Saturday, April 27, 2024

-->

कुरूप र प्रदूषित बन्दैछन् पैदलमार्ग

सिमेन्टले बनाइएका सिँढीहरू नेपाली हिँडाइको मौलिकतामा चुनौती बनेका छन्। किनकि, हाम्रो हिँडाइ प्राकृतिक तथा जैविक मार्गमैत्री छ। यस्ता सिँढी घुँडा तथा ढाड दुखाउने कारक हुन्।

कुरूप र प्रदूषित बन्दैछन् पैदलमार्ग
तस्वीर: फुलटाइम एक्स्प्लोरर

काठमाडौँ उपत्यकाभित्र र वरिपरिका पदमार्गहरू मुख्यगरी दुई कारणले अहिले कुरूप र प्रदूषित बन्दैछन्। पहिलो, प्राकृतिक पदमार्गलाई विस्थापित गरेर अप्राकृतिक सिँढी वा खुड्किला हालिएका छन्। दोस्रो, सप्ताहन्त र बिदाका दिन हिँड्ने पदयात्रीका गतिविधि जैविकता र वातावरणमैत्री छैनन्। 

पदयात्रीका गतिविधि र वातावरण प्रदूषणको चर्चाभन्दा अगाडि कृत्रिम सिँढीका कुरा गरौँ।

कृत्रिम सिँढी वा खुड्किला बहिष्कार गरौँ
खासगरी सिमेन्ट ढलान गरी बनाइएका सिँढीहरू नेपाली हिँडाइको मौलिकतामा चुनौती बनेका छन्। किनकि, हाम्रो हिँडाइ प्राकृतिक तथा जैविक मार्गमैत्री छ। हामी कृत्रिम सिँढी तथा सिमेन्टका असजिला भर्‍याङ हिँड्न जान्दैनौँ। यस्ता सिँढी घुँडा तथा ढाड दुखाउने कारक पनि हुन्। 

सिमेन्टेड खुट्किलाले जंगल, खुल्लाचौर वा पदमार्गको सुन्दरता पनि खोसेको छ। उपत्यकाका केही लोकप्रिय छोटा र लामा पैदलमार्गहरूमा सिमेन्टी र ढुंगाका सिँढी प्रशस्तै देखिन्छन्। सुन्दरीजलदेखि मुलखर्कतिर जाने पदमार्ग होस् वा चम्पादेवीबाट भष्मासुर डाँडा चढ्ने उकालो, शिवपुरी होस् वा फूलचोकी वा जामाचो गुम्बा अथवा घ्याम्पेडाँडाबाट रानीकोट हुँदै लाकुरीभञ्ज्याँङ जाने बाटो होस् वा साँखुबाट मणिच्युड जाँदा, हिँड्नै असजिलो हुनेगरी बनाइका सिमेन्टका कृत्रिम सिँढी नचढी आजभोलि गन्तव्यमा पुगिन्न। 

प्राकृतिक पदमार्गमा लमतन्त धर्कोजसरी पसारिएको कृत्रिम सिँढी बनाउने मोह काठमाडौँ बाहिर पनि फैलिँदैछ। ललितपुरको बागमती गाउँपालिकास्थित कान्ति राजपथमा पर्ने तीनपानेबाट भट्टेडाँडासम्म हिँडेर वा गाडीमा पुग्न सकिन्छ। तर डाँडामा रहेको राडार नपुग्दै दाहिनेतिरबाट २०० मिटरमाथि चुचुरो पुग्नलाई प्राकृतिक बाटो मासेर लामा र हिँड्नै गाह्रो हुने सिँढी बनाइएका छन्। स्थानीय सरकारको बजेट खर्च गर्ने यस्तो लोभ र रोग अचेल खुम्बु पासाङ ल्हामु पदमार्गसमेत पुगिसकेछ। जोरसल्लेबाट नाम्चे जाँदा हिलारी पुल पुग्नेबेला ठाउँठाउँमा सिमेन्टेका सिँढी हिँड्नु पर्ने रहेछ। यी केही उदाहरण मात्र हुन्। प्रकृतिलाई चुनौती दिँदै मानिसले सिर्जना गरेका सिँढीका कथा अनेक ठाउँमा छन्। 

प्राकृतिक पदमार्ग मासेर बनाइएका सिँढीले पदयात्रीको स्वास्थ्यमा चुनौती मात्र थपेका छैनन्, मनोसामाजिक समस्याकै रूप लिएको छ। यस्ता गतिविधि स्थानीय सरकारको प्राथमिकतामा पर्नुले बजेट दुरुपयोग त भएकै छ, प्रकृति र संरक्षणप्रति ती सरकारको उदासिनता पनि झल्काउँछ। 

स्थानीय सरकारको उदासिनता हो वा कमिसनमोह, जंगलमा सिमेन्टका हात्ती, बाघ, सिंह, खरायो, स्याल आदि खडा गर्नेदेखि नानाथरी संरचना बनाएर पदमार्ग वरिपरिको वातावरण बिगारेको हेर्नलाई उपत्यकाबासीले धेरै टाढा जानुपर्दैन। यसो गर्नेहरूमा समुदायले व्यवस्थापन गरेको जंगलमा समुदायका केही मानिसले जे पनि गर्न सक्छन् भन्ने सोच हाबी भएको छ। 

केही साता पहिले हात्तिवन रिसोर्टबाट उकालो लाग्ने बित्तिकै यसअघि त्यहाँ कहिल्यै नदेखिएको संरचना देखियो। के रहेछ भनेर बुझ्न खोज्दा रिसोर्ट सञ्चालक खुलेर बोल्न चाहेनन्। 'समुदायले यहाँ जे पनि गर्न पाउँछ' भन्ने आसयमा प्रस्तुत भएका उनले जंगलमा रूखका फेदका दर्जनजति मुढा र टिनले बारेको टहरो सञ्चालन गरिरहेका छन्। पदमार्गमा यस्तो अतिक्रमण बढिरहेछ। 

काठमाडौँको फर्पिङभन्दा अलि वरै (काठमाडौँबाट जाँदा) बाँसबारी भन्ने ठाउँबाट हात्तिवनतीर हिँड्दै जाँदा देखिन्छ सामुदायिक वनभित्र सिमेन्टका हात्तीदेखि सिंहसम्मका आकृति। वन जोगाउने सन्देशहरू प्लाष्टिकका फ्लेक्सहरूमा राखिएका छन्। 

सप्ताहन्तमा हिँडिरहने पत्रकार कनकमणि दीक्षितले एक दिन यो पंक्तिकारलाई भने, "पदयात्रा गर्दा सिँढी बहिष्कार गरौँ।"

"कसरी?"

दीक्षितको विचारमा समर्थन गर्दै वातावरण पत्रकार रमेश भुषाल भन्छन्, "हिँड्दाखेरी त्यस्ता सिँढीमा नहिँडी प्राकृतिक पदमार्गमै हिँड्न थाल्ने हो भने अन्यन्त्र पनि यस्तै बनाउने क्रम केही मात्रामा रोकिन सक्छ। सँगै प्राकृतिक पैदलमार्ग छ भने त्यसैबाट हिँड्नुपर्छ, त्यसरी नै कृत्रिम सिमेन्टका सिँढीको बहिष्कार गर्न सकिन्छ।"

पदयात्रीले नै दूषित बनाउँदैछन् जैविक/प्राकृतिक पदमार्ग
हिजोआज के युवायुवती, के अधबैँशे अथवा जेष्ठनागरिकसम्म सप्ताहन्तमा हिँड्ने गरेको देखिन्छ। बिहान नियमितरूपमा हिँड्ने, सप्ताहन्तमा छोटो वा दिनभरिको पदयात्रामा जानेक्रम बढेको छ। 

हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मात्र हैन समूहको हिँडाइ साथीभाइ तथा आफन्तबीच भेटघाटको अवसर पनि हो। कतिपयका लागि भने प्रकृतिसँगको सामिप्यता र स्पर्श पनि हो हिँडाइ। हिँड्नुलाई पदमार्गमा भेटिने जनावर, चराचुरुङ्गी तथा बोटविरुवासँग (भलै देख्न पाइन्न) अन्तरकृया र संवाद गर्ने अवसरको रूपमा लिनेहरू पनि भेटिन्छन्। 

सप्ताहन्तको हिँडाइ, वनभोज, नाचगान आदि रमाइलोका लागि उपत्यका वरिपरिका डाँडा र खुल्लास्थान लोकप्रिय गन्तव्य बनेका छन्। तर यस्तो रमाइलो वा हिँडाइ प्रकृति र जैविक विविधता संरक्षणका लागि कसरी चुनौती बनिरहेका छन् भन्ने कुरा पदमार्ग वा वनभोजस्थल वरपरको फोहोरले बताउँछ। प्लाष्टिक, चाउचाउ वा 'जंक फुड'का खोल, रक्सी र पानीका बोतल नपाइने पदमार्ग भेट्न मुस्किल हुन्छ। 'फोहोर मलाई' भनेर डस्टबिन राखिएको छ तर उपयोग नै भएको पाइन्न। सम्बन्धित स्थानीय सरकारको बेखवर वा बेवास्ताले प्रकृति र वातावरण संरक्षणप्रति उसको जिम्मेवारीमा प्रश्न उठाएको छ। 

