Monday, April 29, 2024

-->

सरकारी अस्पतालमा छैन पार्किङको व्यवस्था, भएका ठाउँमा पनि सेवाग्राहीसँग शुल्क

वीर, प्रसूतिलगायत सरकारी अस्पतालमा सेवाग्राहीका लागि पार्किङ त छैन नै, सडकमा समेत काठमाडौँ महानगरले सेवाग्राहीसँग शुल्क असुल्छ। पाटनमा पार्किङको व्यवस्था भए पनि अस्पतालले नै सेवाग्राहीसँग शुल्क लिन्छ।

सरकारी अस्पतालमा छैन पार्किङको व्यवस्था भएका ठाउँमा पनि सेवाग्राहीसँग शुल्क
वीर अस्पतालअगाडि सडकमा नै काठमाडौँ महानगरले पार्किङ व्यवस्था गरेको छ। तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– कालीमाटीका लालबहादुर मगरले केही दिनअघि चिकित्सकको सल्लाहअनुसार बिरामी श्रीमतीलाई वीर अस्पताल भर्ना गरे। मगर मोटरबाइकमा अस्पताल आउने–जाने गर्थे। अस्पतालमा पार्किङको राम्रो व्यवस्था नहुँदा बाहिर सडकमा नै राख्न पनि खाली ठाउँ खोज्दै भौतारिनुपर्थ्यो। 

श्रीमतीलाई अस्पताल भर्ना गरेको तेस्रो दिन उनको मोटरबाइक पार्किङबाटै हरायो। “श्रीमतीलाई कुर्न छोरा, जेठान र म पालो गर्थ्यौँ। तेस्रो दिन अफिसबाट छिट्टै अस्पताल पुगेँ। बाइक राख्ने ठाउँ नभएपछि अरूले पार्किङ गरेभन्दा अलि अगाडि राखेको थिएँ,” उनी भन्छन्, “त्यो रात अस्पतालमै बसेँ। बिहान त राखेको ठाउँमा बाइक नै थिएन। कसरी राखेको थिएँ भन्ने पनि याद भएन। धेरै खोजेँ। पछि बुझ्दा महानगरले उठाएछ।”

कुपन्डोलका दिनेश जोशी छोरालाई उपचार गराउन वीर अस्पताल पुगेका थिए। त्यहाँ सडकमा मोटरबाइक पार्किङ गर्दा दिइएको बिल हराए। काम सकेर बाइक लिन जाँदा १३० रुपैयाँ तिर्नुपरेको उनले गुनासो गरे।

“अस्पतालभित्र मोटरबाइक लैजान खोज्दा गार्डले हातको इसाराबाट नयाँ भवनअगाडिको पार्किङ देखाए,” जोशी भन्छन्, “भवनअगाडि पार्किङमा बसेका एक युवकले सेतो रङको कागजको टुक्रा थमाए। त्यो टुक्रा हराएँछु। उपचारमा एक घण्टा जति लागेको हो, त्यसपछि गाडी निकाल्न खोज्दा पहिले दिएको कागजको टुक्रा माग्दै १०० रुपैयाँ भएको बताए। कागज हराएको कारण १३० रुपैयाँ लिए।”

वीर अस्पतालमा कर्मचारीबाहेक सेवाग्राहीलाई पार्किङको व्यवस्था छैन। कर्मचारीलाई भने नयाँ भवनमा पार्किङको व्यवस्था छ। सर्वसाधारणका लागि अस्पतालको नयाँ र पुरानो भवनबीचको सडकमा पार्किङ व्यवस्थापन गर्न काठमाडौँ महानगरले निजी कम्पनी हुइल्सलाई जिम्मा दिएको छ। त्यहाँ पार्किङबापत अत्यधिक पैसा असुल भइरहेको सेवाग्राहीको गुनासो छ। यस ठाउँमा चारचक्के पार्किङ गर्न झनै सकस हुने गरेको छ। 


