Friday, May 10, 2024

-->

अरुण–शिला चौधरीको ‘अपार्टमेन्ट प्रोजेक्ट’ले बिथोलिएको लाजिम्पाटबासीको निद्रा

‘समिट अपार्टमेन्ट’ प्रकरणबाट ललितपुरको बखुण्डोलबासी चार महिनायता बेचैन छन्। काठमाडौँको लाजिम्पाट भित्रका बासिन्दा अर्को त्यस्तै प्रकरण दोहोरिने त्रासमा छन्।

अरुण–शिला चौधरीको ‘अपार्टमेन्ट प्रोजेक्ट’ले बिथोलिएको लाजिम्पाटबासीको निद्रा
तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर २ मा पर्ने लाजिम्पाटको मुख्य सडकबाट करिब ५० मिटरभित्र शान्त र हरियालीयुक्त एउटा टोल छ। सुजन मार्गका रूपमा परिचित यो ठाउँलाई केहीले ‘शान्ति कुञ्ज’ भनेर चिन्छन्। काठमाडौँको केन्द्रभागमा भए पनि यो ठाउँ शहरी कोलाहलबाट अलगझैँ थियो। बरु चारैतर्फ हरियाली, चराचुरुंगीको चिरबिर सुनिन्थ्यो।

साउन दोस्रो सातापछि यो ठाउँको शान्ति बिथोलिएको छ। यहाँका बासिन्दा थातथलो नै छाडेर भाग्नुपर्ने त होइन भन्ने त्रासमा छन्। यो त्रासको कारण त्यहाँ बन्न थालेको एउटा ठूलो भवन हो जसले सुजन मार्गको चैन खोसिदिएको छ। कसले बनाउँदैछ त्यो भवन?

खोज्दै जाँदा सुजन मार्गमा रहेको त्यो ठाउँमा शिला चौधरीका नाममा साढे ६ रोपनी जग्गा रहेको भेटियो। त्यही जग्गामा एउटा ठूलो भवन बनाउन गएको साउन दोस्रो सातादेखि डोजर चल्न शुरू गरेको थियो। तर डोजर चल्दासम्म सँधियारहरूलाई यसबारे थाहै थिएन। उनीहरूले स्वीकृति र मन्जुरी नदिएरै चल्नथालेको डोजरले उनीहरूका घर थर्किन थाल्यो। एक/दुई दिन बिहान, दिउँसो डोजर चल्दासम्म त उनीहरूले सामान्य नै ठाने। जब मध्यरातमा पनि घर नै भत्किएला झैँ गरी थर्काउँदै डोजर चलाउन थालियो, उनीहरूको निद्रा खोसियो।

बुझ्दै जाँदा उनीहरूले ‘सीजी होल्डिङ्ग्स्’ नामको कम्पनीले त्यो भवन बनाउन थालेको र त्यसकै लागि जग खन्न शुरू गरिएको थाहा पाए। यसबारे थाहा पाएका अलि परका छिमेकीहरूले उनीहरूलाई सुनाए, “पहुँचवाला व्यापारिक घराना हुन्।”

एकातिर बसिरहेको घर थर्किएर भत्किएला भन्ने त्रास, अर्कोतर्फ पहुँचवाला व्यापारीले नै त्यो काम गरिरहेको थाहा पाएपछि उनीहरू के गर्ने, के नगर्ने भन्ने निधोमै पुग्न सकेनन्। ‘सीजी होल्डिङ्ग्स्’ अरुणकुमार चौधरी अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेको कम्पनी हो। शिला चौधरी, अरुणको श्रीमती हुन्। आफ्नो वेबसाइटमा सीजी होल्डिङ्ग्स्ले आफूलाई ‘चौधरी समूहको सदस्य’ उल्लेख गरेको छ। 

अदालतको अन्तरिम आदेशपछि रोकिएको भवन निर्माणस्थल।

डोजरको त्रास साउन २० गतेसम्म पुग्दा झन् बढ्यो। त्यस दिन सँधियार विदुर सिवाकोटीको घरछेउमै डोजर चल्यो। तर डोजर चलाउनेसँग त्यसो नगर्न हारगुहार गर्नेबाहेक सिवाकोटी परिवारले त्यसविरुद्ध उजुरबाजुर गर्ने आँट गर्न सकेन। सिवाकोटी कामविशेषले केही दिनमै अस्ट्रेलिया उडे। उनी अहिले अस्ट्रेलियामै छन्।

डोजरले हल्लाएको घरमा उनकी छोरी र आमा भेटिए। तर उनीहरू त्रास छ भन्दै बोल्न चाहेनन्। रातभर डोजर आंतक मच्चिएपछि करिब एक साताअघि केही स्थानीयले भने प्रहरीलाई फोन गरेर बोलाएको उनीहरूले बताए।

