Sunday, May 05, 2024

-->

धरानको सन्देशः सामाजिक सञ्जाल बन्नसक्छ समाजमा द्वन्द्व निम्त्याउने कारण

सामाजिक सञ्जालबाट प्रवाह हुने भ्रामक सूचना कतिसम्म घातक हुनसक्छन्? साम्प्रदायिक तनावको भुंग्रोमा पर्नबाट बल्लबल्ल जोगिएको धरानको सन्देश सबैका लागि गतिलो पाठ हुनेछ।

धरानको सन्देशः सामाजिक सञ्जाल बन्नसक्छ समाजमा द्वन्द्व निम्त्याउने कारण
गत असार ५ गते वीरगन्जको गहवामाई मन्दिर स्थापनाको ११औँ वार्षिक उत्सवका अवसरमा रथयात्रा निकालिँदाको 'हमार वीरगन्ज' अनलाइनमा प्रकाशित तस्वीर र धरानको भानुचोकस्थित घण्टाघर।

काठमाडौँ– सामाजिक सञ्जालमार्फत् शनिबार एउटा तस्वीर भाइरल भयो जसमा राता रङका झण्डासहित हजारौँ मानिस सहभागी भएको जुलुश देखिन्छ। त्यो तस्वीरलाई धरानको भनेर धेरैतिर फैलाइयो जहाँ एकदिन अगावै निषेधाज्ञा जारी भएको थियो। सामाजिक सञ्जालमा तस्वीर भाइरल बनेपछि धरानमा लगाइएको निषेधाज्ञा तोडिएर कुनै अप्रिय घटनाको खबर सुन्नुपर्ने भयले सारा सामाजिक सञ्जाल तरंगित बन्यो। तर पछि त्यो तस्वीर धरानको नभएर वीरगन्जको भएको तथ्य खुल्यो। 

शुक्रबार धरानमा धार्मिक तथा साम्प्रदायिक तनाव बढेर सद्भाव नै खल्बलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। त्यहाँका २० वटै वडामा शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी भएपछि तत्कालको लागि सम्भावित तनाव टरेर गयो।

भदौ ९ गते श्री वैष्णव परिषद्, विश्व हिन्दू परिषद्, विश्व हिन्दू महासंघ नेपाल, जगत्‌गुरु बालसन्तलगायत हिन्दूवादी संगठन र धर्मगुरुहरूले ‘धार्मिक संरक्षण र सद‍्भाव र्‍याली’ गर्ने भनेका थिए। त्यसको प्रतिवाद गर्दै त्यहाँका स्थानीय आदिवासी सम्बद्ध संघसंस्थाले पनि छुट्टै र्‍याली निकाल्ने घोषणा गरे। तर निषेधाज्ञा लागेपछि दुवै र्‍याली रोकिए र कुनै अप्रिय घटना हुन पाएन।

यता सामाजिक सञ्जालमा भने विभिन्न ठाउँमा हिन्दू धर्मावलम्बीहरूले निकालेको र्‍यालीका पुराना फोटाहरूलाई धरानको भनी प्रचार गरियो। तिनैमध्ये भाइरल भएको तस्वीरमा देखिएको ठूलो जनसमूहको उपस्थितिलाई ‘गौहत्याविरुद्ध धरान जाँदै गरेको र्‍याली’ भएको बताइयो। गोरु काटेर खाएको विषय सामाजिक सञ्जालमा भाइरल बनेसँगै त्यसको विरोधमा रहेकाहरूले धरानकेन्द्रित र्‍याली गर्ने योजना बनाएपछि उक्त तस्वीर भाइरल बनेको थियो। तर त्यो तस्वीर असार ५ गते वीरगन्जको गहवामाई मन्दिर स्थापनाको ११औँ वार्षिक उत्सवका अवसरमा रथयात्रा निकालिँदाको थियो।  

त्यो तस्वीरले सामाजिक सञ्जालमार्फत धरानमा द्वन्द्व सिर्जना गर्ने भूमिका खेलिसकेको सार्वजनिक भएका सूचनाहरूको तथ्य जाँच गर्ने अनलाइन पोर्टल ‘नेपाल फ्याक्ट चेक’का सम्पादक उमेश श्रेष्ठ बताउँछन्। भाइरल भएको तस्वीरले निषेधाज्ञाको बाबजुद पनि मान्छेहरूले र्‍याली निकालेको ‘न्यारेटिभ’ सेट गरेको उनको भनाइ छ। 