वीर अस्पतालका सेवाग्राहीले सडकमा मोटरबाइक पार्किङ गरेबापत घण्टाको २५ रुपैयाँ तिर्नुपर्छ। महानगरले यहाँको पार्किङ क्षेत्रलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ। हुइल्स कम्पनीका कर्मचारी विनोदप्रसाद बजगाईं भने ‘क’ क्षेत्रमा आधा घण्टाको १२ रुपैयाँको दरले र ‘ख’ क्षेत्रमा त्यति नै अवधिको ५ रुपैयाँको दरले शुल्क उठाउने गरेको दाबी गर्छन्।

अस्पताल प्रशासनका अनुसार वीरमा दैनिक २५ सय हाराहारीमा बिरामी उपचारका लागि आउँछन्। सडकमै पार्किङ तोकिए पनि खाली नभएको अवस्थामा थोरै यताउता राख्दा महानगरले उठाइदिने गरेको कतिपय सेवाग्राहीको गुनासो छ। सडकमा मोटरबाइक मिलाएर नराख्दा आवतजावत गर्ने सवारीसाधनलाई समस्या हुने बजगाईंले बताए। अनियन्त्रित रूपमा राखिएको सवारीसाधन मात्र महानगरले उठाउने उनको दाबी छ।

अस्पताल प्रशासन शाखाका उप–सचिव सागर मिश्र पार्किङ व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरको भएको बताउँछन्। महानगरले अस्पतालअगाडिको खाली जग्गामा पार्किङको व्यवस्था गरेर पैसा उठाइरहेको उनले बताए। अस्पतालले कुरुवाघर नै बनाउन नसकेको अवस्थामा पार्किङको जिम्मेवारी लिन नसक्ने उनको भनाइ छ।     

“अस्पतालमा २५ सय सेवाग्राहीको लागि पार्किङ गर्ने ठाउँ छैन। अस्पतालअगाडिको खाली जग्गामा महानगरले नै पार्किङ गराएर पैसा असुल्छ। हामीले पार्किङको लागि महानगरसँग कुरा गरेका छौँ, तर व्यवस्थापन हुन सकेको छैन,” मिश्रले भने।

महानगरका प्रवक्ता नवीन मानन्धर वीर अस्पतालले आफ्नो फराकिलो ‘अन्डरग्राउन्ड’मा सर्वसाधारणको लागि पार्किङ गर्न नदिएको बताउँछन्। पार्किङमा ठेकेदारको गाडी राख्न दिने, तर सर्वसाधारणलाई नदिने काम अस्पताल प्रशासनले गरेको उनको आरोप छ। 

“पार्किङको व्यवस्था गर्ने काम महानगरको हो। तर त्यो भन्दैमा अस्पतालसँग जोडिएका विषय महानगरकै हुन्छ भन्ने छैन। जुन स्थानमा पार्किङको व्यवस्था गरिएको छ, त्यहाँ पैसा लाग्छ,” प्रवक्ता मानन्धर भन्छन्, “वीर अस्पताल सरकारी अस्पताल हो, महानगरको अस्पताल हो र?”

प्रसूतिगृहपछाडि सडकमा गरिएको पार्किङ।


काठमाडौँ महानगरकै क्षेत्रमा पर्ने थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा पनि सर्वसाधारणका लागि पार्किङको व्यवस्था छैन। पहिलोपटक दिदीको स्वास्थ्य जाँच गराउन प्रसूतिगृह पुगेकी मनीषा बस्नेत अस्पतालमा पार्किङ गर्ने ठाउँ नपाएपछि दिदीलाई एक्लै छाडेर घर फर्किइन्। “पहिलोपटक थापाथली अस्पताल आएकी थिएँ, सर्वसाधारणको लागि पार्किङ व्यवस्था नै रहेनछ। अनि दिदीलाई एक्लै छाडेर फर्किन बाध्य भएँ,” उनी भन्छिन्। 

