदैन।”
संसद्का ज्येष्ठ सदस्यले भनेजस्तो अवस्था पहिलोपटक देखिएको थिएन। सन् १९६७ मा पनि यहुदीहरूको समूहले मुस्लिमको विरोधमा त्यहा ‘मार्च’ गरेको थियो। उनीहरूले अर्को सम्प्रदायविरोधी नाराबाजी नै गरेका थिए। त्यसपछि नै इजरायल र अरब देशहरूबीच युद्ध भड्किएको थियो।
अघिल्लो वर्ष इजरायलको एक अदालतले उक्त मस्जिदबाहिर यहुदीहरूलाई ठूलो स्वरले प्रार्थना गर्न छुट दिएको थियो। त्यो सँगै इस्लामिक कट्टरपन्थी समूह हमास चिढिएको थियो। हमास त्यही लडाकु समूह हो जसले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको इजरायल–प्यालेस्टाइन युद्ध शुरू भएको छ।
अल अक्स मस्जिद मुस्लिमहरूको तेस्रो ठूलो तीर्थस्थल मानिन्छ। प्यालेस्टिनी भूमिमाथि इजरायलको अतिक्रमणसँगै इस्लामिक धार्मिक क्षेत्रमा हस्तक्षेप भएको भन्दै क्रुद्ध बनेको हमासले गएको अक्टोबर ७ मा सनसनीपूर्ण ढंगले इजरायलमाथि आक्रमण गरेको थियो। त्यसपछि दन्किएको युद्धको आगोमा अहिलेसम्म चार हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। योभन्दा ठूलो मानवीय संकट त्यहाँ बाँच्नका लागि अत्यावश्यक आधारभूत सेवासुविधाले निम्त्याएको छ।
प्यालेस्टाइनको गाजा क्षेत्र अहिले लगभग खण्डहरमा परिणत भएको छ। यद्ध जारी छ। अहिलेका गतिविधि हेर्दा आउँदो समयमा यसले झनै भयानक रूप लिने देखिन्छ।
रुवान्डाको त्यो नरसंहार
जातीय तथा धार्मिक द्वन्द्वले कसरी देशको सुन्दर रूपरेखालाई कुरूप बनाइदिन्छ भन्ने बलियो उदाहरणमध्ये एक हो रुवान्डा। ‘रुवान्डा नरसंहार’ नामले चिनिने भयानक बज्रपात ब्यहोरेको यो पूर्वी अफ्रिकी देशले त्यसको मूल्य चुकाइरहेको छ। १०० दिनमा १० लाख मानिस मारिएको त्यो नरसंहार पछाडिको मुख्य कारण नै जातीय तथा धार्मिक द्वन्द्वलाई मानिन्छ।
रुवान्डामा बहुसंख्यक हुतू र अल्पसंख्यक तुत्सी गरी प्रमुख दुई जातिको बसोबास थियो। उनीहरूले यान्गोन्वे धर्म मान्थे।
संख्यामा कम भए पनि तुत्सीको प्रभाव धेरै थियो। उनीहरू पशुपालनमा संलग्न थिए। तत्कालीन बेलायती शासकहरूले जातीय विभेद गर्दै तुत्सीलाई प्राथमिकता दिएका थिए। हुतूलाई मूलधारमा आउन दिइएको थिएन। संख्यामा धेरै भए पनि यो समुदाय आर्थिक–सामाजिक रूपमा अपहेलित थियो। त्यहीकारण तुत्सीविरुद्ध हुतूले बदलाको भाव पालेका थिए। यो जातीय द्वन्द्वले भर्खर आकार लिन थालेको समय थियो।
सन् १९६२ मा रुवान्डा स्वतन्त्र भयो। त्यो परिवर्तनसँगै शासन पनि त्यहाँको बहुसंख्यक समुदाय, हुतूको हातमा गयो। सत्तामा आएसँगै उनीहरूले तुत्सीसँग पुरानो दुश्मनीको बदला लिन थाले। परिणाम, देशभर दंगा हुन थाल्यो। हजारौँ तुत्सीहरू देश छाडेर भागे। यसरी भागेका उनीहरूले हुतूविरुद्ध लड्न विद्रोही समूह गठन गरे। तीमध्ये ‘रुवान्डा पेट्रियाटिक फ्रन्ट– आरपीएफ’ प्रमुख समूह थियो।
