Monday, May 06, 2024

-->

दुई वर्षको द्रुत प्रगतिले राष्ट्रिय टोलीमा उक्लिएका उत्सव

उनको सफलतामा बिर्तामोड नगरपालिकाको सैनिक बजार दंग छ। किनभने त्यस ठाउँले यतिबेला राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने कान्छो खेलाडी पठाएको गर्व गर्न पाएको छ।

दुई वर्षको द्रुत प्रगतिले राष्ट्रिय टोलीमा उक्लिएका उत्सव

काठमाडौँ– स्कुले जीवनमा छँदा उनलाई राष्ट्रिय टोलीमै पुग्छु भन्ने कल्पना पनि थिएन। थियो त राष्ट्रिय टोलीका पूर्वसदस्य तथा प्रशिक्षक प्रवेश कटुवाल र दिलन लोकतामझैँ खेलाडी बन्ने लक्ष्य। त्यसैले उनी खुब फुटबल खेल्थे ताकि सबैले वाह भनून्, टोलीमा मौका दिऊन्। करिब ६ वर्षको उमेरदेखि फुटबलमा होमिएका उनले गाउँका टोले र भाले कपमा धेरै मौका पाए। 

त्यस्ता स्थानीय प्रतियोगिता खेल्दै करिब दुई वर्षअघि शहीद स्मारक ‘ए’ डिभिजन लिग मछिन्द्र फुटबल क्लबमा स्थान बनाएका उनले अहिले नसोचेको सफलता पाएका छन्। उनको सफलतामा झापास्थित बिर्तामोड नगरपालिकाको सैनिक बजार दंग छ। त्यहाँका वासिन्दा दंग किन नहोऊन्! अहिले त्यस ठाउँले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने कान्छो खेलाडी पठाएको गर्व गर्न पाएको छ।

यसै महिना फिफा विश्वकप २०२६ र एएफसी एशियन कपअन्तर्गत घरेलु मैदानमा भएको पहिलो लिगमा लाओसविरुद्ध दोस्रो हाफमा मैदान उत्रिँदै 'डेब्यु' गरेका मिडफिल्डर उत्सव राई अहिले शुरूआती ११ मा पर्न थालेका छन्। उनी भन्छन्, “यति चाँडै यस्तो सफलता पाउँला भनेर सोचेको पनि थिइनँ। अब आफूलाई यही स्थानमा राखिराख्नु छ। अझै धेरै मिहिनेत गर्न बाँकी छ।”

आरसीटीबाट नपत्याइएका उत्सव
करिब पाँच वर्षअघि ‘बी’ डिभिजन लिगका लागि काठमाडौँको यात्रा तय गर्दा १४ वर्षका उत्सव राईको मनमा कुनै प्रश्न थिएन। उमेरले सानै भएर होला, उनी त्यतिबेला आफ्नो फुटबल भविष्यलाई लिएर खासै चिन्तित पनि देखिँदैनथे। तर टोलीको सदस्य बन्ने हुटहुटी उनको अनुहारमा प्रष्ट झल्किन्थ्यो।

२०७५ सालमा आयोजना भएको शहीद स्मारक ‘बी’ डिभिजन लिगका लागि रानीपोखरी कर्नर टिम (आरसीटी) ले काठमाडौँमा युवा खेलाडी छनोट गरिरहेको थियो। यसैका लागि काठमाडौँ ओर्लिएका उनले टिममा पर्न निकै मिहिनेत गरे। आफ्नो क्षमता सबैलाई देखाए। युवा टोलीको समीकरण तयार गर्दा टिममा अटाए पनि लिग सकिँदासम्म उनले आरसीटीको जर्सीमा मैदानमा उत्रिन भने पाएनन्। त्योसँगै उनले लिग खेल्ने सपना नै हापे।

“मेरो लागि त्यो ठूलो मौका थियो। किनभने म यति ठूलो क्लबको टोलीमा कहिल्यै परेको थिइनँ। यो टोलीमा परेँ भने ‘ए’ डिभिजनसम्म पुग्छु अनि राष्ट्रिय टोलीको पनि ढोका खोल्न सक्छु भन्ने लागेको थियो। तर मभन्दा राम्रो खेलाडी अरू भएर होला, मैले कुनै खेल खेल्न पाइनँ,” उनी सुनाउँछन्। 

