Thursday, April 25, 2024

-->

महामारीझैँ सवारी दुर्घटना र हाम्रो भूमिका

वैज्ञानिक ट्राफिक व्यवस्थापन र सवारी चालक शिक्षा लागू गरेर अरू देश सवारी दुर्घटना न्यूनीकरणमा सफल भएका छन्। हामीले पनि त्यसतर्फ तदारुकताका साथ पाइला चाल्नु आवश्यक छ।

महामारीझैँ सवारी दुर्घटना र हाम्रो भूमिका

विश्वमा सवारी दुर्घटनाको समस्याले पिरोलेको देश नेपाल मात्रै होइन। सामाजिक-आर्थिक विकास र शहरीकरणको प्रतिफल हो सडकमा गाडीको चाप। यो समस्या हरेक ठूला-साना राष्ट्रले बेहोर्छन्। फरक यत्ति हो, विकसित समाजमा समस्याको पहिले नै निर्क्योल गरेर पूर्वाधार तयार गरिन्छ। विकासोन्मुख र अल्पविकसित देशमा भने समस्याले विकराल रूप लिन थालेपछि मात्र सम्बन्धित निकायहरूको 'रेडार'ले थाहा पाउँछ।

शहरीकरण र निजी सवारी साधन प्रयोगको वृद्धिसँगै दुर्घटना पनि निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ। विकसित मुलुकमा विद्यार्थी कालदेखि नै नागरिकलाई बाटोको स्तर र सवारी साधनको प्रयोगबारे उचित तालिम र शिक्षा दिइन्छ। कडारूपमा नियमको पालना र प्रवर्द्धनले गर्दा त्यहाँ सवारी दुर्घटनामा धेरै हदसम्म नियन्त्रण भएको देखिन्छ। हामीकहाँ भने आवश्यक प्रशिक्षण त छैन नै,  सम्बन्धित निकायका जिम्मेवार अधिकारीदेखि सर्वसाधारणमा नियम कानूनको बुझाइमा कमी छ। उचित नियम लागू र अनुगमन गर्ने क्षमता विकास गर्नु पहिले नै सहजै सवारी साधन उपलब्ध हुने हुनाले सडकमा ट्राफिक समस्या त छँदै छ, सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या प्रत्येक वर्ष बढिरहेको छ।

जनस्वास्थ्य-समस्या
विश्व स्वास्थ्य संगठनको तथ्यांकले विश्वका राष्ट्रहरूलाई चार खण्डमा वर्गीकरण गरेर प्रस्तुत गरेको तथ्यांकमा सबैभन्दा विकसित राष्ट्रहरूबाहेक अन्य तीनमा सवारी दुर्घटनाबाट हुने मृत्यु प्रमुख १० कारकमध्ये एक छ। तसर्थ, यो संख्यामा र गतिमा देशमा नागरिकको मृत्यु भएपछि समस्यालाई जनस्वास्थ्यको नजरबाट हेर्नुको विकल्प छैन। काठमाडौँ उपत्यका मात्रैको ट्राफिक व्यवस्थापनबाट उत्पन्न समस्या र दुर्घटनाका संख्याको विश्लेषण गर्दा पनि यो विषय जनस्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त जोखिमपूर्ण स्थितिमा पुगिसकेको छ।

विगत दुई दशकको तथ्यांक हेर्दा नेपालमा सवारी साधनको रजिस्ट्रेसनसँगै सवारी दुर्घटना, घाइते र मृत्युको संख्या द्रुत गतिले बढिरहेको छ। विश्व बैंकको रिपोर्टअनुसार सन् २०१७/१८ को सरकारी तथ्यांकअनुसार सवारी दुर्घटनामा २ हजार ५४१ जनाको मृत्यु भयो। त्यो ८.५९ प्रति एक लाख हो। जबकि, विश्व स्वास्थ्य संगठनको अनुमानमा सन् २०१६ मा १५.९ प्रति एक लाख छ। सरकारी तथ्यांकमै दुर्घटनाबाट गम्भीर घाइते हुनेहरूको संख्या दोब्बर छ।