“यो तस्वीर सामाजिक सञ्जालमा यति छिटो भाइरल बन्यो कि अन्यत्रका मानिसलाई र्‍याली धरानकै हो भन्ने लाग्यो। उनीहरूले यो तस्वीर कुन ठाउँको हो भन्ने तथ्य जाँच गरेनन्,” उनी भन्छन्, “अर्को कुरा, यो तस्वीर खासमा हिन्दूत्वको पक्षमा उभिनेहरू धेरैले शेयर गरेका छन्। खास हिन्दूत्वको वकालत गर्ने संघसंस्थाहरूलाई उत्तेजित बनाउनेबाहेक यसको असर तत्कालै केही देखिएन।”  

सामाजिक सञ्जालमा भ्रामक सूचना र तस्वीरहरू छिट्टै भाइरल हुनुमा 'कन्टेन्ट'भन्दा पनि 'कन्टेक्स्टले भूमिका खेल्ने गरेको लेखक तथा अनुसन्धानकर्ता लेखनाथ पाण्डे बताउँछन्। “भ्रामक समाचारहरू ‘शकिङ’ हुन्छन् जसले छोटो समयमा मान्छेहरूलाई आकर्षित गर्छ। सैद्धान्तिक रूपमा भ्रामक तथ्यले मानवीय रुचि र संवेगलाई उत्तेजित गर्छ,” पाण्डे भन्छन्, “यो घटनामा पनि त्यस्तै देखिन्छ। भाइरल भएको तस्वीरको तथ्य खण्डन त भयो जुन ‘कन्टेक्स्ट’ बाहिरको थियो। तर त्यसले सामाजिक सञ्जालमा प्रभाव पारिसकेको थियो। भलै यसको प्रभाव बाहिर देखिएन।” 

कसरी भाइरल भयो तस्वीर?
धरानमा गोरु काटेर खाएको र मन्दिरअगाडि चर्च बनाएको भन्दै हिन्दू समर्थकहरूले शनिबार गर्न लागेको बृहत् प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने तनावपूर्ण परिस्थितिको रोकथामका लागि निषेधाज्ञा जारी भएको थियो। तर सामाजिक सञ्जालको प्रयोगबाट फेसबुक पेज र ग्रुपहरूमा यसको भ्रामक प्रचार गरियो। शनिबार 'राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)' नाम गरेको फेसबुक ग्रुपबाट रातो रङको झण्डासहित निकै ठूलो जुलुश  बाटोमा उर्लिएको तस्वीर पोस्ट भयो। त्यसको क्याप्सनमा ‘धरान’ लेखिएको छ। यो ग्रुपमा ६३ हजारभन्दा बढी मानिसहरू जोडिएका छन्। 

त्यस्तै, दुई लाख ३२ हजारभन्दा बढी फलोअर रहेको 'राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक तथा शुभेच्छुक समूह' नामको फेसबुक ग्रुपमा शनिबार प्रताप खड्का नामबाट दिउँसो साढे १ बजे उही तस्वीर पोस्ट भयो जसमा ‘गौहत्याविरुद्धको आन्दोलनमा धरान छिर्न तम्तयार सहभागी जनलहर’ लेखिएको छ। 

दुई महिनाअघि वीरगन्जमा खिचिएको एक धार्मिक कार्यक्रमको तस्वीर जसलाई तथ्यजाँचविना धरानमा निस्किएको जुलुश भनी भ्रम फैलाउन सामाजिक सञ्जालहरूमा प्रयोग गरियो।

‘स्वतन्त्र युवा अर्घाखाँची’ नामको अर्को फेसबुक पेजबाट शनिबार दिउँसो ‘राष्ट्रिय जनावर हत्याविरुद्धको आन्दोलनमा धरान छिर्न तम्तयार सहभागी जनलहर’ लेख्दै त्यही तस्वीर पोस्ट भएको छ। यो पेजबाट धरानलाई लक्षित गर्दै निरन्तर तस्वीर र भिडियोहरू पोस्ट भइरहेका छन्।

नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले पनि शनिबार दिउँसो उही तस्वीरसहित एउटा पोस्ट गरे। उनले तस्वीर कहाँको हो भनेर नखुलाए पनि फेसबुकमा ‘गाई काटेर मासु खान त के, चोट पुर्‍याउनसमेत कानूनले वर्जित गरेको छ’ लेखेका छन्।

अरू कतिपयले आफ्नो निजी फेसबुक अकाउन्टबाट यो तस्वीर धरानको भन्दै शेयर गरेका छन्। शनिबारको पूरै दिन यस्तै सामग्रीले सामाजिक सञ्जाल तताएका थिए। 