प्रसूतिगृहकी सूचना अधिकारी रानु थापा ठाउँ अभावमा पार्किङको व्यवस्था गर्न नसकेको बताउँछिन्। जापान सरकारले बनाइदिएको यो भवन भूकम्पबाट सुरक्षित नभएका कारण पार्किङको व्यवस्था गर्न नसकेको पनि उनले बताइन्। कर्मचारीको लागि भने पार्किङ व्यवस्था छ। तर १२ सय कर्मचारीलाई अहिले पनि पार्किङ पर्याप्त नभएको उनको भनाइ छ।

प्रसूतिगृहभित्र कर्मचारीका सवारीसाधन पार्किङस्थन।


अस्पताल प्रशासनका अनुसार दैनिक एक हजार हाराहारीमा बिरामी उपचारका लागि आउँछन्। सेवाग्राहीका लागि अस्पतालले पार्किङको व्यवस्था गर्न नसक्ने थापा बताउँछिन्। “सर्वसाधारणको लागि अस्पतालको पछाडि निःशुल्क पार्किङको व्यवस्था छ। तर त्यहाँ सवारीसाधनको सुरक्षाको जिम्मा लिन सक्दैनौँ,” उनी भन्छिन्, “उक्त क्षेत्रबाट अत्यधिक मोटरसाइकल चोरी भएका कारण अहिले पार्किङमा रोक लगाइएको छ।”

अस्पतालको पछाडिको खाली जग्गा नयाँ भवन बनाउँदा सामान राख्न प्रयोग भएको थियो। त्यो जग्गा सुकुमबासीले कब्जा गर्न सक्ने हुँदा बार लगाएर राखिएको थापाको दाबी छ। स्थानीय तहले स्वीकृति नदिँदा त्यसलाई पार्किङको रूपमा प्रयोग गर्न नसकेको उनको भनाइ छ।

“पार्किङको व्यवस्था गर्न विभिन्न निकायसँग माग गर्दै आएका छौँ। तर समाधान हुन सकेको छैन,” उनी भन्छिन्, “सुरक्षित पार्किङ नहुँदा ट्राफिक प्रहरीले सवारीसाधन नियन्त्रणमा लिने गरेको छ।”

काठमाडौँ महानगरपालिकाले नगरसभाको १३औँ अधिवेशनबाट पारित गरेको आर्थिक  ऐन २०८० मा पार्किङसम्बन्धी व्यवस्था गरेको छ।

ऐनको दफा १२ मा काठमाडौँ महानगरपालिकाका सार्वजनिक सडकमा सवारीसाधन पार्किङ सञ्चालन गर्न नदिइने उल्लेख छ। तर ऐन जारी भएका बखत महानगरपालिका आफैँले निश्चित ठाउँ नै तोकेर निश्चित अवधि तोकी पार्किङ सुविधा उपलब्ध गराइ शुल्क लिन सक्ने उल्लेख छ। उक्त ऐनअनुसार दुईपांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ र प्रतिघण्टा २५ रुपैयाँ तथा चारपांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० र प्रतिघण्टा ८० रुपैयाँ लिन सक्ने व्यवस्था छ।

पार्किङको शुल्क असुल्छ पाटन अस्पताल
पाटन अस्पतालमा पार्किङको व्यवस्था भए पनि महँगो शुल्क तिर्नु परेको सर्वसाधारणको गुनासो छ। पाटन अस्पतालले आफ्नो भवनको अन्डरग्राउन्डमा पार्किङको व्यवस्था छ।

उपचारका लागि पाटन अस्पताल पुगेका सुमन काफ्ले अस्पतालले पार्किङको नाममा लिएको शुल्क देखेर दिक्क भएको गुनासो गर्छन्। मोटरसाइकल पार्किङ गरेको प्रतिघण्टा २५ रुपैयाँ र गाडीको ४० रुपैयाँ शुल्क उठाउने गरिएको छ। 

काफ्ले भन्छन्, “१५/२० रुपैयाँ मेरा लागि ठूलो कुरा भएन। तर सरकारी अस्पतालमा त निःशुल्क पार्किङको व्यवस्था हुनुपर्ने हो। उपचारमा जाने सर्वसाधारणसँग पार्किङका नाममा समेत शुल्क असुल हुन्छ भने निःशुल्क स्वास्थ्य सेवाको कल्पना कसरी गर्न सकिन्छ?”