गत दशैँलगत्तै नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज १६ (फूलपाती)देखि कात्तिक ३ गते (१९ दिनको अवधि) मा देशभर ५५६ दुर्घटना भए, जसमा ५४ जनाले ज्यान गुमाए। हजारभन्दा बढी मानिस घाइते भए। यी अधिकांश घटना काठमाडौँ उपत्यकाबाहिर भए पनि अधिकांश नागरिक यताबाट चाडबाड मान्न आ-आफ्नो घर जाने क्रममा थिए। यद्यपि, दुर्घटनाको बढ्दो क्रम देशको कुनै पनि ठाउँमा हुन सक्थ्यो। वास्तवमा शहरी क्षेत्रबाहिर मापदण्डरहित सडक, पुराना तथा मर्मत सम्भार नभएका सार्वजनिक सवारी साधन तथा कच्चा चालक र अनियन्त्रित हँकाइबाट हुने दुर्घटना र क्षति बढ्दो क्रममा छ।

अर्को सोचनीय विषय, सवारी दुर्घटना बढ्दै गए नेपालको अन्तर्राष्ट्रिय पहिचानमा समेत असर पर्न सक्छ। त्यसले हाम्रो पर्यटन क्षेत्रलाई भोलिका दिनमा नकारात्मक असरसमेत पार्न सक्छ। हामीभन्दा विकसित मुलुक ताइवान अहिले सवारी दुर्घटनाकै कारण कुख्यात भइराखेको छ। त्यहाँ गत वर्ष झन्डै ३ हजार जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाए, यो संख्या प्रतिलाख १३ जना हुन आउँछ। सवारी दुर्घटनालाई नै लिएर अस्ट्रेलिया, क्यानडा र अमेरिकाले ताइवान जाने आफ्ना नागरिकलाई सुरक्षित रहन चेतावनीमूलक सूचना नै जारी गरेका छन्। यही कारण भोलिका दिनमा अरू देशले नेपालका लागि पनि 'ट्राभल एड्भाइजरी' नै जारी नगर्लान् भन्न सकिन्न। 

यातायातको बढ्दो चाप
काठमाडौँलगायत अन्य शहरी क्षेत्रको सवारी साधनको चाप र तिनले निम्त्याएका दुर्घटनाहरू समाजको 'विकास', शहरीकरण, र आर्थिक-सामाजिक रूपान्तरणको नतिजा हो। बजारमा सुपथ र सहज तवरले किसिम-किसिमका सवारी साधन उपलब्ध हुनु अनि बैंकले किस्ताबन्दीमा सवारी साधन किन्नका लागि ऋण उपलब्ध गराइदिएपछि निजी सवारी साधनको संख्यामा वृद्धि हुनु अनौठो होइन।

विगत दुई-तीन दशकमा फैलिँदै गएको देशको अर्थतन्त्र, त्यसले उब्जाएको व्यावसायिक र रोजगारीका अवसर तथा तिनका आवश्यकताले पनि सवारी साधन बढे। महिला तथा युवाको रोजगारीमा बढ्दो सहभागिताका कारण 'मोबिलिटी'को आवश्यकता पनि बढ्यो। त्यसो हुँदा यातायात सेवामा चाप बढ्नु स्वाभाविक हो। 

नियम पालनमा लापरबाही
हामीलाई सवारी साधनको हकबारे थाहा छ, तर सवारी धनी र चालकका जिम्मेवारीबारे ख्याल छैन। सवारी साधनले मानव सभ्यताको विकासक्रमलाई जति सजिलो बनाएको छ, त्यत्तिकै अप्रिय घटनाहरू पनि भएका छन्। सवारी साधन जतिसुकै सानो भए पनि अनियन्त्रित हुँदा त्यो 'घातक हतियार' सिद्ध हुन्छ, जसरी एउटा बन्दुक गलत हातमा पर्न गयो भने घातक हुन्छ। यसका लागि शिक्षाका साथसाथै नियम पालन गर्ने र गराउने तथा नागरिकमा सचेतना जगाउन जरुरी छ।