त्यहीबीच सन् १९८० को दशकमा रुवान्डामा इसाई धर्मको प्रवेश भयो। यो धर्मलाई स्थापित गराउन दुई जातीय समूहबीच फाटो ल्याउने चलखेल अघि बढ्यो। यसै पनि जर्जर बन्दैगएको अर्थतन्त्रबीच आर्थिक सहायताको नाममा त्यहाँ चर्चहरूको संख्या बढ्दै गयो।
सन् १९९४ अप्रिल ६ मा भएको जहाज दुर्घटनामा रुवान्डाका राष्ट्रपति हब्यारिमाना र बुरुन्डीका राष्ट्रपति सिप्रेनको मृत्यु भयो। त्यतिबेला रुवान्डामा शासनमा रहेका हुतूहरूले यो दुर्घटनाको आरोप तुत्सी समुदायमाथि थोपरे। त्यो आरोप यति चाँडै फैलियो कि दुर्घटनाको भोलिपल्टै देशभर नरसंहार शुरू भयो। हुतूहरूको सरकारले आफ्ना सैनिकहरूलाई तुत्सी समुदायका मानिसहरूलाई मार्न आदेश दिएको थियो।
१०० दिनसम्म चलेको त्यो गृहयुद्ध–नरसंहारमा १० लाख मानिसको मृत्यु भयो। त्यसमा अधिकांश तुत्सी समुदायका थिए। अनौठो चाहिँ जुन चर्चले सरकार–जनतालाई शान्त हुन अपिल गर्नुपर्ने थियो, त्यो आफैँ पनि नरसंहारमा खुलेर संलग्न भएको थियो। यतिसम्म कि चर्चहरूबाटै हिंसा भड्काउन आदेश जारी गरिएको थियो। पछि पुष्टि नै भयो, त्यो नरसंहारमा आठ जना पादरी स्वयं संलग्न भएर हत्या–हिंसा मच्चाएका थिए।
त्यसबेला रुवान्डामा केसम्म भएको थियो भन्ने पछि एकजना पादरीले नै उजागर गरे। रुवान्डाको क्याथोलिक चर्चका पादरी फिलिप रुकाम्बाले त्यहाँ भएको नरसंहारमा चर्चको भूमिका रहेको २०१६ नोभेम्बर २२ मा सार्वजनिक रूपमै स्वीकार गरेका थिए। उनले त्यो प्रकरणमा माफी पनि मागेका थिए। जातीय तथा धार्मिक हिंसाले कतिसम्म कहालीलाग्दो नरसंहार निम्त्याउन सक्छ भनेर अहिले पनि यो घटनालाई प्रमुख उदाहरणका रूपमा लिइन्छ।
धार्मिक झगडाले ध्वस्त भएको नाइजेरिया
प्राकृतिक स्रोत र साधन, संस्कृति, पर्यटन, फिल्म उद्योग, खानी आदिले भरिपूर्ण देश हो नाइजेरिया। तर यो अफ्रिकी देश अझै पनि गरिबीको चपेटामा छ। ज्यान पाल्नकै लागि त्यहाँका नागरिक मानव तस्करीको धन्दा गरिरहेका छन्। यतिसम्म कि आफ्नै छोराछोरीलाई बेचिरहेका छन्। आखिर किन आयो यस्तो जर्जर अवस्था?
यो सबैको कारण नाइजेरियाले भोगेको धार्मिक द्वन्द्वसँग जोडिन्छ।
इसाई र इस्लामिक समुदायबीचको धार्मिक द्वन्द्वले यो पश्चिम अफ्रिकी मुलुकलाई पटक–पटक युद्धमा धकेलेको छ। नाइजेरियाको उत्तरी क्षेत्रमा मुस्लिम र दक्षिणी क्षेत्रमा इसाई समुदायको बसोबास छ। अहिले उत्तरी क्षेत्रमा आफ्नो हैकम जमाएर बसेको समूह ‘बोको हराम’का आक्रमण र आतंक बढिरहेका छन्। यो समूहबाट बालबालिका अपहरणका घटना दिनप्रतिदिन बढ्दै छन्। क्रुरतापूर्ण हत्याका घटना पनि बढिरहेका छन्। लाग्छ, हत्या त्यहाँको नियति जस्तै हो।
नाइजेरियाका ३६ राज्यमध्येको एक, प्लाटोको राजधानी ‘जास’मा पटक–पटक साम्प्रदायिक तथा धार्मिक द्वन्द्व भएका छन्। सन् २००१, २००८ र २०१० मा यहाँ ठूला द्वन्द्व भएका थिए। यो शहर उत्तरी र दक्षिणी नाइजेरियाको बीचमा पर्छ जुन क्षेत्रमा मुस्लिम र इसाईहरूबीच बर्चस्वको लागि युद्ध भइरहन्छ।
