Saturday, May 04, 2024

-->

समाज बुझाउने इतिहास र भूगोलको पढाइ संकटमा, प्राध्यापकहरू भन्छन्– राज्यकै नीतिले विद्यार्थी आएनन्

इतिहास र भूगोललाई मानवजातिको संस्कृति, परम्परा, प्रकृति मात्र नभई देश नै बुझ्ने विषय मानिन्छ। तर त्रिविको केन्द्रीय विभागमा यी विषय पढ्नेको संख्या नगन्य छ। कतिपय क्याम्पसमा त पठनपाठनसमेत बन्द भएको छ।

समाज बुझाउने इतिहास र भूगोलको पढाइ संकटमा प्राध्यापकहरू भन्छन्– राज्यकै नीतिले विद्यार्थी आएनन्

काठमाडौँ– “तिमीलाई इतिहास थाहा छैन भने केही पनि थाहा छैन। तिमी एउटा यस्तो पात होउ, जसलाई आफू कुनै रूखको एक अंश हो भन्ने तथ्यको ज्ञान छैन,” प्रसिद्ध अमेरिकी लेखक माइकल क्रिचटनलले भनेका छन्। 

क्रिचटनलको यो भनाइले इतिहासको महत्त्वलाई देखाएको छ। अमेरिकाको इष्टर्न वासिङ्टन यूनिभर्सिटीका अनुसार विश्वलाई बुझ्न मात्र नभई आलोचनात्मक चेतका लागि पनि इतिहासको अध्ययन महत्त्वपूर्ण छ। इतिहासको जानकारी भएका व्यक्तिले मात्र परिवर्तन र त्यसका कारणहरू बुझ्न सक्छ।

इतिहाससँग देशको भूगोल, संस्कृति, राजनीति, आर्थिक, प्रशासनिकलगायत विषय गाँसिएका हुन्छन्। विस्कन्सिन म्याडिसिन विश्वविद्यालयको इतिहास विभागले इतिहासको अध्ययनलाई ‘परिवर्तनको अध्ययन’ भनेको छ। 

तर नेपालमा यो महत्त्वपूर्ण विषय पठनपाठन उपेक्षामा परेको छ। यो विषय पढ्ने विद्यार्थी संख्या नगन्य छ। त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभागका प्रमुख प्राडा. विष्णु सापकोटा भन्छन्, “इतिहास नबुझी राष्ट्र बुझ्न सकिँदैन। इतिहास राष्ट्रको पहिचान हो। इतिहास भएन भने राष्ट्र जीवन्त रहन्छ वा रहन्न भन्न सकिँदैन।”

इतिहास केन्द्रीय विभागका अनुसार अहिले स्नातकोत्तर पहिलो सेमेस्टरमा २३ जना विद्यार्थी भर्ना भएका छन्। त्यसमध्ये नियमित कक्षा लिने विद्यार्थी ६ देखि ९ जना हुन्छन्। सापकोटाका अनुसार इतिहास केन्द्रीय विभागको एमए, एमफिल र पीएचडीमा अध्ययन गर्ने विद्यार्थी ५० जना छन्। यो संख्या पछिल्ला वर्षहरूको तुलनामा केही बढी हो।

२०७२ देखि २०७६ सालसम्म केन्द्रीय विभागमा इतिहास पढ्ने २/४ जना हुन्थे। “सेमेस्टर प्रणालीमा गएपछि विद्यार्थी संख्या अलि बढेको छ, यसकारण हामी उत्साही छौँ,” इतिहास विभागका प्रमुख सापकोटा भन्छन्। 

तीन दशकअघि थेगिनसक्नु, अहिले नगन्य
तीन दशकअघि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागको स्नातकोत्तर तहमा इतिहास पढ्ने विद्यार्थीको संख्या थेगिनसक्नु थियो। हाल विभागमा प्राध्यापक रहेका डा. रमेशमान श्रेष्ठ २०४७–२०४९ सालमा केन्द्रीय विभागमा स्नातकोत्तर तहको विद्यार्थी थिए। त्यतिबेला इतिहास पढ्ने विद्यार्थीको संख्या १५१ थियो। कक्षा कोठामा ११० विद्यार्थीका लागि मात्र कुर्सी थिए। बाँकी ४० विद्यार्थीलाई बस्ने सिट हुँदैनथ्यो। “मैले सिट नै पाउँदिनथेँ। कहिले भित्रै उभिएर र कहिले झ्यालबाहिर उभिएर सुन्थेँ। द्वितीय वर्षमा मात्र सिट पाएँ,” उनी सुनाउँछन्।