सिवाकोटीको घरसँगै जोडिएको अर्को घर पनि डोजरका कारण जोखिममा परेको छ। तर घरधनी ‍भेटिएनन्। त्यहाँ पुग्दा बहालमा बस्नेहरू मात्र भेटिए।

गत मंगलबार अस्ट्रेलियाबाट उकालोको सम्पर्कमा आएका सिवाकोटीले ‘सीजी होल्डिङ्ग्स्’ले जथाभाबी डोजर चलाउँदा आफ्नो घर धरापमा परेको बताए। “आफ्नो जग्गामा घर बनाउने अधिकार त जोकोहीलाई हुन्छ, उहाँहरूलाई पनि होला, त्यसमा मेरो भन्नु केही छैन,” उनले भने, “तर छिमेकीलाई असर पर्ने गरी गर्नु भएन।” उनले आफू अहिले बाहिर रहेको र सबै स्थिति बुझ्न नपाएको बताए।

सुजन मार्गका स्थानीयहरूका अनुसार डोजर चलाउनेक्रममा शुरूमा त्यहाँ आएका ‘सीजी होल्डिङ्ग्स्’का प्रतिनिधिहरूले चारैतर्फ ८ मिटर जग्गा छाडेर डोजर चलाउने भनेका थिए। तर त्यसपछि छिमेकीको घरको जग नै खतरामा पर्ने गरी डोजर चलेको छ।  

वडा कार्यालयमा निवेदन, अदालतमा मुद्दा
डोजर चलिरहेको त्यही जग्गासँगै जोडिएको छ, लेखक अवन्तिका रेग्मीको घर। माटो र इँटाको गारोले बनेको उनको घरसँगै रहेको पर्खाल पनि डोजरले भत्काइदिएको छ। विरोध गर्दागर्दै पर्खाल भत्काएर आधा बनाइएको, त्यसपछि जस्तापाताको बार लगाइएको रेग्मी बताउँछिन्।

रेग्मीको घरलाई आड दिइरहेको बाँकी पर्खाल पनि भत्काउन ‘सीजी होल्डिङ्ग्स्’का जनरल म्यानेजर सञ्जय ठाकुरले साउन २३ गते उनको हातमा पत्र थमाएका थिए। पर्खाल नभत्काइदिन आग्रह गरे पनि ठाकुरले ‘माथिबाट आदेश आएको’ भन्दै पर्खाल भत्काउने प्रयास गरेको उनले बताइन्। त्यसपछि उनले सोही राति जग्गाधनी शिला चौधरीलाई टेलिफोन गरिन्। फोनमा कुरा नभएपछि ‘डोजर आतंक रोकिदिन’ अनुरोध गर्दै मेसेज पठाइन्।

“त्यसपछि शिला चौधरी आएर मेरो घर र पर्खालको अवस्था अवलोकन गरिन्, घरलाई असर पर्ने भन्दै अब पर्खाल नभत्काउने भनेकी थिइन्,” रेग्मी भन्छिन्, “त्यसपछि बाँकी रहेको पर्खाल त जोगियो, तर त्यही रातिबाट पर्खालछेउमै झन् ठूलो आवाजमा डोजर चल्न थाल्यो। ठुल्ठूला फलाम झारियो। फलाम झार्दा जमिन नै थर्किएर पर्खाल भत्कने जोखिम बढ्यो।”

आफ्नो घर र ज्यान दुवै जोखिममा परेको भन्दै रेग्मीले तत्कालै प्रहरी गुहारिन्। प्रहरी राति नै घटनास्थलमा पुगेर सोधपुछ गर्‍यो। “मैले आफ्नो सुरक्षाका लागि प्रहरी बोलाएँ। तर डोजर चलाउन वडाले अनुमति दिएको रहेछ, हामी रोक्न सक्दैनौँ भनेर प्रहरी गयो,” उनले भनिन्, “प्रहरीले डोजर आतंक नरोकेपछि मैले वडाध्यक्षलाई खबर गरेँ।”

काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ आएर हेरे। उनले स्थानीयलाई असर पर्ने गरी डोजर नचाउन सीजी होल्डिङ्स्का प्रतिनिधिलाई निर्देशन दिए। तर त्यसपछि पनि डोजर रोकिएन। केही नभएपछि रेग्मीले भदौ ८ गते डोजर आतंक रोक्न माग गर्दै वडा कार्यालयमा निवेदन दिइन्। “अरुण चौधरीको परिवार बसिआएको घर कम्पाउन्डसँग जोडिएको मेरो जग्गामा रहेको कम्पाउन्ड वाल भत्काउने, ठूला एक्स्काभेटर चलाउने, ठुल्ठूलो आवाज उत्पन्न गराइ रातभरि नै घर हल्लाउने भइरहेकाले जीउधनकै डरत्रास उत्पन्न भएको छ,” जग्गाधनी शिला चौधरी र उनका प्रतिनिधिलाई त्यसो नगर्न अनुरोध गरे पनि अटेर गरेको उल्लेख गर्दै रेग्मीले निवेदनमा लेखेकी छन्, “मेरो घरको कम्पाउन्ड वाल मेरो सहमति तथा मन्जुरी नलिई भत्काउने कार्य रोकिपाऊँ।”

तर वडा कार्यालयबाट पनि केही सुनुवाइ नभएको भन्दै रेग्मीले भदौ १० गते अरुण चौधरी, शिला चौधरी, काठमाडौँ महानगरपालिका, २ नम्बर वडा कार्यालयलगायतलाई विपक्षी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिन्। अदालतमा दिएको निवेदनमा उनले आफ्नो जग्गाको साँधमा रहेको पर्खाल भत्काउने, डोजर चलाउने र निर्माण सामग्री खसाल्ने कार्यबाट माटोबाट बनेको आफ्नो घर भत्किएर कानूनी र संवैधानिक हक नै हनन हुने भएकाले निषेधाज्ञाको आदेश माग गरेकी थिइन्।

अदालतले भोलिपल्टै निवेदकको जग्गाको साँधमा जोडिएको पर्खाल भत्काउने, निवेदकको घर हल्लिने गरी डोजर चलाउने कार्य नगर्न अन्तरिम आदेश दियो। त्यसपछि भने डोजर चल्न रोकियो। “यहाँ के बनाउन लागिएको हो भन्ने त हामीलाई ठ्याक्कै थाहा छैन, रातविरात जथाभाबी डोजर चल्न थालेपछि हामी भयभीत थियौँ,” त्यहाँका अर्का एक स्थानीयले भने, “रेग्मीजी (अवन्तिका रेग्मी) अदालत गएपछि अहिले सुरक्षित महसुस गरेका छौँ।”

यो मुद्दाको अर्को पेसी शुक्रबार तोकिएको छ। डोजरबाट प्रत्यक्ष प्रभावित त्यहाँका १० घरले अदालतको अर्को आदेश पर्खिरहेका छन्।

वडाध्यक्ष श्रेष्ठले आफू भदौ ५ गते मध्यरातमै त्यहाँ पुगेर डोजर आतंक बन्द गर्न निर्देशन दिएको दाबी गरे। “मैले डोजर आतंक मच्चिएको खबर पाएपछि मध्यरातमै पुगेर त्यसलाई रोकेको हुँ,” उनले भने, “प्रभावशाली मान्छेहरूको डोजर रहेछ, आफ्नो ज्यान नै जोखिममा पारेर डोजर आतंक बन्द गरेको हुँ। म स्थानीयको पक्षमा छु। तर रेग्मीजीले मविरुद्ध पनि मुद्दा हाल्नुभएछ। किन त्यसो गर्नुभो, मैले बुझेको छैन।”

वडाध्यक्ष भन्छन्– अब बनाउन दिइन्न, शिलाको तर्क– आफ्नै जग्गामा बनाउन किन नपाउने?
मालपोत कार्यालयको अभिलेखअनुसार अहिले डोजर चलाइरहेको जग्गा २०६६/६७ सम्म शान्ति राणाको नाममा रहेको देखिन्छ। शिलाले २०६४ असोज १४ गते राणाको सिट नम्बर १०२५–१४ को कित्ता नम्बर १२२ को ३२३.९४ वर्गमिटर, सिट नम्बर १०२५–१९ को कित्ता नम्बर ३६३ को ११६१.१२ वर्गमिटर, सिट नम्बर १०२५–१३ को कित्ता नम्बर २३ को ३ आना र सिट नम्बर १०२५–१८ को कित्ता नम्बर १८१ को १ आना १ पैसा २ दाम जग्गा किनेको देखिन्छ। त्यस्तै, २०६४ फागुन १० गते मिरादेवी कार्कीको नाममा रहेको सिट नम्बर १०२५–१९ को कित्ता नम्बर ३६२ को ४३९.२० वर्गमिटर र सिट नम्बर १०२५–१४ को कित्ता नम्बर १२१ को ६२७.९५ मध्ये १४१.०७ वर्गमिटर जग्गा शिलाले किनेको देखिन्छ।