समुदायले संरक्षण गरेका सामुदायिक वनभित्र निर्माण गरिएका अप्राकृतिक संरचना र आकृतिहरूले पदयात्रीलाई लोभ्याउँदैनन्। उल्टो मन चस्स घोच्छ। प्राकृतिक पदमार्गमा कृत्रिम संरचना खडा गर्दा प्रकृतिमा रमाउँदै हिँड्नेहरूको मन पोल्छ भन्ने कुरा मार्ग प्रदूषित गर्नेहरूले महसुस गरेको वा बुझेजस्तो लाग्दैन। प्लाष्टिक, पानीका बोतल र नगल्ने फोहोर जथाभावी फ्याँक्ने प्रवृत्तिले प्रकृतिमाथि हमला गर्ने क्रम बढ्दै जाने हो भने पर्यावरणमाथिको जोखिम थपिदै जान्छ। 

पदयात्रीलाई लक्षित गरेर पदमार्गमा थापिने नाङ्ले पसल र नाम मात्रका होटल वा रिसोर्टले थपेको कुरूपता भनिसाध्य छैन। पदमार्गहरूमा ठाउँठाउँमा नाङले पसल थापेको भेटिन्छन्। त्यस्ता खुद्रे पसलमा पानीपुरी, चटपटेदेखि लोकल रक्सी र जाँडसमेत खुल्ला रूपमा बेचिन्छ। 

दिनभरि यस्ता पसल चलाउनेले हिँड्ने बेला फोहोर जति त्यहीँ छोडेर जाने रहेछन्। त्यस्तो फोहोर हतपत उठ्दैन, झन् थुप्रिँदै जान्छ। सप्ताहन्तमा मात्र भेटिने यस्ता पसलहरू आजभोलि साताभरि नै पाइन थालेका छन्। यसरी पसल थाप्नेहरूले प्रकृतिलाई प्रदूषित बनाइरहेको प्रति त्यसलाई रोक्न वा व्यवस्थित गर्न स्थानीय सरकारको चासो कम देखिन्छ। 

ललितपुरको फूलचोकी डाँडा चढ्दा अलि वर्ष अगाडिसम्म गोदावरीबाटै खानेकुरा र पानी झोलामा हालेर जानुपर्थ्यो।  शनिबारको दिन बल्ल एक ठाउँमा चिया बेच्नका लागि सानो पसलजस्तो राखिन थाल्यो। त्यसरी राख्दा पदयात्री र वातावरण दुवैलाई असर नपर्ने गरी एक कुनामा व्यवस्थित गरिएको हुन्थ्यो। अहिले त त्यहाँ टहरोजस्तै बनाएर बाटाको एक छेउमा पसल नै राख्न थालिएछ। 

चम्पादेवी पदयात्रामा जाँदा फर्पिङ या बाँसबारीबाट पानी तथा अन्य खानेकुरा बोकेर जानुपर्थ्यो। अहिले बाटोमा तीनचार ठाउँमा नाङ्ले पसल छन्। चम्पादेवी मन्दिर परिसरमा समेत खानेकुरा बेच्नेहरूले आसन जमाउन थालेका छन्। यस्ता उदाहरण तारेभिरमा पनि छ्याप्छ्याप्ती भेटिन थालेका छन्।

अग्लो डाँडामा टावर बनाउने सवालमा स्थानीय सरकारदेखि प्रदेश सरकारकै होडबाजी चलेकै हो। भिरमा बडेमानको नेपालको झण्डा बनाउन सिमेन्टको दुरुपयोग भएको देख्नचाहीँ काठमाडौँवासीले धेरै टाढा जानुपर्दैन। फर्पिङ हात्तिवन तलतिरको भिरतिर हेरे पुग्छ। 

त्यहाँ पहिले प्राकृतिक संरचनामै बिजुली बालेर बनाइएको झिलिमिलि झण्डा थियो। साँझ वा रातमा अति सुन्दर देखिन्थ्यो। अहिले त्यही ठाउँमा सिमेन्टको बडेमानको झण्डा बनेको छ। त्यसको वरपर प्राकृतिक जंगल छ। तर जंगलमा हात्तिदेखि बाघसम्मका आकृति सिमेन्टले बनेका छन्। 

भिरालो जमिनको टुप्पो र जंगलकै छेउसम्म डोजर पुर्‍याउने, टुप्पामा भ्यु टावर बनाउने, भ्युटावरसम्म पुग्ने बाटो बनाउने, होटल रिसोर्ट चलाउने होडबाजीले ठूलै प्राकृतिक जोखिम निम्त्याउँदैछन्। यस्ता गतिविधिमाथि स्थानीय सरकारले निगरानी गर्ने र जथाभावी गर्न स्वीकृति नदिने हो भने, शहरलाई जीवन दिने आसपासको हरियाली र जंगल जोगिने मात्र थिएन, त्यहाँ अवस्थित पदमार्गहरूको प्राकृतिक सुन्दरता र महत्त्व बढ्ने थियो।


सम्बन्धित सामग्री