Saturday, April 27, 2024

-->

कर बढेपछि भन्सारको आँखा छल्दै छ्याप्छ्याप्ती देखियो काजु तस्करी

दाल, सुपारी, मरिच, छोडा र पोस्तादानापछि अब तस्करीको पालोमा काजु परेको छ। काजु आयातमा तिर्नुपर्ने कर बढेपछि सरकारलाई राजस्वमा नोक्सानी र उपभोक्तालाई महँगो भइरहँदा तस्करलाई भने स्वादिलो बन्दै छ।

कर बढेपछि भन्सारको आँखा छल्दै छ्याप्छ्याप्ती देखियो काजु तस्करी 

काठमाडौँ– काजु चोरीपैठारीका घटना यतिखेर एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। भारतबाट दाल आयात गर्ने, त्यसलाई कागजमा नेपाली उत्पादन घोषणा गर्ने र बंगलादेश निकासी गरेर नाफा कमाउने अनि निर्यातमा पाउने प्रोत्साहन रकम पनि सरकारबाट असुल्ने धन्दा डेढ दशकअघि फस्टाएको थियो। 

त्यसपछि भारतले तेस्रो मुलुकबाट आयात प्रतिबन्ध गरेको सुपारी नेपालको घरेलु मागभन्दा कैयौँ गुणा बढी आयात गरेर भारततर्फ चोरी निकासी गर्ने धन्दाको रजगज चल्यो। सुपारीपछि उस्तै किसिमले मरिच, छोडा र पोस्तादानाको तस्करी पछिल्लो समयमा चर्चामा रह्यो। त्यही सिलसिलामा अहिले काजुको अवैध पैठारी तस्करीको दुनियामा नयाँ ‘प्रडक्ट’को रूपमा उदय भएको छ। 

भदौ ७ गते एउटा नेपाली र अर्को भारतीय ट्रक प्लास्टिकको कच्चा पदार्थ ल्याएको घोषणा गरी भैरहवा भन्सार यार्डमा प्रवेश गरेका थिए। दुवै ट्रकमा खानतलासी गर्दा काजु र कपडा फेला पर्‍यो। ना ५ ख ३३६ र यूपी ५३ जीपी ०५७८ नम्बर भएका ती ट्रक भन्सार विभागले नियन्त्रणमा लियो। तिनमा घोषणा गरिएविपरीत कपडा र काजु फेला परेपछि भन्सार विभागका निर्देशक (उपसचिव) मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको विभागले जनाएको छ। भैरहवा भन्सार भएर राजस्व छलीका घटना दोहोरिएपछि भन्सार विभागले सोमबारदेखि छानबिन थालेको हो। 

ट्रकमा करिब सवा दुई करोड रुपैयाँ बराबरको तयारी कपडा र काजु रहेको प्रारम्भिक प्रतिवेदन छ। भैरहवा नाकाबाट काजुसमेतका वस्तु तस्करीको विषयमा छानबिन गर्न भन्सार विभागले समिति बनाएकै दिन सोमबार नै वीरन्जमा भन्सार छलेर चोरी पैठारी गरिएको ८०० किलो काजु सशस्त्र प्रहरीले बरामद गर्‍यो। 

सिमावर्ती भारतीय बजार रक्सौलबाट चोरीपैठारी गरी भित्र्याएर भण्डारण गरिएको अवस्थामा करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको सशस्त्र प्रहरीको १३ नम्बर गणले जनाएको छ। विश्वासिलो सूचनाको आधारमा सशस्त्र प्रहरीले वीरगन्ज–१० बजरंगटोलका मगनी राउतको घरमा छापा मारी काजु बरामद गरेको हो। 

