Monday, April 29, 2024

-->

शिवपुरी र नागार्जुनलाई आफ्नो नाममा गर्ने कि!

सबैले बुझ्नै पर्ने कुरा, संरक्षण क्षेत्रभित्र घुमफिर गर्दा महत्त्वपूर्ण नियम पालन गर्नु आवश्यक छ। त्यो हो, ´तिमीले आफ्नो पदचापबाहेक केही नछोड, केही तस्वीरबाहेक अरू चीज नलैजाऊ`।

शिवपुरी र नागार्जुनलाई आफ्नो नाममा गर्ने कि

साथीहरूसँग गफिँदै बेलाबखत हिँडडुल गर्न, प्रकृति र पर्यावरणसँग  साक्षात्कार गर्न रुचाउने सबै प्रियजनलाई म केही गन्तव्य सिफारिस गर्न चाहन्छु। 

विश्व प्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोहेलोका किताबहरू कत्तिको पढ्नु भएको छ? मैलेचाहिँ ती प्रसिद्ध ब्राजिलियन लेखकका सबै कृति पढेको छैन। अंग्रेजी पढ्न कमजोर भएका कारण छिचोल्न सकेको छैनभन्दा पनि भयो। तर कोहेलोबारे  फुटकर टिप्पणी, समीक्षा/सन्दर्भ र आफ्नै लघुपठनकै आधारमा कोहेलो साह्रै मन पर्छन्। कोहेलोका बहुचर्चित र 'बेस्टसेलर'मध्ये 'द अल्केमिस्ट' एक हो। द अल्केमिस्टमार्फत कोहेलोले दिएको सन्देश जबरजस्त छ: तपाईं केही चाहनुहुन्छ भने सम्पूर्ण ब्रह्माण्ड तपाईंको प्राप्तिका लागि षड्यन्त्र (मद्दत) गर्छ।' 

अलि सजिलो र सिधा हिसाबले मेरो बुझाइ राख्न चाहन्छु। 

तपाईं एउटा कोठामा सीमित हुनुहुन्छ भने त्यो सिंगो घरलाई आफ्नो ठान्नुहोस्, आँगनमा निस्कनुहोस्, आँगनबाट अलि फराकिलो चौर हेर्नुहोस्। त्यो चौरलाई आफ्नो सम्झिनुहोस्, परको क्षितिज हेर्नुहोस्। क्षितिजसँग खेलेका बादलका टुक्रा हेर्नुहोस्, आकाशका जूनतारा हेर्नुहोस्। सबै चीजलाई यसरी हेर्नुहोस्, मानौँ ती सबै चिज तपाईंका आफ्नै हुन्। प्रकृतिको एउटा निश्चित घेरामा बस्नुको सट्टा अलि विराट तरिकाले सोच्नुहोस्। आनन्द आउँछ र आफू साँच्चै धनी भएझैँ लाग्छ। कोहेलो पढ्दा मैले लिएको उत्प्रेरणा यही हो।

तपाईंलाई लाग्ला, डाँडा पाखा, घुमघाम र हाइकिङको कुरा सिधै शुरू गरे भैगो त, किन यो भूमिका? यो भूमिकाको चुरो अन्त्यतिर जोडौँला। अब घुमघामकै कुरा:  

काठमाडौँ उपत्यकाको सतहमा अब घना हरियाली लुप्त प्राय: भयो, यो दुःखद हो, तर चारैतिरबाट घेरा हाली काठमाडौँलाई उपत्यकाको 'उपाधि' हस्तान्तरण गर्ने पहाडहरूको हरियाली अझै पनि लोभलाग्दो छ, यो सुखद हो। 

काठमाडौँलाई 'खाल्टो' ठान्ने दुई टाकुरा शिवपुरी डाँडो र नागार्जुन–जामाचो चुचुरा हुन्। यिनै दुई चुचुरोको पदयात्राबारे केही कुरा यो आलेखमा समेटिनेछ। 

