Monday, April 29, 2024

-->

मनाङ पुग्ने रहर, बाटोको छैन भर

ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था मनाङ जाने सडकको हो।

मनाङ पुग्ने रहर बाटोको छैन भर
तस्वीर: रासस

मनाङ- विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने हिमाली जिल्ला मनाङ पुग्ने कसलाई रहर हुँदैन र? तस्वीर र भिडियोमा देखिएका मनाङमा रहेको सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, यहाँका बस्ती, संस्कार, संस्कृति र फाँटभरि फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना, अग्ला पहाडका दृश्यले लोभ्याउने गरेको छ। 

यिनै प्राकृतिक सुन्दर दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सबैको सपना हुन्छ। यस्तै सपना बोकेर मनाङ आएका धनकुटा भेडेटारका सूर्य राईलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ। तर बेँशीशहरबाट हिँडेपछिको सास्तीले रहर रहरमै सीमित हुने हो कि भन्ने चिन्ता छ।

राईले भने, “घरपरिवार र आफन्त सबै छाडेर आफ्नो सपना साकार पार्न हिँडेको छु, बाटोको अवस्था देखेर सपना पूरा नहुँदै घर फर्किन सकिन्छ कि सकिँदैन भन्ने त्रास बढेको छ।” 

मनाङ पुग्नका लागि सडक सञ्जाल पुगेको छ, तर सहज भने छैन। घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था मनाङ जाने सडकको हो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष मनाङका तत्कालीन निर्वाचित सांसद पाल्तेन गुरुङ, कमल घलेलगायत जिल्लावासी समाजसेवी, बुद्धिजीवीले मनाङलाई सडक सञ्जालसँग जोड्न आग्रह गरेका थिए। पूर्वमन्त्री गुरुङका अनुसार लमजुङ सदरमुकाम बेँशीशहरदेखि मनाङको सदरमुकाम चामेसम्म सडक सञ्जालका लागि सर्भे गर्न १५ लाख रुपैयाँ बजेट व्यवस्थापन भएको थियो। तत्कालीन प्रधानमन्त्री कोइरालाको पहलमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले २०५१ सालदेखि ट्र्याक खोल्ने कामको शुरूआत भएको हो।

‘कामका लागि खाद्यान्न’ अभियानअन्तर्गत वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सडक सञ्जाल निर्माणका लागि ५०० क्विन्टल चामल बेँशीशहर–चामे सडकलाई उपलब्ध गराएको पूर्वसांसद गुरुङले जानकारी दिए। उक्त परिमाणको चामलको सहयोगमा बेँशीशहर–चामे सडक खण्डको बेँशीशहर–खुदीसम्म ट्र्याक खोलिएको उनले बताए।

जनयुद्ध र अन्य विभिन्न कारणले यस सडक निर्माणको जिम्मेवारी २०५७ सालदेखि तत्कालीन शाही नेपाली सेनाले पायो। सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो। 

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटरको माध्यमबाट सडक सञ्जाल खनिदैन थियो। साँघुरो कच्ची सडक, हरेक पटक जोखिम मोल्नुपर्ने अवस्था छ। ठाउँ–ठाउँमा खसेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ।

अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन्। यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गरिरहेका छन्। मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै डुम्रे–बेँशीशहर–चामे सडक हो। भिरैभिर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा डुम्रे–बेँशीशहर–चामे सडकमा यात्रुले ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन्। मनाङवासीलाई यस्तो जोखिम मोल्नुको विकल्प छैन।

सेना कार्यगणले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेँशीशहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। यस सडक खण्डको लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर छ। 

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा हालसम्म जोखिमपूर्ण नै छ। करिब २१ वर्ष हुँदासम्म पनि यस सडकको स्तरोन्नति हुन सकेको छैन। बेँशीसहर–चामे सडक पार गर्न झन्डै ६ घन्टा लाग्ने सवारी चालक सोम मगारातीले बताए। “ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच, मर्स्याङ्दी नदीको किनारबाट ३०० देखि १ हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चलाउनुपर्ने हुन्छ”, उनले भने। 

भौगोलिक विकटतासँगै यहाँको प्रतिकूल मौसमका कारण सडक विस्तारले तीव्रता लिन नसकेको डुम्रे–बेँशीसहर–चामे सडक आयोजना कार्यालयका साइट इन्चार्ज सब–इञ्जीनीयर सुमन अधिकारीले जानकारी दिए। उनका अनुसार विभिन्न स्थानमा ठेक्का प्रक्रियामार्फत भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक निर्माणको प्रगति देखिने अवस्थामा छैन।


सम्बन्धित सामग्री