नेपालका चाहे शहरी क्षेत्रमा होस् वा ग्रामीण, हरेक चालकले नियमित रूपमा गरिरहेका नियम उल्लंघनहरूबाट प्रस्ट हुन्छ कि हाम्रा सवारीहरू कति असुरक्षित छन् भनेर। यथास्थितिमा, अधिकांश नेपालका सवारी चालक नेपाल बाहिरका कुनै पनि अन्तर्राष्ट्रिय सवारी नियमहरू पालन गरेर गाडी चलाउने हैसियत राख्दैनन्। अझ राजमार्गहरूमा मोटरसाइकल, कार, जिपदेखि ठूला बस र ट्रकको तीव्र गतिसँगै ठाउँ कुठाउँबाट उछिनेर चलाएको देखिन्छ। त्यस्तो स्थितिमा पनि प्रहरी तथा अन्य जिम्मेवार निकायको ध्यान नगएको देख्दा उदेक लाग्छ।

यसबाट तीनवटा निष्कर्ष निकाल्न सकिन्छ। पहिलो, पैसाको प्रलोभनमा ट्राफिक प्रहरी तथा नियमन गर्ने अन्य निकायले आँखा चिम्लेका छन्। दोस्रो, नियम पालना गराउन खटिएका व्यक्तिहरूले नै नियम बुझेका छैनन्। चालकहरूले पनि लापरबाहीको अर्थ नै बुझेका छैनन्। भावना भरोसामा सवारी चलाइरहेका छन्। तेस्रो, सबैजसो नियम नीति बनाउने ठूलाबडाहरू अरूले चलाएको गाडीमा हिँड्ने हुँदा सवारीको भयावह स्थितिबारे अनभिज्ञ छन् अथवा यसबारे उनीहरूलाई चासो नै छैन।

विकल्प
आधुनिक लोकतान्त्रिक समाजमा सवारीलगायत नागरिकका अन्य विभिन्न मौलिक हकको हनन गर्ने भन्ने त कुरै भएन, तर समग्र समाजको हितका लागि कतिपय अतिशय स्वतन्त्रतालाई नियम र पद्धतिले बाँध्नु भने आवश्यक हुन्छ। सिंगापुरजस्तो सीमित जमिन भएको देशमा सरकारले निजी सवारी साधनलाई सहजै उपलब्ध गराउँदैन। निजी सवारीलाई विलासिताको श्रेणीमा राखेर सोहीअनुसार मात्र उपलब्ध गराउँछ। सवारी साधन किन्नका लागि त्यहाँका नागरिकले धेरै अड्चनहरू पार गर्नुपर्छ, धेरै पैसा तिर्नुपर्छ। र, सिंगापुरको समाज नेपालभन्दा शिक्षित, वातावरणबारे सचेत, नियम परायण र अनुशासित छ। नागरिकको सुविधा र सहजताका लागि सिंगापुर सरकार पनि उत्तिकै सजग छ। त्यहाँको सार्वजनिक यातायात सेवा यति चुस्त छ कि, आममान्छेलाई व्यक्तिगत सवारी साधनको आवश्यकता नै महसुस हुँदैन। सवारी चालकमाथि पनि उत्तिकै कडा नियमहरूको प्रबन्ध गरिएकाले दुर्घटना पनि कम हुन्छ। 

प्राय: विकसित देशहरूमा स्कुल बेलादेखि नै सुरक्षित रूपमा सवारी साधन चलाउन सिकाइन्छ। बाटोमा गाडी चलाउँदा आफ्नो र अन्य सवारी चालकको हक र जिम्मेवारी के हुन् भन्नेबारे प्रस्ट सिकाइन्छ। पहिले सिकारु चालकको 'पर्मिट' लिएर सवारी चलाएपछि मात्रै पूर्ण लाइसेन्स दिइन्छ। त्यसो गर्दा पनि दुर्घटनामा वृद्धि भएपछि नै चालक र सवारीमा हिँड्नेको सुरक्षाका लागि आवश्यकताअनुसार नियममा सुधार गरिएका हुन्।

पहिले-पहिले गाडीमा सिट बेल्ट हुँदैन थिए। पछि अनुसन्धानहरूले सिट बेल्टको प्रयोग गर्दा ज्यान ज्याने खतरा धेरै कम हुने देखाएपछि सबै मुलुकमा सिट बेल्ट अनिवार्य गरिएको हो। शुरूशुरूमा सिट बेल्ट झन्झटिलो भएको भन्दै विरोध भयो। तर तथ्यमा आधारित नियम भएकाले त्यो नियमसँग भिड्न सकेनन्।