६ पटकको ‘ए’ डिभिजन लिग विजेता आरसीटी २०७० सालमा पहिलोपटक ‘बी’ डिभिजनमा घटुवा भएको थियो। त्यसपछि ‘ए’ डिभिजनमा उक्लिन प्रयासरत आरसीटीले त्यसको पाँच वर्षपछि लिग जित्न सफल भयो। तर बढुवा घटुवा नहुने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रावधानका कारण लिग जितेर पनि आरसीटी ‘ए’ डिभिजन लिगमा पुग्न पाएन। त्यसबेला उत्सव खिन्न मन लिएर झापा फर्किए। 

तर संयोगको पासा यसरी पल्टियो कि अर्को वर्ष मछिन्द्र लिग च्याम्पियन भइदियो। उनलाई नै फुटबल खेल्न प्रेरण दिने प्रवेशले उक्त टोली सम्हालेका थिए। पहिलोपटक लिग जितेसँगै गाउँ फर्किएका उनले उत्सवलाई मछिन्द्रको ढोका खुला रहेको भन्दै आश्वस्त पारेका थिए। 

त्यतिखेर उनी प्रवेशले नै स्थापना गरेको सैनिक फुटबल क्लबबाट स्थानीय प्रतियोगिता खेलिरहेका थिए। करिब दुई वर्ष त्यही क्लबबाट खेलेपछि उनी लिग खेल्ने हुटहुटीको साथ पुनः काठमाडौँ फर्किए, आफ्नो सपनामा हाँगा हाल्न। यसपटक आफ्नै मार्गदशकले बोलाएको हुँदा उत्सव निश्चिन्त देखिन्थे। पहिला टेलिभिजनमा देखिरहेका सुजल श्रेष्ठ, विशाल राई, सुनिल बल, देवेन्द्र तामाङ र विमल घर्तीमगरलगायत नाम चलेका २४ खेलाडीको सूचीमा उनी पनि अटाए।  

त्यसबेला पुनः पाएको मौका खेर फ्याँक्ने पक्षमा थिएनन् उत्सव। तर जसरी भए पनि मछिन्द्रको जर्सीमा धेरैभन्दा धेरै खेल खेल्नुपर्छ भन्ने लक्ष्य बुनेका उनलाई केवल ६ वटा खेलमै खुम्चिनुपर्‍यो। विशाल राई, आन्द्रेस मिया, अभिषेक गुरुङ र सुनील बलजस्ता स्टार खेलाडीको छायामा उनी परिहाले। यद्यपि गत वर्षको लिगमा भने उनी फेरि पनि भाग्यमानी सावित भए। अभिषेक र विशाल अस्ट्रेलिया पलायन भए। सुनील पनि संकटा पुग्दै अस्ट्रेलिया भासिए। खेलाडीको अभाव खेपिरहेको क्लबमा उनले यसपटक गत वर्षको तुलनामा धेरै खेलमा मौका पाए र आफूलाई प्रमाणित पनि गरे। 

“पहिला सँगै खेलिरहेका दाइहरू पनि कोही क्लब छाडेर जानुभयो, कोही अस्ट्रेलिया लाग्नुभयो। त्यसैले पनि होला यसपटक धेरै खेलमा मौका पाएँ। जतिमा मौका पाएँ ती सबैमा आफूलाई प्रुभ गरेजस्तो लाग्छ,” उनी भन्छन्।

एएफसी कप छनोटले खोलिदिएको राष्ट्रिय टोलीको ढोका
क्लब लाइसेन्स नहुँदा मछिन्द्रले पहिलोपटक लिग जितेर पनि एएफसी कप खेल्न पाएन। दोस्रोपटक लिग जित्दा मछिन्द्रले श्रीलंकाली क्लब ब्लु स्टारसँग खेलेको थियो। तर उत्सवले मौका पाएनन्। यसपटक लिगको उपविजेता भए पनि मछिन्द्रले एएफसी कपमा खेल्ने मौका पायो। उसले भुटानको पारो एफसीसँग पहिलो खेल खेलेको थियो। अधिकांश राष्ट्रिय खेलाडी समेटिएको मछिन्द्रको टोलीमा उत्सवले शुरूआती ११ मै स्थान बनाए। छिटो र छरितो खेल देखाउने उत्सवलाई मुख्य प्रशिक्षक किशोर केसीले पहिलो अन्तर्राष्ट्रिय 'डेब्यु' गराए। त्यस अवसरमा उनले ६६ मिनेट मैदानमा बिताए। 