२०६७ चैत १५ गते फेरि शान्ति राणाको सिट नम्बर १०२५–१४ को कित्ता नम्बर ३० को १२१२.८० वर्गमिटर जग्गा शिलाले नै किनेको देखिन्छ। यो सबै क्षेत्रफल जोड्दा शिलाले राणा र कार्कीबाट जम्मा ६ रोपनी ८ आना जग्गा किनेको देखिन्छ।

यो सबै जग्गा शिलाको नाममा आइपुग्दा त्यहाँ दुई वटा घर थिए। एउटा घरमा अरुण–शिलाको परिवार बस्दै आएको थियो भने अर्को घर भाडामा दिइएको थियो। निवासको रूपमा प्रयोग भएको घर कायम राखेर बाँकी जग्गा र भाडामा दिइएको घर भत्काएर त्यहाँ नयाँ संरचना निर्माण गर्न थालिएको हो।

स्थानीयहरूले त्यहाँ अपार्टमेन्ट भवन बनाउन लागिएको बताए। त्यसका लागि आफूहरूको सहमति र मन्जुरी नलिइएको उनीहरूको भनाइ छ।

वडाध्यक्ष राजेन्द्र श्रेष्ठले पनि त्यहाँ वडा कार्यालयलाई जानकारी नै नदिएर अपार्टमेन्ट निर्माण गर्न लागिएको सूचना आफूले पाएको बताए। “यो जग्गामा उहाँहरूले अपार्टमेन्ट बनाउन लागेको सूचना पाएको छु, तर वडालाई त्यसको जानकारी दिइएको छैन, नक्सापासको प्रक्रियामा पनि आएको छैन। स्थानीय सरकारलाई यसरी हेप्न पाइन्छ?,” श्रेष्ठले भने, “नक्सापासबिना कुनै हालतमा यहाँ भवन बन्न दिइन्नँ। प्रक्रियागतरूपमा कोही छिमेकीलाई असर नपर्नेगरी कुनै संरचना बनाउँछन् भने ठीकै छ, अहिलेको अवस्थामा छिमेकीलाई असर पर्ने गरी हामी जग्गा धनीलाई कुनै पनि संरचना बनाउन दिँदैनौँ।”

उक्त जग्गामा डोजर चलाउन नदिएपछि सीजी होल्डिङ्ग्स्का प्रतिनिधिहरूले आफूलाई बाहिरै भेटौँ भनेर आग्रह गरेको, तर आफूले वडा कार्यालयमै आएर छलफल गर्न भनेको श्रेष्ठले बताए। बाहिर भेट्दिनँ भनेपछि सीजी होल्डिङ्ग्स्का जनरल म्यानेजर सञ्जय ठाकुर उनलाई भेट्न वडा कार्यालयमै पुगेका थिए।

“उनले भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिसकेकाले नक्सापास नभए पनि भवन निर्माण गर्न दिनुपर्ने भन्दै दबाब दिए,” श्रेष्ठले भने, “ईआईए त व्यावसायिक भवनको मात्र गर्नुपर्छ। वडालाई उपेक्षा गरेर कसरी ईआईए गर्नुभो भनेर सोधेँ, उनले कुनै जवाफ दिएनन्।” 

हामीले यसबारे बुझ्न जग्गाधनी शिला चौधरीलाई सम्पर्क गर्‍यौँ। शिलाले शुरूमा आफ्नो जग्गामा भवन निर्माण गर्न लागेको नभई माटो मात्र मिलाएको दाबी गरिन्। उनलाई फेरि सोध्यौँ– सीजी होल्डिङ्ग्स्का जनरल म्यानेजर सञ्जय ठाकुरले नै आफूहरूले ठूलो भवन बनाउन ईआईए गरिसकेको र नक्सापास नभए पनि भवन निर्माण शुरू गर्न दिन वडा कार्यालयलाई दबाब दिनुभएको रहेछ नि? उनको भनाइ थियो, “नक्सापास हुन्छ। हाम्रो जमिनमा घर बनाउन नपाउने?” 

के यो जग्गामा अपार्टमेन्ट बनाउन लागिएको हो? शिलाले भनिन्, “हामी बंगला बनाउँदैछौँ। त्यो ठूलो भवन हुन सक्छ।” उनले डोजर आतंक नमच्चाइएको दाबी गर्दै थपिन्, “यसबारे कसैले गुनासो गरेको छैन। उनीहरूलाई वडाको अगाडि राखेर मिलाइसकेका थियौँ।” घर बनाउँदा आवाज आउनु स्वाभाविक भएको उनको तर्क छ। तर, अरूलाई व्यवधान पुर्‍याउन मिल्छ त भन्ने प्रश्नमा उनले भनिन्, “कसैको घरमा गएर व्यवधान पुर्‍याएको त छैन नि।”


सम्बन्धित सामग्री