भारतबाट चोरी पैैठारी गरी वीरगन्ज र भैरहवाजस्ता सिमावर्ती शहरमा भण्डारण गरिएका काजुलाई ससाना लटमा काठमाडौँ, पोखरा, नारायणगढजस्ता भित्री शहरहरूमा पठाउने गरिएको पाइएको छ। त्यहीक्रममा भदौ ३ गते हेटौँडा उपमहानगरपालिका–१५ मा पर्ने राजमार्गस्थित रातोमाटेबाट प्रहरी चौकीले सवारीका साधन जाँच गर्ने क्रममा अवैध पैठारी गरिएका विभिन्न प्रकारका वस्तुहरू बरामद गर्ने क्रममा ६२ किलो काजु फेला पारेको थियो। 

वीरगन्जबाट काठमाडौँका लागि छुटेको बसको यात्रु बस्ने सिटमुनि काजु फेला परेको प्रहरीले जनायो। त्यस्तै जेठ २ गते कालीमाटी प्रहरी वृत्तको टोलीले थानकोबाट कलंकीतर्फ आइगरेको बा ५ ख ८३८६ नम्बरको ट्रकबाट भन्सार छलेर ल्याइएको २०० किलो काजु र अरू सामान फेला पारेको थियो। यसरी अवैध रूपमा भित्र्याइएको काजु बरामद हुने घटना निरन्तर दोहोरिइरहेका छन्। 

किन भइरहेछ काजु तस्करी?
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको भन्सार विभागको तथ्यांकले त्यति बेलासम्म नेपालमा काजुको माग वार्षिक एक हजार ३०० टनभन्दा बढी पुगेको भेटिन्छ। १३ महिना अगाडि २०७९/८० शुरू भएपछि काजु आयातमा लाग्ने कर बढ्यो। लगत्तै भन्सार भएर हुने काजुको आयात करिब ५४ प्रतिशतले घट्यो। उक्त ५४ प्रतिशत अर्थात् आधाभन्दा बढी काजुको माग तस्करीको माध्यमबाट आपूर्ति हुने गरेको सहजै बुझ्न सकिने यसका व्यापारी बताउँछन्। 

“जुन वस्तुको आयातमा करको दर अधिक हुन्छ, त्यसमा राजस्व छली पनि व्यापक हुने प्रवृत्ति रहिआएको छ। काजु आयातमा लाग्ने कर वृद्धिपछि यसको तस्करी हुन थालेको हो। हामीले वैध रूपमा सरकारलाई ३९.३७ प्रतिशत राजस्व तिरेर आयात गर्ने काजुले राजस्व छलेर भित्रिएको काजुसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्दा टिक्न गाह्रो भइरहेको छ,” करिब २५ वर्षदेखि मसला र ड्राइफ्रुट्सको कारोवार गर्दै आएका एक व्यवसायीले भने, “अहिलेसम्म पुराना ग्राहक जोगाउन हामीले थोरबहुत गरिरहेको आयात पनि अब छोड्नुपर्ने अवस्था आउन थालेको देख्छु।”

नेपालमा करिब एक हजार ६०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको काजु भारतमा नेपाली रुपैयाँ करिब एक हजारको मूल्यमा उपलब्ध छ। सरकारले सम्भावित जोखिमहरूको आँकलन नगरीकन गर्ने भन्सार महसुल वृद्धिले वैध व्यपारलाई चुनौती र अवैध व्यापारका लागि अवसर खुला गर्ने गरेको उनको टिप्पणी छ। 

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पनि उच्च राजस्व दर भएको वस्तुमा राजस्व छलीको चुनौती हुने गरेको स्वीकारे। आर्थिक वर्ष २०७७/७८ मा एक हजार ३०४ टन काजु नेपालले भारत र अरू देशबाट आयात गरेको विभागको तथ्यांक छ। करिब एक अर्ब ६ करोडको उक्त काजु आयातमा भन्सारमार्फत् सरकारले ३१ करोड ८३ लाख राजस्व आर्जन गर्‍यो। त्यतिबेला काजु आयात गर्दा मूल्यको २१.१९ प्रतिशत कर आयातकर्ताले तिर्नुपर्ने हुन्थ्यो। 