अहिले अवस्था ठीक उल्टो छ। विद्यार्थी संख्या कम हुँदा कोठा पूरै खाली जस्तो हुन्छ। इतिहास विषयको अध्ययन गर्ने विद्यार्थी नहुनुमा राज्यको नीति जिम्मेवार रहेको प्राडा. श्रेष्ठ बताउँछन्।

इतिहास विषय पहिले विद्यालय तह र तत्कालीन प्रविणता प्रमाणपत्र तह (आईए) मा पनि पढाइ हुन्थ्यो। जसकारण स्नाकोत्तर तहसम्मै इतिहास पढ्ने विद्यार्थीको संख्या धेरै हुन्थ्यो। २०६०/६१ सालबाट सरकारले आईए हटाएर पूर्णरूपमा दश जोड दुई लागू गर्‍यो। त्यसपछि इतिहास पढ्ने विद्यार्थीहरू पनि घट्न थाले। “जब आईए फेजआउट गरियो, इतिहास विषयको पढाइ पनि हरायो। इतिहास विषयलाई राज्यले उपेक्षा गरेको प्रमाण हो यो,” प्राडा. श्रेष्ठ भन्छन्।

विभागीय प्रमुख प्राडा. सापकोटा पनि यो महत्त्वपूर्ण विषयको पठनपाठनमा राज्यले नै उपेक्षा गरिरहेको बताउँछन्। “इतिहास नबुझी राष्ट्र बुझ्न सकिँदैन। तर राज्यबाट इतिहासलाई उपेक्षा गर्ने काम गरियो,” उनी भन्छन्, “इतिहास संस्कृतिलाई अध्ययन गर्न नपर्ने विषयजस्तो प्रचार गरेर प्रहार भयो।”

२०६२/६३ सालको आन्दोलन र त्यसपछि राजाहरूको शालिक फोड्ने अभियानले इतिहासप्रति वितृष्णा बढाउने काम गरेको सापकोटाको भनाइ छ। “राजा महाराजाका शालिकहरू ध्वस्त पार्ने अभियानले इतिहासको पढाइलाई कमजोर बनायो,” उनी भन्छन्, “विश्वको धेरै देशमा प्रारम्भिक शिक्षामा इतिहासलाई अनिवार्य गरिएको छ। तर हामीकहाँ मुहानमा इतिहासका विषय नै राखिएन।” 

काठमाडौँबाहिर ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, डिग्री कलेज विराटनगर र पृथ्वीनारायण क्याम्पस पोखरामा पनि स्नातकोत्तर तहमा इतिहास विषय पढाइ हुन्थ्यो। तर विद्यार्थी अभाव भएपछि ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा इतिहासको पढाइ बन्द भएको छ। 

उता, डिग्री कलेज विराटनगरमा स्नातकोत्तर तहको पहिलो सेमेस्टरमा दुई जना विद्यार्थी भर्ना भएका छन्। त्यहाँ स्नातकोत्तर तहमा इतिहास अध्ययन गर्ने विद्यार्थी जम्मा तीन जना मात्र छन्। पृथ्वीनारायण क्याम्पस पोखरामा भने स्नातकोत्तर तह पहिलो सेमेस्टरमा १२ जना छन्। 

भूगोलमा पनि छैनन् विद्यार्थी
नेशनल जियोग्राफिकका अनुसार भूगोल भनेको स्थानहरूको अध्ययन र मानिस तथा वातावरणबीचको सम्बन्ध हो। भूगोलको अध्ययनले ठाउँबारे सचेत हुन मद्दत गर्छ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागका अनुसार भूगोलले मान्छे बस्ने भूभाग, त्यस वरिपरिको प्रकृति, नदी, हावा, हिउँ, पृथ्वीको भित्री शक्तिमा भइरहेका क्रियाकलापको अध्ययन गर्छ। भूगोल महत्त्वपूर्ण व्यावहारिक विषय भए पनि पाठ्यक्रममा सरकारले ध्यान नदिएको केन्द्रीय विभागका पूर्वप्रमुख डा. हृदय कोइराला बताउँछन्।