मादक पदार्थ सेवन गरेर अथवा मोबाइल फोनको प्रयोग गरेर सवारी चलाउँदा पनि दुर्घटनामा वृद्धि भएको देखियो। त्यसपछि सवारी चलाउँदा मोबाइल प्रयोग गर्न र सवारी चलाउनुपूर्व या चलाउँदा मादक पदार्थ सेवन गर्न नपाइने नियम बने। मोटरसाइकल चालकले हेलमेट लगाउनाले चोटपटकमा कमी वा ज्यान जोगिइन्छ भन्ने पनि तथ्यांकले देखाएको छ।

के गर्ने?
सवारी दुर्घटनाको समस्या समाधानका लागि समाजका विभिन्न संरचना, सरकारका विभिन्न अंगहरू, गैरसरकारी र निजी क्षेत्र, शिक्षालय, स्वास्थ्य क्षेत्र, अनि सम्पूर्ण नागरिक समाजले सामूहिक रूपले सहभागी हुन अपरिहार्य छ। सरसर्ती हेर्दा पनि गृह, यातायात, सवारी, शिक्षा, स्वास्थ्य आदि त स्वतः मन्त्रालय वा विभागीयस्तरमा नीति तर्जुमा गर्न र कार्यान्वयन गर्न आवश्यक देखिन्छ।

दुर्घटनाबाट सुरक्षित रहन चालकको जति भूमिका हुन्छ, त्यत्ति नै  सडकमा सवार पैदलयात्रीको पनि हुन्छ। तर हामीकहाँ सानो उमेरमै सवारी साधन र सडकमा पैदलयात्राबारे सिकाइएको हुँदैन। न घरपरिवारले सिकाएको हुन्छ, न स्कुलले नै। भर्खरका स्कुले बालबालिकाको पाठ्यक्रममा नै सो विषय राखिनुपर्ने हो, तर त्यसो गरिएको छैन।

एड्सलगायत जनस्वास्थ्य र परिवार नियोजनसम्बन्धी सचेतना सामग्री विद्यालय तहकै पाठ्यक्रममा समावेश गरेर एकदमै सकारात्मक उपलब्धि भएको अनुभव हामीसँग छ। त्यसो हुँदा पाठ्यक्रममार्फत नै सैद्धान्तिक शिक्षाका दिने र सवारी प्रशिक्षणसमेत विद्यालयबाटै नै गर्ने बन्दोबस्त गर्न सकिन्छ। जसले स्कुलमा प्रशिक्षण लिएर सवारी चालक अनुमति पत्र लिएको हुँदैन, तिनीहरूलाई कुनै निर्धारित उमेर पुगेपछि मात्र जाँच दिलाएर अनुमति पत्र दिने व्यवस्था गर्न सकिन्छ। यस किसिमको व्यवस्थाले प्रशिक्षण नियमको बुझाइमा एकरूपता आउँछ। यसो गर्दा नियम अभिपालन गराउने निकायलाई विवादरहित तरिकाले कडाइका साथ काम गर्न सजिलो हुन्छ।

दोस्रो, ट्राफिक प्रहरीलाई पनि प्रशिक्षण दिन उत्तिकै जरुरी छ। किनभने ट्राफिक प्रहरीलाई नै सही तरिकाले सवारी चलाउने, पार्क गर्ने र नियम उल्लंघन भए-नभएको छुट्ट्याउनेबारे ज्ञानको कमी देखिन्छ। ट्राफिक प्रहरीहरू धुलो र धुवाँ खाएर हचुवाको भरमा सवारीमा खटिएझैँ मात्र देखिन्छन्। विकसित समाजमा जस्तो वैज्ञानिक तरीकाले ट्राफिक व्यवस्थापन गरेको अनुभूति यहाँ हुने गरेको छैन। 

तेस्रो, सवारी नियम उल्लंघनकर्तालाई गरिने कारबाही र जरिबाना सायद पर्याप्त छैन। जरिबानाको आर्थिक बोझ आफैँमा निवारक हुनु पर्दछ।

