Sunday, April 28, 2024

-->

यसकारण चल्न सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने आशाले त्यस क्षेत्रका व्यवसायी उत्साहित थिए। विमानस्थलको सेवा अवरुद्ध भएसँगै उनीहरूमा निराशा बढ्दो छ।

यसकारण चल्न सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट जजिरा एयरलाइन्सले उडान रोकेको पाँच महिना पूरा भयो।  

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जजिराले पुनः उडान शुरू गर्नेबारे अहिलेसम्म प्राधिकरणलाई कुनै जानकारी गराएको छैन। 

२०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएदेखि कुवेतको जजिरा एयरलाइन्सले कुवेत–भैरहवा र भैरहवा–कुवेत उडान गर्दै आएको थियो। शुरूमा हप्ताको तीन दिन उडान गरेको जजिराले केही समय कुवेत–भैरहवा दैनिक उडान गरेको थियो। तर यात्रु नपाएपछि पुनः हप्ताको तीन दिन उडान भर्दै आएको जजिराले उडान तथा अवतरणका लागि हुस्सु लागेर मौसम प्रतिकूल भएपछि गत मंसिर अन्तिम हप्ताबाट पहिलो पटक उडान रोकेको थियो।

तराईको मौसममा सुधार आएपछि गत फागुनबाट निरन्तरता दिएको उडान जजिराले एक महिनापछि पुनः रोकेकोमा अहिलेसम्म खुल्ने छाँटकाँट छैन। नेपालको निजी वायुसेवा कम्पनी, हिमालयन एयरलाइन्सले पनि २०७९ कात्तिकबाट मलेशियाको राजधानी क्वालालम्पुरबाट भैरहवा र भैरहवाबाट क्वालालम्पुर चार्टर्ड उडान शुरू गरेको थियो। प्रतिकूल मौसमका कारण मंसिरमा उडान रोकेको हिमालयन एयरलाइन्सले त्यसयता फेरि सञ्चालन गरेको छैन। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपककुमार वज्राचार्य पर्याप्त यात्रु नपाएपछि जजिरा र हिमालयन एयरलाइन्सले उडानमा अनिच्छा देखाएको बताउँछन्। “खासगरी जुन जुन कम्पनीले भैरहवाबाट उडानका लागि तत्परता देखाएर उडान शुरू गरेका थिए, उनीहरूको लक्ष्य वैदेशिक रोजगारमा जाने–आउनेका लागि सेवा दिने थियो,” उनी भन्छन्, “तर वैदेशिक रोजगारसँग सम्बन्धित सबै कार्यालयहरू यहाँ नहुँदा काठमाडौँ जानुपर्ने बाध्यता हटेन। काठमाडौँ नै जानुपर्ने भएपछि एयरलाइन्सले यहाँबाट जाने यात्रु पाएनन्।” 

नेपालको राष्ट्रिय ध्वजाबाहक, नेपाल वायुसेवा निगमले भैरहवामा हप्तामा एउटा मात्र उडान गर्दै आएको छ। निगमको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख माधव लोहनीका अनुसार हरेक मंगलबार नेपाल वायुसेवाको न्यारोबडी जहाज क्वालालम्पुरबाट सिधै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छ। अहिलेसम्म भैरहवामा यात्रु झारेर सिधा काठमाडौँ फर्किने गरेकोमा अब उक्त जहाज दिल्ली र हङकङका यात्रुलाई लिएर काठमाडौँ फर्कने लोहनी बताउँछन्। दिल्ली र हङकङका ती यात्रु काठमाडौँलाई ट्रान्जिट बनाएर नेपाल वायुसेवाकै अर्को जहाजबाट गन्तव्यमा जाने गरी व्यवस्था मिलाइएको लोहनीको भनाइ छ। 

ओइलाउँदै गएको उत्साह 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यस क्षेत्रका व्यवसायीले भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने अपेक्षा गरेका थिए। तर यात्रु अभावमा विमानस्थलको सेवा अवरुद्ध भएपछि निराशा बढेको छ। भैरहवाका पर्यटन व्यवसायी एवं ट्राभल एजेन्सी सञ्चालक सञ्जय बजिमय सरकारले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन नचाहेको आरोप लगाउँछन्।

“यहाँबाट यात्रु भएनन् भन्नु गलत हो, यात्रुको जिम्मा हामी लिन्छौँ। तर सिधा उडान हुनुपर्‍यो, कनेक्टिङ फ्लाइटको कुनै अर्थ छैन,” उनी भन्छन्, “हप्तामा एउटा उडान गर्ने, अनि त्यो पनि काठमाडौँमा चार घण्टा ट्रान्जिटमा राखेर यात्रुहरू दिल्ली जान तयार हुँदैनन्।” 

