Wednesday, May 08, 2024

-->

ललितपुर महानगरको एउटा व्यस्त सडक: हिउँदमा सुविधा, वर्षामा सास्ती (भिडियो कथा)

यो सडकमुनिबाट ह्युम पाइपमा कुलो बग्छ। वर्षात‍्का बेला सुनाकोठी,  ढोलाहिटी हुँदै आउने भलसमेत कुलोमा मिसिँदा पाइपले बहाव थेग्न नसकेको पानी जोडले बाहिर निस्किन्छ।

ललितपुर महानगरको एउटा व्यस्त सडक हिउँदमा सुविधा वर्षामा सास्ती भिडियो कथा

ललितपुर– ३२ वर्षीय मिठाराम घिमिरेको बाल्यकाल ललितपुरको खुमलटारमा बित्यो। उनले जान्नेबुझ्ने हुँदादेखि नै खुमलटार सेरोफेरोमा टम्म खेतको फाँट देखेका थिए। दुई दशकयता ती खेतहरूमा घर बन्ने क्रम तीव्र भयो। नेपाल कृषि अनुसन्धान परिषद‍्बीचको धापाखेल मार्गमा उनी सधैँ हिड्ने गर्थे। विद्यार्थी छँदा कलेज जाने बेला जुत्ता हिलाम्मे भएर एक दिन बीचबाटै घर फर्किनु परेको उनलाई याद छ। केही वर्षअगाडि ढलान गरिएको यो सडकमा अहिले पनि झरी परेका बेला गाडी गुडाउन मिल्दैन। 

सानो गाडी चलाउने घिमिरेलाई वर्षात‍्का बेला खुमलटारमा रहेको पसल आउजाउ गर्न चापागाउँ दोबाटो हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ। ललितपुर महानगरका १५ र २३ न‌म्बर वडा छुट्ट्याउने यो सडकमुनिबाट ह्युम पाइपमा कुलो बग्छ। वर्षात‍्का बेला सुनाकोठी,  ढोलाहिटी हुँदै आउने भलसमेत कुलोमा मिसिँदा पाइपले बहाव थेग्न नसकेको पानी जोडले बाहिर निस्किन्छ। हरेक वर्ष कुलोको मंगल फुटेर सडक जलमग्न हुने गर्छ। त्यस्तो बेला साना सवारी तथा पैदलयात्रुलाई हिँड्न मुस्किल पर्छ। 

गत असार १४ गतेको भारी वर्षापछि १५ गते बिहान खुमलटारस्थित धापाखेलमार्ग जलमग्न हुन पुग्यो। सडकको मंगल खोल्न महानगरको गाडीसहित केही कर्मचारी खटिएका थिए। वडा नम्बर १५ का वडाध्यक्ष सुरेशबहादुर शाही सडकको अवस्था अवलोकन गर्दै थिए। उकालोसँगको कुराकानीमा उनले सडकमुनिबाट जाने कुलोको ह्युम पाइप सानो भएकाले पाइप फेरेर तुरुन्त यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सडक विभागले असार १ देखि भदौ १ गतेसम्म कुनै पनि सडक नभत्काउन सूचना जारी गरेको भए पनि जनताका समस्या थाती राखेर नबस्ने भन्दै उनले सडक विभागलाई पत्र लेखेर अनुरोध गर्ने बताएका थिए। केही बेरमा झरी कम हुँदै गएर सडक बिस्तारै आफ्नो स्वरूपमा फर्कियो। त्यसपछि स्थिति सामान्य बन्यो। त्यसको केही दिनपछि त्यहाँ ह्युम पाइपहरु झारिए। तर डेढ महिना बितिसक्दा पनि ती पाइप बिछ्याउने काम हुन सकेन। 

हामी पुन: वडा कार्यालयमा पुग्यौँ र वडाअध्यक्ष शाहीलाई भेट्यौँ। सडकमा झारिएको पाइप आफ्नै प्रतिबद्धताअनुसार बिछ्याउने काम किन नभएको भनी उनीसँग प्रश्न गर्‍यौँ। जवाफमा उनले वडा नम्बर २३ का स्थानीयले पाइप झार्नसमेत अवरोध गरेको बताए। 

वडाअध्यक्ष शाही भन्छन्, "यहाँबाट जाने पानी कृषिको तल्लो फाँट हुँदै २३ नम्बर वडामा बग्ने गर्छ। पहिलेका अध्यक्षज्यूले पनि आश्वाशन दिएर काम पूरा गर्नुभएन। त्यसैले त्यहाँका वडावासीले हामीलाई पत्याएनन्। अहिले दुवै वडाका वडाअध्यक्ष मिलेर केही बजेट छुट्ट्याएका छौँ।" सडक विभागले समन्वय नगरिदिएको उनको गुनासो थियो। महानगर प्रमुखले समेत मौखिक सहमति दिएको भए पनि बजेट बिनियोजन नहुँदा काम अगाडि बढ्न नसकेको उनले बताए। 

डिभिजन सडक कार्यालय ललितपुरका सूचना अधिकारी इन्जिनियर सीताराम बुढाथोकीका अनुसार ढलान गरिएको उक्त सडकको स्तरोन्नति र विस्तारको काम विभागले सँगसँगै गरिरहेको छ। सातदोबाटोबाट धापाखेल-थेँचो जोड्ने यो सडक अहिले भइरहेको विस्तारसँगै झरुवारासी हुँदै गोदावरीसम्म पुग्छ। 

डिभिजन सडक कार्यालयले सडक विस्तारको कार्यमा बजेट व्यवस्थापन गरिरहेको सूचना अधिकारी बुढाथोकीले बताए। अरू बेला समस्यामुक्त यो सडक वर्षात‍्मा मात्र भलपानी र हिलोले अवरुद्ध हुने हुँदा यसलाई भत्काएर भन्दा पनि अन्य वैकल्पिक विधिबाट पानी नजम्ने गरी मर्मत गर्नु उचित हुने उनी बताउँछन्। 


सम्बन्धित सामग्री