शुरू
ऊबेलाको एसएलसी पास हुनासाथ काठमाडौँ छिरेर उपत्यकाको स्वयम्भू, वनस्थली र बालाजुमा अस्थायी बासिन्दा बनिबसेको पनि 'सिल्भर जुब्ली' भएछ। तर आफू बसेको आडैमा उभिएको नागार्जुन चुचुरो पुग्ने संयोग कहिल्यै नमिल्ने, शिवपुरी छिचोल्ने साइत कहिल्यै नपर्ने। यी शालीन पहाडहरूले त हामीलाई हरदम पर्खिबसेका छन्, अनेकौँ उल्झन र बेफुर्सदमा अल्झी बस्ने त हामी हौँ। 'नजिकैको तीर्थ हेला' भनेको शायद यही त होला। 

मेरो बानी नाइट्रोजन ग्यासजस्तो। आफू नबल्ने तर अरू चीजलाई बल्न प्रेरित गर्ने। घुमफिरका रमाइला लेख सन्दर्भ पढ्ने, अरूलाई घुमफिर गर्नुपर्छ भन्ने तर आफूचाहिँ कहीँ निस्कन फुर्सदै ननिकाल्ने। तर यसपालि गजब भयो। तीन सातामा दुई पटक जामाचो र एक पटक शिवपुरी छिचोलियो। बहुत आनन्द आयो।

जामाचो
जामाचोको पहिलो यात्रा प्राज्ञिक व्यक्तिहरूसँग गर्न पाइयो। गएको जेठ ३० गते बुधबार, अनुसन्धानका लागि काठमाडौँ उपत्यकाका डाँडा पाखा चहारेर भ्याइसकेका, चेक रिपब्लिकको प्रसिद्ध 'चेक एकेडेमी अफ साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ बोटानी र ग्लोबल चेन्ज रिसर्च सेन्टर'मा अनुसन्धानरत वनस्पतिविद् डा. मानबहादुर रोकाया, वनस्पति अनुसन्धानकर्ता एवं वनस्पति विभागमा कार्यरत उपसचिव रमेश बस्नेत, वनस्पति विभागकै वैज्ञानिक अधिकृत कृष्णराम भट्टराई र म। 

वनस्पतिका विज्ञसँग पदयात्रा गर्दा झनै थाहा भो, हामीले देख्ने 'फगत हरियो डाँडा'भित्र कति धेरै जैविक विविधता हुँदा रहेछन्। कटुस, काफल, पैयुँ, उत्तिस, भोजपत्र, सौर, सल्लो, सुनगाभा, धुपी, गुराँस, चुत्रो, ऐँसेलु, वन लसुन, च्याउ, चाँप, टुनी, चिलाउने,  उनायो, बनमारा अनि रुखको बोक्रामा उम्रिएका झ्याउ। वन्यजन्तु र चराचुरुङ्गीको ‘हब’,  चितुवा, मृग, बाँदर, बँदेललगायत अनेक अनेक वन्यजन्तुको वासस्थान।  कोइलीको 'गीत', झ्याउँकिरीको झन्कार। हामीलाई सामान्य लाग्ने झ्याउ/झारदेखि ठूलो रूख सल्लो र सौर पर्यावरणका लागि कति महत्त्वको हुँदो रहेछ भनेर जान्न पाइयो। 

रोमाञ्चक हाइकिङपछि सामाजिक सञ्जालमा केही थान फोटा 'पोष्ट्याउन' त परिहाल्यो। 'वाहु!, गजब, सुन्दर!' यस्तै प्रशस्त प्रतिक्रिया आउने नै भए, मक्ख। भोलिपल्ट राजेन्द्र बानियाँ दाइले फोन गरेर हपार्नु भो, 'यति लोभलाग्दो हाइकिङ जाँदा हामीलाई पनि हिँड् दाइ भन्नू पर्दैन?' 