चौँथो, काठमाडौँ उपत्यका आफैँमा पुरानो बस्ती हो। तसर्थ, नयाँ बस्तीमा जस्तो ठूला सवारी र पूर्वाधार सम्भव छैन। त्यस्तै, नेपालका धेरै सडकहरू पहाड, भीर र पाखा कोतरेर बनाइएका छन्। विकासको नाममा यत्रतत्र स्थानीय तहको पहलमा बनेका बाटाहरू आवश्यक मापदण्ड नपुर्‍याइ बनेका छन्। त्यस्ता बाटामा चल्ने सार्वजनिक गाडीहरूको नियमित चेकजाँच र मर्मत पनि नगरिने हुँदा ती सवारी साधन कन्डिसनमा हुँदैनन्। ट्राफिक प्रहरीको उपस्थित र चेकजाँच नहुने कारण चालकहरूले पनि मनोमानी ढंगले चलाउँछन्। पैदल यात्रुले पनि सावधानी नअपनाउने हुँदा दूरदराजमा हुने दुर्घटनामा मानवीय क्षति बढ्ने गरेको छ। 

जे-जस्ता गाह्रो-साँगुरो बाटो भए पनि बाटो सवारी र पैदलयात्री दुवैलाई हमेसा सुरक्षित हुन आवश्यक छ। ती बाटोहरूलाई सुरक्षित बनाउनु र नियमित मर्मत-सम्भार भइरहनु जरुरी हुन्छ।

पाँचौँ, वर्षौं पहिले २० वर्ष पुराना गाडीको आयातमा रोक लगाउने निर्णय भएका थिए। वातावरणबारे सचेतना बढ्ने क्रममा त्यस्तो निर्णय लिइएको थियो होला। तर, पुराना सवारी सञ्चालनभन्दा पनि सवारी साधन, खासगरी सार्वजनिक साधनको नियमित सुरक्षा जाँच गर्नु आवश्यक छ। सायद आवश्यक जाँच गरेर गाडीको अवस्था निर्क्योल गरेको खण्डमा गएका हप्ता भएका अनेकौँ दुर्घटनाहरू टार्न सकिन्थ्यो होला।

विश्व बैंकको एक रिपोर्टअनुसार दुर्घटनाबाट प्रायः असर गर्ने समूह आर्थिक उपार्जनमा सक्रिय हुने हुनाले त्यो समूहलाई बचाउन सक्दा देशको जीडीपीमा ७ देखि २२ प्रतिशतसम्म वृद्धि हुन सक्ने देखिन्छ। त्यसो हुँदा पनि यसलाई कम गर्नेतर्फ सर्वसाधारणदेखि सबै तहका सरकार र सम्बन्धित निकाय जुट्नु पर्ने देखिन्छ। 

सवारी दुर्घटना कुनै एक निकायको मात्र समस्या होइन। यसको असर दुर्घटनामा पर्ने व्यक्ति र उनका परिवारमा मात्रै सीमित छैन। सवारी दुर्घटना बहु-निकायगत समस्या हो र यसबाट देशमाथि ठूलो आर्थिक र सामाजिक भार पर्नजाने गरेको छ। अनुसन्धानहरूले कुनै पनि व्यक्तिको स्वास्थ्यलाई जैविकभन्दा पनि सामाजिक कारणले बढी प्रभाव पारेको हुने देखाउँछन्। दुर्घटनामा परिवारको मृत्यु हुँदा या घाइते भएर कठिनाइपूर्वक बाँच्नुपर्ने विषय जैविकभन्दा बढी सामाजिक हो। हामीकहाँ जस्तो समस्या शहरीकरणको क्रममा विश्वका धेरै समाजले भोगिसकेका छन्। वैज्ञानिक ट्राफिक व्यवस्थापन र सवारी चालक शिक्षा लागू गरेर उनीहरूले दुर्घटना न्यूनीकरण गर्न सफल भएका छन्। हामीले पनि त्यसतर्फ तदारुकताका साथ पाइला चाल्नु आवश्यक छ। अन्यथा, महामारीझैँ बनेको सवारी दुर्घटनाले नेपाललाई सताइरहनेछ।


सम्बन्धित सामग्री