Sunday, April 28, 2024

-->

त्रिविको क्याम्पस: शिक्षकले प्रयोगात्मक परीक्षामा दिएको नम्बर कसले घटायो?

आरआर क्याम्पसमा स्नातक तहको प्रयोगात्मक परीक्षामा शिक्षकले दिएको नम्बर मार्कसिटमा घटेर आएपछि विद्यार्थी रुस्ट छन्। क्याम्पस नै नआउने विद्यार्थीलाई भने मार्कसिटमा नम्बर बढाइएको उनीहरूको आरोप छ।

त्रिविको क्याम्पस शिक्षकले प्रयोगात्मक परीक्षामा दिएको नम्बर कसले घटायो

काठमाडौँ– अमिता राई पत्रकारिता विषय लिएर रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन्। उनले दोस्रो वर्षको ‘मिडिया रिसर्च’ विषयको प्रयोगात्मक परीक्षामा ३० पूर्णांकमा १६ अंक पाइन्। आफूले पाएको नम्बरमा उनलाई चित्त बुझेन। उनले सम्बद्ध विषय शिक्षकसँग सोध्दा २८ नम्बर दिएको जवाफ पाइन्।

आरआर क्याम्पस प्रशासनको मनोमानीले आन्तरिक परीक्षामा शिक्षकले दिएको नम्बर मार्कसिटमा घटेर आएको उनी एक्ली विद्यार्थी होइनन्। स्नातक दास्रो वर्षकै प्रयोगात्मक परीक्षाको नतिजामा कम नम्बर आएपछि गरिमा खनाल तत्कालीन क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यलाई भेट्न गएकी थिइन्। उनले भनेका थिए, “बेटा तँ पिर नगर, तेरो मार्कसिट छापिएर आउँदा मार्क्स मिलेको रहेनछ भने आएर मेरो मुखमा थुकिदिनू।”

मंसिर पहिलो साता मार्कसिट क्याम्पसमा आउँदा प्रयोगात्मक परीक्षामा गरिमाको नम्बर कम थियो। सहायक क्याम्पस प्रमुख आचार्य पनि सम्पर्कविहीन भए। मिडिया रिसर्चका शिक्षकले आफूलाई प्रयोगात्मक परीक्षामा २९ नम्बर दिएको बताए पनि मार्कसिटमा १८ मात्र आएको उनी बताउँछिन्।

त्रिभुवन विश्वविद्यायले २०७९ साल साउनमा स्नातक दोस्रो वर्षको परीक्षा लिएको थियो। त्यसको नतिजा एक वर्षपछि गएको असार मसान्तमा सार्वजनिक भएको थियो। नतिजा सार्वजनिक भएपछि प्रयोगात्मक परीक्षामा पाएको अंकबाट असन्तुष्ट अमिता, गरिमालगायत विद्यार्थी क्याम्पस प्रमुख र प्रशासन कर्मचारीसँग गुनासो पोख्न गएका थिए। क्याम्पस प्रशासनले मार्कसिटमा नम्बर सच्चिएर आउने आश्वासन दिएको थियो। 

मार्कसिटमा नम्बर नसच्चिएपछि गरिमा क्याम्पस प्रशासनले लापरबाही गरेको आरोप लगाउँछिन्। “मलाई अरू केही चाहिएको हैन, पाएको मार्क्स गायब हुनुभएन,” उनी भन्छिन्। क्याम्पस प्रमुख, परीक्षा शाखाका प्रमुख, सम्बन्धित शिक्षकलगायतसँग गुनासो राख्दा सकारात्मक जवाफ नआएको उनी बताउँछिन्। 

“मलाई क्याम्पस प्रमुखलगायत शिक्षकहरूले ‘भयो छाड्देउ, अर्को परीक्षामा थप मार्क्स दिएर पुर्ताल गरिदिन्छौँ’ भनिरहेका छन्,” उनले भनिन्, “मैले मानको छैन, कसैको कृपाले दिएको अंक चाहिएको हैन नि।”

नेपाली विषयको प्रयोगात्मक परीक्षामा पनि गरिमाले १५ नम्बर मात्र पाएकी छन्। “कक्षामा नियमति उपस्थित हुन्थेँ। असाइन्मेन्ट सबै बुझाएको थिएँ। अनि मेरै नम्बर १५ मात्रै!” उनी भन्छिन्।

उनले क्याम्पस प्रशासनसँग शिक्षकले दिएको नम्बर हेर्न दिन माग पनि गरेकी थिइन्। तर हेर्न दिन नमिल्ने बताएको उनी बताउँछिन्।

शिक्षकले दिएको अंकमा चलखेल
विषय शिक्षकले दिएको अंकमा क्याम्पस प्रशासन र परीक्षा शाखाले चलखेल गरेको विद्यार्थीहरूको आरोप छ। कम्तीमा १०० विद्यार्थीको प्राप्तांकमा चलखेल भएको उनीहरू बताउँछन्। 

मिडिया रिसर्चका शिक्षक लेखनाथ पाण्डे प्रयोगात्मक परीक्षामा आफूले विद्यार्थीको योग्यता र समग्र कार्यसम्पादन हेरेर नै अंक दिएको बताउँछन्। त्यसैले जारी विवादमा आफ्नो सरोकार नभएको उनको भनाइ छ। “आफ्नो जिम्मेवारीको काममा कतै कमजोरी गरेको छैन्,” उनी भन्छन्, “अब क्याम्पसले आफ्नो काम सहीसँग गरेन भने म भागिदार होइन।”

स्नातक दोस्रो वर्षको नतिजामा मात्रै नभई, पहिलो वर्षको नतिजामा पनि त्रुटि थियो। हाल तेस्रो वर्षमा अध्ययनरत संगम राईले पनि प्रयोगात्मक परीक्षाको अंक कम पाएका थिए। उनलाई विषय शिक्षक लोकनाथ कोइरालाले अंग्रेजीको प्रयोगात्मक परीक्षामा ३० पूर्णांकमा २५ अंक दिएको बताएका थिए। त्रिविले सार्वजनिक गरेको नतिजामा जम्मा १२ अंक मात्र पाएका छन्। 

उनकै सहपाठी विवेक बर्णवाल र रिक्की श्रेष्ठको पनि अंग्रेजी विषयको प्रयोगात्मक परीक्षाको अंक घटेर आएको छ। अंग्रेजीका शिक्षक कोइरालाले आफूले दिएको नम्बर कसरी घटाइयो भनेर क्याम्पस प्रशासनसँग प्रश्न पनि गरेका थिए। तर चित्तबुझ्दो जवाफ नआएपछि उनले त्यतिबेला राजीनामा बुझाएका थिए। राजीनामा स्वीकृत नभएपछि र विद्यार्थीहरूले फर्किन अनुरोध गरेपछि उनी नियमित पठनपाठनमा फर्किएका छन्।

क्याम्पस आउने विद्यार्थी फेल, नआउने पास!
आरआर क्याम्पसमा विद्यार्थीहरूको हाजिरी हुँदैन। तर प्रयोगात्मक परीक्षामा हाजिरीको पनि अंक दिनुपर्ने हुन्छ। त्यसैले केही शिक्षक आफैँ खाली कागजमा हाजिरी गराउँछन्। सार्वजनिक भएको नतिजामा क्याम्पस नै नआउनेहरूको बढी नम्बर आएको देखिएको विद्यार्थीहरूको गुनासो छ।

क्याम्पस प्रशासन, विद्यार्थी संगठन र राजनीतिक दलका नेताहरूको मिलोमतोमा प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई मनपरी ढंगले अंक घटबढ गरिएको विद्यार्थी संगम राईको दाबी छ। “यहाँ त क्याम्पस नै नआउने विद्यार्थीलाई बढी नम्बर दिइएको देखिन्छ। मसँग त प्रमाण नै छ नि। तर क्याम्पस प्रशासन यसबारे मौन छ,” उनी भन्छन्, “यो क्याम्पस र त्रिवि दुवैको दोष हो। यसमा नियन्त्रण आवश्यक छ। यसले पढ्न चाहेका विद्यार्थीहरूलाई घाटा छ नपढ्नेहरूलाई त फाइदै छ।”

हाल तेस्रो वर्षमा अध्ययनरत छात्रा रिक्की श्रेष्ठलाई अंग्रेजी पढाउने लोकनाथ कोरालाले प्रायोगात्मक परिक्षामा ३० मा पूर्णांकमा ३० अंक नै दिएका थिए। “मभन्दा नि अब्बल अंग्रेजी छ रिक्कीको। पढाइ पनि उत्कृष्ट छ। तर नतिजा सार्वजनि हुँदा एब्सेन्ट देखाइएको थियो,” कोइराला भन्छन्, “अब यसमा त शिक्षकको कुनै कमजोरी नै भएन नि।”

क्यम्पस प्रमुख जीवनधर ज्ञवाली अंक दिने विषयमा त्रुटि भएको स्वीकार गर्छन्। तर अंक सच्चिएर नआउने उनको भनाइ छ। “त्रुटी नभएको होइन, तर हामीले विद्यार्थीको अंक देखाउन मिल्दैन। त्रिविमा पनि हामीले यो विषयको समाधानका लागि पहल गरेका थियौँ। तर केही भएन,” उनी भन्छन्, “अबदेखि यस्तो गल्ती नदोहोरियोस् भन्नेतिर हामी सोच्छौँ। कहाँ समस्या छ, त्यसको समाधान गर्छौँ।”

आरआरका एक शिक्षकका अनुसार यी सबै खेल राजनीतिक दलका नेताका आफन्त र विद्यार्थी संगठनका नेताहरूलाई खुशी बनाउन गरिएको हो। “यसमा कुनै नयाँ कुरा छैन। यो सबै पहिलादेखि नै हुँदै आएको हो। राजनीतिक सेटिङबाट आएपछि दलका संगठनको कुरा त मान्नु पर्‍यो नि,” ती शिक्षक भन्छन्, “त्यही क्रममा विद्यार्थीको नम्बर एक्सेलमा मिलाउँदा तलमाथि हुनेगर्छ। एउटा विद्यार्थीको बिग्रेपछि अधिकांशको तलमाथि हुन्छ।”

पछिल्लो वर्षहरूमा पनि आरआरमा यस्ता समस्या आएका थिए। तर त्यतिकै ढिसमिस हुने गरेको विद्यार्थीहरू बताउँछन्। प्राप्तांकमा चित्त नबुझे नतिजा सार्वजनिक भएको ३५ दिनभित्र त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर कापी चेकजाँच (रिचेक)का लागि निवेदन दिनसक्ने व्यवस्था छ।

तर आरआरले त्यो समयको सदुपयोग विद्यार्थीलाई गर्न नदिएको तेस्रो वर्षमा अध्ययरत एक विद्यार्थी बताउँछन्। “नतिजामा समस्या भएपछि क्याम्पसले त्रिविसँग समन्वय गरेर विद्यार्थीलाई निवेदन दिन लगाउनुपर्थ्यो। अब अहिले म्याद नाघिसक्यो अनि केही गर्न नसकिने भनिरहेको छ। क्याम्पसमा राजनीति धेरै भयो, पढाइ कम भयो,” एक विद्यार्थी भन्छन्।


सम्बन्धित सामग्री