“त्यो खेल खेल्न पाउनु भाग्यकै कुरा थियो। राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी पनि बेन्चमा थिए। तर मैले शुरूआती ११ मै मौका पाएँ। शुरूको १५ मिनेट अलि नर्भस थिएँ। त्यसपछि त्यस्तो केही फिल गरिनँ,” उनी भन्छन्।

शुरूआती ११ घोषणा गर्नुभन्दा दुई घण्टाअगाडि नै टिम मिटिङ बसेको थियो। प्रशिक्षक केसीले उनलाई ‘तिमीले पनि अन्य खेलाडीझैँ खेल्न सक्छौँ, नआतिऊ’ भनेर हौसला दिएका थिए। हुन त उनले प्रशिक्षण सत्रमा पनि राम्रो प्रदर्शन गरिरहेका थिए। यद्यपि दुई दिनअघि राष्ट्रिय टोलीसँग भएको मैत्रीपूर्ण खेलमा ‘ग्रोइङ पेन’ भएको कारण उनले खेल्न सकेका थिएनन्। त्यसैले उनी आफू लाइनअपमा पर्दिनँ कि भनेर चिन्तित थिए। तर शुरूआती ११ मै परेपछि भने खेल्न सक्छु भन्ने आत्मबल आएको उनी बताउँछन्।

विपक्षी खेलाडीबाट बल खोस्न सक्ने र सटिक पास दिन सक्ने खुबी भएका उत्सवले मैदानमा रहुन्जेल सबैलाई प्रभावित पारे। त्यो खेलपश्चात् नै उनी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनिसको नजरमा परिहाले। आफूलाई नै मछिन्द्रमा ल्याउने प्रवेश राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएको कारण पनि उनले मौका पाउने चर्चा धेरैले गरिसकेका थिए। 

सबैले सोचेअनुसार नै उनले असोज २५ गते दशरथ रंगशालामा भएको फिफा विश्वकप २०२६ र एएफसी एशियन कपअन्तर्गत लाओससँगको खेलको दोस्रो हाफमा 'डेब्यु' गरे। एक वर्षअघि मात्रै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा 'डेब्यु' गरेका आवास लामिछानेको स्थानमा उनी मैदान छिरेका थिए। 

तर उत्सवले सबैलाई प्रभावित पार्ने खेल प्रदर्शन गर्न सकेनन्। पहिला अन्तर्राष्ट्रिय खेल खेलिरहेका उनी त्यसपटक कमजोर देखिए। यद्यपि लाओसमै भएको दोस्रो लिगमा भने उनले शुरूआती ११ मै स्थान बनाए। एनिसबाट आवासकै स्थानमा शुरूआती मौका पाएका उनले यसपटक भने ९० मिनेट नै खेलमा बिताउने मौका पाए। 

उत्सवलाई अब यतिमै रोकिने मन छैन। नेपालमै फुटबलबाट भविष्य बनाउने योजना रहेको उनी सुनाउँछन्। यसका लागि आफूले धेरैभन्दा धेरै खेल खेल्नुपर्ने उनको भनाइ छ। अहिले पाएका मौकामा आफूले शतप्रतिशत दिन नसकेको उनको गुनासो छ। अस्थिर फुटबल लिग भएको नेपालमा धेरै मौका मौका पाउने आशा उनले गरेका छन्।

मछिन्द्रभन्दा बाहिरको क्लबसँग पनि उनी जोडिएका छन्। गत वर्ष उनी नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न झापा एफसीमा अनुबन्ध भएका थिए। तर ‘ए’ डिभिजन क्लबहरूले भाँजो हाल्दा उक्त प्रतियोगिता आयोजना नै भएन। यसपटक मंसिरमा हुने भनिएको प्रतियोगिताका लागि उनी चितवन एफसीमा ‘ए’ क्याटेगोरीमा एक लाख ५० हजारमा अनुबन्धित भएका छन्। 

यही प्रतियोगिताबाट आफूलाई प्रमाणित गर्नेुपर्ने मौका मिलेको उनी बताउँछन्। “मछिन्द्रभन्दा बाहिरको टोलीसँग आवद्ध भएको छु। यो प्रतियोगिता मेरो लागि फरक पनि हुने छ। किनभने यहाँ मैले खेलिरहेको टोली हुने छैन, शुरूआतदेखि नै तयारी गर्नुपर्ने छ। त्यही पनि आशा छ, यसमा शतप्रतिशत नै दिन्छु,” उनी भन्छन्।


सम्बन्धित सामग्री