अहिले स्नातकमा जुनसुकै विषय अध्ययन गरेका विद्यार्थीले पनि स्नातकोत्तरमा भूगोल विषय लिएर पढ्न पाउँछन्। त्यही कारण केन्द्रीय विभागले विद्यार्थी अभाव भएर पठनपाठन बन्द गर्नुपरेको छैन।

केन्द्रीय विभागमा भूगोल अध्ययन गर्ने विद्यार्थीको संख्या वर्षैपिच्छे घटबढ भइरहन्छ। यस वर्ष स्नातकोत्तर तह पहिलो सेमेस्टरमा १६ विद्यार्थी छन्। पूर्वप्रमुख डा. कोइरालाका अनुसार २०७३ सालमा विद्यार्थी संख्या शून्य थियो। तर २०७८ सालमा स्नातकोत्तर पहिलो वर्षमा ५० विद्यार्थी थिए।

“केन्द्रीय विभागमा विद्यार्थीको संख्या सरदरमा घटेको छैन। एमएमा २५ जनाको कोटा हो। कहिले २५ जनाभन्दा बढी भर्ना हुन्छन्। कहिले यो संख्या १५/१६ हुन्छ,” कोइराला भन्छन्, “मुख्य कुरा राज्यले भूगोलको पठनपाठनलाई महत्त्व दिएको छैन। भूगोलको अध्ययन विद्यालय तहदेखि अनिवार्य हुनुपर्छ। तर पहिला भएको पनि हटाइयो।”

सरकारमा बस्नेले भूगोल विषयको महत्त्व नबुझ्दा विद्यालयस्तरको पाठ्यक्रमबाटै हटाइएको उनको दाबी छ। “राजतन्त्रात्मक व्यवस्था हुँदा भूगोललाई महत्त्व दिइएको थियो। राजा महाराजाले भूगोलको शिक्षालाई अनिवार्य ठान्थे,” उनी भन्छन्, “(तत्कालीन अधिराजकुमार) धीरेन्द्रले केन्द्रीय भूगोल विभागबाट एमए गरेका थिए। (युवराज) दीपेन्द्रले भूगोलमा नै पीएचडी गर्दै थिए।” 

कोइरालाका अनुसार केन्द्रीय भूगोल विभागमा ‘रिमोर्ट सेन्सिङ’ र ‘जीएसआई’को पढाइ हुन्छ। यो प्रविधि नेपालमा इसिमोडबाहेक अन्य संघसंस्थासँग छैन। केन्द्रीय विभागका पूर्वप्रमुख रहेका मंगलसिद्धि मानन्धरले आफू शिक्षामन्त्री हुँदा २०६३ सालमा केन्द्रीय भूगोल विभागमा यो प्रविधिको अध्ययन शुरू गराएका थिए।

रिमोट सेन्सिङ भनेको अन्तरिक्षबाट पृथ्वीलाई हेरेर तस्वीर दिने प्रविधि हो। जिओग्राफिकल इन्फरमेसन सिस्टम (जीआईएस) भनेको डेटाको सहायताले कम्प्युटरबाट नक्सा बनाउने प्रविधि हो। यस्ता प्रविधिको बढ्दो प्रयोगसँगै भूगोल विषयको महत्त्व झन् बढ्दै गएको कोइराला बताउँछन्।

“राज्यले यो विषयलाई गहनतम ढंगले लिएको छैन। कमसेकम स्कुल तहमा आफ्नो भूगोल, माटो र पूर्खाको इतिहासको पढाइ अनिवार्य गर्नुपर्छ,” डा. कोइराला भन्छन्, “भूगोल र इतिहासको ज्ञान भएन भने संस्कार नै आउँदैन। लहलहैमा पाठ्यक्रम बनाउने काम भएको छ। मेरो ३५ वर्षको अनुभवले भन्छ, शिक्षा मन्त्रालयमा काम गर्ने मानिस योग्य छैनन्।”


सम्बन्धित सामग्री