नाइजेरियामा योभन्दा अगाडि पनि मुस्लिम र इसाईहरूबीच सन् १९६० को दशकमा गृहयुद्ध भएको थियो जसमा १० लाख मानिस मारिएका थिए।
नाइजेरियाका आदिवासी समुदाय मानिने अदरा, अतिप, बेरोम, जुकुन, तिभ, तारोकलगायत समुदाय अहिले इसाई बनेका छन्। उनीहरू देशको दक्षिणी क्षेत्रमा बसोबास गर्छन्। उनीहरूविरुद्ध त्यहाँ बोको हराम, अलकायदा, आईएसआईएल आदि समूह सक्रिय छन्। त्यो क्षेत्रकै शक्तिशाली मानिने बोको हरामको उदय सन् २००२ मा भएको थियो। नाइजेरियाको उत्तरी भागमा अहिले यसको कब्जा जस्तै छ। यो समूह पूरै नाइजेरियालाई ‘इस्लामिक मुलुक’ बनाउने अभीष्टमा अघि बढेको छ।
बोको हरामको आक्रमणमा परेर अहिलेसम्म नाइजेरियामा एक लाखभन्दा धेरै मानिस मारिएका छन्। करिब ८० लाख जनसंख्या त्यसबाट प्रत्यक्ष प्रभावित भएको छ। ४० प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको नाइजेरिया यस्ता कैयौँ संकटसँग एकसाथ जुधिरहेको छ।
मुस्लिम–मुस्लिम द्वन्द्वले गृहयुद्धमा भासिएको सिरिया
मध्यपूर्व (पश्चिम एशिया) को मुलुक सिरिया १२ वर्षयता अर्थात् सन् २०११ देखि निरन्तर गृहयुद्धमा फसेको छ। अहिलेसम्म यो मुलुकले गृहयुद्धबाट त्राण पाउने कुनै संकेत देखापरेको छैन। सिरियामा कार्यरत मानव अधिकारसम्बन्धी संघसंस्थाहरूका अनुसार यो १२ वर्षको अवधिमा त्यहाँ पाँच लाख तीन हजारभन्दा धेरै मानिस मारिएका छन्। तीमध्ये एक लाख ६२ हजार सिरियाली सरकारबाट मारिएका छन्। त्यहाँको विद्रोही समूहले एक लाख ४० हजार मानिसको मृत्युको मात्र जिम्मा लिएको छ।
पछिल्लो दश वर्षमा सिरियामा युद्धका कारण दैनिक औसतमा ८४ जना मानिस मारिइरहेको संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायोगले जनाएको छ। त्यहाँका ठूला शहरहरूका साथै धार्मिक तथा ऐतिहासक सम्पदा ध्वस्त भएका छन्। युद्धले सिरियालाई यसरी जकडेको छ कि ७० प्रतिशत जनसंख्या अहिलेसम्म मानवीय सहायतामा निर्भर छ। यति भयानक युद्ध आखिर सिरियाले किन गरिरहेछ?
यसको मुख्य कारण हो मुस्लिम समुदायका दुई सम्प्रदाय सिया र सुन्नीबीचको संघर्ष। विश्वभरका मुस्लिम समुदायको कुल जनसंख्यामध्ये ८५ प्रतिशत सुन्नी र १५ प्रतिशत सिया रहेको आकलन गरिन्छ। सिरियामा ७४ प्रतिशत सुन्नी छन् भने १३ प्रतिशत मात्र सिया मुसलमान छन्। तर यहाँ शासन भने सियाको छ। सुन्नी बाहुल्य मुलुकमा सियाको शासन हुनुलाई नै सिरियाको गृहयुद्धको प्रमुख कारण मानिन्छ। यद्यपि यसमा भूराजनीतिक स्वार्थ पनि उत्तिकै जोडिएको जानकारहरू बताउँछन्।
देखिने कारण चाहिँ के हो भने सिरियामा बसर अल असदको सरकारलाई सुन्नी समुदायले सहँदैन। इस्लामिक कट्टरपन्थी समूह आईएस यही समुदायभित्रबाट जन्मेको हो जसले सिरियामा प्रायः आक्रमण गरिरहन्छ। यो समूहलाई साउदी अरब, अमेरिका र यूरोपेली देशको समेत सहयोग मिलेको छ।
