भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसंघीय निकायले बताएका छन्।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा भोकमरी उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ।
गत वर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाख हाराहारी मानिस भोकमरीको चपेटामा परेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ मा विश्व जनसंख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा बढेर ९.२ प्रतिशत पुगेको छ।
अफ्रिका, पश्चिम एशिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन्।
यो प्रतिवेदन विश्व अझै पनि विश्वव्यापी महामारीबाट गुज्रिरहेको र अहिले युक्रेनमा युद्धको परिणामसँग जुधिरहेको अवस्थामा आएको हो। यसले खाद्य र ऊर्जा बजारलाई थप झकझकाएको छ।
राष्ट्रसंघका अनुसार सन् २०१९ यता यी संकटले थप १२ करोड २० लाख मानिसलाई भोकमरीमा डुबाएको छ।
“महामारीपछिको आर्थिक पुनः उत्थानले स्थितिमा सुधार ल्याउन मद्दत गर्यो, तर युक्रेन युद्धका कारण खाद्यान्न र ऊर्जाको मूल्यवृद्धिले सामान्य प्रगतिलाई कमजोर बनाएकोमा कुनै शंका छैन,” प्रतिवेदनमा भनिएको छ।
भोकमरी विश्वव्यापी स्तरमा भने नबढे पनि भोकमरीमुक्त विश्वको दिगो विकास लक्ष्य–२ हासिल गर्ने मार्गबाट निकै टाढा छ।
राष्ट्रसंघकाका अनुसार विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल संकटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहनेछ।
यता, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विज्ञप्ति जारी गर्दै सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको दाबी गरेका छन्। तर, दिगो विकास लक्ष्यलाई उकास्न तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो रहेको उनको भनाइ छ।
राष्ट्रसंघको महासभाले सन् २०१५ मा तयार पारेको दिगो विकास लक्ष्यमा भोकमरी र गरिबीको अन्त्यलगायत १७ वटा अन्तरसम्बन्धित उद्देश्य समावेश छन्।प्रगतिको गति अघि बढ्न सकेन भने सन् २०३० सम्ममा पनि करिब ६० करोड मानिस भोकमरीको चपेटामा पर्न सक्छन्।
खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारकहरू द्वन्द्व, आर्थिक संकट, प्राकृतिक विपत्ति रहेको बताइएको छ। “हामीले जुन कुराको कमी महसुस गरिरहेका छौँ। त्यो भनेको लगानी र राजनीतिक इच्छाशक्ति हो,” अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्भारो लारियोले भने।
विश्व खाद्य कार्यक्रमले गत मे महिनामा सोमालिया, केन्या र इथियोपियाका दुई करोड ३० लाखभन्दा बढी मानिसलाई अनिकाल पर्ने चेतावनी दिएको थियो।
सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए।