Friday, May 03, 2024

-->

कक्षा १२ को नतिजा: आधा विद्यार्थी किन भए फेल?

परीक्षा दिएका कुल विद्यार्थीमध्ये ५०.९१ प्रतिशतले मात्रै तत्काल स्नातक पढ्न पाउने छन्। बाँकी आधाले पुन: परीक्षा दिनु पर्नेछ जसमध्ये ५९ हजार ६२६ जनाले कम्तीमा एक वर्ष कुर्नुपर्छ।

कक्षा १२ को नतिजा आधा विद्यार्थी किन भए फेल

काठमाडौँ– विद्यालय तहको अन्तिम परीक्षा (कक्षा १२) को नतिजा साउन ३१ गते सार्वजनिक भयो। परीक्षामा सहभागी कुल ३ लाख ७२ हजार ६३७ जना विद्यार्थीमध्ये १ लाख ८९ हजार ८८१ जना मात्रै उत्तीर्ण भए। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यो नतिजाअनुसार परीक्षा दिएका कुल विद्यार्थीमध्ये ५०.९१ प्रतिशतले मात्रै स्नातक तहमा भर्ना हुन पाउने भएका छन्। बाँकी ४९ प्रतिशत विद्यार्थीको उच्च शिक्षा यात्रा अवरुद्ध भएको छ।

ननग्रेडिङ (एनजी) मा परेका १ लाख ८२ हजार ९२६ जना अर्थात् ४९.०९ प्रतिशत परीक्षार्थी तत्काल उच्च शिक्षामा भर्ना हुन नपाउने भएका हुन्। यीमध्येका १ लाख २३ हजार ३०० विद्यार्थीले भने असोज ६ र ७ मा हुने ग्रेड वृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने छन्। तीमध्ये ७९ हजार जना एउटामात्रै विषयको एनजीमा परेका छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा १२ को परीक्षा दिएका विद्यार्थीमध्ये हरेक विषयको सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत अंक प्राप्त गरेकालाई मात्र स्नातक तहमा भर्ना हुन योग्य मानिन्छ। दुई वटासम्म विषयमा यो प्राप्तांक नपुगेर एनजीमा परेका विद्यार्थीले चाहिँ ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ। तीनभन्दा बढी विषय एनजीमा सूचीकृत भएका विद्यार्थीले सम्बन्धित विषयको परीक्षा दिन अर्को वर्षसम्म कुर्नुपर्छ। त्यसरी ग्रेड वृद्धि परीक्षाका लागि कम्तीमा एक वर्ष शैक्षिकयात्रा अवरुद्ध भएका विद्यार्थीको संख्या ५९ हजार ६२६ छ।

गत वर्ष त्यस्ता विद्यार्थी ५७ हजार थिए जसमध्ये यसपालि १४ हजारले मात्र ग्रेड वृद्धि परीक्षा दिए। बाँकी ४३ हजार औपचारिक शिक्षाबाटै बाहिरिएको अनुमान छ। आगामी असोजमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने मौका पाएका विद्यार्थीले पनि न्यूनतम ३५ प्रतिशत ग्रेड प्राप्त गर्न नसके उनीहरूको समेत स्नातक तहमा भर्ना हुने बाटो यसपालिलाई बन्द नै रहन्छ।

सामान्य सुधारमै सन्तोष
कक्षा १२ को परीक्षाको नतिजामा गत वर्षभन्दा सामान्य सुधार भएको हो। पोहोरको नतिजाअनुसार ४८.१० प्रतिशत विद्यार्थीले स्नातक पढ्न पाउँथे भने यो वर्ष २.८१ प्रतिशतले बढेर ५०.९१ प्रतिशत विद्यार्थी स्नातकयोग्य भएका हुन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भने अब विस्तारै नतिजा सुध्रिँदै जाने बताउँछन्। अहिलेको नतिजालाई अन्यथा लिनुपर्ने कुनै कारण नभएको उनको तर्क छ।

कोभिड–१९ को तेस्रो लहरका कारण २०७७ सालको परीक्षा 'होम सेन्टर' अर्थात् विद्यार्थीले पढिरहेकै विद्यालयमा सञ्चालन भएको थियो। २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४.० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या चार हजार १७९ थियो। यस वर्ष उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको संख्यामा भएको सुधारलाई उल्लेख्य मान्नुपर्ने शर्माको बुझाइ छ। “यस वर्ष ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन्। यो गत वर्षभन्दा राम्रो नतिजा हो। त्यसैले निराश हुनुपर्ने अवस्था छैन,” शर्मा भन्छन्।

समग्रमा नतिजा खस्किएको देखिए पनि यसले विगतको 'ट्रेन्ड'लाई तोडेको बोर्डका अध्यक्ष शर्माको दाबी छ। “अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकाले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मिहिनेत गर्नुपर्ने आवश्यकता चाहिँ छ। यसवर्ष विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएकाले पनि आएको नतिजालाई अन्यथा लिनुपर्ने अवस्था छैन। यो गत वर्षको तुलनामा धेरै राम्रो हो।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा।

नेपाली र सामाजिक विषयमा पनि अधिकांश विद्यार्थी ‘फेल’
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा बढी अंग्रेजी, सामाजिक अध्ययन, नेपाली, लेखा, अर्थशास्त्र, ‘बिजनेस स्टडिज’लगायत विषयमा विद्यार्थी कमजोर प्रमाणित भएका छन्। अनिवार्य अंग्रेजीमा १ लाख ९ हजार विद्यार्थी एनजीमा परेका छन् । गत वर्षको यो संख्या १ लाख १ हजार थियो। कक्षा १० को एसईई परीक्षामा सबैभन्दा बढी विद्यार्थी गणितमा एनजीमा पर्दै आएका छन्। कक्षा १२ मा गणित वा सामाजिक अध्ययनमध्ये एक विषय रोजेर अध्ययन गर्न पाइने व्यवस्था छ।

सामाजिकमा ५१ हजार विद्यार्थी एनजीमा परेका छन् । गणित रोजेर पढ्न पाइने विषय भएर पनि यसमा करिब ८ हजार विद्यार्थीको नतिजा एनजी छ। अनिवार्य नेपालीमा ३८ हजार विद्यार्थी एनजीमा परेका छन्। लेखा विषयमा ५२ हजार, अर्थशास्त्रमा ३४ हजार र बिजनेस स्टडिजमा २४ हजार विद्यार्थी एनजीमा परेका हुन्।

अरू विषयको तुलनामा नेपाली र सामाजिक अध्ययन विषयलाई बेवास्ता गरेका कारण यी विषयहरूमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको शिक्षाविद् डा. मनप्रसाद वाग्ले बताउँछन्। “नेपाली अधिकांश विद्यार्थीको मातृभाषा र कामकाजी भाषा पनि भएकाले धेरै विद्यार्थीले यसलाई सहज विषयका रूपमा लिन्छन् र खासै पढ्दैनन्। त्यही बेवास्ताको नतिजा हो यो,” उनी भन्छन्, “विषय त कुनै सहज हुँदैन। तर गणित र विज्ञानलाई बढी प्राथमिकता दिएर नेपाली र सामाजिकलाई सामान्य रूपमा लिएपछि परिणाम यस्तो आउनु त अपेक्षित नै थियो।”

शिक्षक तथा क्याम्पस सञ्चालक राजेन्द्र कोइराला भने विद्यालयहरूमा नेपाली र सामाजिक अध्ययन विषयका शिक्षक अभावको कारण विद्यार्थीहरू यी विषयमा कमजोर भएको बताउँछन्। “विद्यालय तहमा यी विषयका खास शिक्षक पाउनै मुश्किल छ,” उनी भन्छन्, “सबै आफ्नै उज्ज्वल भविष्यको खोजीमा विदेशतिर गए। त्यसमाथि यी विषयहरू विद्यार्थीको चासोमा पनि नपरेका कारण धेरै जना फेल भएका छन्।”

के कारणले ‘फेल’ भए आधा विद्यार्थी?
शिक्षाविद् गीता राणाका अनुसार एसईई र कक्षा १२ को कोर्समा धेरै ‘ग्याप’ भएकै कारण आधा विद्यार्थी अनुत्तीर्ण भएका हुन्। विद्यार्थीहरूको लागि नयाँ र भारी विषय एकैचोटि पढ्नुपर्दा समस्या आएको उनी बताउँछिन्। “कक्षा ११ र १२ मा पढाइने कुराको १० कक्षामा कतै चर्चा छैन। एसईई पास गरेर गएका विद्यार्थीले एकैपटक नयाँ विषय पढ्नुपर्छ। त्यो नै पहिलो चुनौती हो,” उनी भन्छिन्, “कक्षा ११ भनेको विद्यार्थीले के पढ्ने, भविष्यमा के बन्ने वा कतातिर जाने भनेर निर्णय लिने समय हो। यसलाई कक्षा १० देखि नै सहजीकरण गर्दा १२ को नतिजा सुधार्न सकिन्छ।” ग्रेडिङ कल्चर (अंकन पद्धति) को अभ्यास विद्यालय तहको शुरूदेखि नै हुनुपर्नेमा त्यो नभएका कारण पनि धेरै विद्यार्थी अनुत्तीर्ण भएको उनको बुझाइ छ।

शिक्षाविद् वाग्ले भने शैक्षिक प्रणालीमा विद्यमान त्रुटीकै कारण आधा विधार्थी अनुत्तीर्ण भएका हुन्। कक्षा ११ र १२ मा नेपाल सरकारले शिक्षकको दरबन्दी नै नदिएका कारण विद्यार्थीले राम्रो शिक्षा नपाएर यस्तो अवस्था आएको उनी बताउँछन्। “बाहिरबाट तानतुन गरेर विद्यालय तहकै शिक्षकलाई ११ र १२ मा पढाउन लगाएपछि नतिजा कसरी राम्रो आउँछ?, वाग्ले भन्छन्, “सरकारले शिक्षक नदिए पनि राम्रो शिक्षक राख्न सक्ने अनुदान रकम चाहिँ पठाइदिएको छ। तर कक्षा ११-१२ पढाइ हुने विद्यालयहरूमा आंशिक शिक्षकलाई ल्याएर बढी नाफा खाने प्रवृत्ति मौलाउँदै गएको छ। अब क्याम्पसमा पनि राम्रो पढाइ नभएपछि यस्तै अवस्था आउनेछ।”

सरकारले ५० प्रतिशत पास भएको भने पनि खासमा ५३.७ प्रतिशत विद्यार्थी फेल भएको शिक्षक तथा क्याम्पस सञ्चालक कोइराला दाबी गर्छन्। पढाइको जग कमजोर भएर यति धेरै विद्यार्थी अनुत्तीर्ण भएको उनी बताउँछन्।

“दुई वर्षको कोभिडले विद्यार्थीको पढ्ने बानी नै छुट्यो। अर्को कुरा, यो जीपीए प्रणाली लागू गरेर तल्ला कक्षामा कोही फेल नहुने बनाइएको छ। यो नीतिले गर्दा कक्षामा राखिएका डेस्क बेन्चसमेत सबै पास हुने भए। यसले विद्यार्थीलाई कमजोर बनाएको छ। उनीहरूलाई जे गरे पनि पास भइन्छ भन्ने भ्रम भयो,” उनी भन्छन्, “सरकारी विद्यालयमा पढाइभन्दा बढी राजनीति हुने गरेका कारण पनि धेरै विद्यार्थी फेल भए। उनीहरूमा नेता बन्न डिग्री नचाहिने रहेछ, किन पढ्नुपर्‍यो र भन्ने मानसिकता हाबी हुँदा पढाइप्रति नजर गएन।”

यति धेरै विद्यार्थी विफल हुनुले शिक्षामा मुलुकको भयावह अवस्थाको चित्रण गर्ने कोइराला बताउँछन्। यसलाई गम्भीरतापूर्वक मनन गरेर सरकारले नीतिगत तहमै सुधार गर्नुपर्ने उनको बुझाइ छ।  

शिक्षा मन्त्रालयको निष्कर्ष: ‘निराश हुन जरुरी छैन’
गत साता सार्वजनिक भएको कक्षा १२ को नतिजालाई सुधारोन्मुख भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको समीक्षामा खासै चासो दिएको छैन। विगत दुई वर्षदेखि कोभिड महामारीका कारण बिग्रिँदै गएको नतिजामा बल्ल सुधार आउन थालेका कारण चिन्ता लिन जरुरी नभएको मन्त्रालयको निष्कर्ष छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यो वर्ष ५० प्रतिशत विद्यार्थी फेल भएको तथ्यलाई मात्रै औँल्याउनु उपयुक्त हुँदैन। “यो वर्षमात्रै यस्तो नतिजा आएको त हैन। गत वर्षको तुलनामा यसपालि राम्रो नतिजा आएको हो नि। उत्तीर्ण प्रतिशतमा केही त वृद्धि भएको छ,” उनी भन्छन्, “अर्को कुरा, ननग्रेडिङमा परेकाहरू सबै फेल भएका होइनन्। असोज पहिलो हप्ता हुने मौका परीक्षापछि पास हुनेको प्रतिशत पक्कै बढ्ने छ। त्यसैले आत्तिइहाल्नुपर्ने कुनै कारण छैन।”


सम्बन्धित सामग्री