साउदी अरब आफैँमा सुन्नी बाहुल्य देश हो। मध्यपूर्वमा सियाको शासनलाई स्वीकार नगर्ने हुँदा सिया शासनविरुद्ध सुन्नीहरूलाई उक्साउने गरेको आरोप साउदी अरबमाथि लाग्दै आएको छ। इरान, इराक, लेबनान तथा सिरियामा सिया सत्ताको बोलबाला छ। लेबनानको विद्रोही समूह हिजबुल्लाहले पनि सिरियामा बसरको सत्तालाई सहयोग गर्दै आएको छ।
लेबनानको गृहयुद्ध
मध्यपूर्वको सुन्दर देश मानिने लेबनान पनि धार्मिक गृहयुद्धको चपेटामा परिसकेको छ। सन् १९७५ देखि १९९० सम्म १५ वर्षसम्म चलेको लेबनानको गृहयुद्धमा एक लाख २० हजार मानिसले ज्यान गुमाएका थिए।
यो गृहयुद्धलाई लेबनानका विभिन्न धार्मिक र जातीय समूहहरूबीच लामो समयदेखि चलिरहेको संघर्षको परिणाम मान्ने गरिन्छ। मारोनाइट इसाई र सुन्नी–सिया मुस्लिमहरूबीच राजनीतिक प्रभाव र राज्यका स्रोतहरूको लागि भएको प्रतिस्पर्धाले त्यहाँ युद्धको रूप लिएको थियो।
लेबनानका तटीय शहरमा मुख्यतया मुस्लिमभित्रका सुन्नी सम्प्रदाय र इसाई समुदायको बाहुल्य थियो भने इस्लामकै सिया सम्प्रदाय भने दक्षिणी भेग र पूर्वको बेका उपत्यकामा बसेका थिए। त्यहाँको जातीय धार्मिक समूह, ड्रुज इसाई समुदाय भने पहाडी भेगमा बाहुल्य भएको समूहमा पर्छ। यिनै जातीय तथा धार्मिक समुदायहरूबीच तनाव बढ्दा डेढ दशकसम्म गृहयुद्धको चपेटामा परेर थिलथिलो भएपछि बल्लतल्ल पुनरुत्थान हुँदै गरेको लेबनान फेरि धार्मिक विभाजनले निम्त्याएको कलहका कारण गृहयुद्धमा फस्ने खतरा बढेको छ।
अहिले पनि त्यहाँ धार्मिक संगठनहरू सलबलाइरहेका छन्। जस्तो, इसाईहरूको एउटा समूह ‘सोल्जर्स अफ गड’ले त्यहाँ गृहयुद्धका लागि वातावरण बनाइरहेको आरोप लागेको छ। राजधानी बेरुतको पूर्वी भागमा रहेको असरफियेमा आफूलाई ‘गार्डियन एन्जल्स’ भनी चिनाउने इसाई युवाको समूहले हतियारसहित गस्ती गर्ने गरेको छ। लेबनानमा दबदबा बनाएको सिया मुस्लिमहरूको समूह, हिजबुल्लाहसँग त्यो समूहको मुठभेड भइरहन्छ।
आन्तरिक द्वन्द्वकै कारण लेबनान ९२ अर्ब डलर ऋणमा फसेको छ। यो रकम उसको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १७० गुणा बढी हो। यहाँ ३५ प्रतिशत मानिस बेरोजगार छन् भने आधाभन्दा धेरै जनसंख्या गरिबीको रेखामुनि छ। यहाँको आम्दानीको मुख्य स्रोत नै रेमिट्यान्स हो।
छिमेक र अरू एशियाली देश
दक्षिणको छिमेकी देश भारतमा पनि धार्मिक द्वन्द्वका घटनाले बेलाबेला ठूलो रूप लिएका छन्। बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि सन् १९४७ मा भारत–पाकिस्तान विभाजनका क्रममा भएका झडपमा परेर दुई लाखदेखि पाँच लाख मानिसले ज्यान गुमाएका थिए। मुख्यतः हिन्दू र मुस्लिम समुदायबीच उक्त द्वन्द्वले अन्तिममा भारत र पाकिस्तानलाई अलगअलग बनाएको थियो।
त्यसपछि पनि भारतमा पटकपटक हिन्दू–मुस्लिमबीच तथा शिखविरोधी द्वन्द्व चर्किए। त्यसमा पनि हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्।
पूर्वी एशियाली देशहरू इन्डोनेसिया र म्यानमारमा पनि धार्मिक द्वन्द्वले हिंस्रक रूप लिँदा गृहयुद्धसम्म पुगेका घटना धेरै पुराना होइनन्। कुनै समय धार्मिक तथा साम्प्रदायिक द्वन्द्वमा फसेको म्यानमार अहिले गृहयुद्धमा लपेटिएको छ। देशमा सैन्य शासन छ। साम्प्रदायिक विद्रोही संगठनहरूसँग लड्न म्यानमारको जुन्ता सेनालाई धौ धौ भइरहेको छ। म्यानमारमा जारी गृहयुद्ध तथा सैन्य ‘कू’को पछाडि अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि बहुसंख्यक बौद्धमार्गीहरूबाट भएको दमनलाई पनि एउटा कारण मान्ने गरिन्छ।
तत्कालीन आङ साङ सु चीले नेतृत्व गर्ने डेमोक्रेटिक पार्टीले नेतृत्व गरिरहेको सरकारले त्यहाँका मुस्लिम समुदायमाथि गरेको अत्याचार कहीँ न कहीँ अहिलेको म्यानमार गृहयुद्धसँग जोडिएको बताइन्छ। रोहिंग्याविरुद्धको नरसंहारमा २५ हजार मानिस मारिएका थिए भने सात लाख भन्दा धेरै शरणार्थी बनेर पलायन भएका थिए।
इन्डोनेसिया पनि धार्मिक द्वन्द्वबाट अछुतो छैन। सन् १९९८–१९९९ मा त्यहाँका मुस्लिम र इसाई समुदायबीच भएको युद्धमा चार हजार मानिस मारिएका थिए भने पाँच लाख विस्थापित भएका थिए।
भनाई नै छ– जातीय तथा धार्मिक घृणाले मानवता चिन्दैन। सन् १९४१ देखि १९४५ सम्म दोस्रो विश्वयुद्धताका युरोपमा ६० लाख यहुदीहरूको हत्या भएको थियो। त्यो हत्या पछाडिको एउटै कारण धर्म तथा सम्प्रदायप्रतिको घृणा नै हो। जर्मन तानाशाह हिटलरले आफूलाई यशुले प्रचारकको रूपमा पठाएको दुष्प्रचार गर्दै यहुदीहरूलाई छानीछानी मार्न लगाएका थिए।
बीसौँ र एक्काइसौँ शताब्दीका यस्ता धार्मिक तथा साम्प्रदायिक युद्धबाहेक पनि विश्व इतिहासमा अझ त्रूmर युद्ध भएका छन्। तीमध्ये फ्रान्सको धार्मिक युद्धलाई प्रमुख मानिन्छ। त्यो युद्ध इसाई धर्मका दुई सम्प्रदाय प्रोटेस्टेन्ट र क्याथोलिकबीच सन् १५६२ देखि १५९८ सम्म ३६ वर्ष चलेको थियो। प्रोटेस्टेन्ट सम्प्रदायका राजा हेनरी चौँथो क्याथोलिक बनेसँगै उक्त युद्धको अन्त्य भयो। पटक–पटक गरी आठ चरणमा चलेको त्यो युद्धमा २० लाखदेखि ४० लाखसम्म मानिसले ज्यान गुमाएको बताइन्छ। त्यस युद्धका कारण बिथोलिएको भूराजनीतिले अर्को युद्ध निम्त्यायो। फेरि १६१८ देखि ३० वर्षसम्म युरोपली देशहरूमा युद्ध चलेको थियो।
यीबाहेक पनि विश्वमा भयानक धार्मिक युद्ध भएका छन्। सन् १८५६ देखि १८७३ सम्म चीनको युनान प्रान्तमा रहेको क्वीङ साम्राज्यमा त्यहाँको मुस्लिम सम्प्रदाय ह्वि र चीनको तत्कालीन शाही प्रशासनबीच भएको युद्धमा १० लाख मानिस मारिएका थिए।
युद्धसम्बन्धी विश्वकोष (इन्साइक्लोपेडिया अफ वार) का अनुसार विश्वमा अभिलेख भएका एक हजार ७६३ युद्धमध्ये १२१ अर्थात् ६.८७ प्रतिशत युद्ध धर्मका कारण भएका छन्। फ्रान्सेली दार्शनिक मन्टेस्क्यूले एकभन्दा बढी धर्म भएकाले होइन, असहिष्णुताको भावनाले धार्मिक युद्धहरू हुने बताएका छन्। धार्मिक युद्धको व्याख्या गर्न सहज नहुने भन्दै मानवीय विवेकको अन्त्य हुँदा धार्मिक युद्ध फैलिने उनको तर्क छ।