मैले पनि मौकामा जवाफ दिइहालेँ 'देशका ठूलाबडालाई यक्ष प्रश्न गर्ने मान्छेलाई डाँडाकाँडा हिँड्न फुर्सद निस्कन्छ र?' यस्तै नोकझोकसहित कुनै दिन मिलाएर फेरि  जामाचो जाने कुरा भयो। असार १५ शुक्रबार राति नौ बजेतिर बानियाँले फोन गर्नुभयो। मैले हेलो भन्न नपाउँदै उताबाट 'कर्फ्यु आदेश'को भाषामा भन्नुभयो, 'भोलि शनिबार जामाचो हाइकिङ जाने हो, समय मिलाउनूस्, अरू थाहा छैन।'  

'को–को जाने त दाइ?', मैले सोधेँ।

'तपाईं, म र यात्री (टीकाराम यात्री), विवेक रेग्मी र राजेन्द्र खनाल।' यति भएपछि पूर्वसहकर्मीहरूको पुनर्मिलनजस्तो पनि हुने, रमाइलो टिम पनि बन्ने ! 

अन्ततः हिमालय टेलिभिजनका समाचार प्रमुख, राजेन्द्र बानियाँ, एपी वन टेलिभिजनको समाचार प्रमुखबाट केही महिनाअघि बाहिरिएका टीकाराम यात्री, पत्रकारिता अध्यापनमा संलग्न एवं अर्थ न्युज टेलिभिजनको स्थापना कालदेखि झन्डै एक वर्ष समाचार प्रमुखको जिम्मेवारी सम्हालेका विवेक रेग्मी, 'मेरो लगानी डिजिटल पत्रिका'का सम्पादक राजेन्द्र खनाल र कुनै बेला एभिन्युज टेलिभिजनमा 'खबर भित्रको खबर'को निर्माता। सबै जनाको हिसाब खोज्दै जाँदा हामी सबै जना एक समय  एभिन्युज टेलिभिजनमा काम गरेका साथीहरू हाइकिङमा जानेबारे सहमत भयौँ तर अन्तिम समयमा राजेन्द्र खनाल छुट्नुभयो, जुट्न सक्नुभएन। 

जाने त भनियो, तर त्यो शनिबार बिहानैदेखि झरी। झरीलाई चुनौती दिँदै हिँड्ने निर्णय पारित गरियो। मित्र टीकाराम यात्रीको त अझ विशेष तयारी नै रहेछ। हाइकिङ अनुभवको दस्ताबेज बनाउने र सबैमाझ साझा गर्नका लागि  भिडियो ब्लग बनाउन 'गोप्रो क्यामेरा'बाट हामीलाई पछ्याउन केपी देवकोटालाई तयारीका साथ ल्याउनुभएको रहेछ। 

बायाँबाट तेस्रो लहरमा नियात्राकार

हाइकिङका लागि जामाचो गुम्बा सजिलो गन्तव्य हो। रिङरोडअन्तर्गत बालाजु माछापोखरी चोकबाट उत्तर–पश्चिम ककनी नुवाकोट सडक पछ्याउँदै जाँदा करिब पन्ध्र सय मिटरमा फूलबारी गेट आउँछ। नागार्जुन वन क्षेत्र पनि 'शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज'कै एउटा हिस्सा भएका कारण निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको अड्डा छ। प्रतिव्यक्ति एक सय शुल्क लाग्ने टिकट काट्यो, आफ्नो झोला जाँच गरायो अनि उकालो लाग्यो। करिब दुई हजार दुई सय मिटरको उचाइमा रहेको जामाचो गुम्बा पुग्न मोटर बाटो पनि छ। हामी अहिले  हाइकिङ आनन्दको कुरा गरिरहेका छौँ, तसर्थ मोटर बाटो बिर्सिदिऊँ। फूलबारी प्रस्थान बिन्दुबाट जामाचो टुप्पोमा पुग्न झन्डै साढे चार किलोमिटर हिँड्नु पर्ने हुन्छ। 

उकालो हिँड्न ढुंगा छापेको सिँढीसहितको व्यवस्थित 'ट्रेल' छ। करिब आठ सय मिटरको ठाडो उकालो चढेपछि नेपाली सेनाको चेक प्वाइन्ट पुगिन्छ, त्यहाँ टिकट र पदयात्री संख्या रुजु गराएर अनि लाग्ने तेर्पाएँ–तेर्पाएँ बाटो जामाजो ताक्दै। आफूलाई पुग्ने पानी, खाजा–नास्ता, बर्खायामको हाइकिङ हो भने छाता वा रेनकोट यति बन्दोबस्ती भए एक दिने यात्राका लागि काफी छ। 