अस्पतालका सुरक्षा प्रमुख शम्भु केसी शुल्क नलिँदा सेवाग्राहीभन्दा अन्य सर्वसाधारणले पार्किङ भरिदिने बताउँछन्। अस्पतालले अन्डरग्राउन्ड पार्किङ सञ्चालनका लागि ठेक्का प्रक्रिया शुरू गरिसकेको उनले जानकारी दिए। 

“अस्पतालका कर्मचारीलाई समेत पार्किङ गर्न नपुग्ने अवस्था आउन थालेपछि पार्किङका लागि शुल्क लिएका हौँ,” केसी भन्छन्, “सवारीसाधन व्यवस्थापनका लागि न्यूनतम शुल्क लिएका छौँ। पार्किङको पैसा नउठाए अस्पताल चलाउन सकिँदैन।”

पाटन अस्पताल परिसरमा अस्पताल कर्मचारीका चारपांग्रे सवारी पार्किङ।


अस्पतालमा १५ सय कर्मचारी छन्। उनीहरूका लागि पार्किङ गर्न निःशुल्क ठाउँ तोकिएको छ। पार्किङमा खटिएका एक कर्मचारीका अनुसार प्रतिघण्टा मोटरसाइकलको २५ र चारचक्के गाडीको ४० रुपैयाँ तिर्नुपर्छ। अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले दिनभर पार्किङ गर्न चाहेमा गाडीको २५० तिर्नुपर्छ। तर मोटरसाइकलको २५ रुपैयाँ तिरे दिनभरि राख्न पाइन्छ। राति पार्किङमा राखेको गाडीको ३०० र मोटरसाइकलको ३० रुपैयाँ तिर्नुपर्छ। 

यसअघि, अस्पतालबाहिर सडक किनारमा निःशुल्क पार्किङ थियो। तर ललितपुर महानगरले अहिले सडकबाट पार्किङ हटाएको छ। 

महाराजगन्जमा सुरक्षाको समस्या!
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पार्किङको व्यवस्था छ। त्यहाँ अस्पताल परिसरको सडक किनारमा पार्किङको व्यवस्था मिलाइएको छ। पार्किङ व्यवस्थापनका लागि अस्पतालले कर्मचारी पनि खटाएको छ। तर यहाँ आउने सेवाग्राहीले राति बाइक हराउने समस्या रहेको गुनासो गर्छन्।

निजी सुरक्षा कम्पनीबाट अस्पतालमा सुरक्षागार्डको रूपमा कार्यरत सविन कुँवर अहिले पनि अस्पतालमा पार्किङ पर्याप्त नभएको बताउँछन्। उनी भन्छन्, “कति अवस्थामा सेवाग्राहीले पार्किङ नपाएर बाहिर राख्नु पर्ने अवस्थासमेत आउने गरेको छ। रोडको छेउमा पार्किङ गरिन्छ। त्यो ठाउँ भरिएपछि समस्या हुने गरेको छ।”

आफ्नै पार्किङ भएका कतिपय सरकारी अस्पताल परिसरका सडकमै मोटरबाइक पार्किङ गर्दा एम्बुलेन्स र अन्य सवारी आवतजावतमा समस्या हुने गरेको छ। भिडभाड रहने महाराजगन्जकै बाल कान्ति अस्पतालमा समेत पार्किङको पर्याप्त व्यवस्था नहुँदा सडकमा समेत सवारीसाधन राख्ने गरिएको छ।


सम्बन्धित सामग्री