अर्को वर्ष २०७८/७९ मा करको दर त्यही कायम रहँदा काजु आयात अझ पाँच प्रतिशतले वृद्धि भएर एक हजार ३७० टन काजु भित्रियो। त्यसबापत वर्षभरमा एक अर्ब १४ करोड मूल्यको काजु आयातबाट सरकारलाई ३६ करोड ३३ लाख राजस्व उठ्यो। 

आर्थिक वर्ष २०७९/८० मा सरकारले काजु आयात गर्दा समग्रमा १८.१८ प्रतिशतले कर बढायो। त्योसँगै काजु आयातमा लाग्ने शुल्क ३९.३७ प्रतिशत पुग्यो। त्यसपछि वैध रूपमा नेपालमा आयात हुँदै आएको काजुको परिमाण साबिकको तुलनामा ४६ प्रतिशतमा खुम्चियो। अर्थात ५४ प्रतिशतले काजु आयात घट्यो। 

त्यसयताको औपचारिक तथ्यांकले वार्षिक एक हजार ३७० टन पुगेको काजु आयात ६२० टनमा झरेको देखायो। २०७९/८० मा काजुबाट सरकारले उठाएको राजस्व पनि अघिल्लो वर्षको तुलनामा करिब ७२ प्रतिशतमा खुम्चिएर अघिल्लो वर्षभन्दा १० करोड २ लाखले कम भयो। काजुबाट अघिल्लो वर्षभन्दा २८ प्रतिशतले कम २६ करोड ११ लाख मात्र सरकारले उठाउन सक्यो।

चालु आर्थिक वर्षमा भन्सार भएर काजु आयात अझ घट्ने संकेत देखिएको छ। दशैँ–तिहारको बजारलाई लक्षित गरी आयात हुने सिजन साउनमा ४९ टन मात्र काजु भन्सार भएर भित्रिएको छ। यसै अनुपातमा पनि वर्षभरि आयात हुँदा भन्सार भएर आउने काजु बढीमा ५९३ टन हुनेछ जुन गत वर्षभन्दा पनि २७ टन कम हो। यो शुल्क वृद्धि हुनुभन्दा अगाडिको काजु आयातको परिमाणभन्दा झण्डै ५७ प्रतिशतले घटी हो। 

यता वैध प्रक्रियाबाट काजु आयात सुकेको बेला आउँदो चाडपर्वलाई लक्षित गरी भइरहेको काजु तस्करी भने उच्च देखिएको छ। भन्सार बिन्दुहरूमा काजु र अरू वस्तुको तस्करी नियन्त्रणसम्बन्धी गर्नुपर्ने कडाइ अपनाइएको भन्सार विभागले जनाएको छ। 

“मुख्य कुरा के हो भने हामीले कडाइ वा निगरानी गर्न सक्ने भनेको भन्सार बिन्दुमा हो, त्यसबाहिर त सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भूमिका खेल्नुपर्ने हुन्छ,” विभागका महानिर्देशक पौडेलले उकालोलाई भने, “काजुको आयात घटेको र उता तस्करीका घटनाहरू प्रकाशमा आइरहेकोमा हाम्रो ध्यान गएको छ। चारीपैपठारी नियन्त्रणमा शुल्क उच्च भएपछि पनि यसको तस्करीलाई बल मिलेको हामीलाई लागेको छ।”

काजु आयातमा लाग्ने कर वृद्धिपछि सरकारको आयमा नोक्सानी र उपभोक्तालाई काजु महँगो भइरहँदा तस्करलाई भने स्वादिलो भएको छ। भारतमा काजु किनबेच गर्दा लाग्ने शुल्क (जीएसटी) ५ प्रतिशत मात्र रहेको छ। औपचारिक रूपमा भारतबाट निर्यात हुँदा जीएसटी लाग्दैन। तर यता नेपाल भित्र्याउन मूल्यको ३९.३७ रुपैयाँ शुल्क भन्सारमा तिर्नुपर्छ। नेपाल र भारतको बजारमा काजुको मूल्यमा कायम भएको करिब ३४.३७ प्रतिशतको मूल्यान्तरका कारण काजु तस्करी झाँगिएको हो।


सम्बन्धित सामग्री