बर्खामास हाइकिङ गर्नुको मज्जा अनेक। चर्को घाममा जंगलमा छहारी–छहारी हिँड्न पाइने, पानी पर्दा रूखको पातमा जम्मा हुँदै झरेका ठूलाठूला पानीका थोपासँग ठोक्किन पाइने। 

बादल र भूइँकुइरो लाग्यो भने कपासको थुप्रोमा यात्रा गरेझैँ अनि आकाश खुल्ला हुँदा त झन् चारैतिर आँखा कहिल्यै नअघाउने दृश्य। चुचुरोमा पुगेपछि एउटा सानो गुम्बा छ, सत्तल र भ्यु टावर छ। बौद्धमार्गीका लागि पवित्र थलो भएकाले लोङदर (लुङ्टा) टाँगिएका छन्, टुप्पोमा पुगेपछि बस यत्ति हो। त्यहाँ पुगेपछि चुचुरो बिर्सेर सिंगो काठमाडौँ उपत्यका र शहर हेर्नुपर्छ, अझ सुन्दर लाग्छ। जुनसुकै मौसममा हाइक गर्न मिल्ने यो गन्तव्यमा वैशाख एक गते पुग्ने हो भने अत्यन्त भिडभाडपूर्ण 'जामाचो मेला' लागिरहेको हुनेछ। 

यो त भयो जामाचो चर्चा। अझै पख्नोस्।

शिवपुरी
तीन सातामा दुई पटक जामाचो जाँदा, बीचको साता शिवपुरी हाइकिङ गएको चर्चा गर्न बाँकी नै छ।  

शिवपुरी हाइकिङ पनि रोमाञ्चक हिँडाइका अलावा असाध्यै  ज्ञानवर्धकै ठहरियो।

माथि चर्चा गरिएका वनस्पतिविद् डा. मानबहादुर रोकाया मेरो बिसौँ वर्ष पुरानो 'दाइसाथी'। योग्यता र उमेरका हिसाबले दाइ तर व्यवहारमा साथी। डा. रोकायासँगको प्रत्येक भेटमा म भन्ने गर्थें, 'वनस्पतिसम्बन्धी तपाईंले गरेका अनुसन्धान र प्रख्यात जर्नलमा प्रकाशित रिसर्च आर्टिकलको मर्म के हो? आममान्छेले बुझ्ने कसरी? त्यसका लागि त तपाईंको विज्ञता पनि सरलीकरण हुनुपर्छ। ज्ञान सरलीकरण हुनका लागि त आममान्छेले बुझ्ने गरी लेख्नुपर्‍यो, बोल्नुपर्‍यो।' त्यसै मेसोमा उहाँलाई नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) सँग परिचित गराउने मौका मिल्यो।  

एनएफएसजेले विज्ञान, वातावरण र जैविक विविधतालगायत विषयमा विज्ञहरूका साथ तत‍्तत् विषयमा कलम चलाउने पत्रकारबीच अन्तरक्रिया गराउने गर्दो रहेछ। 'विज्ञान, वातावरण र जैविक विविधतालगायत विषयका कुरा बन्द कोठामा किन गर्नु, हिँड्दै, डुल्दै कुरा गर्ने ज्ञान आदानप्रदान गरे हुँदैन?' डा. रोकायाको यस्तो तर्क पछ्याउँदै एनएफएसजेले 'हाइक विथ साइन्टिस्ट' भनेर डा. रोकायाको अगुवाइमा  पदयात्राको कार्यक्रम बनाए छ। असार नौ गते, शनिबार, हाइकिङ गन्तव्य शिवपुरी राष्ट्रिय निकुञ्जको बागद्वारसम्म। 