तथ्यजाँचका लागि क्रियाशील अर्को अनलाइन पोर्टल 'नेपाल चेक'का सम्पादक दीपक अधिकारी यो तस्वीर कुन नियतले भाइरल भएको थाहा नभए पनि फेसबुकमा खोलिएका ‘र्‍यान्डम ग्रुपहरू’बाट तस्वीर भाइरल भएको बताउँछन्। खास गरेर यो तस्वीर 'राप्ती सञ्चार अनलाइन' र 'रञ्जन कार्की' नामको ट्विटर ह्यान्डलबाट 'विचारभन्दा माथि देश' स्ट्याटसका साथ पोस्ट गरेको पाइएको उनको भनाइ छ। 

“यस्ता ग्रुपहरू कतिपयले स्वेच्छिक रूपमा आफैले खोलेका हुन्छन् भने कतिपयले सार्वजनिक ध्यान खिच्नका लागि खोल्छन्। त्यहाँ राजनीतिक कनेक्सन खोज्न गाह्रो हुन्छ,” उनी भन्छन्, “खासमा यस्ता सामग्रीहरू ती ग्रुपबाट कुन मनसायले भाइरल बनाइएको छ, त्यसको निगरानी यसका नियामक निकायले गर्नुपर्ने हो।”    

के हो घटना, कसरी तनावपूर्ण बन्यो धरान?
साउन ९ गते धरानमा गोरुको मासु ओसारिरहेका कुमार राई र राजन परियार पक्राउ परे। दुईजना पक्राउ परेपछि आदिवासी संस्थाहरूको जोडबलमा धरौटीमा छुटे। त्यसरी छुटाएपछि उनीहरूको सम्मानमा 'सांस्कृतिक अधिकार संरक्षण समिति'को अगुवाइमा गोरुको वध गरी स्वागतभोज आयोजना गरियो। त्यसलाई 'मंगोल नेसनल अर्गनाइजेसन'की कार्यकर्ता विनिता बेघाले लाइभ गरिन्। सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल बन्यो।

फेसबुकमा झन्डै साढे तीन लाख फलोअर भएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले पनि त्यो भिडिओ शेयर गरेर प्रचारमा ल्याए र सोही घटनासँग सम्बन्धित भएको भन्दै थुप्रै पोस्ट गरे। यसै क्रममा उनले भैँसीको मासु खाइरहेकी चितवनकी एक महिलालाई 'धराने गोरुखाने महिला'का रूपमा प्रस्तुत गरेपछि ती महिलाले उपाध्यायविरुद्ध प्रहरीमा उजुरी नै दिएकी छन्। 

सामाजिक सञ्जालमार्फत् धरानमा गोरुको मासु खाएको भिडियो भाइरल बनेपछि सामाजिक सञ्जालमै एकखालको विवादको बीजारोपण भयो। त्यहाँ गाईगोरुको मासु खानेको एउटा धार छ भने नखाने बरू संरक्षण गर्नुपर्नेहरूको अर्को धार छ। 

उपाध्यायलगायत सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताहरूले यो घटनालाई साम्य पार्नुको सट्टा असम्बन्धित तस्वीर र भिडियोलाई धेरै फलोअर भएका ग्रुपहरूबाट फैलाएर घटनालाई अझै चर्काउन खोजे। धरानमा वैशाखदेखि असारसम्म चर्काइएको मन्दिर–चर्च विवाद पछिल्लो समय करिब–करिब साम्य भएको थियो। त्यसबेला विवाद चर्किनु वा चर्काइनुमा धरानका मेयर हर्क साम्पाङ राईका कतिपय अभिव्यक्तिले पनि भूमिका खेलेका थिए। 

तर पछिल्ला केही दिनयता सामाजिक सञ्जालको दुरूपयोग गर्नेहरूले त्यसलाई फेरि उकासे। त्यो दुरुपयोग कुन हदसम्म भयो भने उनीहरूले गाईपूजक हिन्दू र उनीहरूको भन्दा फरक संस्कृति अंगाल्ने आदिवासी तथा जनजाति समुदायबीचमै तनाव निम्त्याउने प्रयत्न गरे। बेलैमा यसको डरलाग्दो संकेत आकलन गरेका धरानका पूर्वमेयरहरू, प्रहरी–प्रशासन र दलका नेताहरूको सुझबुझले धरानमा निम्तिन सक्ने सम्भावित संकट त तत्कालका लागि टरेको छ। तर यसले आउँदा दिनमा सामाजिक सञ्जालमार्फत प्रवाह हुने भ्रामक सूचना कतिसम्म खतरनाक बन्नसक्छन् भन्ने खतराको घण्टी पनि बजाएको छ।


सम्बन्धित सामग्री