उनका भनाइमा काठमाडौँमा ट्रान्जिट गरेर दिल्ली जानुभन्दा समय र खर्च दुवै हिसाबले मितव्ययी हुने गरी भैरहवाबाट दुई घण्टाको गाडी यात्रामा गोरखपुर गएर त्यहाँबाट एक घण्टामा जहाजमार्फत् दिल्ली पुग्न यात्रुलाई सहज हुन्छ।

गोरखपुरदेखि दिल्लीसम्म नेपाली रुपैयाँ ६ हजारमा हवाई यात्रा गर्न सकिन्छ। सुनौलीबाट गोरखपुरसम्म बसभाडा २०० र रिजर्भ कारमा जाँदा पनि बढीमा दुई हजारभन्दा बढी खर्च हुँदैन। “मसँग चार जना मानिस थिए। उनीहरूका लागि काठमाडौँ हुँदै दिल्ली जाँदा नेपाल एयरलायन्समा प्रतियात्रु ३७ हजारको टिकट आयो। तर गोरखपुरबाट ६ हजारमै पाइयो,” उनी भन्छन्, “भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली यहाँबाट कुनै यात्रु पनि जाँदैनन्। सिधा उडान नभएसम्म हुँदैन।” 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपाल वायुसेवाको क्वालालम्पुरबाट भैरहवा आउने यात्रुको संख्या २० देखि ३० जना मात्र हुन्छ। प्राधिकरणले विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याए पनि त्यसपछि गर्नुपर्ने अरू कामहरू नहुँदा यात्रुको अभावमा पूर्ण रूपमा विमानस्थल सञ्चालन हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्। 

“सबै संरचनाले काम गर्न सकेनन्। विमानस्थल त बन्यो, तर पूर्ण रुपमा सञ्चालन गर्न वैदेशिक रोजगारमा जानेहरूको लागि म्यानपावर कम्पनी, स्वास्थ्य जाँच र श्रमका सबै कामहरू भैरहवाबाटै हुनुपर्थ्यो,” उनी भन्छन्, “नेपालको दुई किलोमिटर दक्षिणमा भारत छ। उत्तरप्रदेश र विहारका धेरै मानिसहरूले वैदेशिक रोजगारमा जान यो विमानस्थल प्रयोग गर्न सक्थे। त्यसका लागि यात्रुहरूलाई नेपालबाट जाने इजाजत दिन भारत सरकारसँग कुरा गर्न मन्त्रालयमार्फत् आग्रह गर्‍यौँ। तर स्वदेशबाट वैदेशिक रोजगारमा जाने मान्छेलाई नै काठमाडौँ आउनैपर्ने बाध्यता हटेको छैन।”

अहिले भैरहवामा श्रम कार्यालय स्थापना भएको छ। तर स्वास्थ्य जाँच, म्यानपावर कम्पनीसँगका सम्झौतालगायत अरू कामका लागि काठमाडौँ आउनुपर्ने बाध्यता कायमै छ। 

कोभिड महामारीले बिथोलेको लक्ष्य
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य आगमन र प्रस्थान यात्रुको संख्या बार्षिक ९० लाख छ। २०७६ मा कोरोना महामारी नआएको भए यात्रुसंख्या बढेको अनुपातमा थप दुई वर्षपछि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप धान्न सक्ने अवस्था हुँदैनथ्यो। प्राधिकरणका प्रवक्ता निरौलाको भनाइमा कोभिड महामारीअघि हवाईयात्रुको बार्षिक वृद्धिदर आन्तरिकतर्फ २० र बाह्यतर्फ १२ प्रतिशत रहेको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा बढी यात्रु हुँदा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने गरी योजना बनाइएको थियो। तर कोरोना महामारीको कारण पूर्वयोजनाअनुसार काम हुन पाएन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य यात्रु क्षमता ३५ लाख छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १० लाख रहेको छ।

“काठमाडौँले धान्न नसक्ने यात्रुलाई भैरहवा र पोखरा डाइभर्ट गर्ने सोचका साथ काम भएको थियो,” निरौला भन्छन्, “कोरोना महामारी र त्यस लगत्तैको विश्वव्यापी आर्थिक मन्दी नभएको भए पोखरा र भैरहवा दुवै विमानस्थल गुल्जार भइसक्थे।” 

हवाई रुटको विषयलाई लिएर पनि भैरहवा अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा नआएको टिप्पणी हुने गरेको छ। तर निरौला यो कुरा अस्वीकार गर्छन्। अहिले भारतले सिमराको आकासबाट मात्र नेपाल आउने जहाजलाई प्रवेश विन्दु दिएको छ। सिमराबाट प्रवेश गरेर भैरहवा जानु र काठमाडौँ आउनु उस्तै भएकाले प्रवेश विन्दुको समस्या नभएको उनको दाबी छ। 

नेपालले महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरको आकाश भएर जहाजलाई नेपाल प्रवेशको रुट दिन भारतसँग माग गर्दै आएको छ। तर भारतले अहिलेसम्म ती हवाई रुट प्रदान गरेको छैन।


सम्बन्धित सामग्री