द हिमालय टाइम्सका सम्पादक एवं एनएफएसजेका सभापति राजन पोख्रेल, पत्रकार एवं एनएफएसजेका कार्यक्रम निर्देशक छत्र कार्की, 'मेरो लगानी' डिजिटल पत्रिकाका सम्पादक राजेन्द्र खनाल, पत्रकार एवं बुद्ध दर्शनका अध्येता अरुण पौडेल, वनस्पति अनुसन्धानकर्ता कृष्णराम भट्टराई, पत्रकार वसन्त खड्का, बालकृष्ण शाह, अनि वनस्पतिसम्बन्धी औपचारिक अध्ययन नगरीकनै वनस्पति पहिचान र अनुसन्धानमा गहिरो लगाव कायम गर्न सफल ला दोर्चे शेर्पालगायत १३ जनाको हाइकिङ टोली शिवपुरी हाइकिङका लागि तयार बन्यो। 

त्यो  दिन पनि बिहानैदेखि पानी पर्‍यो, तर हाम्रो हाइकिङ रोकिएन। उपत्यकाको उत्तरी कुनो बुढानीलकण्ठको घेँचा पुगेपछि शिवपुरी निकुञ्जको प्रवेशद्वार पानी मुहान आउँछ। त्यहाँ निकुञ्ज सुरक्षार्थ तैनाथ पोस्टबाट प्रवेश शुल्कबापत  प्रतिव्यक्ति एक सय रुपैयाँको टिकट लिएपछि हाइकिङको प्रस्थानबिन्दु शुरू हुन्छ। हाइकिङ गन्तव्य यदि शिवपुरी डाँडासम्म पुग्ने छ भने बिहान अलि छिटो निस्कनु उचित हुन्छ। 

बिहान सात बजेबाट टिकट काट्न शुरू हुन्छ। हिँडाइको गति र तागत बरोबर हुनुपर्‍यो।  २७ सय मिटरभन्दा अग्लो शिवपुरी डाँडामै  पुग्नु नै पर्छ भन्ने के नै जरुरी छ र? यो हाइकिङ रुटको राम्रो पक्ष के हो भने तपाईंले आफ्नो 'स्टामिना', समय र रुचिअनुसार गन्तव्य टाढा नजिक तय गर्न सक्नुहुन्छ। 

पानी मुहानबाट पाइला शुरू गरेपछि बायाँ बाटो विष्णुद्वारलाई गन्तव्य बनाउनुहोस्, दायाँ लागेर नेगी गुम्बासम्म पुगेर सुन्दर तस्वीर खिच्नुहोस् वा अलि पर तारेभीरसम्म मात्र पुग्नुहोस्। 'हेलिप्याड' दोबाटोबाट ठाडो उकालो उक्लिएर देउरालीसम्म पुग्नुहोस्, अथवा नेगी गुम्बासम्म मोटर बाटो पछ्याउँदै नेगी गुम्बाबाट उकालो लागेर देउरालीसम्म  पुग्नुहोस्। देउराली पुगेपछि बागद्वार जम्मा आधा घण्टाको पैदल दूरीमा आइपुग्दोरहेछ। शिवपुरी त अझै माथि छ। 

हाइकिङ गन्तव्यमा शिवपुरी निकुञ्ज असाध्यै सुरक्षितमध्ये पर्दो रहेछ। हाम्रो गन्तव्यचाहिँ देउरालीभन्दा माथि हुन सकेन। यो हाइकिङ टोलीमा वनस्पतिविद् डा. मानबहादुर रोकाया र बुद्ध दर्शन अध्येता अरुण पौडेल हुनुको फाइदा भनौँ या बेफाइदा ! डा. रोकायाबाट वनस्पति, जैविक विविधता र पर्यावरणबारे साना मसिना कुरा सुन्दै बुझ्दै हिँड्न पाइयो, अरुण पौडेलले त देउराली भञ्ज्याङमा छोटो र मीठो योगाभ्यास नै गराए। तर 'कुल पारा'का मान्छेको साथमा हिँड्दा बागद्वारसम्म पुग्न भ्याइएन, सायद पुगिन्थ्यो पनि होला। हाम्रो टोलीमा रहेकी लुना बैनीको गोडाले हिँड्न अप्ठ्यारो मानेपछि अघि बढिएन।

