Monday, April 29, 2024

-->

संकटमा पदमार्ग, स्थानीय श्रमिक प्रभावित

२०६९ सालसम्म बेँसीशहरको मनाङे चौतारा, पुमाखोला, चनौटे आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे। कोही मनाङ प्रवेशपछि मनासलु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे।

संकटमा पदमार्ग स्थानीय श्रमिक प्रभावित

मनाङ– हिमाली जिल्ला मनाङ पदयात्राबाट मात्रै पुगिन्थ्यो। पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्थे। स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीय स्थलमा पुग्थे। 

तर, नेपाली सेनाले २०६९ सालमा लमजुङ सदरमुकाम बेँसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्र्याक खोलेर यात्रा सहज बनायो। सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुशियाली छाएको थियो। सडक सञ्जाल निर्माण भएपछि यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ। यसले पदमार्ग नै प्रभावित भएको छ। 

पदमार्गमा प्रभाव पार्दा केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन्। यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको हो। यस विषयमा सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो पुगेन। यसले गर्दा अहिले पदयात्रीले सकस भोगिरहेका छन्। यसका साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल पुर्‍याइयो। मनाङ सदरमुकाम चामे पुगेको सडक २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर दूरी सडक सञ्जालसँग जोडियो। यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खांसारसम्मै सडकमा जोडिएको छ। 

लमजुङको बेँसीशहरबाट शुरू हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट)को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोरांला भञ्ज्याङ (५,४१६ मि) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुंगिन्छ। यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन्। कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन्। पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ। यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । 

मनाङमा २०५० सालसम्म होटल खुलेका थिएनन्। चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन। सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो। सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्यांक लिने र यसको प्रचारप्रसार हुन थालेको बताइन्छ। त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैनथ्यो। भरियाले बेँसीशहरबाट ५/६ दिन लगाएर बोकेर सामग्री पुर्‍याउने गरिन्थ्यो। 

सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्‍याङमार्फत हिँड्थे। यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन्। उनका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ। कम मात्रामा प्रयोग गर्ने गरिन्छ। “गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ,” उनले भने।

२०६९ सालमा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो। चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटेलमा बास बस्न आइपुग्छन्। होटेलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपर्दैन। “पहिले जस्तो छैन अहिले, गाडी चल्यो, मान्छे र सामान सँगसँगै गाडीमै आइपुग्छ, अहिले भरिया खासै हुँदैनन्,” मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८० वर्षीय याङदुङ गुरुङले भने, “भरियाबिनै काठमाडौँ–पोखराबाट बेँसीशिहर हुँदै सिधै माथिल्लो मनाङ पुग्छन्।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्थे। सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए। पर्यटकको तथ्यांक राखिए पनि कुनै पनि निकायले भरियाको तथ्यांक संकलन गरेको छैन। बेँसीशहरसम्म मोटर चल्ने भएकाले पर्यटक बेँसीशहर बास बस्न आइपुग्थे। बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्थे। 

अहिले सवारीसाधान चलेपछि काठमाडौँ–पोखराबाट पर्यटक सिधै मनाङ आइपुग्छन्। गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ। धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ। मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ। सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात शहरमा रहेका होटेलमा खपत हुने गरेको पाइन्छ। 

पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए। उनका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर पोखरा–काठमाडौँसम्म पुग्छ। यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म पुर्‍याउन भने सहज छैन। 

एक समय बेँसीशहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानी अचेल जिपमा चार घण्टामै पुगिन्छ। धारापानीदेखि तिल्चे (मनाङ)सम्म पनि यातायात चल्छ। तर, दूध खोलामा पुन नहुँदा वर्षायाममा यातायात ठप्प हुन्छ। त्यसपछि भीमथाङ, लार्के (मनाङ–गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ। मनासलु पदमार्गको यस मार्ग अहिले खच्चड प्रयोगमार्फत सामग्री ढुवानी गर्न सहज र छिटो हुन्छ। तिलिचो जान आउनेका लागि खांसारसम्म जीपमार्फत एकै दिनमा पुग्न सकिन्छ। खांसारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ। त्यहाँबाट दुई दिनको यात्रामा थोरांला बेसक्याम्प पुगिन्छ।

२०६९ सालसम्म बेँसीशहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे। कोही मनाङ प्रवेशपछि मनासलु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे। मनाङमा भरियाले नै खाद्यान्न पुर्‍याउँथे।

मंसिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू आठ महिना गाउँमै बस्थे। २०७०/७१ मा माथिल्लो मनाङसम्मै जिप पुग्न थालेपछि त्यसमाथिका ठाउँको भारी बोक्न खच्चड प्रयोग हुन थालेको मनाङवासी बताउँछन्।

मनाङ जाने बाटोमा भर्‍याङ बनाएर डोरीमा झुन्डिएर जानुपर्ने बाध्यता थियो। खच्चड हिँड्न थालेपछि सामग्री ढुवानीमा सहज भएको थियो। पदमार्गले परिचय बनाएको मनाङको गौरव अहिले संकटमा परेको छ।


सम्बन्धित सामग्री