तपाईंमध्ये कतिलाई थाहा छ? काठमाडौँ उपत्यकामा पाइने वनस्पति, बोटबिरुवामध्ये ९५ प्रतिशत वनस्पति  शिवपुरी निकुञ्ज क्षेत्रमा पाइन्छन्। ध्वाँसे चितुवा, हिमालयन कालो भालु, चरी बाघ, सालक, चमेरा लगायतका वन्यजन्तुसँगै यहाँ रसियन प्रजातिको बँदेल (वाइल्ड बोर) पनि पाइन्छ। अझ महत्त्वपूर्ण कुरा यो निकुञ्ज क्षेत्र चरा र पुतलीको वासस्थानका लागि उपत्यकाकै सबैभन्दा उत्कृष्ट 'हब' हो। 

प्राकृतिक हिसाबले अर्को रोचक कुरा, शिवपुरी निकुञ्ज दक्षिणी मोहडामा फर्केको छ, सामान्यतः दक्षिण मोहडा पानीको स्रोत कम र सुख्खा हुने गर्छ। तर शिवपुरी त्यसको ठीक विपरीत, पानीका लागि उपत्यकाको सबैभन्दा गतिलो स्रोत हो। बागमती र विष्णुमतीको उद्गम यही निकुञ्ज हो। दक्षिण मोहडा भईकन पनि शिवपुरी किन रसिलो त? मेरो जिज्ञासामा डा. मानबहादुर रोकायाको तर्क थियो 'शिवपुरीको पृष्ठभूमिमा गणेश हिमाल पर्छ, उत्तरतर्फ हुत्तिएको बादल गणेश हिमालमा ठोक्किएर वर्षामा परिणत, वर्षा धेरै हुनासाथ पर्यावरण र भूगोल रसिलो हुने भयो। यो प्राकृतिक चक्र चलिरहेपछि स्वतः जलाधार दिगो हुने भयो।' 

घुमफिर र हाइकिङको मेरा यी व्याख्याले अलिकति आनन्द देला, त्यसभन्दा ज्यादा आनन्द यहाँ लोकार्पण गरिएका सुन्दर तस्बिरले दिनेछन्। तस्बिरहरूले दिने आनन्दभन्दा कैयौँ गुणा आनन्द तब पाउनुहुनेछ, जब तपाईं आफ्नै पाइला त्यहाँ पुर्‍याउनु हुनेछ। यो भाग दौडको जिन्दगीमा अलिकति, फुर्सद, जाँगर र उकालो–ओरालो गर्न सक्ने सामान्य शारीरिक क्षमता त हुन पर्‍यो। एक दिनमा हिँडिभ्याउन सकिने 'पारिवारिक हाइकिङ' गन्तव्य भएका कारण पनि यत्ति कुरा लेखी साझा गर्न मन लागेको हो। सामान्यझैँ लाग्ने तर ठूलो अर्थ बोकेको  एउटा प्रसंग अझै बाँकी छ। 

हाम्रो टोली नेगी गुम्बाबाट देउरालीतर्फ उकालो लाग्दै गर्दा बीचको सानो देउराली बिसौनीमा सुस्ताउँदै थियौँ, माथतिरबाट तीन सदस्यीय टोली हाइकिङबाट फर्किँदै भेटिए। उक्त तीन सदस्यीय टोलीमा एक जना विदेशी नागरिक पनि थिए। ती विदेशी मान्छेले आफूलाई 'मेरो नाम लालबहादुर हो' भन्दै ठट्यौली शैलीमा परिचय गराउने उनी पदमार्गमा फ्याँकिएका, सुर्ती, चुरोटका खोल, प्लास्टिकजन्य फोहोर र पानी–पेयपदार्थका बोतललगायतका फोहरजन्य चिज ठूलो कालो थैलोमा बटुल्दै हिँडेका थिए। दुई जना नेपाली सहयात्री साक्षी राखेर फोहर बटुल्दै हिँड्ने ती विदेशी 'लालबहादुर'ले गरेको कामले नेपालीको लाजमर्दो हर्कतलाई 'एक्सपोज' गरिरहेको थियो। 

'लालबहादुर' खासमा पर्यटक मात्र थिएन, उनी नेपालका लागि इजरायली राजदूत हनान गोडर थिए। गोडरजस्ता कूटनीतिक व्यक्तिले हाम्रो सुन्दर पदमार्गमा फोहोर बटुलेर हिँड्दा कताकता हाम्रो सभ्यतामाथि कठोर व्यंग्य गरेझैँ लाग्ने, हीनताबोध हुने। 

सबैले बुझ्नै पर्ने कुरा, संरक्षण क्षेत्रभित्र घुमफिर गर्दा महत्त्वपूर्ण नियम पालन गर्नु आवश्यक छ। त्यो हो, 'तिमीले आफ्नो पदचापबाहेक केही नछोड, केही तस्वीरबाहेक अरू चीज नलैजाऊ'। यो नियम वनजंगल र अन्य प्राकृतिकस्थलमा गर्नु आवश्यक छ। यो मर्मचाहिँ सबैले पालना गरौँ न है। प्रकृतिलाई फोहर पार्नु ठूलो अपराध हो।  

कोहेलोको जुइनो
घुमफिरको कुरा गर्दागर्दै माथि पाउलो कोहेलोको प्रसंग घुसेको थियो। त्यो प्रसंगको जुइनो जोडेर लेख छोट्याउन खोज्दैछु। 'सुन्दर चिज आत्मसात् गर्न त्यो चिज आफ्नो निजी हुनुपर्छ भन्ने छैन' कोहेलोको भाव यही हो। त्यस भावसँग म पनि सहमत छु। 

स्नातकोत्तरचाहिँ त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढियो। कीर्तिपुर पढ्ने विद्यार्थीका लागि केन्द्रीय पुस्तकालय त अखडा  हुने नै भयो, पुस्तकालयमा ओहोरदोहोर गर्दा सामुन्नेमा रहेको 'जाकिर हुसेन रोज गार्डेन'को दर्शन त हुने नै भयो। त्यो  गुलाफ बगैँचा र त्यसको सौन्दर्य देख्दा कता–कता यस्तो लाग्थ्यो 'यो बगैँचा आफ्नै बनाउन पाए, आफ्नो सबैभन्दा प्रिय मान्छेलाई उपहार दिन पाए!' कोहेलोको नाम सुन्न र छिटपुट पढ्न थालेपछि उनको भाव पनि त त्यस्तै लाग्यो, 'सुन्दर चिज त आनन्द लिनकै लागि बनेका हुन, सुन्दर चिजलाई इज्जत गर, माया गर र आफ्नो ठान।'  

मैले पनि त्यसै गरे। १२ वर्षअघि म र आस्थाबीच विवाह भयो, घुम्न त विभिन्न ठाउँ पुगियो होला। एक दिन विशेष ठाउँ घुम्न जाने भनेर आस्थालाई मोटरसाइकल पछाडि राखेर कीर्तिपुर, केन्द्रीय पुस्तकालय लगेँ। केहीबेर पुस्तकालयमा बिताएपछि बाहिर निस्कियौँ अनि आस्थालाई भनेँ 'दस सेकेन्ड आँखा चिम्ल न, तिम्रा लागि विशेष उपहार दिन्छु'। गुलाफ बगैँचाको डिलमा लगेर आस्थालाई आँखा खोल्न लगाउँदै भने 'यो रोज गार्डेन मेरोतर्फबाट तिमीलाई उपहार भयो, यो गार्डेन अब तिम्रो भयो।' अहिले पनि कहिलेकाहीँ आस्था 'मेरो रोज गार्डेन हेर्न कीर्तिपुर जाने होइन?' भन्छिन्। हामी बेलाबखत जान्छौँ पनि। त्यो रोज गार्डेन 'हाम्रो मात्र' त होइन तर 'हाम्रो पनि' पक्कै हो। 

रोज गार्डेन आस्थालाई उपहार दिएझैँ यस पटकको हाइकिङमा शिवपुरी र नागार्जुनलाई आफ्नो नाममा गरेर आएको छु। शिवपुरी र नागार्जुन अब मेरो पनि हो। तपाईंहरूमध्ये कति जना त यो ठाउँको पदयात्रा गरिसक्नु भएको होला, नगएको भए  शिवपुरी र नागार्जुनलाई तपाईँ पनि आफ्नो नाममा गर्ने कि!


सम्बन्धित सामग्री